गत असार २४ गते पाल्पा सिमेन्ट उद्योगले तानसेन ब्राण्डका ३ हजार बोरा सिमेन्ट भारत निर्यात गरेर नेपालबाट सिमेन्ट निकासीको औपचारिक सुरुवात गर्यो । गत असोज ३१ गते अर्घाखाँची सिमेन्ट उद्योगले १४ सय बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निकासी गर्यो ।
यसरी सिमेन्टको निकासी सुरु भएपछि नेपालको वैदेशिक ब्यापार घाटा कम हुँदै जाने अपेक्षा उद्योगी व्यवसायीले मात्रै नभई आम सर्वसाधारणले पनि गरेका थिए । तर, निकासी सुरु भएको केही महिनामै सिमेन्ट उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । यद्यपी, निकासी गरिरहेका उद्योगहरु भने आफ्नो उत्पादन क्षमताको आधा मात्रै उत्पादन गरेर भएपनि जसोतसो चलिरहेका छन् ।
सीमा क्षेत्रका साना उद्योग बन्द, ठूला पनि आधा क्षमतामा
उद्योगहरु करिब २ महिना अगाडीदेखि बन्द भएपनि उद्योग प्रशासनले बन्द भएको औपचारिक जानकारी गराएका छैनन् । तर, आफैँले क्लिङ्कर उत्पादन गर्नेबाहेक सबैजसो सिमेन्ट उद्योगहरु बन्द अवस्थामा छन् ।
‘बन्द नभएका पनि बैंकलाई देखाउन यसो २०/२५ प्रतिशत क्षमतामा चलेका छन्’ स्रोत भन्छ, ‘ठूला भनिने उद्योगहरु क्षमताको ५० प्रतिशत वरपर चलिरहेका छन् ।’
विशेषगरी, भारतीय सिमा नजिक (बोर्डर साइड)मा अवस्थित उद्योगका प्लान्टहरु साउनदेखि नै बन्द अवस्थामा रहेको एक उद्योगीले बताए । पूर्वका पनि केही उद्योगहरु बन्द भएका छन् । इन्टनेशनल सिमेन्ट पूर्ण रुपमा बन्द छ । आरती ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको स्टार सिमेन्ट उद्योग पनि बन्द छ ।
ती उद्योगीले बन्द भएका उद्योगहरुले अर्डर आएको खण्डमा सानो परिमाणमा उत्पादन गरेर दिने गरेको बताएका छन् । सँगै, बन्द रहेका उद्योगहरु अब चुनावको नतिजा पश्चात मात्रै सञ्चालनमा आउने उनको अनुमान छ ।
यो हेर्नुहोस्ः
कसरी सम्भव भयो नेपाली सिमेन्टको भारतमा निर्यात ?
रिलायन्स, युनिटेक र केपी सिमेन्टले पनि क्लिङ्कर भने उत्पादन बन्द गरेका छन् । अर्डरका आधारमा सिमेन्ट भने बनाएर दिने गरेका छन् । तर, वर्षाको समयमा सिमेन्टको माग नहुने भएकाले बन्द गरिएका उद्योगहरु अहिलेसम्म बन्द प्रायः छन् ।
किन संकटमा पर्यो सिमेन्ट उद्योग ?
भारतमा निकासी हुन थालिसकेको सिमेन्ट उद्योगमा एकाएक मन्दी आएको छ । निकासी सुरु भएपछि उत्साहित भएपनि स्वदेशी बजारमै माग घटेपछि सिमेन्ट उद्योगहरु बन्द हुन थालेको सिमेन्ट उत्पादक संघका एक पदाधिकारी बताउँछन् । उनका अनुसार अहिले भएको भनिएको निर्यात वास्तविक निर्यात नभई केवल ‘ट्रायल’ मात्रै हो ।
तर, निकासीभन्दा पनि स्वदेशमै खपत बढाउन पहल गर्नुपर्ने उद्योगीहरु बताउँछन् । सरकारी पूर्वाधार विकासका काम समयमै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिने, विकास बजेट खर्च गर्ने, निजी क्षेत्रबाट हुने भौतिक पूर्वाधारको विकासका कामलाई प्रोत्साहन गर्ने लगायतका नीतिगत व्यवस्था नहुँदा सिमेन्ट उद्योग धराशायी बन्न पुगेको एक जना उद्योगीले बताए ।
‘विकास बजेट खर्च हुँदैन, निजी आवासहरु बन्नका लागि पनि बैंकमा तरलता अभाव छ’ एकजना उद्योगी भन्छन्, ‘निजी घर बनाउन बैंकहरुले कर्जा लगानी गर्न सक्ने अवस्था छैन, कर्जा लिने मनस्थितीमा पनि मान्छेहरु छैनन्, किनकी ब्याज चर्को छ ।’
ती उद्योगीले बैंकहरुले निजी घर बनाउन लगानी गर्न सक्ने अवस्था नरहे पनि सरकारले सडकमा अलकत्राको सट्टा कंक्रिट सडकको अवधारणामा जानुपर्ने र यसले स्वदेशमै खपत बढाउने भएकाले सिमेन्ट उद्योगलाई उत्पादन बिक्रिका लागि सकस नपर्ने सुत्र पनि अघि सारेका छन् । तर, यसका लागि नीतिगत व्यवस्था नै हुनुपर्ने उद्योगीहरुको माग छ ।