
 2mb (1).gif)
सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अध्यक्ष नियुक्तिको क्रममा अनुभवनको नक्कली प्रमाणपत्र तथा कागजातहरु पेश गरेको आरोपमा अध्यक्ष केशव बस्नेतविरुद्ध अख्तियारमा उजुरी परेको हो । उजुरीपत्रमा किर्ते गरेको आरोपसमेत लगाइएको छ । उक्त उजुरीको दर्ता नम्बर सी–०६४७३० छ । उदयपुर सिमेन्ट उद्योग बचाउ तथा खबरदारी समितिले जेठ १० गते अख्तियारमा उजुरी दिएको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालले उजुरी आएपछि अख्तियारले आफ्नो ढङ्गले अनुसन्धान सुरु गरेको जानकारी दिए। उनले छानबिनकै प्रक्रियामा रहेको विषय भएकाले यसबारे अहिले नै केही भन्न नमिल्ने बिजपाटीसँग बताए ।
अख्तियारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सबै कागजात झिकाइसकेको छ । अख्तियारको मागअनुसार उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष बन्न बस्नेतले पेश गरेका शैक्षिक तथा अनुभवका प्रमाणपत्रको प्रमाणित कागजातहरु पठाइसकेको मन्त्रालय सुत्रले जनाएको छ ।
उक्त उजुरीपत्रमा अध्यक्ष बस्नेतलाई भ्रष्टाचार ऐन, २०५९ को दफा १६ बमोजिम कारबाही तथा सजायको माग गरिएको छ । ऐनको दफा १६ मा कसैको शैक्षिक वा अन्य पेश भएका कागजातहरु झुठा ठहरेमा ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
उजुरीकर्ताले अध्यक्ष बस्नेतमाथि किर्तेसम्बन्धी अनुसन्धान गर्न नेपाल प्रहरीमा लेखी पठाइदिनसमेत अनुरोध गरेको अख्तियारले श्रोतले जनाएको छ । यस विषयमा उदयपूर सिमेन्टका अध्यक्ष बस्नेतले भने आफूलाई उजुरी परेको जानकारी नआएको र आफूले पेश गरेका कुनै पनि कागजातहरु नक्कली नरहेको दावी गर्दै नक्कली भएको प्रमाणित गर्न चुनौती दिएका छन् ।
अध्यक्ष बस्नेतले आफू टप एण्ड ट्रेडिङ कम्पनी चलाएर कुनैबेला राज्यको ठूलो करदातासमेत रहेको उल्लेख गर्दै पोल्ट्री फर्मदेखि नर्सिङ कलेजसम्म चलाएको अनुभव आफूसँग रहेको बताए । मेरो कम्पनी कुनै बेला ठूलो करदाता थियो, सानो करदाताका रुपमा अहिले पनि छँदैछ, म पोल्ट्री व्यवसायी पनि हुँ, ठूलो फिड इन्डष्ट्रि चलाएको सबैले देखेका छन्, नर्सिङ क्याम्पस पनि चलाएको हुँ’ उनले थपे, ‘काठमाडौँ बसेर यहाँको (उदयपूर सिमेन्ट उद्योगको) तलबभत्ता खाने र मजदूरलाई अलपत्र पारेर फ्याक्ट्री लथालिङ्ग बनाउनेहरुले खेलेको खेल हो, अरु केही पनि होइन ।’
उनले शैक्षिक प्रमाणपत्र नै नक्कली रहेको भन्ने आरोप लगाइएको भए कीर्तिपूरस्थित परीक्षा नियन्त्रण कार्यालयमा गएर हेर्न भनेका छन् । ‘मैले पब्लिक यूथबाट कमर्शमा डिप्लोमा गरेका हुँ, टीयूबाट इकोनोमिक्समा एम.ए.गरेको हुँ’ अध्यक्ष बस्नेतले बिजपाटीसँग भने, ‘उदयपूर सिमेन्टको अध्यक्षका लागि आवेदन माग हुँदा डिप्लोमा तहको मात्रै भए पुग्ने भनिएकाले मैले डिप्लोमाको मात्रै बुझाएँ, एमएको सवमिट गरिन।’
उनले अख्तियारमा उजुरी गर्ने मान्छे को हो भन्ने आफूलाई जानकारी रहेको सङ्केत गर्दै उजुरी दिनेहरु ‘निभ्ने बेलाको दियो’ भएको टिप्पणि पनि गरे । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका २०७८ को दफा ३ को उपदफा २ (ख०)मा कार्यकारी पदको लागि प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानून विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी व्यवस्थापकीय जिम्मेवारीमा रहेर ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने उल्लेख छ ।
बस्नेत २०७९ साउन १५ को मन्त्रिपरिषदको निर्णयबाट उदयपुर सिमेन्टको अध्यक्षमा नियुक्त भएका हुन् । नेपाली कांग्रेस निकट बस्नेत तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको सिफारिसमा अध्यक्षमा नियुक्त भएका हुन् । उनी भदौ २ गते पदबहाली भएका थिए ।