काठमाडौँको केन्द्रविन्दुमा रहेको भृकुटीमण्डप नसुन्ने मानिस कमै छन् । यो ठाउँ हरेक मानिसको सुखदुखको चौतारी हो ।
भृकुटीमण्डपमा प्रदर्शनी स्थल, प्रदर्शनी हल तथा वरिपरि खुला वातावरण, वगैंचाले शोभा थपिदिएको छ । नजिकै मनोरञ्जनस्थल समेत छ । प्राय बिदाका समयमा मन बहकाउने ठाउँ हो भृकुटीमण्डप । साथीभाई भेटघाटदेखि चिया गफ गर्न मानिसहरु यहाँ आउँछन् ।
यो त एउटा मनोरञ्जनको पाटो भयो । तर यहाँ अन्य धेरै गतिविधिहरु हुन्छन् । जसका बारेमा धेरैलाई थाहा नहुनसक्छ । अर्थतन्त्र चलायमान बनाउने ठाउँ पनि हो भृकुटीमण्डप । बेलाबेलामा यहाँ करोडौँका कारोबार र कार्यक्रमको बुकिङ पनि हुनेगर्छ ।
भृकुटीमण्डप परिरमा खुल्ला बजार छ । जहाँ मानिसहरु कपडा खरिद गर्न आउँछन् । धेरै मानिसले भृकुटीमण्डप भन्ने वित्तिकै सस्तो कपडा पाउने ठाउँ भन्ने बुझ्छन् ।
ठूलाठूला प्रदर्शनी, सभा, समारोह हुने स्थान पनि हो भृकुटीमण्डप । यहाँको प्रदर्शनीस्थलमा विभिन्न प्रकारका मेला र एक्स्पोहरु हुन्छन् । त्यसका अलावा गीतका छयाङ्कनदेखि चलचित्र छायाङ्कनसम्म हुन्छ ।
यहाँ वर्षमा करिब २० देखि २५वटा मेला तथा एक्स्पो हुन्छ । जसमा नेपालमा रहेको उद्योग व्यवसायका ठूलादेखि साना छाता सङ्गठनहरुले मेला गर्छन् ।
जसमा नेपालको सबैभन्दा ठूलो निजी संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, नेपाल चेम्बर अफ कमर्सले नेपाल चेम्बर एक्स्पो, नेपाल अटो व्यवसायी महासङ्घ(नाडा)ले नाडा अटो शो, कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ जस्ता संस्थाले क्यान इन्फोटेक मेलाहरु वर्षेनी गरेका हुन्छन् ।
भृकुटीमण्डप प्रदर्शनी स्थलमा थरिथरिका मेला तथा एक्स्पोले नागरिकको ध्यान तान्छ । जसमा जुत्ता मेला, फर्निचरसम्बन्धी मेला, शैक्षिक मेला, पूष्प मेला, विभिन्न शो इत्यादि मेला तथा प्रदर्शनी हुन्छ ।
यी मेलाहरु नेपाली व्यवसायलाई प्राथमिकतामा राखेर गरिन्छ । व्यवसायलाई थप वृद्धि गर्न र नेपाली उत्पादनहरुलाई आम उपभोक्ता माझ पुर्याउन यस्ता मेला उपयोगी हुने व्यवसायीहरुको अनुभव छ ।
भृकुटीमण्डपमा जुत्ता मेला भने सदाबहार जसो हुनेगर्छ । नेपाल मै उत्पादन भएका जुत्ता कम्पनीहरुले मिलेर उक्त मेला गर्छन् । मेलामा पाइने जुत्ताको मूल्य बजार मूल्यभन्दा केही सस्तो हुनेगर्छ ।
यसरी गरिने मेला तथा एक्स्पोहरुका लागि भृकुटीमण्डप परिसरमा रहेको स्थानको भाडा लाग्छ । आफूलाई आवश्यक पर्ने क्षेत्रफल अनुसार भाडा तिर्नु पर्छ । यी सम्पूर्ण कार्य समाज कल्याण परिषद्अन्तर्गत रहेर भृकुटीमण्डप सञ्चालन कार्यालयले गर्छ । जसले यहाँ गर्ने मेला तथा एक्स्पोका लागि अनुमति प्रदान गर्दछ ।
भृकुटीमण्डप सञ्चालन कार्यालयका सहायक निर्देशक लेखराज शाहका अनुसार मेला गर्नुभन्दा पहिले अग्रिम बूकिङ् गर्नुपर्ने हुन्छ । मेला तथा एक्स्पो गर्नका लागि आयोजकहरुले एक वर्षभन्दा अगाडि नै अग्रिम बूकिङ गर्ने गरेको सहायक निर्देशक शाह बताउँछन् ।
समग्रमा भन्नुपर्दा भृकृटीमण्डप मन विसाउने चौतारी मात्रै होइन व्यवसाय गर्ने छहारी पनि हो भनेर बुझन् सकिन्छ ।
मेला तथा एक्स्पो गर्नुपरे यस्तो छ प्रक्रिया
सर्वप्रथम त के मेला गर्ने भन्ने विषय छुट्टयाएर भृकुटीमण्डप सञ्चालन कार्यालयमा निवेदन दिनुपर्छ ।
उक्त निवेदन बुझाउने व्यक्ति नेपाली हुन जरुरी छ । त्यसपछि कति क्षेत्रफल अनुसारको मेला गर्ने हो उक्त निवेदनमा उल्लेख गर्नुपर्दछ । उक्त निवेदन पेश गर्दा मिति तय गरी कुल भाडा दरको २० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्छ ।
भृकुटीमण्डप सञ्चालन कार्यालयका अनुसार मेला गर्नुभन्दा अगाडि बाँकी रहेको ८० प्रतिशत भाडा तिरेपछि मात्र त्यहाँ मेला गर्ने अनुमति दिनेगर्दछ ।
कति लाग्छ भाडा ?
भृकुटीमण्डपमा मेला तथा एक्स्पो गर्न क्षेत्रफल अनुसारको भाडा रहेको छ । त्यहाँ प्रतिदिन २ लाख ५० हजारसम्म भाडा दिने गरिन्छ ।
भृकुटीमण्डपको हल र त्यससँग जोडिएको चौरमा कार्यक्रम तथा मेला गर्दा प्रतिदिन साढे २ लाख रुपैयाँ शुल्क लाग्छ । चउरमा मेला तथा महोत्सवको आयोजना गर्दा प्रतिदिन ७५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
भृकुटीमण्डपमा भित्र बगैँचा पनि छ । उक्त बगैँचा प्रयोग गर्दा प्रतिदिन ७५ हजार भाडा तिर्नुपर्ने हुन्छ । मूल गेट छेउको चउरमा प्रतिदिन ७५ हजार रुपैयाँ भाडा लाग्छ । यस्तै, प्रदर्शनी पछाडिको चउर प्रयोग गर्दा प्रतिदिन १२ हजार ५ सय रुपैयाँ भाडालाग्छ ।
रिपोर्टर्स क्लबसँगैको चउर प्रयोग गर्दा प्रतिदिन १२ हजार ५ सय शुल्क तिर्नुपर्ने हुन्छ । यस्तै, ठूलो पर्दाको फिल्म, सानो पर्दा फिल्म सुटिङ र लोक दोहोरी, गीत साङ्गीत छायाङ्कन गर्दा प्रतिदिन १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ ।
मेला तथा विभिन्न कार्यक्रमबाट भाडा उठाएरै भृकुटीमण्डप सञ्चालन कार्यालयको आम्दानी करोडौँको छ ।
व्यवस्थापन भने कमजोर
तर यहाँको व्यवस्थापन भने निकै कमजोर रहेको त्यहाँ आएका व्यवसायी र मेला आयोजकहरुको भनाइ छ ।
एक मेला आयोजक भन्छन्, ‘हामी लाखौँ पैसा तिरेर यहाँ मेला गर्छौं, मेला अवलोकन गर्न आउने मान्छेलाई एउटा व्यवस्थित र सफा शौचालयको सुविधा पनि छैन ।’
भएको शौचालय पनि फोहोर हुन्छ । अन्य सेवा सुविधाहरु पनि चुस्त नरहेको बताइन्छ ।