सङ्घर्ष नै सफलताको सिंढी हो । परिश्रमले नै मानिसलाई सफलता चुम्न सिकाउँछ । अझै पछि पारिएको समुदायका लागि अघि बढ्न नेपालमा फलामको चिउरा चपाए जस्तै हुन्छ ।
त्यस्तै एउटा सिमान्तकृत कुमाल समुदायमा जन्मिएर निर्यात व्यवसायमा सफल युवा उद्यमीको परिचय बनाउने २४ वर्षीय डेभिड कुमाल एक उदाहरणीय व्यक्ति हुन् । उनले १९ वर्षे लक्का उमेर (टिनएज) मा निर्यात हुने सामान उत्पादन गर्ने उद्योग सम्हाल्न सके ।
विशाल र शान्तिका दुई सन्तानमध्येका जेठा डेभिड हाल व्रिटिस कलेजबाट इएमविए (एग्जिक्युटिभ मास्टर्स इन विजनेश एडमिनिष्ट्रेन) गरिरेहका छन् । लस्ट होइराइजन इन्टरनेशनल ह्याण्डी क्राफ्ट उद्योग प्रालिलाई १९ वर्षमै नेतृत्व दिएका डेभिड अहिले मार्केटिङ डाइरेक्टरका रुपमा छन् । डेभिडलाई आमा शान्तिले सघाउँछिन् ।
हाल उनका तीन वटा फयाक्ट्री छ । चितवनको मेघौलीका साथै काठमाडौँको चन्द्रागिरि नगरपालिकाको थानकोट र गुर्जुधारामा उद्योग छ । एक हजार जनालाई रोजगारी दिनसक्ने क्षमता उद्योगको हो । गत वर्ष ६०० जनाले रोजगारी पाएका थिए ।
माग अनुसार उत्पादन हुने भएकाले कुनै समयमा अत्याधिक माग हुन्छ भने कुनै समय खाली नै हुने व्यवसाय हो हस्तकला । उक्त उद्योगले अहिले औषत वार्षिक २४/२५ करोड माथिको कारोबार (निर्यात) गर्दै आएको छ । उद्योगमा उत्पादन भएकामध्ये ९५ प्रतिशत सामान बाहिर जान्छ ।
सानै उमेरमा निर्यात व्यवसाय सम्हालेका डेभिडका सपना धेरै ठुलो छैन । बास ! आफूलााई नम्बर १ निर्यातककर्ताको रुपमा उभ्याउन चाहन्छन् । डेभिड भन्छन्, “एक नम्बरको निर्यातकर्ता बन्ने मेरो लक्ष्य हो, अहिले टप १० भित्र त पर्छुहोला ।” त्यसका लागि उनी उद्योगमा कठिन मेहनत गरिरहेका छन् । अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध र सामान उत्पादन तथा उद्योग सम्हाल्नका लागि उनले आफ्नै व्यक्तिगत प्रयास गरेका हुन् ।
फेल्ट प्रोडक्ट उत्पादन गरेर निर्यात गर्ने उनको व्यवसायका लागि वाह्य देशबाट भेडाको ऊन आउँछ । त्यो प्रकारको ऊन नेपालमा पाईंदैन । उनका उद्योगका उत्पादन सबै हातले बन्छ । विभिन्न गिफ्ट, होम डेकोरेशन, क्रिसमसका लागि सजाउने सामान र जनावरहरुका लागि चाहिने सामान उत्पादन हुन्छ । धेरै समानमध्ये घर सजाउने सामानहरु प्रशस्तै बन्छ उनको उद्योगमा ।
उत्पादन गर्ने कम्पनी भएकाले प्रतिष्पर्धी हुने गरेको छ । त्यसकारण नाफाभन्दा गुणस्तरमा ध्यान दिएको उनले बताए । अहिले डेभिडले नाफालाई प्राथमिकतामा राखेका छैनन् । “कसरी गुणस्तरको सामान उत्पादन गरेर बढी भन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने र धेरै भन्दा धेरैलाई रोजगारी दिने भन्ने मेरो उद्देश्य छ”, उनले थपे ।
यसरी शुरुवात भयो हस्तकला उद्योग
यो कम्पनी सन् २००२ मा शुरु भएको हो । उनका बुबा विशाल कुमाल सौराहामा सामान्य पर्यटन व्यवसायमा आबद्ध थिए । विशाललाई उनका साथीहरुले पाटनरको रुपमा ट्रेडिङ कम्पनीमा सहभागि गराए ।
उक्त कम्पनीले अरुले उत्पादन गरेका सामान निर्यात तथा बिक्री गथ्र्याे । विशालले आफ्नै उद्योगबाट उत्पादन नै थालेर निर्यात गरेको सन् २०१२ बाट हो । चितवनको मेघौलीका कुमाल परिवार सौराहामा पर्यटन व्यवसायमा लागेकाले त्यतै बस्न थाले । त्यही बीचमा डेभिडको जन्म भयो ।
डेभिडले विस्तारै बुबाको व्यवसायलाई सानैबाट बुझ्ने मौका पाए । सिक्दै पनि गए । हस्तकलामा अनुभव खारिँदै गयो । अनि १९ वर्षको उमेरमा उद्योगको नेतृत्व सम्हाल्ने भए । अहिले उनका बुबा विशाल सामाजिक तथा आफ्नो समुदायको हक हितका काममा सक्रिय छन् । छोरा र श्रीमती शान्तिले नै उद्योग सम्हाल्न थालेकाले आफूले केही हेर्नै नपर्ने विशालले सुनाए । अझ डेभिड अन्तर्राष्ट्रिय व्यापारीसँग सहज रुपमा डिल गर्नसक्ने भएकाले विशाल औधी खुसी छन् ।
डेभिड हस्तकलाको माग अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो रहेको सुनाउँछन् । उनका उत्पादन अहिले अमेरिका, युरोप, बेलायत अष्ट्रेलिया, जापन, दक्षिण कोरियालगायत देशमा जान्छ । सबै निर्यात डिल उनै डेभिडले गर्छन् ।
यस्ता छन् निर्यातका चुनौती
उसैत नाफा कम लिइरहेका बेला महँगो ब्याजले हरेक व्यवसायीलाई असर गरेको छ । अबको केही वर्ष यही क्रम जारी रह्यो भने यस्ता कम्पनीलाई बचाउन गाह्रो देखिरहेको उनले सुनाए ।
डेभिडका अनुसार सामान पठाउन कार्गाे, कुरियर महँगो हुँदा नेपाली सामानले विश्व बजारमा प्रतिष्पर्धा गर्न सकिरहेको छैन । कोभिड–१९ र रुस–युक्रेन युद्धले झन् समस्या थोपरिदिएको छ । हवाइ इन्धनको मूल्य बढ्दा एक समयमा १०० प्रतिशत नै कार्गाे शुःल्क बढेको थियो । महँगीले सामानको मूल्य उच्च बनाइदियो । अनि भारत र चीनका सस्ता सामानले हस्तक्षेप गर्यो । अहिले कार्गाे शुःल्क केही घटेको त छ, तर अझै महँगो पर्दा प्रतिष्पर्धामा उत्रन नसकेको उनले सुनाए ।
यस्ता सामानहरुको नेपाल भित्रको प्रतिष्पर्धा भने केही स्वस्थ रहेको छ, तर नेपालमा राम्रो जाँदैन । “बाहिर लैजानै पर्यो, त्यहाँ समस्या छ, भारत र चीनसँग कडा प्रतिष्पर्धा छ, हामी हातले बनाउँछौँ, उनीहरु यस्ता सामान मेसिनले बनाइदिन्छन् अनि उनीहरुको सस्तो हुन्छ, त्यसैले हामीहरुलाई असर गरिरहेको हुन्छ”, डेभिडले अनुभव सुनाए ।
हुन त हातले बनाएको सामान महँगो भए पनि मानिसहरु नरुचाउने होइनन् । किन्थे पनि । ती भारतीय र चिनियाहरु यस्तो बठ्याईं गरिदिन्छन् की मेसिनले बनाएको सामान पनि हातले नै बनाएको हो भनेर उपभोक्तालाई गुम्राहामा पार्छन् ।
उनका अनुसार नेपालबाट निर्यात हुनेमा हस्तकलाको सामानको स्थान पनि राम्रै छ । वर्चस्व धेरै छ । यो बढ्दो क्रममा रहेको उनले सुनाए । गएको आर्थिक वर्ष हस्तकलाका सामान ६ अर्बको निर्यात भएको उनीसँग आँकडा छ ।
निर्यात राम्रो रहेकाले यसमा सम्भावनाहरु धेरै छन् । उत्पादन अन्तर्राष्ट्रिय मापदण्डको बनाइयो भने त अझै राम्रो हुन्छ । तर पनि सरकारले निर्यात व्यवसायमा प्राथमिकता नदिएको उनको गुनासो छ ।
डेभिड भन्छन्, “एक हिसाले ठिकै पनि छ, केही नभएको पनि होइन तर सरकारबाट पाएको सेवा सुविधा लिनै प्राविधिकरुपमा समस्या छ, प्रक्रिया झन्झटिलो छ, त्यो बाहेक पनि सरकारले निर्यातको महत्व अझै बुझेको जस्तो लाग्दैन ।” निर्यात बढाउने नीतिहरु पनि खास नदेखिएको उनको अनुभव छ । नेपालमा यसरी हस्तकलाको निर्यात गर्ने २०० जति व्यवसायीहरु रहेका उनले बताए ।
चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ४ अर्ब ७९ करोड बराबरको सामान निर्यात गरेको तथ्याङ्क छ । त्यसमा ४ देखि ६ अर्ब हस्तकलाका सामानले ओगट्छ । प्राप्त अनुमानित विवरणमा हस्तकला व्यवसायमा करिब आठ लाख व्यक्ति आबद्ध रहेका छन् ।
नेपालबाट पस्मिना, ऊनका सामान, फेल्टका सामान, सिल्क, कटन, अल्लो, ढाका, टेक्स्टाइल, चाँदीका सामान, मेटल क्राफ्ट, नेपाली कागज, लेदर, सिसाका सामान, काठ, प्लास्टिकका सामान, स्टोन, थाङ्कालगायतका हस्तकलाका सामान निर्यात हुनेगर्छन् । पछिल्लो समयमाथि नेपाली हस्तकलाका सामानलाई प्लाष्टिकका सामानले भने चुनौती दिइरहेको छ ।
युवा निर्यातकर्ता बनेकोमा सम्मान
अघिल्ले हप्ता नेपाल कुमाल समाज सुधार समिति काठमाडौँले उनलाई सानै उमेरमा हस्तकलाको सामान उत्पादन गरी युवा उद्यमी बन्न सफल भएको भन्दै सम्मान गरिएको थियो । उनलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सम्मानपत्र प्रदान गर्दै भनेका थिए, “यस्ता युवाहरुको मुलुकमा अहिले खाँचो छ ।”