जगदम्बा स्टिल्सले यसरी थामथुम पारेको थियो ‘हातैले भाँचिएको डण्डी प्रकरण’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 11:59:40 AM मा प्रकाशित

ntc

बालाजु बोहोराटारका श्रीकृष्ण भट्टराईले १६ माघ २०७६ बाट घर बनाउन सुरु गरेका थिए । सामान जुटाउन समय लागेका कारण २०७६ चैत्र ११ (लकडाउन अघि) उनको घर बनिसकेन । 

कोरोनाका कारण मूलुक लकडाउनमा गएपछि घर बनाउने काम रोकियो । त्यसपछि, उनले खुकुलो भएको लकडाउनमा घर निर्माणलाई तीव्रता दिए ।

घर निर्माण गर्न उनले स्वयम्भू सानो भर्याङस्थित डी.पी हार्डवेयरबाट शंकर ग्रुपले उत्पादन गरेको जगदम्बाका फलामे रड किनेका थिए । बुधबार २८ साउन २०७७ बाट उनले घरको तेस्रो तल्लाको ढलान सुरु गर्ने तयारीमा उनी भट्टराई थिए ।

यसका लागि २ लाख ४२ हजारको जगदम्बाका डण्डी खरिद गरे । तर, तयारी गर्ने क्रममा डण्डी मर्काउँदा पिटिपिटी भाँचिन थाले । कामदारले एउटा डण्डी भाँचिएपछि अर्को मर्काए, अरु पनि उसैगरी भाँचिए । 

कम्पनीले कामदारलाई भन्यो, ‘मर्काउन जानेनौ’

आफूले विदेशमा कमाएको पैसाले ४ आना जग्गा किनेर ठड्याएको घरमा प्रयोग भएका जगदम्बाका डण्डीहरु धमाधम भाँचिएपछि श्रीकृष्ण भट्टराईले यो खबर आफूले सामान ल्याउने गरेको डी.पी हार्डवेयरमार्फत कम्पनीसम्म पुर्याए । 

२८ साउनमै कम्पनीलाई खबर गरेको भएपनि कम्पनीले सुरुमा वेवास्ता गरिरह्यो ।

निरन्तर ताकेता गरेपछि बल्लबल्ल कम्पनीका मार्केटिङ म्यानेजर भरत श्रेष्ठ (हाल छन् वा छैनन्) प्राविधिक टोली लिएर बोहोराटार पुगे । तर उनी कमजोरी स्वीकार गर्न तयार भएनन् । बरु उल्टै गुणस्तर परीक्षण गराउने र परीक्षण गराउँदा गुणस्तरीय नै रिपोर्ट आउने दाबी गरेर फर्किए । 

उनकै अगाडी जगदम्बा कम्पनीका फलामे रड भाँचेर देखाउँदासमेत उनले कामदारलाई मर्काउन नजानेको भनेर आरोप लगाए ।

गुणस्तर विभागबाट गुणस्तरहीन प्रमाणित

बिजपाटी डटकमले यो घटनाको निरन्तर ‘फलोअप’ गरिह्यो । पीडित श्रीकृष्णलाई मिडियामा नजान जगदम्बाले पटक पटक दबाब दिईरह्यो । उनलाई उनका गाउँले दाइ शंकर न्यौपानेले सहयोग गरे र बिजपाटीले अन्तिमसम्म साथ दियो ।

घटना नापतौल तथा गुणस्तर विभागसम्म पुग्यो । विभागका प्रतिनिधिहरु आएर डण्डीको नमूना लिएर गए । 

२०७७ साउन अन्तिममा संकलन गरेको नमूनाको रिपोर्ट गुणस्तर विभागले भदौ १२ गते दियो । कम्पनीले उत्पादन गरेका १६ एमएमका फलामे डण्डी गुणस्तरहीन भएको भन्दै विभागले उत्पादन र वितरणमा रोक लगाईदियो । 

सँगसँगै विभागले बजारमा भएका उक्त ब्याचका डण्डी फिर्ता लिएर आफ्नो रोहबरमा नष्ट गर्न पनि निर्देशन दियो ।

जगदम्बाको १६ एमएमको टिएमटी बार फी ५०० को नमुना परीक्षण गर्दा कार्बनको मान ०.३० प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत भेटिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले त्यतिबेला नै बिजपाटीलाई जानकारी दिएका थिए ।  

यसरी मिलायो जगदम्बाले घटना

गुणस्तर विभागबाट पनि डण्डीहरु गुणस्तरहीन प्रमाणित भएपछि शंकर समूह आफ्नो कमजोरी लुकाउन उपभोक्तासँग बार्गेनिङमा लाग्यो । गुणस्तर विभागले पीडितले क्षतिपुर्ति चाहे वाणिज्य विभागलाई पत्र लेखिदिने र वाणिज्य विभागले नै क्षतिपुर्ति दिलाउने भनेपछि जगदम्बा स्टिल्सका सिइओ आनन्द नेपाल वाणिज्य विभागसम्म घटना नपुगोस् भनेर नक्सालस्थित कार्यालयमा पीडितसँग मिटिङमा बसे ।

यो पनिः
हातैले भाँचियो जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)

पिडितसँग मिटिङमा बसेका सीईओ नेपालले मिडियामा नजान र बिजपाटीलाई समस्या समाधान भयो भनेर भन्न लगाए ।

‘बिजपाटीमा हाम्रो बारेमा धेरै समाचार आए, यसले हामीलाई भोलीका दिनमा निकै असजिलो हुन्छ, प्लिज अब समस्या समाधान भयो भनेर तपाईले भनिदिनु पर्यो’ पीडितसँग सीईओ नेपालले भनेका थिए, ‘तपाईहरुको डिमाण्ड के हो ? हामीले के गरिदिँदा समाचार आउन छोड्छ, त्यो हामी गर्न तयार छौँ ।’

त्यसपछि पीडित श्रीकृष्णले डण्डी खरिद गर्दा भएको खर्च नगदमै फिर्ता, घरको बीमा, रडको पूर्णकालिन ग्यारेन्टीको माग राखे । 

उनका मागमा सीईओ नेपाल सकारात्मक भए । त्यसपछि अन्तिम पटक डण्डी किन्दा भएको खर्च ५ लाख फिर्ता, घरको १० वर्षको बीमा र रडको पूर्णकालिन ग्यारेन्टीको लिखित सम्झौता भयो । त्यसपछि सम्झौताको कागज बोकेर श्रीकृष्ण भट्टराई फर्किए ।

यी श्रृङ्खलाका सबै कागजात बिजपाटीसँग आज पनि सुरक्षित छन् ।

अहिले झन कम गुणस्तरका उत्पादन

अहिले त झन जगदम्बाले स्पञ्ज आइरन ल्याएर त्यसमा यहीँ संकलित पत्रुलाई एउटै घानमा हालेर बिलेट बनाउने गरेको छ । जसबाट प्राइम बिलेट उत्पादन नै हुँदैन । प्राइम बिलेट नबन्दा भौतिक संरचना निर्माणका लागि गुणस्तरीय मानिने ५००डी क्वालिटीका डण्डीहरु नै बन्दैनन् ।

यसकारण जगदम्बाका डण्डीहरु झन झन कम गुणस्तरका उत्पादन हुँदै आएका छन् । जसले गर्दा आजका दिनमा पनि घर निर्माणका लागि जगदम्बा स्टिल रोज्नेहरुले गुणस्तरीता र सुरक्षामा सम्झौता गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved