
नेपाली सेनाको २६ नम्बर बाहिनीको सैनिक आवास भवन बनाउन प्रयोग गरिएको केपी सिमेन्ट सेनाले तोकेको गुणस्तरभन्दा कम भएपछि भवन नै भत्काउनुपर्यो ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका भकुण्डेवेशीस्थित सेनाको २६ नम्बर बाहिनीले ब्यारेकभित्र सैनिक आवासीय भवन बनाउन गत आर्थिक वर्षमा (०७८/०७९/०१) ठेक्का आह्वान गरेको थियो । ठेक्का पाएका ब्राइट–डायना जे.भी. कन्ट्रक्शनले २०७९ असार मसान्त (आर्थिक वर्ष २०७८/०७९को अन्त्य) सम्म काम सक्नुपर्ने थियो ।
ठेकेदारले धादिङको नौबिसेमा रहेको केपी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट प्रयोग गरेका थिए । ठेकेदारले ५ लाख रुपैयाँमा ७५० बोरा सिमेन्ट खरिद गरेका थिए । तर, सेनाले तोकेको ५३ ग्रेडको मापदण्ड विपरित ३३ ग्रेड लेखिएको पाइएपछि अन्त्यमा भवन भत्काउनु पर्यो ।
यो विषयमा बिजपाटी डटकमले के भएको हो भन्दै खोजी गर्दा सेनानी पिताम्बर रेग्मीको अध्यक्षतामा २०७९ बैशाख ७ गते बैठक बसी बाँकी सिमेन्ट फिर्ता गर्ने निर्णय भएको फेला पर्यो । ठेकेदार पक्षको तर्फबाट पेटी ठेकेदार शिवजी बुढाथोकीले प्रयोग हुन बाँकी रहेका ४८५ बोरा सिमेन्ट केपी सिमेन्ट इन्डस्ट्रिज्का २ जना ड्राइभर महेश प्रसाद खनाल र दिपेन्द्र रम्तेललाई जिम्मा लगाएको पनि भेटियो ।
यसपछि यो मुद्दा अहिले अदालतमा पुगेको छ । यस सिमेन्ट उद्योगका मालिक केशव प्रसाद उप्रेती र अन्य अधिकारीलाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । मुद्दामा प्रतिवादीलाई उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार कारबाहीको मागसहित क्षतिपूर्ति पनि माग गरिएको छ ।
केपीका मालिक भन्छन्, ‘किर्ते कागज बनाइयो’
सिमेन्ट उद्योगले लेखेको भनिएको एउटा पत्र पनि सार्वजनिक भएको छ । जसमा चलानी नम्बर, मिति र सम्बन्धित उद्योगको लेटर–हेड केही पनि छैन । पत्रमा न निर्माण कम्पनीलाई सम्बोधन गरिएको छ, न सेनालाई सम्बोधन गरिएको छ ।
तर, प्रशासन प्रमुखको हस्ताक्षर भएको उक्त पत्रमा कम्पनीको प्रयोगशालामा परीक्षण गर्दा उक्त लटमा उत्पादन भएका सिमेन्ट ५३ ग्रेडभन्दा माथिको गुणस्तरका भएकाले ३३ ग्रेड छापिएका बोराहरु पूरानो स्टकबाट लोडिङ भई डिस्पाच (पठाइएको) भएको दाबी गरिएको छ ।
यद्यपी, यो पत्र उद्योगले नलेखेको दाबी उद्योगी केशव उप्रेतीको दाबी छ । उनले यो विषयमा उद्योगले हालसम्म कुनै पनि व्यक्ति र संस्थालाई कुनै पत्र नलेखेको दाबी गरेका छन् । सँगै, उद्योगले ५३ ग्रेडको सिमेन्ट नै उत्पादन नगर्ने तर, ठेकेदार र कमिशन एजेन्ट मिलेर ३३ ग्रेडको सिमेन्टलाई ५३ ग्रेडको भनेर प्रयोग गरेको हुनसक्ने उनको आशंका छ ।
‘हामीले ५३ ग्रेडको सिमेन्ट नै उत्पादन गर्दैनौँ, हामीले त ३३ ग्रेडको मात्रै उत्पादन गर्ने हो’ उद्योगी उप्रेतीले बिजपाटीसँग भने, ‘हामीले ५३ ग्रेडको सिमेन्ट हो भनेर बिल पनि काटेका छैनौँ । ३३ ग्रेडको ओ.पी.सी सिमेन्ट भनेर बिल काटेका छौँ । ५३ ग्रेडकै हो भनेर हामीले कसरी पत्र लेख्छौँ ?’
हेर्नुहोस् पत्र
उप्रेतीले कमिशन एजेन्ट योगेश न्यौपाने र ठेकेदार राजु चौधरीको मिलेमतोमा उद्योगलाई बद्नाम गराउन खोजिएको आरोप लगाएका छन् ।
‘हामीले पत्र नै लेखेका छैनौँ, हाम्रो उद्योगले ३३ ग्रेडको मात्रै सिमेन्ट उत्पादन गर्छ’ उप्रेती दाबी गर्दै भन्छन्, ‘५३ ग्रेडकै हो भनेर कमिशन एजेन्टले लेखेर दिएको भए हामीलाई थाहा छैन । यसो यसो भएको हो भनेर ठेकेदार आउनुपर्यो नि । ठेकेदारले कमिशन एजेन्टलाई ल्याउनु पर्यो, उ आफैँ आएको छैन । अनि बाहिर बाहिर उद्योगको बद्नाम गराउँदै हिड्ने ?’
योगेश न्यौपानेलाई केपी सिमेन्ट इन्डष्ट्रिजका म्यानेजर भनिएपनि उनी कमिशन एजेन्ट मात्रै भएको उप्रेतीको दाबी छ । उनी पनि अहिले सम्पर्क बिहिन रहेको उनको भनाई छ ।
ठेकेदार चौधरी सम्पर्कबिहिन
सेनाले ठेकेदार पक्षसँग छलफल गरेर कम गुणस्तरका निर्माण सामग्री प्रयोग भएको भवन नबुझ्ने भनेर भवन पनि भत्काउनुपर्ने सर्त राखेपछि ठेकेदार राजु चौधरीले भवन भत्काए । उपभोक्ता हित संरक्षण मञ्च र अन्यत्र आफूलाई नोक्सानी भएको दाबी गरिरहेका निर्माण व्यवसायी चौधरीलाई बिजपाटी डटकमले पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आएनन् ।
‘कमिशन एजेन्टसँग पार्टी (ठेकेदार वा निर्माण कम्पनी)ले जुन सिमेन्ट माग्छ, कमिशन एजेन्टले त्यहीँ सिमेन्ट उपलब्ध गराइदिने हो’ केपी सिमेन्टका सञ्चालक उप्रेतीले भनेका छन्, ‘ठेकेदारले कमिशन एजेन्टसँग केपी सिमेन्ट माग गरेर नै त उसले हाम्रो सिमेन्ट दिलाइदियो । हाम्रो त ५३ ग्रेडको नेपाल गुणस्तर नै छैन । हामीले त जे छ त्यहीँ उपलब्ध गराउने हो । प्रयोग हुनु अगाडी त्यहाँ ल्याब टेष्ट भएन होला ? यो सब ठेकेदार र कमिशन एजेन्टको मिलेमतोमा भएको हो । यदि त्यसो होइन भने किन आउन सकेका छैनन् ?’
यस सम्बन्धमा भएको के हो भन्ने जानकारी लिन पटक पटक सम्पर्क गर्दा पनि चौधरी सम्पर्कमा नआएपछि बिजपाटीले पेटी ठेकेदार शिवजी घिमिरेसँग कुराकानी गर्यो । उनले पनि आफूलाई यसबारे अहिले के भइरहेको छ भन्ने जानकारी नरहेको र उनै चौधरीसँग कुरा गर्न भने ।
यो पनिः
केपीको कर्तूतः गुणस्तरहीन सिमेन्टमा सेनासमेत झुक्कियो, भवन भत्काइयो तर छैन क्षतिपूर्ति