भारतले ध्वस्त बनाएको नेपाली गलैँचामाथि चीनको पनि ‘प्रहार’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 02:52:02 PM मा प्रकाशित

laxmi  sunrise bank

कुनै समय नेपालबाट निर्यात हुने बस्तुको सूचीमा गलैँचा अग्र स्थानमा थियो । तर, भारत नामक ‘शत्रु’ लागेपछि नेपाली गलैँचाको विश्व बजार ध्वस्त मात्रै भएन, पुनः विश्वास दिलाउन अहिलेसम्म हम्मेहम्मे परिरहेको छ ।

सन् १९९५ को आसपासमा भारतले नेपाली गलैँचामाथि गर्नुसम्मको शत्रुतापूर्ण व्यवहार गर्यो । आफ्नै देशका गलैँचा तानमा बालबालिकालाई प्रयोग गरेर, ती बालबालिकालाई ढाका टोपी लगाइदिएर फोटो खिचेर, त्यस्तो फोटो विश्व बजारमा फिँजाएर नेपालमा गलैँचा बनाउन बालबालिकालाई काममा लगाइन्छ भन्ने अफवाह फैल्यायो । जसका कारण युरोप र अमेरिकी बजारमा एकछत्र राज गरिरहेको नेपाली गलैँचाको सम्राज्य गर्ल्याम्म ढल्यो ।

हाल त्यहीँ भारतका व्यवसायीहरु नेपाली गलैँचा भन्दै आफ्ना देशमा बनाएका कमजोर गलैँचालाई युरोप र अमेरिकामा बिक्रि गरिरहेका छन् । भारतबाट युरोप र अमेरिका निकासी हुने गलैँचामा ‘इन्डो–नेपाल प्रोडक्ट’ भनेर लेवल टाँसिएको हुन्छ । 

‘भारतबाट युरोप र अमेरिका जाने गलैँचामा ‘इन्डो नेपाल’ लेखिएको हुन्छ, आज पनि भारतीय व्यवसायीहरुले नेपालको नाम बेचेर गलैँचा निकासी गरिरहेका छन्’ नेपाल गलैँचा उत्पादक तथा निकासी संघका उपाध्यक्ष हिराबहादुर लामा बताउँछन् ।

अहिले कति छ नेपालबाट निकासी ?

भारतले नेपाली गलैँचालाई विश्व बजारबाट विस्थापित गराउन अनेक उपाय अपनाएको छ । तर सानो परिमाणमा भएपनि नेपालबाट निकासी नरोकिएपछि भारतीय उत्पादक तथा बिक्रेताले आफ्नो उत्पादनलाई ‘नेपाली हो’ भनेर पठाइरहेका छन् ।

यस्तो चेपुवामा पर्दा पनि नेपाली गलैँचाको निकासी बढ्दो छ । हाल वार्षिक ६ लाख वर्ग मिटरसम्म निकासी हुँदै आएको छ । यसबापत नेपालले ७ अर्ब आम्दानी गर्छ ।

‘भारतले हाम्रो गलैँचाको बद्नाम गराईदिएपछि निकासी घट्यो, नत्र ३० वर्ष अगाडी नै नेपालबाट ३०/३२ लाख वर्गमिटर गलैँचा निर्यात हुन्थ्यो’ लामा स्मरण गर्छन्, ‘कसै गरेपनि निकासी शून्यमा झार्न नसकेपछि अहिले भारतले आफ्ना कमसल गलैँचालाई ‘इन्डो नेपाली प्रडक्ट’ भनेर युरोप अमेरिकातिर फेरि बद्नाम गराउँदैछ ।’

नेपालले ३० लाख वर्गमिटर गलैँचा निकासी गर्दा भारतले मुस्किलले ३.५ लाख वर्गमिटर मात्रै निकासी गथ्र्यो । तर, अहिले भारतले ८० लाख वर्गमिटर गलैँचा निकासी गर्दा नेपालले भने जम्मा ६ लाख वर्गमिटरमा मात्रै चित्त बुझाइरहनु परेको छ ।

चीनको पनि प्रहार

नेपालबाट युरोप र अमेरिकासहित चीनमा पनि गलैँचा मनग्य निकासी हुन्छ । तर, चीनमा कति जान्छ, कति मूल्य बराबरको जान्छ, पैसा कति आउँछ भन्ने तथ्यांक पाइँदैन । किनभने, चिनियाँ क्रेताले हुण्डीमार्फत कारोबार गर्ने गर्छन् ।

‘स्थल मार्गबाट जान्छ, पेमेन्ट नआइ जान्छ, आएको पनि बैंकिङ च्यानलबाट आउँदैन, हुण्डीमार्फत आउँछ’ एकजना गलैँचा उत्पादकले भने, ‘ब्यांक थ्रो (बैंकमार्फत) पैसा आउने भएको पो रेकर्ड हुन्छ, हुण्डीमार्फत आउँछ । यसबारे अर्थ मन्त्रालय, राष्ट्र बैंकलाई पटक पटक भन्दा पनि कुनै चासो देखाउनु भएको छैन ।’

ती उत्पादकका अनुसार युरोप र अमेरिका तिर निकासी हुने बराबरकै गलैँचा चीनमा पनि जान्छ । तर, यसको रेकर्ड छैन ।

हाल नेपालमा साना ठूला गरेर करिब ५ सय जति गलैँचा उद्योगहरु छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved