नेपालमा कुखुराको चल्ला उत्पादन गर्ने २३६ ह्याचरी उद्योग बन्द भएका छन्। कोभिड–१९ पछाडि लागत मूल्य अनुसार चल्ला बिक्री हुन छाडेपछि उद्योगहरू बन्द हुन पुगेका हुन्।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड अघि देशभर ३४८ वटा ब्रोइलर ह्याचरी सञ्चालनमा थिए। अहिले यो संख्या घटेर १२० मा झरेको छ। त्यस्तै, लेयर्स ह्याचरी पनि १४ बाट घटेर ६ मा सीमित भएको छ।
ब्रोइलर चल्ला उत्पादन सातामा ५५ लाखबाट घटेर ३० लाखमा झरेको छ। लेयर्स चल्ला उत्पादन पनि २.५ लाखबाट १.३ लाखमा सीमित भएको छ। ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ५५–६० पर्न जाने र लेयर्स चल्लाको लागत रु १२०–१२५ रहेको छ।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार कोभिडपछि २ वर्षसम्म लागत मूल्य नपाउँदा ह्याचरीहरू बन्द हुन थालेका हुन्। लामो समय घाटामा चलेका ह्याचरीहरू ऋण थपेर सञ्चालन गरिएका छन्। हाल ब्रोइलर चल्ला रु ७०–७५ र लेयर्स चल्ला रु १३०–१५० मा बिक्री हुँदै आएको छ।
बैंकको उच्च व्याजदर, दाना र औषधिको मूल्य वृद्धिलगायतका कारण ह्याचरी उद्योग र कुखुरा पालन व्यवसाय संकटमा परेको छ। भारतीय अवैध चल्ला भित्रनुले पनि स्थानीय ह्याचरी उद्योगलाई झनै घाटामा धकेलेको छ।
नेपाल ह्याचरी उद्योग सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी बन्द हुँदा कुखुरा फार्मसमेत बन्द हुने क्रम बढेको छ। एउटा ह्याचरी सञ्चालन गर्न कम्तीमा रु ४० करोड लागत लाग्ने हुँदा धेरै उद्योगहरू नोक्सानी बेहोर्दै विस्थापित भएका छन्।
नेपालमा अधिकांश माउ (प्यारेन्ट) चल्ला विदेशबाट आयात गरिन्छ। एउटा प्यारेन्ट चल्लाको लागत रु ७०० सम्म पर्न जान्छ। हाल खपत घट्दा कुखुराको मासुले उचित मूल्य नपाउँदा किसानहरू समेत विस्थापित हुन थालेका छन्।
ह्याचरी उद्योग तथा पोल्ट्री व्यवसाय संकटबाट बचाउन सरकारको तर्फबाट नीतिगत हस्तक्षेप आवश्यक रहेको व्यवसायीहरूको माग छ।