नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारका लागि जीटुजी स्तरमा नियमित संवाद हुन आवश्यक रहेको बताएकी छिन् ।
सोमवार काठमाडौंमा भएको बिमस्टेक क्षेत्रको विकास र समृद्धिको लागि क्षेत्रीय तालमेल विषयमा बिमस्टेकका महासचिवसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।
उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास भएको भन्दै यसले नेपाल, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्याण्ड र भारतलाई व्यापार, उद्योग र पारस्परिक हितका क्षेत्रमा सहकार्यका लागि ल्याउने दाबी गरिन् ।
पूर्वअध्यक्ष राणाले विगत पाँच वर्षमा बिमस्टेक सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीले ल्याएको आर्थिक झट्कामा चुनौतीको सामना गरिरहेको बताइन् । उनले बिमस्टेक देशहरूमा भारत बलियो अर्थतन्त्रको रूपमा रहेको भन्दै बिमस्टेक सदस्यहरू सदस्य राष्ट्रहरूको व्यापार र आर्थिक अवसरहरूको दोहन गर्ने ’प्राकृतिक प्लेटफर्म’ मा परिणत भई सहजीकरण, समन्वय, लगानी र व्यापार अन्वेषण गर्ने सम्भावित देश हुन सक्ने बतइन् ।
उनले बिमस्टेक देशहरूबीचको क्षेत्रीय सहयोग र एकीकरणलाई गति दिन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । बिमस्टेकलाई स्वतन्त्र व्यापार क्षेत्र बनाउन सबै सदस्य राष्ट्रले भने पनि यस सम्बन्धमा के प्रगति भयो निजी क्षेत्रले थाहा पाउन नसकेको बताइन् ।
उनले सदस्य राष्ट्रहरूको हितका लागि स्वतन्त्र व्यापार क्षेत्र बनाउनलाई तीव्रता दिनु पर्ने बताउँदै सदस्य राष्ट्रहरूले बिमस्टेक क्षेत्रभित्र आफ्ना वस्तु तथा सेवाहरू सहज रूपमा निर्यात गर्न नसकेमा निजी क्षेत्रका लागि दीर्घकालीन फाइदा नहुने विचार राखिन् ।