जनार्दन नीतिको परिणाम: महिलाले 'रातो कर छुट'को उपभोग नै गर्न पाएनन् , कम्पनी भने मालामाल

निरोज कुमार थापा

निरोज कुमार थापा

May 09, 2023 | 01:57:35 PM मा प्रकाशित

laxmi  sunrise bank

गत जेठमा अर्थमन्त्रीका हैसियतले बजेट भाषण गरेका जनार्दन शर्माले विदेशबाट आयात हुने स्यानिटरी प्याडमा ९० प्रतिशत भन्सार छुट दिए पनि उपभोक्ताले भने कुनै सहुलियत पाएनन् । उनको यो अव्यवहारिक निर्णयले उपभोक्तालाई राहत मिल्नुको साटो स्वदेशी उद्योग प्रभावित हुन पुगेका छन् । 

सबैभन्दा बढी आयात हुने ह्वीस्पर, सोफी र जोनसोन ब्राण्डका स्यानिटरी प्याडको नेपाली बजारमा दबदबा रहे पनि जनार्दनले दिएको ९० प्रतिशत भन्सार छुटको उपभोग गर्न भने उपभोक्ताले पाएनन् । अहिले ह्वीस्पर ब्राण्डको प्याडको मूल्य प्रतिप्याकेट १३२ रुपैयाँ छ । एउटा प्याकेटमा ८ पिस हुन्छ । गत बजेट आउनु अघि पनि यसको मूल्य यति नै थियो । नेपालमा विशाल ग्रुपले यसको आयात गर्छ ।

त्यसो त, नेपालका स्यानिटरी प्याड उद्योगहरुकै उत्पादन क्षमता बजार मागभन्दा बढी छ । बजारमा वार्षिक ३० करोड पिस प्याडको माग छ भने नेपाली ४० वटा उद्योगहरुको उत्पादन क्षमता वार्षिक ९० करोड पिस छ । तर, विदेशी ब्राण्डलाई भन्सार छुट दिएपछि स्वदेशी उत्पादनको बजार हिस्सा गुम्दै गएको छ । 

अहिले स्वदेशी उत्पादनले बजार मागको ४० प्रतिशत मात्रै हिस्सा ओगटेको छ भने मल्टिनेशनल भनिएका विदेशी ब्राण्डले ६० प्रतिशत बजार हिस्सा कब्जा गरिरहेका छन् । ‘डिमाण्डभन्दा ३ गुणा बढी उत्पादन क्षमता हामीसँगै छ, हामी ६० करोड पिसको बाहिरी बजार खोजिरहेका थियौँ, तर आयातमा ९० प्रतिशत भन्सार छुट दिएर आयातलाई प्रोत्साहन गरिएपछि हाम्रो भइरहेको ३० करोड पिसको खपत पनि घटेर १५ करोडमा झरेको छ’ उद्योगी सन्तोष भुसाल भन्छन्, ‘आफ्नै देशमा भइरहेको खपत पनि गुमेपछि उद्योगहरुले अब ७५ करोड पिसको मार्केट खोज्नुपरिरहेको छ ।’ 

९० प्रतिशत भन्सार छुट पाएपछि एमआरपी प्रिन्ट नभएका र कुनै गुणस्तर कायम नभएका प्रतिपिस ३/४ रुपैयाँ पर्ने प्याडहरु पनि निर्वाध आयात भएर खुलेयाम बिक्री भइरहेको उद्योगी भुसाल बताउँछन् । 

‘९० प्रतिशत भन्सार छुट दिने निर्णय भएको एक वर्ष पुग्न लाग्यो, यो बीचमा प्याडसम्बन्धी वेथिति यति बढेका छन् की, भनिसाध्यै छैन’ उनी थप्छन्, ‘भइरहेको मार्केट गुमेपछि क्षमता अनुसार उद्योग चल्न सकेका छैनन्, जसका कारण विद्युतको खपत घटेको छ । उत्पादन नै कटौती गर्नु परेपछि सबै उद्योगले १० जना, २० जनाका दरले कर्मचारी कटौती गर्नुपर्यो, भइरहेको रोजगारी गुम्यो ।’

नेपालमा एञ्जल टच, जस्मिन, एजी हेल्थ, विराट हेल्थ, हेल्थ एण्ड हाइजिनलगायतका कम्पनीहरुले प्याड उत्पादन गर्दै आएका छन् । ‘यी ५ कम्पनी ठूला कम्पनीहरु हुन्, यी ५ वटाले मात्रै पूर्ण क्षमतामा उद्योग चलाउन पाउने हो भने दैनिक ४ देखि ५ लाख पिस उत्पादन गर्न सक्छन्’ उद्योगी भुसालले थपे, ‘गाउँघरमा प्याडको प्रयोग र यसबाट हुने फाइदाहरुबारे चेतना फैलिँदै छ, तर आयातलाई प्रोत्साहन गर्दा थप भइरहेको बजारमा पनि विदेशी ब्राण्डकै एकाधिकार बढ्दै छ ।’ त्यसैले अहिले व्यवसायी तथा उद्योगीहरु यो अव्यवहारिक निर्णय सच्याउन माग गरिरहेका छन् । अहिलेको बजेटले यसलाई सम्बोधन गर्न सके नेपाली उत्पादनलाई प्रोत्साहन गर्नै नीति व्यवहारमा कार्यान्वयन भएको देखिनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved