विदेशीलाई ‘बिजनेश भिसा’मा कडाईः पहिला कसरी दिइन्थ्यो ? अब कसरी दिइन्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 14, 2022 | 12:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी नागरिकलाई नेपालमा व्यवसायिक भिसामा कडाइ गरिएको छ । विदेशी नागरिकले भिसा पाउनका लागि मात्रै लगानी स्वीकृत गराउने गरेको पाइएको भन्दै उद्योग विभागले व्यवसायिक भिसामा कडाइ गरेको हो । 

भिसा पाउनका लागी लगानी स्वीकृत गराउने तर भने अनुसार लगानी नल्याउने गरेपछि उद्योग विभागले विदेशी नागरिकलाई व्यवसायिक भिसामा कडाइ गरिएको जनाएको छ । लगानी स्वीकृत गराएपछि नेपालमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न कुनै तदारुकता नदेखाउने गरेपछि व्यवसायिक भिसामै कडाइ गर्ने नीति लिइएको विभागका एक अधिकारीले बताए ।  

कसरी दिइन्थ्यो, अब कसरी दिइन्छ ?

लगानी ल्याउँछु भनेर कबोल गर्ने लगानीकर्ता वा उसको आधिकारिक प्रतिनिधि र लगानी ल्याउँछु भन्ने व्यक्तिका परिवार वा लगानी ल्याउँछु भन्ने व्यक्तिको आधिकारिक प्रतिनिधिको परिवारका सदस्यलाई लगानी स्वीकृत पछि व्यवसायिक भिसाको सिफारिस हुँदै आएको थियो । यस्तो सिफारिस उद्योग विभागले एकल बिन्दु सेवा केन्द्रमा गरिदिन्थ्यो ।

त्यसपछि विदेशी नागरिकले नेपालमा व्यवसायिक भिसा पाउने प्रक्रिया सुरु हुन्थ्यो । सुरुमा १ वर्षका लागि व्यवसायिक भिसा प्रदान गरिन्थ्यो । १ वर्षमा कम्पनी दर्ता भए नभएको जानकारी लिने गरिन्थ्यो । तर, लगानी ल्याउँछु भनेको विदेशी नागरिकले कारण देखाएर कम्पनी दर्ता गर्न नसकेको जनाएपछि पुनः भिसा अवधि थपिन्थ्यो । 

अब भने सुरुमै ३ महिनाको मात्रै भिसा दिइने छ । ३ महिनापछि पुनः भिसा अवधि थप गर्न कम्पनी दर्ता गरेको प्रमाणपत्र अनिवार्य गरिएको छ । कम्पनी दर्ताको प्रमाणपत्र पेश गरेपछि थप ३ महिनाको भिसा दिइनेछ । 

फेरि भिसा अवधि थप गर्नुपर्दा कर कार्यालयमा दर्ता गरेको, बैंक खाता खोलेको र उद्योग दर्ता गरेको वा उद्योग दर्ताको लागि आवेदन दर्ता गरेको हुनुपर्नेछ । उद्योग नै दर्ता गरिसकेको प्रमाणपत्र भएकाले मात्रै थप ६ महिनाको लागि व्यवसायिक भिसाका लागि सिफारिस पाउने छन् । तर, कर कार्यालयमा दर्ता गरेको, बैंक खाता खोलेको र उद्योग दर्ताका लागि प्रक्रिया सुरु गरेको अवस्थामा पनि प्रगति हेरेर थप ३ महिनाको लागि भिसा सिफारिस पाउने उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

पूरानै व्यक्तिले नयाँ लगानी ल्याउँछु भने के हुन्छ ?

व्यवसायिक भिसामा कडाई गर्ने नीतिका विषयमा उद्योग मन्त्रालयमा छलफल हुँदा यदि कुनै विदेशी लगानीकर्ताले लगानी स्वीकृत गराएर भिसा पाएको तर, भिसा पाएपछि कम्पनी दर्ता नै नगरी उसले पुनः नयाँ लगानी स्वीकृत गराएको अवस्थामा के गर्ने भन्ने विषय उठेको थियो ।

यदि यस्तो अवस्था आएको खण्डमा उसले नयाँ विदेशी लगानीका लागि दिएको आवेदन स्वीकृत गर्ने तर, नयाँ लगानी स्वीकृतको आधारमा व्यवसायिक भिसाका लागि सिफारिस नगरिने निर्णय भएको उद्योग विभाग बताउँछ । 

के भन्छन् विभागका महानिर्देशक ?

विभागका महानिर्देशक रामचन्द्र तिवारीले व्यावसायिक भिसामा कडाई गरिएको भन्नु भन्दा पनि नक्कली लगानीकर्ताले भिसा नपाउन् भन्नका लागि नयाँ व्यवस्था गरिएको बताएका छन् । 

‘लगानीको प्रतिवद्धता नगर्ने तर पटक पटक भिसा लिने गरेको पाईएपछि भिसा दिने प्रक्रिया अलिक कसिलो बनाईएको हो’ उनले भने, ‘यसलाई भिसामा कडाई भन्नु भन्दा पनि नक्कली लगानीकर्तालाई भिसा नदिने नीति बनाईएको हो भन्नु राम्रो हुन्छ ।’

लगानी स्वीकृत पश्चात व्यवसायिक भिसा लिएर बस्ने तर, कुनै प्रकृया नगरी पटक पटक उस्तै प्रकृतिको भिसा लिएर बस्दा उनीहरु कतै गलत क्रियाकलापमा संलग्न त छैनन् भन्ने आशंका उब्जिनु पनि स्वभाविक भएको महानिर्देशक तिवारी बताउँछन् ।

काननुमा अहिलेसम्म प्रतिवद्धता पाएपछि १ वर्ष भित्रमा २५ प्रतिशत लगानी ल्याउनुपर्ने भन्ने उल्लेख भएकाले त्यसैको आधारमा भिसा लिएर वर्षदिन यतै बस्ने तर, पत्रिया अगाडी नबढाउने पाएपछि नयाँ व्यवस्था गर्नुपरेको उनको भनाई छ । 

पछिल्ला वर्षहरुमा प्रतिवद्धताको एक तिहाई मात्रै लगानी भित्रिएको महानिर्देशक तिवारीले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved