'होमस्टे संस्कृति र प्रकृति देखाउने माध्यम हो तर सरकारले महत्त्व बुझेन' होसान अध्यक्ष, केसीको अन्तर्वार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 13, 2018 | 10:29:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको छैन। 'पर्यटनका लागि संगसंगै' भन्ने नारासहित ‘नेपाल पर्यटन वर्ष–२०११’ पश्चात नै होमस्टेले गति लिएको हो। 

त्यसो त कोहि पाहुनाको स्वागत सत्कार गर्नु नेपालीको संस्कार नै हो तर यहि संस्कारलाई व्यवसायमा रुपान्तरण गरि आयको स्रोत बन्न थालेको यहि ८ बर्ष पुगेको छ। त्यसैले पनि बिज्ञहरुले होमस्टेलाई पर्यटन बर्ष २०११ को 'देन' को संज्ञा दिने गर्छन। 

सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको छ। यो पर्यटन बर्ष २०२० के को लागि र यसका लक्षित बर्ग को भन्ने कुरा अनुत्तरित नै छ, यद्दपी पर्यटन बोर्ड लगायत यसका सरोकारवालाहरु पर्यटन बर्ष २०२० लाई सफल बनाउन लागि परेका छन। प्रचार प्रसार प्रवर्दनलाई निरन्तरता दिने क्रममा सरकारले भर्खरै मात्र १ सय वटा नयाँ गन्तब्य सार्वजनिक गरेको छ।  

अन्य समयमा कम व्यवसाय भएपनि नोभेम्बर र डिसेम्बरमा नेपालका ठुला साना होटलहरु 'हाउसफुल' नै हुने गर्छन। नोभेम्बर र डिसेम्बरमा कतिपय पर्यटकहरुले रुम नपाएर आफ्नो नेपाल भ्रमण रद्द गर्नुपरेको स्वयम होटल व्यवसायीहरु नै बताउछन। यस्तोमा पर्यटन बर्ष २०२० मा नेपाल आउने पर्यटनका लागि र पर्यटन बर्ष २०२० को लागि नेपालमा भर्खरै व्यवसायीकरण हुने क्रममा रहेको होमस्टे को भूमिका के हुन्छ भन्नेबारे बिजपाटी डटकमका निरोज कुमार थापाले होमस्टे एशोशियसन नेपालका अध्यक्ष भिमबहादुर केसीसँग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश: 

अहिले होमस्टे बिदेशी मात्र नभई स्वदेशी पर्यटकको लागि समेत चाँसोको बिषय बनेको छ, यहाँको बुझाईमा नेपालमा होमस्टेको इतिहाँस कति लामो छ ?   

नेपालमा होमस्टेको संगठनात्मक आन्दोलन र अभियान त्यति लामो छैन। २०५४ मा सिरुबारीबाट स्वर्गीय रुद्रमान गुरुङ र २०५५ मा घलेगाउँबाट सुरु गरिएको होमस्टे आन्दोलन २०६७ मा घोषणा भएको पर्यटन वर्ष र सोही वर्ष सरकारले होमस्टे सञ्चालन कार्यविधि ल्याएपछि संस्थागत भएको हो। 

अहिले नेपालमा पर्यटन कार्यालयमा दर्ता भएका सामुदायिक होमस्टे १२५ छन्, निजी होमस्टे ११९ छन् । अहिले गण्डकी प्रदेश सरकारले नयाँ कार्यविधि समेत ल्याईसकेको छ । अहिले दर्ता हुने क्रम बढ्दो छ । 

होमस्टे भनेका ग्रामिण पर्यटनका अगुवा बनेका छन् । गाउँमा गएपछि संस्कृति र प्रकृति दूवै देख्न पाइने हुनाले ग्रामिण क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन् । होमस्टे पर्यटकलाई सेवा दिने, रमाउने वाताबरण बनाईदिने काममा लागेका छन् । 

संघीय प्रणाली अनुसार होमस्टेको दर्ता प्रक्रिया कस्तो छ ?

२०६७ को कार्यविधिले दर्ताको लागी केन्द्रमा पर्यटन विभाग र तल्लो निकायमा रुपमा पर्यटन विभाग मातहतका ७ वटा पर्यटन कार्यलयमा दर्ता गर्ने व्यबस्था गरेको थियो। अहिले संघियता कार्यान्वयनको चरणपछि ती कार्यालयहरु खारेज भएका छन। त्यसैले अहिले तत्काल दर्ताको लागी अन्यौलता छ । 

पर्यटन विभागले पनि दर्ता र नविकरण गरेका छैनन् । विभाग मातहतका कार्यालयहरु विघठित भएका छन् । नगर र गाउँपालिकालाई यसको अख्तियारी दिईएको छैन। तर गण्डकी प्रदेशले कार्यविधि बनाएर दर्ता गर्ने अधिकार स्थानीय तहलाई र महानगरभित्रको वडालाई दिएको छ। 

'होमस्टेले गाउँकालाई दुई चार पैसा खेलाउन सक्ने बनाएको छ, अब व्यवसायीकरण अनिवार्य छ'

त्यसो त केन्द्र सरकारले दर्ता प्रकृयाबारे ठोस रुपमा बोलेको छैन, त्यहिपनि दर्ता र नविकरण कस्तो हुनुपर्छ ?   

होमस्टेको दर्ता, अनुगमन, नविकरण गर्ने जिम्मा स्थानीय तहलाई नै दिनुपर्छ। हिजो सरकारका ७ वटा पर्यटन कार्यालय धेरै टाढा थिए। एउटा सामुदायिक होमस्टे दर्ता गर्न २ दिन ३ दिन लगाएर जानुपर्ने बाध्यता थियो। त्यतिबेलैदेखी हामीले यो झञ्झटिलो र असजिलो छ भनेका थियौ । अहिले पनि होसानले होमस्टे दर्ता गर्ने र नविकरण गर्ने जिम्मा स्थानीय तहलाई दिनुपर्छ भनेर हामीले माग अघि सारेका छौँ । 

होमस्टे सञ्चालन गर्न उपयुक्त ठाउँ हो कि होईन भन्ने जानकारी पनि स्थानीय तहलाई हुन्छ र सञ्चालन पश्चात ठिक ढङ्गले चलाएका छन कि  छैनन् भन्ने अनुगमन गर्न पनि उनीहरुलाई सजिलो हुन्छ । 

कार्यविधि आएको ८ वर्ष भयो तर संख्यात्मक फड्को मार्न किन सकिएन ?

सामुदायिक होमस्टेको संख्या १२५ छ भन्नु यो सानो संख्या होईन । एउटा सामुदायीक होमस्टे दर्ता गर्न ५ हजार लाग्छ । अहिले नेपालमा दर्ता भएका सामुदायिक होमस्टेमा न्युनतम ५ घरदेखी ४२- ४३ घरसम्म छन् । त्यसैले संख्या सानो, थोरै भन्ने छैन, यो आफैँमा ठूलो छ । 

यसका मापदण्ड चाँही के के छन् ?

दर्ता शुल्क ५ हजार अनिवार्य हो। त्यसबाहेक सरकारले बनाएको कार्यविधिलाई पछ्याउनु पर्छ । 

होटलको विकल्प होमस्टे हो कि होईन ? 

होमस्टेमा बस्ने पर्यटक र होटलमा बस्ने पर्यटक भिन्दाभिन्दै हुन् । उनीहरुको चाहाना नै फरक हुन्छ । होमस्टेमा बस्न आएकाहरु होटलमा जाँदैनन र होटलमा आएकाहरु होमस्टेमा आउँदैनन् । त्यसैले होमस्टे होटलको विकल्प होईन । होमस्टे बढेकाले होटलमा बस्ने पर्यटक घटे भन्नु पनि सत्य होईन । 

र अर्को कुरा के हो भने, पहिलोपटक होमस्टेको कार्यविधि आउँदा नेपालमा पर्यटन वर्ष मनाईराखिएको थियो । पर्यटकलाई गाउँगाउँमा लैजाने भन्ने नारा पूरा भएन । फेरि हामी भिजिट २०२० को अभियानमा छौँ । हिजो जस्तो अन्यौलता, लडाई झगडा, हड्ताल छैन । त्यसैले यसपालीको भ्रमण वर्ष हुन्छ । र आउने पर्यटकको संख्या बढ्दा होमस्टेमा बस्न आउने पनि पक्कै बढ्छन् । 

होटलको विकल्प होईन भने होमस्टेके हो चाँही के त ?

होमस्टे भनेको एउटा परिवार हो । जुन घरमा हामी बास माग्दै जान्छौ, बस्छौ, खान्छौ, रमाउँछौ त्यही हो होमस्टे । एउटा परिवारमा पाहुना आएपछि गरिने स्वागत सत्कार र सामान्य व्यवसायकि कारोबार मात्रै हो । यसमा कुनै मजदुर हुँदैन, बाहिरका मान्छेले काम गदैनन् । 

घरमा आउने पाहुनाले जे पाक्छ त्यही खान्छ । कहिलेकाही पाहुनाको ईच्छा अनुसार पनि पकाईन्छ, नत्र भने जे पाक्छ त्यही खान्छ । हामीले घरमा जे गर्छौ पर्यटकले त्यही देख्छ । होटलमा त पर्यटक आउँछ, ईन्ट्रि गर्छ, कोठामा जान्छ, ढोका लगाएर बस्छ, खाना खान निस्किन्छ । खाना खुवाउने मान्छे बाहेक त उसले केही देख्न पाउँदैन । संस्कार के हो, संस्कृति के हो केही थाहा पाउँदैन । 

तर होमस्टेमा उसले हाम्रा बा डोको बुनिरहेको, आमाले साग टिपिरहेको, हजुरआमाले नातिनी खेलाईरहेको, नाती पढिरहेको सबै देख्छ । कुखुरा चरिरहेको, बाख्रा बाधिरहेको यी यावत क्रियाकलाप देख्छ । त्यसैले होमस्टे समाज, संस्कृति र संस्कार अध्ययन गर्ने थलो पनि हो । 

होमस्टेमा आउने पर्यटकबाट सुरक्षाको खतरा चाँही हुन्छ कि हुँदैन ?

अहिलेसम्म त्यस्तो छैन । पर्यटकलाई देखेपछि टाढैबाट नमस्ते गर्ने, हाँस्ने हाम्रो परम्परा संस्कार नै हो । अब आउन त विभिन्न स्वभाव भएका मानिस आउँछन् । त्यसैलाई ख्याल गरेर नजिकै प्रहरी चौकि भएको, स्वास्थ्य संस्था भएको ठाउँमा मात्रै होमस्टे सञ्चालन हुन पाउँछन् । होमस्टे दर्ता गर्नु अगावै स्वास्थ्य चौकी र प्रहरी चौकी कति दुरीमा छ भनेर खुलाउनुपर्ने कार्यविधिमा नै उल्लेख छ । सोही अनुसार भईरहेको छ । 


होमस्टेलाई प्रचारमा मात्र होइन, कानुनीरुपमै व्यवसायीकरण गरिनुपर्छ'

होमस्टेमा बस्ने पर्यटकले संस्कार र सस्कृति त देख्ने भयो, पर्यटकलाई भुलाउने संरचना बन्नु पर्छ कि पर्दैन ?

पर्छ। तर संचरना हेर्न मात्रै पर्यटक आउने होईन । हिजो आफ्ना परम्परागत बाजा बज्न छोडेका थिए । अहिले गाउँमा पर्यटक आउने भएपछि ती बाजाहरुको आवाज सुन्न थालिएको छ । हिजोआफ्ना परम्परागत भेषभूषा लगाउन छोडिएको थियो, आज पर्यटक आउने भएपछि लगाउन थालिएको छ । 

आज गुरुङहरु मारुनी नाच नाच्छन्, चौधरीहरु थारु नच नाच्छन् । सबै समुदाय आफ्नो संस्कृति अनुसार रमाइलो गर्ने पद्धतिको विकास भएको छ । यी परम्परा हिजो लोप हुने अवस्थामा थिए । तर गाउँगाउँमा होमस्टे सञ्चालन हुन थालेपछि हाम्रा संस्कार संस्कृतिले पुनर्जीवन पाएका छन्  । यो हेर्न पनि पर्यटक आउँछन् । 

अहिले ५ नम्बर प्रदेश सरकारले बाँकेको गावरभ्यालीको आसपासमा मानसरोवरको प्रतिमा सहितको पार्क बनाउँदै छ । यसको लागी ३ करोड बजेट छुट्याएको छ । यो बनिसकेपछि मानसारोेवर पुग्न नसक्ने त त्यहाँ जाने भए नि । 

हिजो हेटौडाको सामान्य डाडोमा एउटा ढुङ्गो कुदिएर ५ जना शहिदको सालिक राखिएको थियो । आज यति राम्रो पार्क बनेको छ, नेपाल भरीमै त्यत्तिको पार्क छैन होला । मैले भन्न खाजेको सुरु गरेपछि बन्दो रहेछ नि त । पहिला टिकापूर भन्थ्यौ, अहिले हेटौडा भन्छौ । भोली गावरभ्यालीमा बनेको मानसरोवर पार्क भन्न सकिन्छ ।

अहिले सरकारले होमस्टेलाई कसरी हेरेको पाउनुहुन्छ ?

म सरकारले पहिलो कार्यविधि बनाउँदा देखी नै यस अभियानमा जोडिँदै आएको छु । कपनमा सरकारले पहिलो राष्ट्रिय कार्यशाला गर्यो, दोस्रो कार्यशाला २०७० मा पोखरामा गर्यो । पोखरा कार्यशालापछि हामीले देशैभरका होमस्टेहरुको छाता संगठनका रुपमा होमस्टे एशोशियसनको विधिवत सुरुवात गर्यौ । ठिक ३ वर्ष अघि हामीले पहिलो महाधिवेशन गर्यौ ।

सरकारले कार्यविधि त ल्यायो । तर होमस्टेको विकास गर्न, सञ्चालित होमस्टेलाई सम्पन्न बनाउन सरकारको जुन किसिमको तत्परता हुनुपथ्र्यो त्यो दखिएको छैन । कही कतै पर्यटन बोर्डले सामान्य तालिम दिएको छ । तर ग्रामिण पर्यटनको नेतृत्व र अगुवाई गरिरहेका होमस्टेको विकासमा सरकारी स्तरबाट महत्वपूर्ण पहलकदमी भएको छैन । करमा छुट दिएको छ । हाम्रो भनाई के हो भने, निश्चित समयसम्म करमा सहुलियत दिएपछि होमस्टेलाई पनि करको दायरमा ल्याउनुपर्छ । 

केही दिन मात्रै पर्यटन मन्त्रालयले पर्यटन ऐन २०७५ का विषयमा छलफल गर्न बोलाएको थियो । पर्यटन ऐन सरसर्ती प्रस्तुत भयो, तर होमस्टेका कुरा कतै आएनन् । त्यसपछि मैले हात उठाएर होमस्टेलाई पनि प्राथमिकता दिएर ऐन बन्नुपर्छ भने । त्यसपछि माननीय मन्त्री रविन्द्र अधिकारीले होमस्टेका कुरा छुटेको भन्दै थप्ने भन्नु भयो । 

यहाँ भाषण गर्दा होमस्टे कि होमस्टे भनिन्छ । तर ऐन बन्दा, नियम बन्दा, कार्यविधि बन्दा त्यसैलाई उपेक्षा गरिन्छ  । पर्यटन क्षेत्रको कान्छो संस्था हो यो एशोशियसन, तर आकर्षक छ । हामीले सरकारलाई यसै नछोड, यसलाई पनि साथसाथै लिएर हिड्नुस् भनेका छौँ । 

यहाँहरुको तर्फबाट राज्यलाई झकझक्याउने, दबाब दिने काम नभएर पो हेपिएको जस्तो देखिएको हो कि ? 

हामीले सबैतिर कुरा उठाएका छौँ । हामीले कुरा उठाएका कारण नै सरकारले नयाँ सय पर्यटकीय गन्तव्य सार्वजनिक गर्यो । ती गन्तव्यमा होमस्टे पनि परेका छन् । 

हिजो एक किसिमको लडाइ झगडामा थियौँ, त्यसैले हामीले यतातिर ध्यान दिन सकेनौ होला । तर अब सरकारले घोषणा गरेका गन्तव्यको विकासमा सरकारको ध्यान जान्छ होला । हामी निरन्तर राज्यको ढोका ढकढक्याईरहन्छौ । हामीले हाम्रा आवश्यकता यी हुन भनेर सरकारलाई भनिरहेका छौँ । सरकारले पूर्वाधार त बनाईदिनु पर्यो नि ।

सरकार होमस्टेप्रति अनुदार नै देखिएको हो त ?

केन्द्र सरकारको त्यस्तो आकर्षक योजना केही छैन । गण्डकी प्रदेशले होमस्टेको विकास गर्न ३० करोड बजेट विनियोजन गरेको छ । सोही प्रदेशले कार्यविधि पनि पास गर्यो । 

एशोशियसनले चाँही अरु प्रदेशमा पनि होमस्टेमैत्री नियम, कार्यविधि बन्नुपर्यो भनेको छैन ?

हामीले भनिराख्या छौ । केन्द्र सरकारलाई भनेका छौँ, पर्यटन बोर्डलाईै भनेका छौँ । पर्यटन सम्बन्धि काम गर्ने संस्था तारागाउँ विकास समितिलाई पनि भनिरहेका छौँ । ६ नम्बर प्रदेश बाहेक अरु प्रदेशमा हाम्रो प्रदेश कमिटी छ । ती कमिटी मार्फत प्रदेश सरकारलाई पनि भनिरहेका छौँ । ६ नम्बर प्रदेशमा अहिलेसम्म होमस्टे दर्ता नभएकोले त्यहाँ हाम्रो कमिटी छैन । 

सय गन्तवयको विकास चाँही कसरी गर्नुपर्छ ?

सरकारले ल्याएका नयाँ गन्तव्यको सूचिको विकास प्याकेज ल्याएर गर्नुपर्छ । एकवर्ष एक ठाउँलाई विकास गर्ने हो, कतै २ लाख, कतै ३ लाख गरेर पैसा छरेर विकास हुँदैन । गावरभ्याली बनाउने हो भने पूरै त्यता केन्द्रित हुनुपर्छ, अमलटारीलाई बनाउने हो भने त्यतै केन्द्रित हुनुपर्यो, घलेगाउँलाई विकास गर्ने हो भने पूरै ध्यान त्यतै दिनुपर्यो । 

हरेक प्रदेशमा वर्षमा २÷३ वटा पर्यटकीय गन्तव्य बनाउन सक्छन् । हिजो जस्तो असजिलो छैन, केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार छ । यी तीनै तहका सरकार मिलेर काम गर्ने हो भने पनि पर्यटन क्षेत्रमा धेरै काम गर्न सक्छन् । होमस्टेका रुपमा विकास गर्न सकिने धेरै ठाउँहरु छन् । 

यहाँहरुले कत्तिको अध्ययन गर्नु भएको छ ? 

हामीले अहिले सञ्चालनमा भएका होमस्टेको क्षमता वृद्धि र उनीहरुलाई सबल बनाउने काममा समय खर्चेका छौँ । हामीसँग आफ्नो छुट्टै बजेट छैन । साधन र स्रोत नभएपछि अध्ययन गर्न सकिएको छैन । अध्ययन गर्ने काम राज्यको हो, राज्यले गर्नुपर्छ । हामी त अभियानका अभियान्ता हौँ, अभियानकर्ताका हैसियतले राज्यलाई सहयोग गर्ने हो । 

अर्थतन्त्रमा होमस्टेको योगदान चाँही के त ?

गाउँमा चलेका होमस्टेले केवल पर्यटक लगेका मात्रै छैनन् । यसले स्थानीय उत्पादनको खपत बढाउनुका साथै गाउँका नागरिकको जीवनस्तर समेत उकास्न मद्दत गरेको छ ।

छिमेकीको करेसामा फलेको साग, काउली आफनो बारीमा फलेको मकै कोदो लगायतका अर्गानिक उत्पादन खुवाएका छन् । यसबाट स्वभावैले आर्थिक उपार्जन भएको छ । यसबाट वरीपरीको समाजले पनि लाभ लिएको छ । हाम्रा गाउँले दाजुभाई दिदी बहिनीहरु २-४ पैसा खेलाउन सक्ने भएका छन् । विस्तार जीवनस्तर उठाउन यसले भूमिका खेलेको छ । ग्रामिण पर्यटनको नेता भनेकै होमस्टे हो । 

भिजिट नेपाल २०२० मा होमस्टेको योगदान के हुन्छ ? 

हामीले स्वदेशी पर्यटकलाइृ गाउँगाउँमा लगेर रमाउने वाताबरण बनाएका छौँ । गाउँमा जानेपर्यटक खुशी छन्, प्रकृति र संस्कृति दूवै देख्न पाए । 

नेपालमा आउने पर्यटकलाई शहरमा मात्रै होईन गाउँमा पनि घुम्ने ठाउँ छन्, होटलमा मात्रै होईन होमस्टेमा पनि बस्ने वाताबरण छ भन्ने विश्वास दिलाउँछौँ । जसले गर्दा गाउँमा जाने पर्यटक २र३ दिन बढी त बस्छ नै । हामी पर्यटकको संख्यासँगै बसाई अवधि पनि लम्ब्याउनु पर्छ भन्ने अभियानमा छौँ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved