ब्रिटिश कलेजको गजबको धन्दा : विद्यार्थीबाट चर्को फी उठाउने, पहिलो बर्ष चिया खुवाउने पठाउने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 12:32:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको लीड्स ब्याकेट युनिभर्सिटीबाट सम्बन्धन लिएको भनिएको ब्रिटिश कलेजले ३ वर्षे अन्डरग्र्याजुएट कार्यक्रमलाई तानतुन गर्दै ४ वर्षसम्म लम्ब्याएर ग्र्याजुएट भन्दै विद्यार्थीसँग गैर-कानूनी रूपमा पैसा असूल गरेको भेटिएको छ

बेलायतका दुवै युनिभर्सिटीले दिएको कार्यक्रममा ६ महिनादेखि वर्षदिन आफूखुसी पाठ्यक्रम तानतुन गरेर विद्यार्थीसँग मोटो रकम असुल्दै आएको ब्रिटिश कलेजले गैर-कानूनी रूपमा आफूखुसी महँगो फी थप्ने गरेको हो । यसअघि बिजपाटीले बेलायतको लीड्स ब्याकेट युनिभर्सिटीको कार्यक्रम र यहाँ ब्रिटिश कलेजले चलाएको कार्यक्रमबीच १ वर्षको अन्तर रहेको खुलासा गरेको थियो ।

पढ्नुहोस् - ब्रिटिश कलेजको ठगीकाण्ड : वर्षे कोर्षलाई अवैध रूपमा वर्षे बनाएर विद्यार्थीसँग पैसा असूल !

लीड्स ब्याकेट युनिभर्सिटीबाट मात्र होइन, बेलायतकै अर्को युनिभर्सिटी अफ वेस्ट इंग्ल्याण्डबाट ल्याइएको कार्यक्रममा पनि ब्रिटिश कलेजले आफूखुसी एक वर्ष थप्ने गरेको छ ।

कलेजले ४ वर्षे भन्दै विद्यार्थीलाई झुक्याएर पठन पाठन गराउने बीबीए अनर्स बिजनेस म्यानेजमेन्ट जम्मा तीन वर्षको कोर्ष हो ।

'एक वर्ष त हामीले चिया पिएर बिताउने हो,' बीबीए अनर्स बिजनेस म्यानेजमेन्ट कार्यक्रममा चौथो सेमेस्टरमा अध्ययनरत एक छात्रले बिजपाटीसँग भने, 'अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्दै एक वर्ष थपेको भन्छ, तर हामीलाई केही थाहा छैन । नेपालको जस्तो पनि पढाइ हुँदैन, लेक्चरहरूले फाउन्डेसन कोर्स भन्दै आफूखुसी किताब ल्याएर पढाउँछन् । शुरुको वर्ष चिया खायो गयो, भएको छ ।'

तर फी भने ४ वर्षकै असुल्ने गरिएको उनको दाबी छ ।

'शुरूमा काउन्सिलिङ गर्दा खत्रा खत्रा कुरा सुनाएको थियो,' उनले भने, 'बेलायतमै पढ्न जान पाइन्छ, विश्वभरिका विश्वविद्यालयमा जहाँ गएर पढे पनि हुन्छ भन्थ्यो । भर्ना भएर पढिहालियो । अहिले इन्स्टिच्युटमा ट्युसन पढाउने जस्तो क्वालिटी पनि छैन ।'

त्यस्तै युनिभर्सिटी अफ वेस्ट इंग्ल्याण्डबाट ल्याइएको अर्को कार्यक्रम इन्टरनेसनल बिजनेस म्यानेजमेन्टलाई अनाधिकृत रूपमा २ वर्षे बनाइएको छ । जबकी एक वर्ष मात्र उक्त कार्यक्रम चलाउने अनुमति ब्रिटिश कलेजलाई सम्बन्धित विश्वविद्यालयले दिएको छ ।  

सोही युनिभर्सिटीबाट तीन वर्षका लागि चलाउने अनुमति लिइएको बीएससी अनर्स साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिकलाई एक वर्ष थपेर ४ वर्ष बनाइएको छ ।

अनाधिकृत रूपमा बजारमा जस्तो किताब भेट्टाइन्छ, त्यही किताब ल्याएर विद्यार्थीलाई कलेजले उल्लु बनाएको छ । शिक्षा मन्त्रालयका कर्मचारी र मन्त्रीसँग साँठगाँठ गरी ३ वर्षका कार्यक्रमहरूलाई अनाधिकृत रूपमा लम्याएर चार वर्षे बनाइएको हो । अनाधिकृत रूपमा कोर्सहरू थप एक वर्ष लम्ब्याएर विद्यार्थीसँग मोटो रकम असुल्ने गरेको कलेजले । साथै कलेजले तीन वर्षे अन्डरग्र्याजुएट कोर्षलाई ग्र्याजुएट भन्दै 'नक्कली' प्रमाणपत्रसमेत बेच्ने गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रले नचिन्ने ती कोर्ष उत्तीर्ण गरेबापत प्राप्त हुने 'नक्कली' प्रमाणपत्रहरूलाई त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गर्नसमेत कलेजले मोटो रकम खर्चिदै आएको स्रोतको दाबी छ ।   

यति मात्र होइन लीड्स ब्याकेट युनिभर्सिटीबाट १८ महिनाका लागि एमएससी इन्फर्मेसन टेक्नोलोजी, १ वर्षका लागि एमबीए ग्रयाजुएट र १८ महिनाका लागि एक्जेक्युटिभ एमबीए कोर्स संचालन अनुमति पाएको ब्रिटिश कलेजले तीन वटै कार्यक्रम २/२ वर्षका लागि संचालन गरिरहेको छ ।  

उताबाट अनुमति प्राप्त कार्यक्रमलाई आफूखुसी संशोधन गरेर एक ६ महिनादेखि १ वर्षसम्म लम्ब्याउँदा विद्यार्थीबाट थप रकम असुल्न पाइने र अवैधानिक रूपमा थपिएको समयमा उठाइएको पैसा विश्वविद्यालयमा जम्मा गर्न नपर्ने हुँदा करोडौंको घोटालासँगै विद्यार्थीको शैक्षिक भविष्यसमेत जोखिममा पारिएको छ ।

यताबाट आफूखुसी थपिएको समयको फी विश्वविद्यालयलाई नजाने लीड्स ब्याकेट युनिभर्सिटीले प्रष्ट पारेको छ । यसको पुष्टि कलेजका एसोसियट डीन अरुण जोशीले समेत गरे । 

'हामीले फाउन्डेसन कोर्षका नाममा एक वर्षको पाठ्यक्रम आफैं बनाएका हौँ,' जोशीले बिजपाटीसँग भने, 'यो एक वर्षे कोर्ष पढाएर विद्यार्थीबाट उठाउने फी युनिभर्सिटीमा पठाउन्नौं ।'

ब्रिटिश कलेजले आफूखुसी गैर-कानूनी रूपमा पढाउने गरेको कोर्सका बारेमा पाठ्यक्रम विकास केन्द्रलाई पनि जानकारी छैन । यसबारे पाठ्यक्रम विकास केन्द्रका एक अधिकारीले भने, 'हाम्रो पाठ्यक्रम र उनीहरूको पाठ्यक्रम फरक हुने भइहाल्यो । हाम्रोबारे केही सोध्नुछ भने सोध्नुस, ब्रिटिश कलेजले बेलायती विश्वविद्यालयले तय गरेको पाठ्यक्रम पढाउँछ, त्यसको बारेमा उतै सोध्नुस ।'

हामीले ती कर्मचारीलाई थप सोध्यौं, 'त्यसो भए त्रिभुवन विश्वविद्यालयसँगको समकक्षता कसरी निर्धारण हुन्छ त ?' ती कर्मचारीले त्यसो भए टीयुलाई नै सोध्न आग्रह गर्दै फोन राखे । 

तर ब्रिटिश कलेजका एसोसियट डीन जोशीले भने पाठ्यक्रम विकास केन्द्रसँग अनुमति लिएरै आफूहरूले एक वर्ष थपथाप गरेको दाबी गरे । 

'हामीले सन् २०११/१२ मा यी कोर्स पढाउन थालेका हौँ, त्यतिबेला नै यी समस्या देखिएका थिए । तर पाठ्यक्रम विकास केन्द्रले हामीलाई अनुमति दिएको छ ।'

जोशीले यही गत चैत्रमा नयाँ पोलिसी बनेको र त्यसले अहिलेसम्म देखिएको समस्या समाधान गर्ने बताए ।

'अहिलेसम्म समस्या भयो । हामीले थप गरेको एक वर्षे कोर्ष पाठ्यक्रम विकास केन्द्रको पनि टाउको दुखाइ बनेको छ,' यसअघि केन्द्रबाट स्वीकृति लिएको भन्ने आफ्नै भनाइको खण्डन गर्दै जोशीले भने, 'उताको र यताको कोर्ष म्याच पटक्कै हुँदैन । नयाँ पोलिसीले त्यसको समाधान गर्छ ।'

त्यो नयाँ पोलिसी के रहेछ भनेर हामीले शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखामा सोध्यौं । महाशाखा भन्छ, 'कुन पोलिसी हो हामीलाई थाहा छैन । बनेपछि तपाईंले पाउनु हुन्छ ।'

ब्रिटिश कलेजले गैर-कानूनी रूपमा एक वर्ष समय थपेर आफूखुसी पढाइरहेको बीएससी अनर्स कम्प्युटिङको नेपालमा समकक्षता निर्धारण गरिएको छैन । ब्रिटिश कलेजले 'ग्र्याजुएट' नाम दिइएको उक्त कोर्सलाई लीड्स ब्याकेट युनिभर्सिटीले 'अन्डरग्र्याजुएट' भनेको छ । 

यसबारे एसोसियट डीन जोशीलाई प्रश्न राख्दा उनले भने, 'नयाँ पोलिसीले हाम्रो कोर्षलाई टीयुको बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन)को समकक्षता दिने कुराकानी छ ।'

जबकी त्रिभुवन विश्वविद्यालयले ४ वर्षको बीसीए कार्यक्रम संचालन गर्छ । लीड्स ब्याकेट युनिभर्सिटीले जम्मा तीन वर्षको अनुमति दिएको अन्डरग्र्याजुएट बीएससी अनर्स कम्प्युटिङ कोर्सलाई गैर-कानूनी रूपमा चार वर्ष बनाइएको छ । दुवैको समकक्षता कसरी निर्धारण हुन सक्छ ? यो प्रश्नको उत्तर जोशीसँग छैन। 

 बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः

विद्यार्थीलाई प्रयोग गरेर जबरजस्ती गैरकानूनी 'धन्दा' चलाउँछ ब्रिटिश कलेज

ब्रिटिश कलेज : शक्तिका आडमा दुई नम्बरी धन्दा, बेलायत घुम्न पाएपछि शिक्षामन्त्री दङ्ग !

इस्लिङ्टनसहित ५ ‘अवैध’ कलेजमाथि कारवाहीको सिफारिस, यस्तो छ छानविन प्रतिवेदन

ब्रिटिश कलेजको ठगीकाण्ड : ३ वर्षे कोर्षलाई अवैध रूपमा ४ वर्षे बनाएर विद्यार्थीसँग पैसा असूल !

-सम्पादकीयः विदेशी सम्बन्धनका नाममा चलेका ‘छाडा’ शिक्षण संस्था सुधार्न तत्काल पहलकदमी आवश्यक

-इस्लिङ्टनले यसरी गर्छ सिंगापुर हुँदै बेलायतसम्म गैर–कानूनी आर्थिक कारोबार

-विदेशी सम्बन्धनवाला कलेजले निम्त्याएको ‘हरिबिजोग’, नेपाली विद्यार्थीको भविष्य उच्च जोखिममा

-किन सुनुवाई भएन विदेशी सम्बन्धन लिएका ‘अवैध’ कलेजमाथि कारबाहीको सिफारिस ?

-विदेशी सम्बन्धन प्राप्त ‘अवैध’ कलेज चोख्याउन शिक्षा मन्त्रालयको ‘नयाँ कर्तुत’

-विदेशी सम्बन्धन प्राप्त कलेजको अवैध धन्दा: पैसा बाहिर पठाउने, हुण्डीबाट आफैं ल्याउने खाने

-मन्त्रीलाई ‘शुभलाभ’ हुने गरी यसरी फेरिन्छ विदेशी सम्बन्धन प्राप्त कलेजका मापदण्ड

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved