जनार्दनको जिद्दीले १६ स्टिल उद्योग बन्द, ५५ सय मजदूरको बिचल्ली

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 16, 2022 | 01:26:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत गरेको विभेदका कारण नेपालमा चलिरहेका ६ वटा स्टिल उद्योग बन्द भएका छन् । पूर्ण रुपमा बन्द भएका यी ६ उद्योगमा २ हजार मजदूरले काम गर्थे ।

त्यस्तै, नेपालको स्टिल उद्योगमा पायोनियर मानिने पञ्चकन्या स्टिलसहित १० वटा स्टिल उद्योगले उत्पादन रोकेका छन् । सँगै, ठूलो संख्यामा कर्मचारी र मजदूर कटौती गरेका छन् । यी उद्योगमा ३५ सय मजदूरले रोजगारी पाएका थिए । 

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहले तिहारपछि स्टिल उद्योगहरुले ठूलो संख्यामा कामदार कटौती गरेको र यो कुनै रहर नभई बाध्यता भएको बताएका छन् ।

अर्थमन्त्री शर्माले स्पञ्ज आइरन र ब्लेडको आयातमा फरक फरक भन्सार शुल्क कायम गरेपछि ब्लेड ल्याएर फलाम बनाउने उद्योगहरु प्रतिस्पर्धा गर्न नसकी बन्द भएका हुन् । अर्कोतर्फ, सरकारी नीतिकै कारण बजारमा लगानीयोग्य रकम आउन नसकेको र बैंकहरुको ब्याजदर पनि बढी भएकाले निर्माणका काम ठप्प हुँदा फलामे डण्डीको माग नहुँदा उद्योग धमाधम बन्द भइरहेका छन् । 

स्पञ्ज आइरन ल्याएर फलाम बनाउने उद्योगले अन्तःशुल्क छुट पाउँदा ब्लेड आयात गरेर फलाम बनाउने उद्योगको उत्पादन लागत नै प्रतिकिलो ७ रुपैयाँ महँगो हुँदा बजारमा साहिल अग्रवालको जगदम्बा स्टिलसहित केही उद्योगहरुको सिण्डिकेट रहेको बन्द भएका उद्योगका सञ्चालहरुको गुनासो छ ।

नयाँ सरकार कुर्दै उद्योगीहरु

संघिय निर्वाचन सकिएपछि उद्योगीहरु अब नयाँ सरकारको पर्खाइमा देखिएका छन् । अब बन्ने सरकारले भौतिक पूर्वाधार निर्माणको कामलाई गती दिने र यसले विकास बजेट खर्च बढाउने आशामा उद्योगीहरु छन् । 

पञ्चकन्या ग्रुपका निर्देशक उज्ज्वल श्रेष्ठले अब बन्ने सरकारले विकास बजेट खर्च गर्ने र यसले बजार माग बढाउने आशामा उद्योगीहरु रहेको बताएका छन् । 

हाल नेपालका फलामे डण्डी उद्योगहरुको उत्पादन क्षमता वार्षिक ५० लाख टनसम्म छ । तर, ३२ मध्ये ६ वटा पूर्ण रुपमा बन्द छन् भने १० वटाले पनि उत्पादन बन्द गर्दा हाल क्षमताको ३० प्रतिशत मात्रै उत्पादन भइरहेको छ । 

बैशाखको स्थानीय चुनाव, लगत्तैको चाडपर्व, त्यस लगत्तैको प्रादेशिक र संघीय निर्वाचनले पनि केही हदसम्म उद्योगलाई प्रभावित बनाएको बुझाई कतिपयको छ । तर, डण्डी उद्योगमाथि अर्थमन्त्री शर्माले बजेटमार्फत नीतिगत रुपमै डण्डा प्रहार गर्दा स्टिल उद्योग अस्तित्व जोगाउने लडाइमा होमिनुपरेको उद्योगीहरुको गुनासो छ । 

बन्द भएका उद्योगहरु

१) आरती स्टिल (मोरङ) 

२) गोयल स्पात (पर्सा)

३) शालिमार स्टिल (वीरगञ्ज)

४) एसआर स्टिल (भैरहवा)

५) विनायक स्पात (याक) (भैरहवा) 

६) रत्न आइरन (भैरहवा) 

उत्पादन स्थगित गरेका उद्योगहरु

१) साखः स्टिल (बारा)

२) हिमाल स्टिल (पर्सा)

३) गोदावरी स्टिल (रौतहत)

४) एभरेष्ट रोलिङ मिल (भैरहवा)

५) पञ्चकन्या स्टिल (भैरहवा)

६) गोयन्का स्टिल (भैरहवा)

७) विनायक स्पात (भैरहवा)

८) काठमाडौँ स्टिल (नवलपरासी)

९) सिद्धिलक्ष्मी (समृद्धि) स्टिल (नवलपरासी)

१०) विजय स्टिल (कपिलबस्तु)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved