निर्यातमा अनुदानको घोषणाले मात्रै हुँदैन, जुत्ता चप्पलको अवैध आयात रोक्नुपर्छः विदुषी राणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2022 | 05:14:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेटमार्फत नेपालमा उत्पादित बस्तुको निर्यातमा ८ प्रतिशत अनुदानको घोषणा गर्यो । बजेटले यस्तो घोषणा गरेपछि सिमेन्टको औपचारिक रुपमा निर्यात सुरु भएको छ भने फलामे डण्डी पनि निर्यात थालिएको छ ।

तर, सबैभन्दा पहिल्यै निर्यात गरेर देशमा विदेशी मुद्रा भित्र्याईरहेको जुत्ता चप्पल उद्योग भने अहिले निर्यात गर्न सक्ने अवस्थामा छैन । किनकी, नेपाली जुत्ताको लागत नै महँगो छ । 

‘अवैध आयात रोकौँ, खपत बढाऔँ’

नेपाली जुत्ता विश्व बजारमा निर्यातको कुरा आउने बित्तिक्कै गोल्ड स्टारको नाम अगाडी आउँछ । तर, अहिले गोल्ड स्टार पनि अपेक्षाकृत रुपमा निर्यात हुन सकिरहेको छैन । 

निर्यातलाई मात्रै नहेरी स्वदेशमै नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको खपत बढाउनुपर्ने गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणाको भनाई छ । चीन र अन्य देशबाट अवैध रुपमा आयात हुने जुत्ता चप्पल नेपालमा आउन मात्रै नदिने हो भने नेपाली उद्योगहरुले उत्पादन गरेका जुत्ता चप्पल यहीँ खपत हुने उनको भनाई छ ।

‘तपाई कुनै पनि जुत्ता चप्पल पसलमा जाँदा राजस्व र भ्याट नतिरी आयात भएका जुत्ता चप्पल जताततै पाउनुहुन्छ’ उनले भनिन्, ‘हामी चाहिँ यहाँ उद्योग खोलेर, ३ हजार जनालाई रोजगारी दिएर, बैंकको यत्ति चर्को ब्याजमा ऋण लिएर काम गरिरहेका छौँ । त्यसरी कर नतिरी, भ्याट नतिरी आएका जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्नु परिरहेको छ । यसलाई मात्रै बन्द गराउने हो भने पनि हामीलाई सजिलो हुन्थ्यो ।’

‘२ थरी ब्याजदर हुनुपर्छ’

उनले उत्पादनमूलक उद्योग र ब्यवसायका लागि कर्जामा फरक फरक ब्याजदर हुनुपर्ने माग पनि गरेकी छिन् । यद्यपी, यो विषय राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत केही सम्बोधन गरेको र कार्यविधि सहज हुनुपर्ने उनको भनाई छ ।

‘उत्पादनका लागि र ब्यापारका लागि प्रवाह हुने कर्जामा फरक फरक ब्याजदर भयो भने मात्रै मान्छे उत्पादनमा लाग्छ, ब्यापार र उत्पादनलाई एउटै ब्याजदर हुँदा मान्छे किन उत्पादनमा लाग्छ र ? उ पनि ब्यापार गर्न लाग्छ नि’ गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणाले थपिन्, ‘जबसम्म उत्पादनलाई प्रोत्साहन गर्दैनौँ, तबसम्म अर्थतन्त्र मजबुत बन्दै बन्दैन । मैले यो धेरै फोरमहरुमा उठाउँदै आएको कुरा हो ।’

उनले निर्यात नै एकदम कम भईराखेको समयमा निर्यात अनुदानको कार्यक्रम ल्याएको र विगतमा पनि ३ प्रतिशत निर्यात अनुदान दिने भनिएकोमा अहिलेसम्म नपाईएको गुनासो पनि गरेकी छिन् । 

‘सरकारले निर्यातमा ८ प्रतिशत अनुदान दिने घोषणा गर्नु एकदमै राम्रो कुरा हो’ राणाले भनिन्, ‘तर अहिले नेपाली जुत्ताको निर्यात नै छैन । किनकी, हाम्रोमा प्रोडक्सन कस्ट एकदमै उच्च छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved