वर्षात् कम हुँदै गएपछि निर्माणको काम सूचारु हुने अपेक्षासहित उद्योगीहरुले सिमेन्टको भाउ बढाएका छन् । उद्योगीहरुले प्रतिबोरा ५० रुपैयाँ मूल्य बढाएका हुन् ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार सबै उद्योगले नभई केहीले मूल्य बढाएका हुन् । उनले उत्पादन लागत र ढुवानीको शुल्क बढेकाले मूल्य बढ्नु स्वभाविक भएको पनि बताएका छन् ।
‘ढुवानी र लागत बढेको छ, मूल्य नबढाई बेच्न सक्ने स्थिती पनि छैन’ उनले भने, ‘अलिअलि बढेकै छ ।’
अध्यक्ष थापाले हाल एक बोरा (५० किलो) ओपीसी सिमेन्ट उत्पादन गर्दा ६५० रुपैयाँ लागत लाग्ने बताए । पीपीसी सिमेन्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ५५० रुपैयाँ छ । अहिले काठमाडौँको बजारमा ओपीसी सिमेन्ट प्रतिबोरा ७७० रुपैयाँदेखि ७८० रुपैयाँमा उपलब्ध रहेको दाबी उद्योगीहरुको छ ।
तर, अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य अस्वभाविक रुपमा बढेकाले सिमेन्टको लागत नै बढ्न गएको सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाको दाबी छ ।कोइलाको मूल्य प्रति मेट्रिक टन ३८ हजार रुपैयाँ पुगिसकेकाले सिमेन्टको लागत अझै बढ्ने उनको अनुमान छ ।
‘कोइलाको भाउ प्रति मेट्रिक टन ३८ हजार रुपैयाँ पुगिसकेको छ, गत वर्ष यहीँ बेला १४ देखि १५ हजार रुपैयाँ थियो’ अध्यक्ष थापाले थपे, ‘त्यहीँ भएर पनि केही सिमेन्ट उद्योगहरुले भाउ बढाउनु परेको हो ।’
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि साना ठूला सबै उद्योगले सबै खालका सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ मूल्य बढाएको बताएका छन् ।
‘सबै खालका सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँ मूल्य बढाएका हुन्’ उनले भने, ‘अहिले सिमेन्टको खपत खासै छैन, त्यहीँ भएर निर्माण उद्योगमा प्रभाव परिसकेको चाहिँ छैन ।’
अध्यक्ष सिंहले फलामे डण्डीको भाउ पनि प्रति किलो १ सय रुपैयाँभन्दा कम नै रहेको बताएका छन् ।
‘डण्डीको भाउ पनि अहिले खासै महँगो छैन, सय रुपैयाँ भन्दा तल नै छ’ सिंह भन्छन्, ‘कुनै कुनै चाहिँ ब्राण्ड महँगो भएकाले सय रुपैयाँ पनि छ ।’