कसरी सम्भव भयो नेपाली सिमेन्टको भारतमा निर्यात ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 11, 2022 | 12:35:15 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७९ साल असार २४ गते शुक्रबार नेपाली औद्योगिक क्षेत्रका लागि ऐतिहासिक दिन बन्यो । किनकी, उक्त दिन नेपाली सिमेन्ट बोकेका ट्रक भारततर्फ प्रस्थान गरेका थिए । रूपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै नेपाली सिमेन्ट बोकेका ट्रक भारतका लागि छुटेको दिन भएकाले उक्त दिन औद्योगिक क्षेत्रका लागि ऐतिहासिक दिन बन्यो ।

सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले सिमेन्ट बोकेर भारत जान लागेका ट्रकलाई बिदाइ गरेकी थिईन् । पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले भारतीय बजामा सिमेन्टको औपचारिक निर्यात थाले पनि औद्योगिक तथा आर्थिक क्षेत्रमा खुशीयाली छाएको छ । 

कसरी सम्भव भयो ?

पाल्पा सिमेन्टका जन सम्पर्क प्रमुख जिवन निरौलाका अनुसार करिब ५ वर्ष अगाडीदेखि नै नेपाली सिमेन्ट उद्योगहरुले बजार खोजिरहेका थिए । आयात गर्नु नपर्ने गरी आत्मनिर्भर भईसकेपछि पनि क्रमशः ठूलो परिमाणमा उत्पादन गर्ने गरी उद्योगहरु आईरहे । यसले नेपालको मागभन्दा झण्डै दोब्बरले उत्पादन क्षमता बढ्यो ।

भूकम्प पछिको पुनःनिर्माणको काम क्रमशः सकिन्न थाल्यो । ठूला आयोजनाको काम अत्यन्त सुस्त गतीमा हुने भएकाले त्यस्ता आयोजनामा सिमेन्टको माग अपेक्षाकृत हुन सकेन । त्यसपछि उद्योगीहरुले नजिकै छिमेकी देशका शहरहरुलाई सम्भाव्य बजारको रुपमा हेर्न थाले ।

यसअघिः
१० वर्षपछि नेपाली सिमेन्ट कहाँ बेच्ने ?
भारतको उत्तरप्रदेश र बिहारका साना तथा ठूला बजारहरुमा सिमेन्ट निर्यात गर्न सकिनेमा उद्योगीहरु विश्वस्त भए । भारतको ती राज्यका विभिन्न जिल्लाहरुका व्यवसायीहरु पनि नेपाली सिमेन्ट खरिद गर्न तयार थिए ।

तर, नेपाली सिमेन्ट तुलनात्मक रुपमा महँगो भएकाले मूल्यमा प्रतिस्पर्धा गर्न नसकिने देखिएकाले उद्योगीहरुले विगत केही वर्षदेखि निर्यातमा अनुदान माग गर्न थाले । यसपटक आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत निर्यातमा ८ प्रतिशत अनुदान दिने कुरा घोषणा भयो । अनुदान पाउने भएपछि तयारी गरेर बसेका उद्योगीहरुले निर्यात सुरु गरे ।

यसको सुरुवात स्वरुप पाल्पा सिमेन्ट उद्योगले ‘तानसेन’ ब्राण्डका ३ हजार बोरा सिमेन्ट भारत पठाएर निर्यातको औपचारिक ढोका खोल्यो ।

मूल्य भन्दा पनि ‘क्वालिटी’ प्रधान

भारतीय सिमेन्टभन्दा नेपाली सिमेन्टको भाउ महँगो छ । किनकी, नेपाली सिमेन्टको उत्पादन लागत नै बढी छ । मूल्य बढी हुँदा सरकारले दिएको निर्यात अनुदानले भारतीय बजारमा भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्न सहयोग पुगेकैले निर्यात सम्भव भएको पाल्पा सिमेन्टका जन सम्पर्क प्रमुख जिवन निरौला बताउँछन् । 

यसअघिः
नेपाली सिमेन्ट बोकेर भारत हिडे ट्रक

‘प्रतिस्पर्धा मूल्यमा भन्दा पनि क्वालिटीमा हुनुपर्छ, हाम्रो सिमेन्टको क्वालिटी त्यहाँको भन्दा राम्रो छ । हामी हाम्रै चुनढुंगा खानीबाट क्लिङ्कर बनाएर सिमेन्ट बनाउँछौँ’ निरौलाले भने, ‘महँगो हुँदाहुँदै पनि क्वालिटी राम्रो भएकाले हाम्रो सिमेन्टको माग बढ्छ भन्नेमा हामी विश्वस्त छौँ । अर्को कुरा महँगो हुनुमा ढुवानीको भाडाले पनि काम गरेको हुन्छ । त्यसका लागि सुरुमा हामीले उत्तर प्रदेश र विहारका नजिकका जिल्लाहरुमा पठाउँछौँ ।’ 

आईस ब्रेक भयो, नीतिगत स्थिरता आवश्यक

नेपाल खाद्यान्नदेखि सबै खालका बस्तुहरुमा भारतसँग परनिर्भर छ । त्यसैले पनि नेपाली बिजुली भारतमा निर्यात हुँदा जस्तै सिमेन्टको निर्यात सुरु हुँदा पनि आम मानिसहरु हर्षित भएका छन् ।

उद्योग स्वयंले पनि यो कामलाई ‘टर्निङ प्वाइन्ट’ र ‘आईस ब्रेक’ भनेको छ । यसले खर्बौको ब्यापार घाटालाई कम गर्न योगदान दिने अपेक्षा सरकारले पनि गरेको छ । यतिसम्म कि, उद्योगहरुलाई पूर्ण क्षमतामा चलाउन पनि हौसाएको छ । निरौलाले अहिलेको उत्पादनमा कम्तीमा २० प्रतिशत उत्पादन यसैवर्ष बढ्ने बताएका छन् । 

भारतमा नेपाली सिमेन्टको औपचारिक निर्यात सुरु भएपनि नीतिगत स्थितरता हुन्छ कि हुँदैन भन्नेमा भने उद्योगीहरु त्यति आशावादी छैनन् । उनीहरुले घुमाउरो गरी कम्तीमा १ दशक (१० वर्ष) निर्यातमा अनुदान चाहिने बताउँदै आएका छन् । 

यो पनिः
अर्थमन्त्रीलाई उद्योगीले भने, ‘भारतलाई १ करोड टन सिमेन्ट बेच्छौँ, लागत घटाईदिनुस्’

‘अहिले त टिकाउन चाहिएको हो, त्यहाँ प्रतिस्पर्धा गर्न, त्यहाँको बजारमा आफ्नो ब्राण्ड स्थापित गराउन अनुदान चाहिएको हो’ निरौला थप्छन्, ‘भोलीका दिनमा क्यास अनुदान नचाहिन पनि सक्छ । यतै लागत कम हुने नीति अख्तियारी गर्न सकिन्छ । अर्को कुरा, यो आईस ब्रेक हो भनेर चुप चाहिँ बस्नु हुँदैन । यसलाई स्वागत गर्दै निर्यात बढाउने गरी तयारीमा लाग्नुपर्छ । त्यसका लागि नीतिगत स्थितरता चाहिन्छ ।’

‘स्वदेशमै पनि खपत बढाउनुपर्छ’

भारतमा निर्यात सुरु भएपनि स्थायी बजार नेपाल नै हो । यसमा उद्योगीहरु पनि सहमत छन् । 

निर्यातसँगै नेपाली बजारमा पनि सिमेन्टको खपत बढाउनुपर्ने उनीहरुको माग छ । ठूला आयोजनाहरुको निर्माण, निर्माणाधीन आयोजनाहरुमा कामको तीव्रता, सडकमा कालोपत्रेको सट्टा सिमेन्टको कंक्रिटको ढलान लगायतका काम गरेर खपत बढाउन सकिने उद्योगीहरु बताउँछन् । 

भारत अत्याधिक तीव्र गतीमा भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको मूलुक हो । यसकारण अबको करिब २० वर्षका लागि भारतीय बजार नेपाली सिमेन्टको बजारका रुपमा सुरक्षित भने उद्योगीहरुले देखेका छन् । तर, भारतमा भएका ठूला क्षमताका उद्योगहरुसँग पनि प्रतिस्पर्धा गर्न भने सक्नुपर्ने आवश्यकता छ ।

उद्योगीहरुले निर्यातको ‘पोलिसी’ बने वार्षिक १ खर्बको सिमेन्ट निर्यात गर्ने दाबी गर्दै आएका थिए । तर, पहिलो वर्ष १० देखि २० अर्ब रुपैयाँको निर्यात हुने र यो नै ठूलो उपलब्धि हुने उद्योगीहरुको भनाई छ । आगामी वर्षबाट यो क्रमशः बढ्ने विश्वास उनीहरुको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved