काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा पत्रकार वाग्ले नियुक्त, प्रधानमन्त्रीसमक्ष शपथ

रासस

रासस

Mar 18, 2025 | 02:38:09 PM मा प्रकाशित

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उनले शपथ लिएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उपकुलपति वाग्लेलाई पदको शपथ ग्रहण गराइएको हो। विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि गठित खोज तथा सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री ओलीले वाग्लेलाई सो पदमा नियुक्त गरेका हुन्। विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम उनलाई उपकुलपति नियुक्त गरिएको हो।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा भएको ढिलाइलाई ध्यानमा राख्दै अबका दिनमा सबै पक्षको सहकार्यबाट विश्वविद्यालयको विकासलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्। उनले विश्वविद्यालयलाई प्रभावकारी बनाउन र अन्तर्राष्ट्रियस्तरको शिक्षाको प्रवर्धन गर्न साझा अवधारणाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

शपथ ग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्ले लगायतका उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए।

नवनियुक्त उपकुलपति वाग्ले यसअघि काठमाडौं विश्वविद्यालयका कार्यवाहक उपकुलपति तथा रजिष्ट्रारका रूपमा कार्यरत थिए। अब उनको नेतृत्वमा विश्वविद्यालयले गुणस्तरीय शिक्षा, अनुसन्धान तथा नवाचारमा नयाँ पहल गर्ने अपेक्षा गरिएको छ।








Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved