एसियन पेन्ट्सको ठगी धन्दा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 07, 2022 | 03:02:08 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्तिक १७ गते बिहिबार बजारमा रि–लेवलिङ गरिएका एसियन पेन्ट्सका डब्बाहरु देखिए । विभिन्न हार्डवेयर तथा निर्माण सामग्री बिक्रि गर्ने पसलबाट उपभोक्ताले खरिद गरेका त्यस्ता रि–लेवलिङ गरिएका डब्बाहरु भेटिएपछि एसियन पेन्ट्स निगरानीमा पर्यो ।

त्यसपछि शुक्रबार अर्थात् कार्तिक १८ गते वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोली एसियन पेन्ट्सको गोदाममा पुग्यो । बालकुमारी र नैकापमा रहेको बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्सको गोदाममा विभागको टोली पुग्दा त्यहाँ कर्मचारीहरु अताल्लिए । किनकी, प्याकेजिङ हुँदाको प्रयोग योग्य मिति (एक्सपाइरी डेट) उक्काएर नयाँ मिति टाँसिएका रङ्ग भरिएका डब्बाहरु त्यहाँ थिए ।

सँगै, विभागको टोलीले पूरानो मूल्य उक्काएर नयाँ मूल्य लेखेर टाँसिएको पनि भेट्यो ।

नयाँ मूल्य टाँसेको स्वीकार

विभागको टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार एसियसन पेन्ट्सले बद्माशी गरेको निष्कर्ष निकाल्दै तत्काल सामान जफतको प्रक्रिया अगाडी बढायो । टोलीले बबरमहलस्थित आफ्नो कार्यालयमा यसबारे खबर गर्यो । कार्यालयले तत्कालै ५ वटा गाडी पठायो ।

त्यसपछि टोलीले मुचुक्ला उठायो । मुचुक्ला लगायतका आवश्यक प्रक्रिया पूरा गरेर टोलीले विभागबाट गएका ५ वटा गाडीमा १ करोड २० लाख रुपैयाँ पर्ने ८ हजार वटा डिब्बा जफत गरेर लिएर आयो । अहिले उपभोग्य मिति सकिएका ति रङ्गका डिब्बाहरु विभागको कार्यालयमा छ ।

विभागको टोलीले सामान ल्याएपछि एसियन पेन्ट्सका अधिकारीहरुलाई विभागले बोलायो । विभागसँग छलफल हुँदा उनीहरुले सामानको उपभोग्य मिति नसकिएको दाबी पेश गरेको विभागका सह–प्रवक्ता कमल भुसालले जानकारी दिए । सँगै, मूल्य बढेका कारण पूरानो स्टकलाई पनि नयाँ मूल्य अनुसार बजार पठाउन पूरानो मूल्य टाँसिएको स्टिकर उक्काएर नयाँ मूल्य लेखिएको स्टिकर टाँस गरिएको ती अधिकारीले स्वीकार गरेका छन् ।

‘मिति मेटेको होइन भन्ने दाबी उहाँहरुको छ, सँगै मूल्य बढेकाले नयाँ मूल्य राख्न पूरानो स्टिकर उक्काएको चाहिँ स्वीकार गर्नु भएको छ’ विभागका सह–प्रवक्ता भुसालले भने ।

विभागका प्रवक्ता होमनाथ भट्टराईले उनीहरुले उपभोग्य मिति नमेटेको दाबी गरेपनि उनीहरुको दाबी सत्य हुने आधार नदेखिएकाले कारबाही हुने बताएका छन् । यसकारण कम्पनीलाई जुनसुकै हालतमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार विभागले कारबाही गर्ने उनको भनाई छ ।

के भन्छ कम्पनी ?

कम्पनीले भने यसबारे हालसम्म आधिकारिक वक्तव्य जारी गर्ने वा कुनै अरु ‘स्टेटमेन्ट’ निकालेको छैन । तर, बिजपाटीको सम्पर्कमा रहेकी कम्पनीकी एक अधिकारीले भने यसबारे आफूहरु आन्तरिक अध्ययनमै रहेको बताएकी छिन् । के भएको रहेछ भन्नेबारे कम्पनी स्वयम् गृहकार्यमै रहेको र उच्च तहबाट मात्रै यसबारे ‘स्टेटमेन्ट’ जारी गर्ने अभ्यास भएकाले आफूहरुले पनि अहिले केही बताउन नसक्ने उनले बताइन् ।

बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्सको नेपालस्थित फ्याक्ट्री भने हेटौँडामा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved