
विदेशी
मुद्रा अपचलन गरेको, राजश्व छली गरेको, कर्मचारीले पाउनुपर्ने ज्याला नदिएर चाड मनाउन
नदिएको, गैर-कानूनी रूपमा विदेश पैसा पैठारी
गरेको जस्ता दर्जन भन्दा बढी कर्तूतमा विवादित बनेका डलर अर्बपति विनोद चौधरीले
बिजपाटी डट कमको आवाज दबाउन ठेगान लगाइदिने धम्की दिएका छन् भने अदालतमा मुद्दासमेत
हालेका छन् ।
उनले
टिकट पाएको नवलपरासी क्षेत्र नम्बर १ को चुनावी अवस्थाबारे गरेको रिपोर्टिङ र
त्यससँग सम्बन्धित समाचारहरू लेखेकै आधारमा बिजपाटीकर्मीलाई 'ठेगान लगाइदिने'
धम्की आएको थियो ।
आफूलाई
चौधरीको खास मान्छे भएको बताउने एक व्यक्तिले उनको निर्वाचन क्षेत्रमै रहेका
बिजपाटीकर्मी बसेको ठाउँमै आएर समाचार लेख्न नछोडे ठेगान लगाइदिने धम्की दिएर गएका
हुन् । उनले आफ्नो नाम बताएनन् भने धम्की दिएलगत्तै त्यहाँबाट निस्केका थिए ।
बिजपाटीकर्मी
बसेको ठाउँ पत्ता लगाउन चौधरीले मान्छेसमेत खटाएका रहेछन् । बिना कुनै पूर्व
जानकारी आएका ती अधवैंशे व्यक्तिले 'तपाईं बिजपाटीको मान्छे हो ?' भनेर सोधेका थिए
। 'हो' भन्ने जवाफ पाएपछि 'म विनोद चौधरीको
मान्छे हो, उहाँका बारे समाचार नलेख्नु, ठेगान लगाइदिन्छु' भनेर निस्किए ।
चौधरीले
बिजपाटीविरुद्ध गत भदौ ८ गते जिल्ला अदालत काठमाडौँमा गाली बेइज्जतीसम्बन्धी मुद्दासमेत दर्ता गरेका रहेछन्
। त्यसको जानकारी बिजपाटीलाई चुनावी रिपोर्टिङ गरिरहँदा थाहा दिइयो । त्यसअघि
चौधरीले प्रेस काउन्सिलमा उजुरी गरेका थिए ।
काउन्सिलले मागेको स्पष्टिकरण बिजपाटीले दिएपछि र सम्पादकीय नोटसहित चौधरीको खण्डन प्रकाशित गरेपछि काउन्सिल सन्तुष्ट भयो तर चौधरी भने जसरी पनि बिजपाटीलाई ठेगान लगाउने अभियानमा लाग्न थाले ।
बिजपाटीले 'अरुण चौधरीको उद्योगले खाने तेलमा कालोबजारी गरेको खुलासा*' शीर्षकमा समाचार लेखेको थियो । खानेतेलको प्याकेटमा चौधरी ग्रुप उल्लेख भएको र स्रोतले दिएको जानकारीका आधारमा विनोद चौधरीको नाम उल्लेख भएको समाचार र शीर्षक पछि सम्पादकीय नोटसहित सच्याइएको थियो ।
उनले
बिजपाटीलाई मात्र होइन, आफ्नोबारे अलिकति आलोचनात्मक समाचार
लेख्ने जो कोही मिडिया हाउस र पत्रकारविरुद्ध अदालतमै मुद्दा हाल्ने गरेका छन् । उनले
गत भदौ १६ गते जनआस्थालाई मुद्दा हाल्ने क्रममा बिजपाटीका सम्पादक अजमत अलि र
मार्केटिङ डाइरेक्टर लोचन खतिवडाको नाम दुरुपयोग गरेका थिए ।
उल्लेखित
दुवै जना जनआस्थाकर्मी नै भएको चौधरीले हालेको गरेको फिरादपत्रमा उल्लेख थियो ।
आफूले मुद्दा हाल्नुपर्ने सञ्चारमाध्यममा कोको काम गर्छन् भन्ने भेऊसमेत नपाएका
चौधरीविरुद्ध बिजपाटी मानहानीको मुद्दा लिएर अदालत जाने तयारी गरिरहेको छ ।
चौधरीबारे
लेखिएका समाचारमा भएका कतिपय तथ्यले उनी 'अन्तर्राष्ट्रिय माफिया' रहेको पुष्टि
गर्छन् । नेपाली कांग्रेसका निवर्तमान समानुपातिक सांसदसमेत रहेका चौधरीले
राज्यसत्ताको दुरुपयोग गरी विदेशी मुद्रा अपचलन गर्ने गरेका तथ्यहरू फेला परेका
छन् भने विदेशबाट अवैधानिक रकम भित्र्याउन सरकार र राष्ट्र बैंकसमेतलाई प्रभावित
पार्ने गरेका छन् ।
चौधरीकै
दबाबमा उनले गरेको करछलीबारे आवाज उठाएका आन्तरिक राजश्व विभागका महानिर्देशक
रितेश शाक्यलाई सरुवा गर्ने तयारी बालुवाटारको छ । चुनावअघि नै शाक्यलाई हटाउने
तयारी भएपनि निर्वाचन आयोगले यो समाचार टिप्पणी लेख्दासम्म सरकारलाई अनुमति दिएको
छैन ।
चौधरी
र उनको परिवार विदेश भ्रमण गर्दा 'शाही परिवारको सदस्य' भएको भन्दै कूटनीतिक सुविधा उपभोग गर्ने गरेका छन् भने चौधरी संयुक्त
अरब इमिरेट्सको गोल्डेन सिटिजनसमेत रहेको स्रोतको दाबी छ । नेपालमा कथंकदाचित
कारोवार बिग्रनसाथ युएई भाग्ने र उतै बस्ने तयारीस्वरूप करोडौं बुझाएर चौधरीले
युएईको गोल्डेन सिटिजनसिप लिएका हुन् ।
बिजपाटीले
केही साता अगाडि नवलपुरमा रहेको चौधरीको उद्योगमा काम गर्ने सुरक्षा गार्डहरूले
तलब नपाएको र चाडवाडसमेत मान्न नपाएको समाचार प्रकाशित गरेको थियो ।
समाचार
प्रकाशित भएपछि २ दिनसम्म काठमाडौँको नक्सालस्थित बिजपाटीको कार्यालय वरपर केही
अपरिचित व्यक्तिहरू देखिन थालेका थिए । उनीहरूले बिजपाटीको कार्यालय वरपर रहेका
पसल र स्थानीयसँग बिजपाटी र यहाँ काम गर्ने पत्रकारबारे चासो व्यक्त गरेका थिए ।
'कोको छन्, कतिखेर आउँछन्, चिया खाजा कहाँ
खान्छन्' जस्ता प्रश्नहरू ती अपरिचित व्याक्तिहरूले स्थानीयसँग गरेका थिए ।
सीजी टेलिकमलाई नेपाल टेलिकमको टावर र अन्य संरचनाहरू जिम्मा लगाउने तयारीस्वरूप चौधरीकै अनुकूलतामा ड्राफ्ट गरिएको पूर्वाधार नियमावली मन्त्रिपरिषदमा विचाराधीनसमेत छ । यसबारे चौधरीसँग सम्पर्क गर्न खोज्दा चुनावी अभियानमा व्यस्त भएकाले पछि कुरा गर्ने जवाफ उनका एकजना पीएले दिए ।