अहिलेकै अवस्थामा बैंकहरु ठुलो जोखिममा

भावना लामा

भावना लामा

Mar 03, 2019 | 07:47:58 PM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डटकमले साताको प्रत्येक आइतबार समसामयिक बिषयमा सम्बन्धित व्यक्तिहरुको बिचार सम्प्रेषण गर्दै आएको छ। यहि क्रमलाई निरन्तरता दिंदै आजको भागमा नेपालको बैंकिङ र यस क्षेत्रका जनशक्तीको अवस्थाबारे एनबिआईका प्रमुख कार्यकारी अधिकृत सन्जिब सुब्बासंग कुराकानी गरेका छौँ। प्रस्तुत छ, बिजपाटी डटकमका लागि भावना तामाङले गरेको कुराकानीको सम्पादित अंश:

बैंक सञ्चालकहरुको पेवा होईन, निजि व्यापार गर्ने संस्था जस्तो पनि होईन। बैंक जनाताको हो, जनताको पैसाबाट चल्ने हो। यसले गर्दा सञ्चालक समिति जनताप्रति उत्तरदयी बन्नुपर्छ। निजि स्वार्थ समुहको हितको लागी मात्र काम गर्नु हुँदैन। यसकारण बैंकिङ क्षेत्र अरु क्षेत्रभन्दा फरक छ।

बैंकको जिम्मेवार दुई चार जना व्यक्तिको कारणले बैंकमा तलमाथि भयो भने निक्षेपकर्ताको लगानी फिर्ता आउँदैन। बदमासी हुन सक्ने सम्भावना पनि रहन्छ र भएको पनि थियो। त्यस्तो बदमासी भने सञ्चालक समिति र व्यवस्थापकबाट हुने गरेको छ। किन हुन्छ यस्तो बदमासी भन्दा बैंक वा वित्तिय संस्थाहरु आक्रमक रुपमा लगानी बढाएर माथि जान खोज्छन। यसलाई बैंकिङ भाषामा इनअर्ग्यानिक भनिन्छ । बैंकिङमा जहिले पनि अर्ग्यानिक रुपमै विकास गर्नुपर्छ। 

आक्रमक लगानी बृद्धिले बैंकिङ क्षेत्रमा विभिन्न समस्याहरु निम्त्याउने गर्दछ। आक्रमक बैंकिङ बृद्धिले बढाएको लगानी कहिलेपनि दिगो हुँदैन। बैंक र बित्तिय संस्थाले केहि बर्षभित्रै बैंकको लगानी बढायो, वासलात बढायो भनेर खुशी हुनुपर्ने अवस्था छैन। किनभने इनअर्ग्यानिक रुपमा बृद्धि गरेको नाफा दिगो हुँदैन, कुनै न कुनै दिन त्यो बैंक ठोकिन्छ नै त्यसमा कुनै शंका नै छैन । कारण के भने इनअर्ग्यानिक रुपमा आर्जन गरेको नाफाले संरचनगत समस्या आईसकेको हुन्छ । त्यसलाई केहि हदसम्मा ढाकछोप गर्न सक्छ । त्यसैले बैंक वा बित्तिया संस्थाका सरोकारवालाले आजको क्षणिक नाफामा रमाउनुपर्ने कुनै कारण छैन । यसरी भएको नाफा बृद्धि दिगो हुदैन । 

दिगो कसरी हुन्छ ?

पूँजी बृद्धिमा दिगो कसरी हुन्छ भन्दा आफ्नो पोर्टफोलियो अर्ग्यानिक रुपमा बृद्धि गर्ने। नियमसँगत काम गर्ने र देशको आर्थिक बृद्धिमा टेवा दिन सक्ने क्षेत्रहरु के के छन् ? त्यसलाई पहिचान गरी बैंकले देशको आर्थिक बृद्धिको सहयात्री बनेर काम गर्न सक्छ, त्यस्ता क्षेत्रमा बैंकले लगानी गर्नुपर्ने हुन्छ । त्यसमध्येको मुख्य क्षेत्र भनेको उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु हो। 

उत्पादनमुलक क्षेत्रमा गर्ने लगानीले देशको आर्थिक बृद्धिमा टेवा पुर्याउने गर्दछ भने देशमा प्रशस्त रोजगारीको अवसरहरु सिर्जना गर्ने गर्दछ । बैंकले उद्यमीलाई प्रोत्साहन स्वरुप ऋण प्रदान गर्दै गर्दा एकातर्फ उद्योगको विकास हुन्छ भने अर्काेतर्फ रोजगारी सिर्जना गर्दछ । उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनमा कृषकले आफ्नो उत्पादन बिक्रि गर्ने बजार पाउँछन् । उद्योगबाट उत्पादन भएका वस्तु बिक्रिबाट उद्यमीले प्राप्त गरेको नाफा दिगो लगानीको रुपमा बैंकमा जान्छ । यसकारण पनि व्यापारीमा भन्दा उद्यमीतर्फ गरिने बैंकको लगानी दिगो र फाईदजनक हुन्छ।

तत्कालिन समयमा भने कुनै पनि बैंकहरुले उत्पादन मुलक क्षेत्रहरुमा लगानी गर्न सकेका छैनन् । उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसक्दा आयातमै निर्भर बन्न परेको छ । यसरी आयातमा आधारीत हुनुपर्दा न त यसले देशको आर्थिक बृद्धिमा सहयोग गर्छ न त उत्पादनमा नै कुनै टेवा दिन्छ । तर यसको प्रत्यक्ष फाईदा भने ट्रेडिङमा रमाउने आयातकर्ताहरुलाई हुन्छ । व्यापारीले अरु देशमा बनेको सामान आयात गर्छ र जनतालाई बेच्छ । यसले देशको ठूलो धनराशी बाहिर जान्छ भने आयातित वस्तु काम नलाग्ने भएर आउँछ । त्यसैले यस्ता क्षेत्रमा गरीने लगानीलाई बैंकले घटाउँदै जानुपर्छ ।

बैंकिङ गर्नु र व्यापार गर्नुमा भिन्नता के छ ?

बैंकले गर्ने लगानीबाट बैंकले गरेको व्यापार हो कि बैंकिङ, सजिलै छुट्याउन सकिन्छ । कस्तो खालको प्रोजेक्टहरुमा बैंकले ऋण दिईरहेको छ, कस्तो खालको व्यापारमा लगानी गरिरहेको छ भन्नेमा भर पर्छ। यदि व्यापार गरिरहेको हो भने बैंकिङ गर्न फर्किनुपर्ने हुन्छ। 

यसअघि बैंकिङको बारेमा बुझ्न आवश्यक छ। बैंकिङ भन्नाले देश विकासमा आवश्यक पर्ने कुन कुन क्षेत्र हो त्यसलाई पहिचान गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु हो। त्यसमा पूर्वाधारका क्षेत्र होलान्, उत्पादनमुलक क्षेत्र हुन सक्ला, देशमा आयातलाई प्रतिस्थापन गरी देशमै उत्पादन गर्ने हुन सक्लान्, प्रशस्त रोजगारीको अवसर सिर्जना गर्ने हुन सक्ला, हो यस्ता क्षेत्रको लगानीबाट बैंकको पूँजी बढाउनुलाई बैंकिङको रुप दिन सकिन्छ । साथै बैंकलाई आवश्यक पर्ने कच्चा पदार्थ भनेको रकम हो, निक्षेप हो। यसले गर्दा कच्चा पदार्थ अर्थात पूजी निर्माण गर्ने क्षेत्रमा लगानी बढाउनु पर्ने हुन्छ ।

बैंकिङ क्षेत्रमा कर्मचारीको अवस्था

दक्ष जनशक्तिको हिसावमा नेपाली बैंकिङ क्षेत्र एकदमै नाजुक अवस्थामा छ। जुन हिसावले बैंक बित्तिय क्षेत्रले जनशक्ति उत्पादन गरिरहेको छ, यो क्रम विगत दश पन्ध्र बर्षदेखि बढीरहेको छ । बैंक शाखाहरु खुल्ने क्रम जारी नै छ। पूँजी बृद्धिले गर्दा यसमा झन असर गर्यो । भूकम्पपछि ऋणको माग झन बढ्यो । स्थानिय चूनावपछि स्थाई सरकार आयो, स्थाई सरकारको रणनितिले विकासको कार्य तिव्र हुने क्रममा बैंकको माग झन धेरै बढेको छ । स्थानिय र प्रदेश सरकारको विकासका कार्यहरुले बैंकमा ऋण लिने ठेकेदारको संख्या बढेको छ । बैंकले जसरी हुन्छ ऋण उपलब्ध गराउनै पर्ने हुन्छ । ऋण प्रवाहसँगै बैंकले देशव्यापी रुपमा आफ्नो शाखा विस्तारको कामलाई पनि तिव्रता दिएको छ । 

बैंकको शाखा तथा कारोबार बिस्तारको तुलनामा आफ्नो दक्षता बढेको छैन, दक्ष जनशक्ति उत्पादन गर्न सकेको छैन। पूँजि र जनशक्ति दुवै इनअर्ग्यानिक रुपमा उत्पादन हुँदै गएको छ । बैंक बित्तिय क्षेत्रमा आएको अहिलेको यो द्रुत गतिले भोलिको दिनमा भयावहा अवस्थाको सिर्जना उत्पन्न नगराउला भन्न सकिन्न ।

नेपालमा बैंकको संख्या धेरै भैसकेको छ । यस हिसावले हेर्दा भोलिको दिनमा संस्थागत स्वार्थ बाँझिन सक्छ । यसरी उत्पन्न भएको स्वार्थले बैंकिङ क्षेत्रको विकासमा समेत ठुलो असर गर्दछ । यस्तै गतिमा अगाडी बढ्ने हो भने भविष्यमा ठूलो दुर्घटना निम्तिन सक्ने अवस्थालाई नकार्न सकिन्न । यस्ता समस्या उत्पन्न हुन नदिन संख्यात्मकभन्दा पनि गुणत्मक बृद्धिलाई जोड दिनुपर्ने देखिन्छ । बैंक र बित्तिय संख्यालाई अलिकति संकुचित बनाउन तिर ध्यान दिने हो कि ? त्यस्ले गर्दा गुणत्मक बृद्धि होस्, छरिएर रहेका क्षमतालाई एकै ठाउँमा प्रस्तुत गर्न सक्ने होस्। 

बैंकिङ क्षेत्रलाई साँच्चै नै गुणत्मक रुपमा विकास गर्ने हो भने संस्थागत सुसाशन, उत्पादन क्षेत्रमा लगानी र स्वार्थको समुहबाट अलग्याएर गुणात्मक बृद्धिमा जानुपर्छ र संख्यालाई घटाउनै पर्छ । बैंक बित्तियको मर्जर, अथवा फोर्सफूल मर्जरको मेकानिजम हुन सक्छ । नियम अनुरुप अन्य माध्यम पनि अपनाउन सकिन्छ । संख्यात्मक रुपमा घटाउँदै जाँदा तत्कालको लागी सहज वातावरण नभएपनि केहि बर्षपछि भने सहज बन्दै जान्छ । 

तालिमले मात्र कर्मचारीको क्षमता बृद्धि गर्दैन 

कर्मचारीको क्षमता बृद्धिको लागी प्रत्येक बैंकले कुल कर्मचारी खर्चको ३ प्रतिशत छुटाउन नेपाल राष्ट्र बैंकले २ बर्ष अघिबाट निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले ३ प्रतिशत जारी गर्ने भन्ने निर्देशन त दियो तर कसरी खर्च गर्ने भन्ने मोडालिटि भने दिएन। तर तालिम आफैमा जाँदुको छडी भने हैन । तालिममा ३ प्रतिशत छुट्टिने गरेपछि यसको खर्चमा विकृति आउला कि भन्ने बाटो छ जस्तो लाग्छ। किनभने यो रकम रणनितिक रुपमा खर्च हुनुपर्ने हो । तालिमको नाममा जताततै उपदेश दिन हिँडेर कर्मचारीलाई फाईदा पुग्छ जस्तो लाग्दैन । 

कर्मचारीको दक्षतामा तालिमले मात्र असर गर्दैन । यो सस्कार हो, त्यो सस्कृति सस्थाले निर्माण गर्नु पर्ने हुन्छ  कर्मचारीलाई सस्कार दिनको लागी भने माथिल्लो तहका संचालक समिति नै नियम संगत हुन पर्यो । यस्ता कुनै पनि काम गर्न भएन कि जुन कामले कर्मचारीको मानासिकतामा थोरै पनि नकारात्मक असर परोस। यदि नियमसंगत काम गर्ने हो भने बैंकको काम जस्तो सजिलो काम अरु काम हुन सक्दैन । किन भने सस्थाको नियम भित्र बसेर काम गरे पुग्छ यसको लागि सस्थाले संस्कार बनाउनु पर्छ, कर्मचारीलाई सहि रुपमा दक्ष बनाउने दिगो रणनीति निर्माणमा लाग्नुपर्छ। अनि मात्र कर्मचारीमा दक्षता अभिबृद्धि गर्न सकिन्छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved