उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयले आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ। मन्त्रालयले तीन महिनादेखि एक बर्षसम्म गर्ने कामसहित सुधारका कार्ययोजना सार्वजनिक गरेको हो।
मन्त्रालयले उद्योग, बाणिज्य र आपूर्ति तीनवटै क्षेत्रको छुट्टाछुट्टै सुधारका कार्ययोजना बनाएको छ। उद्योगतर्फ औधोगिक तथा लगानी प्रवर्दनसम्बन्धी एक दर्जनभन्दा बढी नीतिको मस्यौदा तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने लक्ष्य लिइएको छ।
त्यस्तै बाणिज्यतर्फ भारत र चीनसंगको बाणिज्य तथा पारवहन सन्धिलाई पुनरावलोकन गर्ने तथा बंगालदेश र भुटानसंग एक बर्षभित्र ब्यापार सम्झौता गर्ने बिषयलाई प्राथमिकतामा राखिएको छ। त्यस्तै आपूर्तितर्फ पेट्रोलियम पूर्वाधार निर्माणलाई प्राथमिकता दिने गरि आपुर्ती क्षेत्रका कार्ययोजना तयार गरिएको छ।
कार्ययोजनामा उपभोक्ता संरक्षणलाई महत्त्व दिईएको छ। पेट्रोलमा इथानोल मिसाउने कार्यविधि स्वीकृति गरी कार्यन्वयनमा ल्याउने, एलपी ग्यासको मूल्य दुई थरी गर्ने, विगतमा जस्तै चाडपर्व लक्षित सुपथ मूल्य पसल संचालन गर्ने, उपभोक्ता अदालत गठनका लागि सहजीकरण तथा बजेट निकासा गर्ने, एक बर्षमा चार हजार २० पटक बजार अनुगमन गरी उपभोक्ता अधिकार संरक्षणका क्षेत्रमा काम गर्ने कार्ययोजनामा उल्लेख छ।
कार्ययोजना कार्यन्वयनबाट लगानीमैत्री नीति तथा कानुन तर्जुमा, उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यावसायिक वातावरणमा सुधार, थप लगानी आकर्षण र थप रोजगारी सृजना हुने उद्योग बाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारीको अपेक्षा छ।