अरुण चौधरीको उद्योगले खाने तेलमा कालोबजारी गरेको खुलासा*

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 11:27:11 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण चौधरीले संचालन गरेको उद्योगले खाने तेलमा कालोबजारी गरेको पाईएको छ। उनको सीजी वेल एण्ड डेरिभटिभ्स प्रा.लि.ले उत्पादन गरेर बिक्रि गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर तेलमा कालोबजारी गरेको पाईएको हो ।

उनको उद्योगले नै खानेतेलमा मूल्य नै नराखी उत्पादन गरेर कालोबजारी गरेको हो । २०७७ सालको असारमा १६५ रुपैयाँ प्रतिलिटर रहेको सनफ्लावर तेल २०७८ असारमा २३० रुपैयाँ पुग्यो । अहिले २०७९ असारमा आउँदा सनफ्लावर तेलको मूल्य प्रतिलिटर ३८० रुपैयाँ औसतमा बिक्रि भईरहेको छ । 

प्याकेटमा चौधरी ग्रुप उल्लेख रहेको शेफ ब्राण्डको सनफ्लावर तेलको भाउ त उपभोक्ताले प्रतिलिटर ४ सय रुपैयाँसम्म तिर्नु परिरहेको छ । मूल्य नखुलाई उद्योगले बजारमा तेल पठाएकाले उपभोक्ताले वास्तविक मूल्य थाहा नपाउँदा बढी मूल्य तिर्नु परिरहेको हो ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) मा उद्योगीले उत्पादन गर्ने वस्तु तथा सेवाको उत्पादन मिति, उपभोग योग्य अवधि, मूल्य, स्वास्थ्यमा पार्ने असर, बस्तुमा गरिएको मिसावट प्रष्ट रुपमा खुलाउनुपर्नेछ  प्रावधान छ । 

तर चौधरीको सीजी वेल एण्ड डेरिभटिभ्स प्रा.लि.ले उत्पादन गरेर बिक्री गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर तेलमा न उत्पादन मिति लेखिएको छ, न बिक्री मूल्य खुलाईएको छ । मूल्य नखुलाई उत्पादन बजारमा पठाउँदा नै चौधरी ग्रुपको उद्योगले मोटो रकम घोटाला गरेको हो । 

देउवाकै संरक्षण

यस विषयमा कुनैपनि छानबिन भएको छैन । उद्योगी अरुण चौधरीका दाइ बिनोद चौधरी प्रधानमन्त्री शेरबहादुर देउवाको नजिकका पात्र मात्रै होइनन्, आर्थिक सल्लाहकार नै हुन् । काँग्रेसबाट समानुपातिक सांसद रहेका चौधरीलाई प्रधानमन्त्रीकै संरक्षण छ ।

‘त्यो उद्योगलाई नेपाली कानुन लाग्दैन, नेपालमा केही यस्ता घरानाहरु छन्, जुनबाट सञ्चालित उद्योगहरुलाई कानुन नै लाग्दैन, कानुन नलाग्नेभित्र चौधरीको उद्योग पनि पर्छन्’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, ‘अहिलेको अवस्थामा चौधरीको उद्योगलाई कानुन लाग्दैन, यत्ति बुझौँ, नेपाली कानुन नलाग्ने भएकाले उहाँले जे गर्दा पनि हुन्छ ।’ 

कालोबजारीको अनुगमन गर्ने मुख्य निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग हो । तर, विभागले चौधरी ग्रुपको शेफ ब्राण्डको सनफ्लावर तेलको मूल्य नखुलाईएको र उत्पादन मिति पनि नलेखिएको विषयमा कुनै कदम चालेको छैन ।

विभागले अहिलेसम्म कुनै गुनासो तथा उजुरी नआएको र बजार अनुगमनका क्रममा पनि नभेटिएकाले कुनै कारबाही प्रक्रिया अगाडी नबढेको बताएको छ । 

सीजी वेल एण्ड डेरिभटिभ्स प्रा.लि अरुण चौधरीको कम्पनी हो भनेर लेखिनुपर्नेमा अन्यथा हुन गएकोमा सम्बन्धित पक्षलाई पर्न गएको असरप्रति क्षमाप्राथी सहित समाचारको शीर्षक र विषयवस्तु परिमार्जन गरिएको छ - सम्पादक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved