'शेयरधनिलाई मात्र होइन ग्राहकलाई पनि खुसि राख्छौं' मेगा बैंक सीईओ खुजेलीको अन्तर्वार्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 15, 2018 | 11:35:40 PM मा प्रकाशित

laxmi  sunrise bank


स्थापनाको ८ बर्षमा नै अर्ब क्लबमा पुग्नेमा पहिलो बाणिज्य बैंक बनेको मेगा बैंक चुक्तापुंजीको आधारमा दोस्रो ठुलो बाणिज्य बैंक बनेको छ। करिब ३ अर्ब चुक्ता पुंजीबाट सुरु भएको बैंक आज १० अर्ब २९ करोडको दोस्रो ठुलो बाणिज्य बैंक बनेको छ भने साबिकको टुरिजम डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १ खर्बको व्यवसय गर्ने क्षमता बनाएको छ। 

'हलोदेखि हाइड्रो' सम्मको नारा दिएर सबै बर्गका नेपाली माझ बैंकिङ पुर्याउने उदेश्यले स्थापना भएको बैंक अहिले नामजस्तै मेगा बनेको छ। बैंकिङ क्षेत्रमा छुट्टै पहिचान बनाएको बैंकसंग 'पहिलो महिला सीईओ' को ब्राण्ड समेत रहेको छ। नेपालको बैंकिङ इतिहासमै पहिलो महिला सीईओ दिएर बैंकिङ इतिहासमै मेगा बैंकले आफुलाई अव्वल साबित गरेको छ । 

हालको स्ट्याण्डर्ड चार्टड (तत्कालिन ग्रिनलेज बैंक) बाट सन १९९१ मा टेलरका रुपमा बैंकिङ करियर सुरु गरेकी अनुपम खुजेललाई मेगा बैंकले  सीईओ को रुपमा पाएको छ। आफ्नो २७ बर्षे बैंकिङ करियरमा १३ बर्ष ग्रिनलेज, केहि बर्ष नबिल हुँदै मेगा बैंक प्रवेश गरेकी खुजेलीसंग बैंकको प्रतिष्ठा, यसले गर्ने प्रगति, शेयरधनिहरुलाई दिने प्रतिफलसंगसंगै उनीप्रति बैंक संचालक सदस्यले गरेको जिम्मेवारी र बिश्वासको पनि परिक्षा हुँदैछ। तिनै 'फर्स्ट लेडी सीईओ इन कमर्शियल बैंक' खुजेलीसंग बैंकको अहिलेको अवस्था, अवसर, चुनौती र समसामयिक बिषयमा बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले कुराकानी गरेका छन। प्रस्तुत छ सीईओ खुजेलिसंग गरिएको कुराकानीको सम्पादित अंश:     

"अबको ४ बर्षभित्र अहिलेको व्यवसायको भोलुमलाई कम्तिमा डबल गर्नुछ र त्यसलाई हासिल गर्ने गरि नै योजना बनेको छ। "

 चुक्ता पुंजीको हिसाबले दोस्रो ठुलो बाणिज्य बैंक बनेको मेगा बैंकको आजको अवस्था र चुनौती के छ ?

मेगा बैंक १० अर्ब २९ करोड चुक्ता पुंजी सहित दोस्रो ठुलो बाणिज्य बैंक बन्दै गर्दा यस बैंकको जोखिम बहन क्षमता बढेको छ भने बैंक सुरक्षित छ भन्ने पनि देखाउछ। 

पुंजी बढेअनुसारको व्यवसाय सृजना गर्नुपर्ने दबाब हामीलाई पनि छ। मेगा बैंकसंग आजको दिनमा ६४ अर्बको निक्षेप र ५८ अर्बको कर्जा लगानी छ। त्यसैले हामीसंग सजिलै १ खर्बको व्यवसाय गर्न सक्ने अवस्था छ। 

व्यवसाय बढाउनु पर्छ भन्ने नाममा एकै पटक उथलपुथल हुने गरि अगाडी बढ्ने पनि होइन। प्रत्येक बर्ष प्रगति गर्दै जाने गरि कछुवा गतिमा सुरक्षित तरिकाले व्यवसाय गर्ने हो। चुक्ता पुंजीमा दोस्रो ठुलो हो, १ खर्बको व्यवसाय गर्ने क्षमता छ भन्दैमा आज नै बढी उत्साहित भएर अगाडी बढ्ने योजना छैन। हामीले हाम्रो देशको अर्थतन्त्रको आकार, बजारको आकार, पुंजीबजार (दोस्रो बजार) को क्षमता र विकास लाई आधार मानेर नै व्यवसायको योजना बनाउने हो। त्यसैले सम्पूर्ण वित्तीय क्षेत्रले प्रगति गर्दै जाँदा त्यसमा हामीले आफ्नो हिसा धेरै हुने गरि काम गर्ने हो। 

हामीसंग आफ्नै रणनीतिक योजना छ। अबको ४ बर्षभित्र अहिलेको व्यवसायको भोलुमलाई कम्तिमा डबल गर्नुछ र त्यसलाई हासिल गर्ने गरि नै योजना बनेको छ। 

४ विकास बैक र १ बाणिज्य बैंक मिलेपछी पुंजीमा मात्र नभई शेयरधनी, मानब संसाधन र ग्राहकको संख्याले पनि बैंक अहिले नाम जस्तै मेगा बनेको छ, व्यवसायको भोलुमलाई डबल गर्न यी सबैको उचित व्यवस्थापन कसरि गर्दै हुनुहुन्छ ?

हो अहिले हामि तपाईले भनेजस्तै धेरै कुराले मेगा बनेका छौँ। अरु भन्दा हाम्रो संरचना अलि फरक छ। ३००० प्लस संस्थापक सेयरधनी, दुई लाख १० हजार साधारण सेयरधनि, १००० बढी कर्मचारी सहितको मेगा बैंक बनेका छौँ। 

यत्रो धेरै शेयरधनी लिएर बैंकभित्र सुशासन कायम गरेर कसरि अगाडी बढाउँन सकिन्छ भन्ने प्रश्न पनि धेरै गरियो। तर अहिले पछाडीका ८ बर्षलाई फर्केर हेर्दा हामीले धेरै राम्रो गरेका छौं। 

नाम जस्तै मेगा बन्दै गर्दा अवसरका साथसाथै चुनौती पनि उत्तिकै छन। सबै चुनौतीलाई पार गर्दै हामि अगाडी बढिरहेका छौँ। मर्जरको काम भर्खरै सकियो। अहिले बैंकहरुबीचको पुंजीको मर्जर सकिएको हो तर मानब पुंजीको मर्जर पूर्ण हुन त बाँकी नै छ। त्यसैले अझै ५० प्रतिशत मर्जर बाँकी छ भन्छु। फरक फरक कल्चरमा हुर्केर आउनुभएका हाम्रा मानब पुंजीमा भएका राम्रा कुरालाई अवलम्बन गर्ने हो र नराम्रा चिजलाई छोड्ने हो। यो गर्नलाई आउँदो बर्ष हाम्रा लागि महत्त्वपूर्ण हुनेछ। हामीसंग मेगाको संस्कार स्थापना गर्नुपर्नेछ। 

पश्चिमाञ्चल पनि मर्ज गरेकै हो र सबै कुरा सहि रुपले अवतरण गरेको हो। टुरिजमलाई पनि यस अन्तर्गत सहि अवतरण गर्नलाई हामीले लर्निंग एण्ड डेभलपमेन्ट सेन्टर खोलेका छौं। यसमा भएका एटिच्युट र एप्तिच्युट (बानि र प्राकृतिक कुशलता) यो दुईवटा गुणलाई मिश्रित गरि सफ्ट स्किल र प्राविधिक स्किललाई अगाडी बढाउने गरि तालिम अगाडी बढाईरहेका छौँ। 

यो बैंकको आजसम्मको सफलताको आधार र आगामी दिनमा गर्न सक्ने प्रगतिको आधार भनेकै यहाँको मानबपुंजी हुन भन्नेमा हामि आश्वस्त छौँ। र मानब संसाधनबीचको जोड दुई प्लस दुई चार होइन बाइस हुन्छ भनेर मेगा बैंकले प्रमाणित गरेर देखाउनेछ।

"मानब संसाधनबीचको जोड दुई प्लस दुई चार होइन बाइस हुन्छ भनेर मेगा बैंकले प्रमाणित गरेर देखाउनेछ"

बैंकको वित्तीय सूचक र अन्य कुरामा कस्तो प्रभाब देख्नुभएको छ ?

मर्जर भनेर हामीले त्यस्तो ठुलो समानान्तर बाणिज्य बैंकसंग मर्जर गरेका होइनौं। १२ अर्ब ७५ करोडको आकार भएको टुरिजम डेभलपमेन्ट बैंकलाई मर्जर गरेका हौँ। हाम्रो पहिले नै ६३ अर्बका थियौं। 

मर्जरले एउटा के कुरा गरिदिएको छ भने टुरिजमले आफुलाई टुरिजम क्षेत्रमा स्थापित गर्नुका साथसाथै ठमेलमा टुरिजम फ्रेन्डली बैंक भनेर छुट्टै पहिचान बनाइसकेको छ। टुरिजमका धेरै ग्यारेन्टी त्यहाँबाट जारि हुन्छन भने बैदेशिक मुद्रा सटही को पनि राम्रो व्यवसाय छ। ठमेललाई अहिलेलाई टुरिजम क्षेत्रका निम्ति 'वन स्टप सोलुसन हब' बनाउन अगाडी बढिरहेका छौं। सबै टुरिजम क्षेत्रको व्यवसाय ठमेलमा आओस र  'वन स्टप' सोलुसन होस भनेर यसलाई थप मजबुत बनाउने तर्फ लागेका छौँ। 

टुरिजमका ३५ वटा शाखा कार्यालय, ५ वटा एक्सटेन्सन काउन्टरलाई बाणिज्य बैंकको आउटलेट जस्तै गरि अगाडी बढाउने मौका पाएका छौं। त्यसले पनि मर्जरलाई फ्र्युटफुल बनाईदिएको छ भने आगामी दिनमा यो अझैं लाभदायक हुनेमा ढुक्क छौं। 

हलोदेखी हाइड्रोसम्म भन्ने बैंकको नारा छ, हलो र हाइड्रोमा कति लगानी गर्नुभएको छ ?

पहिलो कुरा 'हलोदेखि हाइड्रोसम्म, सबै नेपालीको बैंक' भन्ने हाम्रो नारालाई नै बजारले फरक तरिकाले बुझ्यो जस्तो लाग्छ। हलो र हाइड्रोमा लगानी कति छ भनेर धेरै प्रश्न उठ्दै आएको छ। तर हलोदेखि हाइड्रोसम्म भनेको सबै नेपाली इकोनोमी स्टार्टरलाई समान रुपले बैकिङ सेवा दिन्छौं। कुनै पनि बर्गका नेपाली स्टार्टरलाई हामीले बैंकिङ सेवा दिन्छौं भनेका हौँ।

अर्को कुरा देशमा बैंकिङ साक्षरतालाई देशब्यापी बनाउने हाम्रो अभियान नै हो। मेगा बैंक संचालन गर्नुपर्छ भनेर छलफल चलाउन १२१९ जना देशका बिभिन्न ६३ जिल्लाबाट आउनुभएको थियो। हाम्रो देशमा अहिले पनि ४० प्रतिशत जनताको पहुँच बैंकसम्म पुगेको छ। यसले गर्दा पनि बैंकिङ साक्षरता देशब्यापी फैलाउने र सबै बर्गका नेपालीमा बैंक पुग्नुपर्छ भनेर हलोदेखि हाइड्रोसम्म नारा दिएर बैंक संचालनमा आएको हो। 

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हामि १८ गाउँपालिकामा शाखा संचालन गरेका छौँ र आजका दिनमा १०१ शाखाबाट बैकिङ सेवा दिएका छौँ। अहिले हलोमा के गरेका छौँ भन्दा १० लाखको सरल कर्जा भनेर नयाँ स्किम ल्याएका छौँ। बाटो नपुगेको खेतीयोग्य जमिन धितोमा राखेर कर्जा दिन्छौं भनेर 'सरल कर्जा' ल्याएका छौँ। नेपालमै केहि गर्छु भन्ने नेपाली दाजुभाई दिदीबहिनीलाई सरल र सहज रुपमा कर्जा दिन सकियोस भनेर यो स्किम ल्याएका हौँ। अर्को कुरा, हामीसंग ७६ जना मात्रै त माइक्रो युनिटको रिलेसनसिप म्यानेजरको टिम छ। सबै शाखामा राख्ने भनेका छौँ।  राष्ट्र बैंकले प्राथमिक पुंजीको ५.५ प्रतिशत बिपन्न बर्गलाई लगानी गर्नुपर्छ भनेको छ। हामीले यसलाई पन्चबर्षिय योजनामा डबल बनाउने योजनामा छौं। 

२८ वटा बाणिज्य बैंकले गर्ने भनेकै बैंकिङ नै हो, यसमा सर्वसाधारणलाई मेगा बैंकले दिने 'वाउ' प्रोडक्ट के छ ?

हामीले आठौँ बार्षिक साधारणसभाको अवसरमा २४/७ प्रोडक्ट ल्याएका छौँ। यसमा २४ घण्टामा ग्राहकलाई ऋण स्वीकृत हुन्छ हुन्न भन्ने जवाफ दिन्छौं। स्वीकृत ऋण ७ दिनमा उपलब्ध गराउँछौं। रिटेलको प्रोडक्टलाई एसएमई लोन र थर्स्ट प्रोफेश्ननल लोन छ। 

सबै बैंकले गर्ने बैंकिङ उस्तै नै छ। अब मेगा बैकले वाउ कसरि जित्छ भन्दा प्रोडक्टसहरु सबैको उस्तै उस्तै छन। बैंकहरुबीचको ब्याजदरमा केहि तलमाथि मात्र छ। आफ्नो क्षमता हेरेर ब्याजको आधारदरमा रहेर कर्जा दिने कुरा हो। त्यसैले मेगा बैंकले प्रतिस्पर्धा गर्ने भनेको ग्राहकलाई दिने सेवामा नै हो। 

सेवा राम्रो छ भनेर ग्राहकले अरुलाई पनि मेगा बैंकमा जानुपर्छ भन्ने वातावरण बन्ने गरि ग्राहकलाई उत्कृष्ट सेवा दिनमा नै हामि केन्द्रित छौं। र हाम्रो प्रतिस्पर्धा भनेको पनि ग्राहकलाई उत्कृष्ट सेवा दिएर उहाँहरुलाई खुसि र सन्तुष्ट राख्ने हो। मेगा बैंकलाई पृथक देखाउने हो भने अब सेवामा नै केन्द्रित हुने हो। मेगा आउने प्रत्येक ग्राहक यहाँबाट जाँदा खुसि भएर जाने वातावरण बनाउछौं। 

निक्षेपकर्ता र कर्जा सापटी लिनेले मेगा बैंकलाई नै किन रोज्ने ?

मेगा बैंक हामि नेपालीको बैंक हो। यस बैंकले कमाएको धन मध्यम स्तरका नेपाली जनतामा नै बाँडिन्छ। यहाँ कुनै ठुलो समुहको लगानी छैन। त्यो आम्दानि फेरी पनि नेपाल भित्र नै लगानी हुन्छ। यस बैंकको आम्दानि विदेश जानलाई हामिकहाँ बिदेशी लगानी छैनन। 

आफ्नो नेपाली बैंक र नेपालीपनको अनुभूति गर्न पनि मेगा बैंकमा आउनुहोस भन्छु म। यहाँहरुले सहयोग गरेर बैंकले कमाएको धन पनि नेपालभित्र नै लगानी हुन्छ। आखिर कुनै न कुनै बैंक त जानुनै छ भने आफ्नै नेपालीको बैंक मेगा बैंकमा आएर एक पटक सेवा गर्ने मौका दिनुहोस भन्छु म। 

हाम्रो सेवामा कतै कैफियत देख्नु भयो भने प्रत्येक शाखा व्यवस्थापकलाई (ब्रान्च म्यानेजर) आलोचना प्राप्ति अधिकृत भनेर राखेका छौँ। उहाँहरुलाई भन्दा पनि हुन्छ। र मेरो कार्यालयको ढोका ग्राहकका लागि सधैं खुला छ, म कहाँ आएर आलोचना गर्नुभएपनि हुन्छ वा फोन,इमेल वा मेसेज मार्फत मलाई तपाईले आफ्नो असन्तुष्टि सुनाउन सक्नुहुन्छ। गल्ति मान्छेबाट नै हुन्छ, कम्तिमा हामीलाई हाम्रो गल्ति भनिदिएर हामीलाई सहयोग गर्नुहोस। हलोदेखि हाइड्रोको साथसाथै 'यहाँहरुको बिश्वास जित्दै, मेगा बैंक अघि बढ्दै' भन्ने नयाँ नारा ल्याएका छौँ। जति ग्राहकको बिश्वास जित्छौं, हामि त्यति नै प्रगति गर्छौं। ग्राहकको बिश्वास नै हाम्रो प्रगतिको आधार हो। 

हाम्रो प्रमुख ६ सरोकारवालाहरुको बिश्वास जितेर बैंकलाई प्रगतिको बाटोमा लग्छौं। सेयरधनी, ग्राहक, नियामक, सरकार, कर्मचारी र समाजको बिश्वास जिती उहाँहरुलाई सन्तुष्ट राख्नु नै हाम्रो मुख्य लक्ष्य हो। अहिले ७ वटै प्रदेशमा हाम्रो प्रादेशिक केन्द्र छ। जुन जुन प्रदेशमा जति आम्दानी गर्छौं र त्यसको १ प्रतिशत आम्दानि त्यहि प्रदेशमा सामाजिक उत्तरदायित्वमा खर्च गर्छौं। हामीले मुनाफामा केन्द्रित नभई ग्राहकको बिश्वास जितेर देशको प्रगतीलाई पनि आफ्नो प्रगति मानेका छौं त्यसैले निक्षेपकर्ता र ऋण सापटी लिन चाहनेले बैंकलाई नै रोज्नुहोस, हामि तपाईको रोजाई सहि छ भनेर प्रमाणित गर्न पूर्ण मेहनत गर्छौं। 


स्थापनाको ८ बर्षमा नै मेगा बैंक अर्ब क्लबमा प्रवेश गर्न सफल भएको छ, बैंकका सेयरधनीहरुले यो बर्ष कस्तो प्रतिफल पाउनुहुन्छ ?

पक्कै पनि स्थापनाको ८ बर्षमा नै अर्ब क्लबमा पुग्नेमा मेगा बैंक पहिलो बाणिज्य बैंक बनेको छ। यसका लागि हामीलाई बिश्वास गरेर सेवा दिने मौका दिनुहुने सबै ग्राहकप्रति आभार प्रकट गर्छु र सम्पूर्ण सहयोगि हातहरुलाई धन्यबाद दिन चाहन्छु। 

सेयरधनीको अपेक्षा जहिलेपनि धेरै प्रतिफल पाउन पाए भन्ने हुन्छ त्यो स्वाभाविक पनि हो। हामीले सेयरधनीलाई यो बर्ष डबल डिजिटको प्रतिफल दिन्छौं। र यो दर प्रत्येक बर्ष बढ्दै जानेछ। त्यसैले सेयरधनीहरुलाई प्रत्येक बर्ष राम्रै प्रतिफल दिएर उहाँहरुलाई खुसि नै राख्छौं। 

अन्तयमा, 

२७ बर्षे बैंकिङ करियरमा बाणिज्य बैंकको पहिलो महिला सीईओ बन्नु भएको छ, जिम्मेवारीको हिसाबले महिला र पुरुष सीईओ हुनु उस्तै भएपनि नेपाली समाजको धारणा मात्र फरक हो कि साच्चिकै चुनौती र अवसरमा पनि फरक पाउनुभएको छ ?

नेपाली समाजमा आजपनि महिला र पुरुषले समान व्यवहार पाउँछ भन्ने कुरा दाबि साथ भन्न सक्ने अवस्था छैन। तर पनि म आफुलाई भाग्यमानी ठान्छु मेगा बैंक संचालक सदस्यहरुले समाजमा महिलालाई हेर्ने 'चश्मा' लाई तोड्ने काम गर्नुभएको छ। 

२७ बर्षे बैंकिङमा सिक्ने अवसर धेरै पाए र मेगा बैंक संचालन हुनु भन्दा पहिले नै म यस बैंकमा जोडिएको थिए। त्यसैले मेगा बैंकको संचालक सदस्य, यहाँको टिमसंग मेरो अनुभव लामो छ। जिम्मेवारी, अवसर र चुनौतीका हिसाबले त्यो २७ बर्षे बैंकिङ र अहिलेको अवस्था फरक छ।   चुनौती भनेको अबको ४ बर्ष हो। यहाँ बैंकको प्रतिष्ठा, यसले गर्ने प्रगति, शेयरधनिहरुलाई दिने प्रतिफलसंगसंगै मेगा बैकले महिलालाई दिएको जिम्मेवारी र बिश्वासको पनि परिक्षा हुँदैछ। बैंक संचालक सदस्यले दिनुभएको जिम्मेवारी र बिश्वासलाई सहि प्रमाणित गर्नपनि मेरा लागि अबको ४ बर्ष बिशेष हुनेछ। बैंकको सफलतासंगै यहाँका ६ प्रमुख सरोकारवालाहरुको पनि प्रतिष्ठा बढ्ने छ भने आगामी दिनमा अन्य बैंकहरुले पनि महिलाको नेतृत्त्वलाई बिश्वास गर्ने वातावरण बन्नेछ।

मलाई हाम्रो बैंक संचालक सदस्य, हाम्रो टिम र मेगा बैंकका ग्राहक, नियामक निकाय लगायतका सबै सरोकारवालाबाट साथ मिलिरहेको छ। त्यसैले पनि यो ४ बर्षको परिक्षामा राम्रै अंक ल्याएर पास हुन्छु भन्नेमा बिश्वस्त छु।      

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved