हेटौँडा उद्योगः सरकारको प्रतिवद्धता खोक्रो, स्थानीयको भरोसा टुट्दै

रासस

रासस

Mar 23, 2025 | 09:57:40 AM मा प्रकाशित

२०५६ सालदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको घोषणा पटकपटक भए पनि अहिलेसम्म कार्यान्वयन नहुँदा स्थानीयवासी निराश बनेका छन्। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा उद्योग पुनः सञ्चालन गर्ने घोषणा गर्दा उत्साहित भएका स्थानीय तीन वर्ष बितिसक्दासमेत कुनै ठोस तयारी नदेखिँदा खिन्न बनेका छन्।

मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदराज रानाभाटका अनुसार उक्त उद्योग सञ्चालन गर्न ठूलो लगानी र नयाँ प्रविधि आवश्यक पर्ने भएकाले सरकार आफैंले यसको नेतृत्व लिनुपर्ने अवस्था देखिएको छ। उनले भने, “जीर्ण भइसकेको यो उद्योग प्रतिस्पर्धी बनाउन चुनौतीपूर्ण छ, छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न मेसिनदेखि व्यवस्थापनसम्म नयाँ ढाँचाको आवश्यकता छ।”

उद्योग सञ्चालनमा रहँदा वार्षिक दुई हजार तीन सय टन धाँगो र तीन सिफ्टमा एक करोड १० लाख मिटर कपडा उत्पादन हुने गरेको थियो। चीन सरकारको सहयोगमा २०३२ मा स्थापना भएको उद्योग विद्युत् समस्या, व्यवस्थापकीय कमजोरी, प्रविधिको अभाव, अनावश्यक जनशक्ति जस्ता कारण २०५६ मा पूर्ण रूपमा बन्द भएको हो।

हाल उद्योगको अधिकांश भवन जिर्ण छन्। मेसिन खिया लागेका छन् र कार्यालय सशस्त्र प्रहरीले प्रयोग गरिरहेको छ। सूचना अधिकारी रमेशराज नेपालका अनुसार पर्खाल, छाना, स्टिम पाइपदेखि प्लम्बिङसम्म सबै मर्मत आवश्यक अवस्थामा पुगेका छन्।

उद्योग पुनः सञ्चालन गर्न विभिन्न समयमा कार्यदल, अध्ययन तथा बजेट व्यवस्था गरिए पनि हालसम्म कुनै ठोस परिणाम नआएको उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष वासु खतिवडाले बताएका छन्। उनका अनुसार उद्योग सञ्चालन भएमा हजारौँले रोजगारी पाउने र स्वदेशी वस्तुको उत्पादनले अर्थतन्त्रलाई समेत टेवा पुग्नेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved