नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक १२ घण्टासम्म लोडसेडिङ गर्दै आएकोप्रति नेपाल उद्योग परिसंघले गम्भीर ध्यानाकर्षण गराएको छ। परिसंघले तत्काल विद्युत् आपूर्ति नियमित गर्न सरकार र सम्बन्धित निकायलाई अपिल गरेको छ।
परिसंघका अनुसार, केही समयअघि पनि नेपालका उद्योगहरूमा लोडसेडिङ गर्दै विद्युत् निर्यात गरिएको थियो। त्यसका कारण उद्योगहरूको उत्पादन लागत बढ्नुका साथै समग्र उत्पादनमा गम्भीर असर परेको थियो। अहिले पुनः उद्योगहरूलाई प्रताडित पार्ने गरी दैनिक १२ घण्टासम्म लोडसेडिङ गरिएको बताइएको छ।
नेपाल उद्योग परिसंघले सरकारले स्वदेशी उद्योग प्रवर्द्धन गर्ने, लगानीको वातावरण सुधार गर्ने नीति अपनाइरहेको बेला, सरकारी निकायकै लोडसेडिङ नीतिले उद्योगीहरूलाई निरुत्साहित बनाएको आरोप लगाएको छ।
परिसंघले विद्युत् पर्याप्त हुँदा पनि उद्योगहरूमा लोडसेडिङ गर्नु गम्भीर प्रश्न उठाउने विषय भएको जनाएको छ। “नेपाल विद्युत् प्राधिकरणले निर्यातलाई प्राथमिकता दिएर उद्योगहरूलाई प्रभावित गरिरहेको त होइन ? भन्ने प्रश्न समेत परिसंघले उठाएको छ।
परिसंघले विद्युत् कुनै पनि उद्योगको लागि कच्चा पदार्थ सरह भएको बताउँदै, कच्चा पदार्थकै अभावमा उत्पादन सम्भव नभएकाले उद्योगलाई नियमित रूपमा विद्युत् आपूर्ति गरिनुपर्ने माग राखेको छ।
यदि लोडसेडिङ हटाएर उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति नगरेमा, देशमा नयाँ उद्योग स्थापना तथा उद्योग विस्तार गर्ने वातावरण गम्भीर रूपमा प्रभावित हुन सक्ने चेतावनी परिसंघले दिएको छ।
नेपाल उद्योग परिसंघले सरकार र नेपाल विद्युत् प्राधिकरणलाई तत्काल आवश्यक कदम चालेर उद्योगहरूलाई नियमित विद्युत् आपूर्ति गर्नुपर्ने माग गर्दै यस विषयमा तुरुन्त समाधान खोज्न आग्रह गरेको छ।