
सिमेन्टको मूल्यवृद्धि विरुद्द मधेश प्रदेश सांसद रहबर अन्सारीको रिटमा सर्वोच्च अदालतले सिमेन्ट उद्योगलाई कारण देखाउ आदेश जारी गरेको छ। सिजनको समयमा नै सिमेन्ट उद्योगहरु मिलेर मूल्य वृद्धि गरेको भन्दै यसको विरुद्दमा सांसद अन्सारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिएको हो।
सांसद अन्सारीले गत माघ ३० गते दर्ता गरेको रिटबारे निर्णय गर्दै सर्वोच्च अदालतले सिमेन्ट उद्योगहरुलाई मूल्य वृद्धिबारे कारण आदेश देखाउको निर्देशन दिएको हो। अदालतको उक्त फैसलासंगै अब सिमेन्ट उद्योगहरुले मूल्य वृद्धि गर्नुको कारण अदालतमा पेश गर्नुपर्ने भएको छ।
सांसद अन्सारीले डेढ दर्जन सिमेन्ट उद्योगहरु मिलेर सिमेन्टको मूल्यमा कार्टेल गरेको भन्दै मूल्य वृद्धि फिर्ताको माग सहित अदालतमा रिट दायर गरेका हुन्। सिमेन्ट उद्योगहरुले सिमेन्टको लागत बढ्ने कुनै आधार नभई सिमेन्टको मूल्य बढाएको र यस्तो गलत निर्णय फिर्ता हुनुपर्ने माग सहित अदालतमा रिट दायर गरेका हुन्।
पछिल्लो समय सिमेन्ट कम्पनीहरुमाथि सिमेन्टको मूल्यमा कार्टेल गरेको आरोप लागेको छ। यो बिषयबारे भौतिक तथा पूर्वाधार मन्त्रालय तथा संसदीय समितिमा समेत चर्चा भएको थियो।
संसदीय समितिको छलफल पश्चात सिमेन्ट उद्योगहरुलाई मूल्यमा समायोजन गर्न समेत भनिएको थियो। तर सिमेन्ट उद्योगहरुले सिमेन्टहरु अहिले पनि नोक्सानीमा रहेको भन्दै मूल्य वृद्धि सामान्य भएको प्रतिक्रिया दिंदै आएका छन्।
यो पनि: