'आईपिओ/एफपीओ रेटिङ्ग सेयर किनबेचको आधार होइन' केयर नेपालका सीईओ गोयल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 20, 2019 | 11:41:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको क्रेडिट रेटिङ्ग नियमावली, २०६८ ले जुन सुकै संगठित संस्थाले कुनै धितोपत्र सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ्ग गराएर मात्र निष्काशन गर्नु पर्ने व्यवस्था गरेको छ।

कम्जोर ग्रेडको रेटिङ्ग पाउने कम्पनीलाई सार्वजनिक निष्काशन गर्न रोक लगाउनुपर्ने दबाब बढेपछि नेपाल धितोपत्र बोर्डले ५ रेटिङ्ग पाउने कम्पनीहरुलाई सार्बजनिक निष्काशन गर्न नपाउने निर्णय गरेको छ। 

कम्जोर रेटिङ्ग पाउने कम्पनीलाई सार्वजनिक निष्काशन गर्न दिनु पर्छ पर्दैन भन्नेबारे चर्को बहस समेत हुन थालेको छ। यसको पक्ष विपक्षमा धेरै टिक्का टिप्पणी भई रहेका छन। आम सर्वसाधारणमा रेटिङ्ग १ पाउने कम्पनी राम्रो र ५ पाउने नराम्रो भन्ने बुझाई छ, जुन केहिहदसम्म सत्य पनि हो। त्यसैले पनि रेटिङ्ग केको आधारमा कसरि गरिन्छ भन्ने बिषयबारे भने आम लगानीकर्तामा चाँसो बढेको छ।  

सामान्यभाषामा बुझ्नुपर्दा रेटिङ्ग भनेको कम्पनीको जोखिम बहन र ऋण चुक्ता गर्न सक्ने क्षमताको मूल्यांकन हो। यसलाई स्वतन्त्र र निष्पक्ष रायको रुपमा समेत लिईन्छ। यसले लगानीकर्तालाई सम्बन्धित कम्पनीको वास्तविक अवस्थाबारे बताईदिएर केवल लगानीको निर्णय गर्नको लागि सघाउने मात्र हो। यसले यो गर वा त्यो गर भन्दैन।

यद्दपी कतिपयले रेटिङ्गको निष्पक्षतामाथि प्रश्न उठाउने गरेका छन। तर यसरि प्रश्न उठ्नुमा रेटिङ्गको बिधिबारे जानकारी नहुनु नै हो। यसको बिधि र प्रकृयाबारे थाहा मिलेपछि रेटिंगमाथि उठेको शंका नै निवारण हुन्छ। 

रेटिङ्ग प्रकृया 

सबैभन्दा पहिले सार्वजनिक निष्काशन गर्ने कम्पनीले रेटिङ्ग गर्ने कम्पनी रोज्नुपर्छ। हाल नेपालमा दुईवटा कम्पनीले मात्र रेटिङ्गको काम गर्छन। त्यसपश्चात रेटिङ्ग गराउने कम्पनीले रेटिङ्ग गर्ने कम्पनीले (एजेन्सी) मागेका कागजपत्र उपलब्ध गराउछ। उपलब्ध कागजपत्रहरुको अध्ययन गरेर  एजेन्सीको टोलीले आयोजना निर्माण भईरहेको साइट भिजिट गर्छ, अर्थात स्थलगत निरीक्षण गर्दछ। कम्पनीले दिएको कागजातमा उल्लेख गरिएका डाटाहरुलाई स्थलगत निरीक्षणमा देखिएको अवस्थासंग क्रस चेक हुन्छ। केहि तलमाथि भएको पाईए स्थलगत अवस्थालाई निर्णायक मानिन्छ । 

त्यसपछि एजेन्सीले आवश्यकता अनुसार कम्पनीले अन्य कागजात माग गर्छ। सबै कागजात प्राप्त भएपछि त्यसलाई एजेन्सीले भारत पठाउछ। जहाँ स्वतन्त्र विज्ञहरुको समुहले अध्ययन गरि रेटिङ्ग तयार पार्छ। बिज्ञहरुको समुह यस विधामा बर्षौ अनुभव भएकाहरु हुन्छन। उनीहरु एजेन्सीका लगानीकर्ता पनि होइनन , संचालक पनि होईनन। यस कारण त्यहाँ स्वार्थ बाझिने सम्भावना नै रहदैन र निष्पक्ष रेटिङ्ग हुन्छ।

रेटिङ्गका आधार

रेटिङ्गका लागि दर्जनौ मापदण्डहरु छन। जसबाट कम्पनीको वित्तीय अवस्था मात्र नभई कम्पनीभित्रको सुशासन, सेयरधनीप्रतिको उत्तरदायि लगायतका बिषयमा अध्ययन हुन्छ। मुख्यत: रेटिङ्ग तयार पार्दा ६ वटा बिषयलाई महत्त्वका साथ अध्ययन तथा निरीक्षण गरिन्छ। 

-व्यवसायिक जोखिम

-व्यवस्थापन जोखिम 

-वित्तीय जोखिम 

-सम्बेदनशिलता जोखिम 

-ब्याजदर 

-पहिलेका जरीवाना 

-आयोजना जोखिम 

प्रत्येक जोखिमका आ-आफ्नै प्यारामिटर र सूचकहरु हुन्छन। यिनीहरुको आ आफ्नै जोखिम भार हुन्छ। जोखिमका भारहरुलाई औषतमा निकालेर कम्पनीको रेटिङ्ग तय हुन्छ। 

एजेन्सीले बिभिन्न जोखिमको अध्ययन तथा विश्लेषण गर्नुका अलावा उद्योगमा भएका अन्य ठुला लगानी, मुल्य प्रणाली, प्रतिस्पर्धाको दर, आर्थिक चक्र, सरकारी नीति लगायतका बिषयमा छुट्टाछुट्टै अध्ययन गर्छ। 

कसको रेटिङ्ग बढी ?

निर्माणधिन वा संचालनमा नआएका कम्पनी तथा संस्थाहरुले कम्जोर रेटिङ्ग पाउने गर्छन भने यसको तुलनामा संचालनमा आइसकेका कम्पनी वा संस्थाले राम्रो रेटिङ्ग पाउँछ। 

रेटिङ्गका लागि कति समय लाग्छ ?

सामान्यतया कुनैपनि संस्था वा कम्पनीको रेटिङ्ग गर्न एक महिना लाग्छ। तर रेटिङ्ग कति समयमा सक्ने भन्ने बिषय सम्बन्धित कम्पनीको कार्य क्षमतामा बढी निर्भर गर्छ। यदि सम्बन्धित कम्पनीले एजेन्सीले मागेको कागजात वा जानकारी समयमै दियो भने रेटिङ्ग एक महिनामा सकिन्छ। तर अहिलेको अभ्यासलाई हेर्ने हो भने कम्पनीहरुले आवश्यक सूचना र जानकारी दिन ढिलाई गरिरहेका हुन्छन जसले गर्दा महिनादिन भन्दा बढी समय लाग्छ। 

रेटिङ्गको बैधानिकता 

रेटिङ्ग एक बर्षको लागि मात्र बैधानिक हुन्छ। रेटिङ्ग गरेको एक बर्षपछि आवश्यक परेमा कम्पनीले पुन:रेटिङ्ग गर्नुपर्ने हुन्छ। 

समग्रमा रेटिङ्ग भनेको के हो ?

कुनै पनि कम्पनी वा संस्थाको वर्तमान अवस्थाबारे गरिएको अध्ययन हो। जसले लगानीकर्तालाई कम्पनी वा संस्थाको जोखिमबारे स्पष्ट जानकारी दिन्छ। 

कुन रेटिङ्ग कस्तो 

रेटिङ्गको स्केल १-५ सम्म हुन्छ। १ भनेको सम्पूर्ण बिषयमा कम्पनीको अवस्था बलियो छ र जोखिम न्यून छ भन्ने जनाउछ भने रेटिङ्ग ५ भनेको कम्पनीको अवस्था धेरै कुराले कम्जोर छ र जोखिम बढी छ भन्ने बुझाउछ। त्यस्तै रेटिङ्ग ३ प्राप्त हुनुले कम्पनीको जोखिम मध्यम छ भन्ने बुझाउँछ। अर्थात जति धेरै ग्रेड उति धेरै जोखिम। 

धितोपत्र बोर्डले रेटिङ्ग ५ पाउनेलाई सार्वजनिक निष्काशनमा रोक लगाएको छ, के त्यसो भए सम्बन्धित कम्पनीले पैसा खुवाएर रेटिङ्ग ४ मै सिमित गर्न सक्छन ?

रेटिङ्ग कम्पनीको वास्तविक अध्ययन हो। कम्पनीले उपलब्ध गराएका जानकारी र कागजातहरु भारतको स्वतन्त्र बिज्ञ समुहलाई पठाईन्छ। र उतैबाट रेटिङ्ग तय भएर आउँछ तसर्थ नेपालमा कति फि लियो भन्ने जस्ता बिषयले रेटिङ्गलाई प्रभाब पार्दैन। 

सबै रेटिङ्ग गर्ने कम्पनीको ग्रेड एकै हुन्छ ?

रेटिङ्गका मापदण्ड करिब करिब उस्तै हुने भएकाले जुनै कम्पनीले गरेपनि ग्रेड एकै हुन्छ।     

रेटिङ्ग ५ पाउनेले कहिल्यै सार्वजनिक निष्काशन गर्न पाउदैनन ?

पाउँछन तर अवस्था सुधार गरेर। यदि कुनै कम्पनी वा संस्थाले रेटिङ्ग ५ पाएका छन भने उनीहरुले आफ्नो आर्थिक, वित्तीय, व्यवस्थापन लगायतका अवस्थाहरु सुधार गरेर फेरी रेटिङ्गमा भाग लिन पाउँछन र रेटिङ्ग ४ पाएपछि सार्वजनिक निष्काशनको बाटो खुला हुन्छ।

धितोपत्र बोर्डको ५ रेटिङ्ग आउनेलाई निष्काशनमा बन्द गर्ने निर्णय कति जायज ?

बोर्डको यो निर्णयलाई सकारात्मक लिनुपर्छ। रेटिङ्ग ५ भनेको बढी जोखिम भएको कम्पनी वा संस्था हो भन्ने सबैलाई थाहा छ। यस्तो कम्पनीमा गरिने लगानी पनि बढी जोखिम हुनेगर्छ। सकेसम्म कम जोखिम भएका कम्पनी सुचिकृत हुन र कम जोखिम भएका कम्पनीमा सर्वसाधारणको लगानी होस भन्ने नियामकको उदेश्य हुन्छ।

अहिले बोर्डको निर्णयले सबै भन्दा बढी जोखिम भएका ५ ग्रेड पाएका कम्पनीले कम्तिमा जोखिम भएकै अवस्थामा सार्वजनिक निष्काशन गर्न त पाएनन। उनीहरुलाइ आफ्नो अवस्था सुधार गर्ने मौका छदैछ। त्यसैले सकेसम्म कम जोखिम भएका कम्पनीमा लगानीकर्ताको लगानी होस् भन्ने उदेश्यले आएको बोर्डको निर्देशन तारिफयोग्य छ।   

रेटिङ्ग निर्देशन कि सूचक ?

रेटिङ्ग सूचक मात्रै हो। कम्पनी कति जोखिममा छ भन्ने सूचना मात्रै हो। यो सूचनालाई आधार मानेर लगानीकर्ताले सजिलै लगानीको निर्णय लिन सक्छन। तर लगानीकर्ताले बुझ्नुपर्ने कुरा के हो भने रेटिङ्ग एक बर्षको लागि मात्र बैधानिक हुन्छ। अहिले बढी रेटिङ्ग आएको कम्पनी भोलि राम्रो  पनि हुन सक्छ त्यस्तै अहिले कम रेटिङ्ग आएको कम्पनी भोलि नराम्रो पनि हुन सक्छ। एक पटक गरिएको रेटिङ्ग सधैंलाई होइन यो कम्पनीको वर्तमान अवस्थाको चित्र मात्र हो। 

अहिले कम्पनीले रेटिङ्ग ४ पाएको छ भने यसको जोखिम बढी छ त्यहि पनि भविष्यमा राम्रो गर्न सक्छ भन्ने लगानीकर्ताको बुझाई छ भने अहिले बढी जोखिम मोलेर लगानीको निर्णय लिन सक्छ। होइन भने बढी जोखिम रहेछ मेरो क्षमताले भ्याउदैन भनेर लगानी नगर्न पनि सक्छ। त्यसैले रेटिङ्ग निर्देशन होइन एउटा सूचक मात्रै हो।  

(नेपालमा रेटिङ्ग एजेन्सीको रुपमा काम गर्दै आएको केयर नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलसंगको कुराकानीमा आधारित ।) 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved