ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइन विवादका कारण उद्योगमा काटिएको बिजुली जोडिने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले व्यवसायीहरुले तिर्नुपर्ने वातावरण बनाउनका लागि पनि पहिले बिजुली जोड्नुपर्ने बताए । उनले भने,‘ उद्योगीलाई तिर तिर भनेको छ, कति दिने हो, त्यो क्लियर हुनपर्यो,लगेको छ, खाएको हो भनेपछि तिर्नुपर्छ, भन्ने कुरा स्वभाविक हो । तर, कति तिर्ने हो भन्ने कुराको निर्क्यौल भएको छैन, साँझसम्म निर्णय आउँछ ।’
डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी विवादमा प्राधिकरणले बक्यौता नतिरेको भन्दै ६ उद्योगको बिजुलीको लाइन काटेको थियो । प्राधिकरणले फर्जी बिल काटेको भन्दै उद्योगीहरुले तिर्न अस्वीकार गरिरहेका छन् ।
यसैबीच, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि उद्योगमा बिजुलीको लाइन नजोडिने हठ लिएका छन् । आइतबार प्रधानमन्त्रीले पनि उद्योगीहरुको रकम तिर्नुपर्ने आधार प्रमाण केही नभएको भन्दै यसको लागि प्राधिकरणले कति रकम दिने हो भन्ने निर्क्यौल निकाल्नुपर्ने बताएका थिए ।