'खुलामुखी योजनामा जुनसुकै बेला पैसा फिर्ता लिन सकिन्छ' योजना व्यवस्थापकको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 10, 2019 | 11:28:32 AM मा प्रकाशित

laxmi  sunrise bank

'खुलामुखी योजनामा भविष्यमा आइपर्ने पैसाको आवश्यकता सजिलै पुरा हुन्छ'अन्तराष्ट्रिय तथा छिमेकी मुलुकको पुूँजी बजारलाई हेर्ने हो भने विभिन्न किसिमका बित्तिय औजारहरु संचालनमा रहेको पाईन्छ। ती मध्ये सामुहिक लगानी कोष अन्तर्गत संचालित योजनाहरुलाई एक आकर्षक तथा उपयुक्त लागानी उपकरणको रुपमा प्रयोग भैरहेको पाईन्छ। सामुहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा संचालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्युनिकरण गर्न सकिने हुनाले पनि अन्तराष्ट्रिय  अर्थतन्त्रमा लगानिकर्ताहरुको यस प्रतिको आकर्षण साथै बिश्वास बढ्दै गईरहेको पाईन्छ ।

निकाय नेपाल धितोपत्र बोर्डले २०६७ मा सामुहिक लगानी कोष नियमावली लागू गरे पश्चात नेपालको पुँजी बजारमा सामुहिक लगानी कोषको प्रबेश भएको पाईन्छ। हाल सम्म बोर्डले १६ अर्ब रुपैयाँ बाराबरको १७ वटा बन्दमुखी सामुहक लगानी योजनाहरु संचालन गर्ने स्विकृति प्रदान गरिसकेको छ, थप अन्य योजनाहरु पनि बजारमा आउने क्रममा रहेका छन् ।

बोर्डले धितोपत्र ऐन २०६३ अन्तर्गत जारी गरेको सामुहिक लगानी कोष नियमावली २०६७ अनुसार सामुहिक लगानी कोष योजनालाई बन्दमुखी  र  खुलामुखी गरि दुई किसिमको अवधारणा ब्याख्या गरेको पाईन्छ । अहिलेसम्म बन्दमुखी लगानी योजना संचालनमा रहेकोमा हालै मात्र बोर्डले बिगत लामो समयदेखी योजना व्यवस्थापकको रुपमा सेवा प्रदान गर्दै आइरहेको संस्था एनआइबिएल एस क्यापिटललाई खुलामुखी योजनाको संचालन गर्ने स्विकृति प्रदान गरेको छ। 

नेपालको पहिलो खुलामुखी योजना संचालन गर्ने अनुमती पाएको क्यापिटलले हाल दुई वटा बन्दमुखी योजनाहरु संचालन गर्दै आइरहेको छ।  क्यापिटलले लगानिकर्ताहरुको हित र सुबिधालाई मध्ये नजर गर्दै नेपालको पुंजीबजारमा बित्तिय सेवाहरु प्रदान गर्ने एक संस्थाको रुपमा आफुलार्ई स्थापित गरिसकेको छ।

बोर्डले नयाँ बित्तिय योजनाको रुपमा खुलामुखी सामुहिक लगानी कोष योजनालाई प्रबेश गराएको बताइराख्दा र सो योजनाको संचालन स्विकृति पाएको क्यापिटलले चाँडै नै उक्त योजना बजारमा ल्याउने तयारी गर्दै गर्दा लगानिकर्ताहरुमा खुलामुखी योजनाको बारेमा कौतुहलतापूर्ण जिज्ञासा र चासो बढेको छ। यसै सन्दर्भमा लगानीकर्ताहरु माझ उक्त योजना प्रति रहेका जिज्ञासाहरुलाई सम्बोधन गर्न एनआइबीएल एस क्यापिटलका महा प्रबन्ध निर्देशक मेख बहादुर थापाखुलामुखी सामुहिक लगानी कोष योजना ‘एनआइबिएल सहभागिता फन्ड’ का स्किम म्यानेजर पोस्कर बस्नेतसंग कुराकानी गरेका छौं। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:  

के हो खुलामुखी सामुहिक लगानी योजना ?

सामुहिक लगानी कोष भन्नाले समान बित्तिय उदेश्य भएका सर्बसाधारण लगानिकर्ताहरुबाट लगानी गर्न योग्य स–साना रकम संकलन गरी ठुलो कोषको रुपमा सो रकमलाई दक्ष तथा अनुभवि ब्यवस्थापकको प्रत्येक्ष निगरानीमा विभिन्न बित्तिय उपकरणहरुमा लगानी गरी लगानिकर्ताहरुलाई जोखिम न्युनिकरण गर्दै समुचित प्रतिफल दिन सक्ने एक बित्तिय औजार भन्ने बुझिन्छ । 

विभिन्न प्रकारको सामुहिक लगानी कोष योजनाहरु मध्ये खुलामुखी योजना पनि एक हो । खुलामुखी योजनालाई अल्पकालिन तथा दिर्घकालिन उदेश्यका साथ लगानी गर्न योग्य एक बित्तिय उपकारणको रुपमा बुझ्न सकिन्छ। यस प्रकारको योजना बन्दमुखी योजना जस्तो निश्चित समय अबधिमा परिपक्क हुने नभई निरन्तर संचालनमा रहिरहने हुन्छ जसले गर्दा लगानिकर्ताहरुले यस किसिमको योजना मार्फत आफ्नो दिर्घकालीन बित्तिय लक्ष्य प्राप्त गर्न सहज हुन्छ ।

खुलामुखी योजनाको मुल्य निर्धारण कसरी हुन्छ ?

खुलामुखी योजनाको मुल्य निर्धारण बन्दमुखी योजनाको जस्तै बजारको माग र आपूर्तिको आधारमा नभई योजनाको खुद सम्पती मुल्यको आधारमा  हुने गर्दछ । सुरुमा निश्कासित इकाईहरु प्रति इकाई १० मा बिक्रि गरी बाँडफाड गरिसके पश्चात दैनिक रुपमा योजना ब्यवस्थापकले उक्त योजनाको खुद सम्पति मुल्य निर्धारण गर्दछ। सोही दैनिक प्रति इकाई खुद सम्पति मुल्यमा इकाईको करोबार हुने गर्दछ । उदाहरणका लागी योजनाको इकाईहरु पुनः खरिद तथा बिक्री खुला भए पश्चात कुनै एक दिन (मानौं २०७६ असार २५ गते ) को खुद सम्पति मुल्य प्रति इकाई रु. ११ निर्धारण भएको छ भने पछिल्लो दिन (२०७६ असार २६ गते ) सोहि निर्धारित खुद सम्पति मुल्यमा लगानीकर्ताहरुले बिना झन्झट इकाई खरिद तथा बिक्री गर्न सक्नेछन् । यस अनुसार न्यून बिक्रि शुल्क भने लाग्नेछ ।

यसको अर्थ खुलामुखी योजनाको बजार मुल्य भनेकै दैनिक रुपमा निर्धारण गरिएको खुद सम्पती मुल्य भन्ने बुझिन्छ र सो मुल्य निर्धारण नेपाल धितोपत्र बोर्डले तोकिदिएको समिकरण बमोजिम गणना गरी दैनिक रुपमा प्रकाशन गरिन्छ ।

योजनाको इकाई कहाँ बाट खरिद तथा बिक्री गर्न सकिन्छ ?

बन्दमुखी योजना जस्तो खुलामुखी योजना नेपाल स्टक एक्स्चेन्ज नेप्से मा सुचिकरण नहुने साथै धितोपत्र दलाल मार्फत करोबार नहुने हुँदा योजना व्यवस्थापकको कार्यालय तथा योजना व्यवस्थापकले तोके बमोजिमको विभिन्न बितरकहरुको कार्यालयहरुबाट लगानीकर्ताहरुले चाहेको समयमा सहज तथा बिना झंझट योजनाको निर्धारित प्रति इकाई खुद सम्पति मुल्यमा इकाई खरिद तथा बिक्री गर्न सक्नेछन् ।

योजनाको आकार कसरी परिवर्तन हुने गर्दछ ?

बन्दमुखी योजनाको जस्तो खुलामुखी योजनाको आकार अपरिवर्तनिय हुँदैन। लगानिकर्ताहरुको माग अनुसार निरन्तर थप घट भइराख्ने प्रकृतिको हुन्छ । यसको अर्थ लगानीकर्ताहरुले योजनाको इकाई खरिद गरेमा योजनाको आकार बृद्धी हुन जान्छ साथै बिक्री गरेमा योजनाको आकार घट्न जान्छ । उदाहरणका लागि यदि ५० करोडको योजनामा थप लगानीकर्ताहरु ले १० करोड बराबरको इकाई खरिद गरेमा योजनाको आकार ६० करोड हुन जान्छ र यदि १० करोड बराबरको इकाई बिक्री गरेमा योजनाको आकार ४० करोड निर्धरित हुन जान्छ ।

योजनाको इकाई कसलाई खरिद वा बिक्री गर्न सकिन्छ ?

बन्दमुखी योजनाको जस्तो खुलामुखी योजनाको आकार निश्चित नहुने हुँदा साथै योजना आफैले खरिदकर्ता र बिक्रीकर्ताको भूमिका निर्वाह गर्ने हुँदा इकाईधनीहरुले चाहेको इकाई खरिद तथा बिक्री गर्न सक्नेछन् । यसको अर्थ स्टक एक्स्चेन्जमा करोबार हुने अरु धितोपत्र वा सामुहिक लगानी कोषका इकाई खरिद बिक्री गर्दा जस्तो यस योजनामा खरिदकर्ता वा बिक्रीकर्ता बजारमा उपलब्ध हुनु जरुरी हुँदैन् । खरिद बिक्री गर्न चाहने इकाईधनीहरुले सिधै कोष ब्यवस्थापकको कार्यालयमा गएर आफ्नो इकाई खरिद बिक्री गर्न सक्नेछन् । 

यसलाई सामान्य भाषामा भन्नु पर्दा इकाई बिक्री गर्न चाहने लगानीकर्ताले खरिदकर्ता खोजिराख्नु आवश्यक हुँदैन् सिधै योजना ब्यवस्थापककोमा गएर आफ्नो इकाई बिक्री गर्न सक्दछन् त्यसरी नै खरिदकर्ताले बिक्रीकर्तालाई खोजिराख्नु जरुरी हुँदैन् सिधै योजना ब्यवस्थापककोमा गएर आफुले चाहेको इकाई खरिद गर्न सक्दछन् ।

योजनाको इकाई कारोबार गर्दा के–कस्ता शुल्कहरु लाग्ने छन् ?

दोस्रो बजार मार्फत बिभिन्न धितोपत्र तथा बन्दमुखी योजनाहरुको खरिद गर्दा लाग्ने ब्रोकर कमिसन र अन्य शुल्क यस योजनाको इकाई खरिद गर्दा लाग्ने छैन् । तर लगानिकर्ताहरुलाई दिर्घकालीन लगानीको फाइदा पुगोस भन्ने उदेश्यले योजनाको इकाई बिक्रीमा योजना व्यवस्थापकले केही अबधिका लागी न्युन बिक्रि शुल्क लगाउनेछ । यस्तो शुल्कको दरहरु बिक्रीको समयावधि अनुसार फरक फरक हुने गर्दछ साथै निश्चित समय पछी शुल्क नलाग्ने सुबिधा समेत उपलब्ध हुन्छ । इकाईहरु डिम्याट खातामा डेबिट÷क्रेडिट गरे वापत भने सिडिएस विनियावली अनुसारको शुल्क भने लाग्नेछ । यस अर्थमा अन्य धितोपत्र खरिद बिक्रीको भन्दा यस प्रकारको योजनामा करोबार लागत ज्यादै न्युन हुने गर्दछ ।

यस्ता प्रकारका योजनाले कसरी मुनाफा बितरण गर्दछ ?

दक्ष तथा अनुभवी व्यवस्थापकहरु मार्फत योजना संचालन हुने हुदाँ योजनाले बार्षिक रुपमा समुचित मुनाफा दिनसक्ने सम्भावना रहेको हुन्छ । योजनाका इकाईधनीहरुलाई मुनाफा वितरण गर्दा योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यको आधारमा गणना गरी वितरण गर्न सक्दछ । साथै, वितरण गरी बाँकि रहेको खुद संचित मुनाफा आवश्यकता अनुसार पुनः लगानीका लागि उपयोग गर्दछ । यसरी मुनाफा वितरण गर्दा नगद मुनाफा रकम मात्र वितरण गर्दछ वा इकाईधनीहरुको सहमतिको आधारमा मुनाफा बराबरको रकम पुनः लगानी गरी सोही योजनाको थप इकाई वितरण गर्न सक्नेछ ।

खुलामुखी सामुहिक लगानी कोष योजनाले कुन कुन क्षेत्रहरुमा लगानी गर्दछ ?

योजनाका इकाईधनीहरुको हित तथा जोखिम अवस्थालाई मध्येनजर गरी नेपाल धितोपत्र बोर्डले जारी गरेको नियमावली तथा निर्देशिकाहरुमा रहेको व्यवस्थाको आधारमा सरकारी तथा संस्थागत ऋणपत्रहरु, बिनिमय बजारमा सुचीकृत भएका धितोपत्रहरु, प्राथमिक बजारमा निष्काशित धितोपत्रहरु, अन्य सामुहिक लगानी कोषका योजनाहरु, बैंक तथा वित्तिय संस्थामा निक्षेप जस्ता विभिन्न लगानीयोग्य क्षेत्रहरु साथै स्वीकृत प्राप्त अन्य क्षेत्रहरुमा लगानी गर्दछ ।

खुलामुखी योजनामा लगानिकर्ताहरुले के–कस्ता सुबिधाहरु प्राप्त गर्दछन् ?

खुलामुखी योजनामा लगानी गर्दा लगानीकर्ताहरुले विभिन्न किसिमका अन्य सुबिधाहरु पनि उपायोग गर्न पाउने छन् जसले गर्दा लगानीकर्ताहरुलाई सहजतापूर्वक लगानी मैत्री बातावरणको सृजना हुन्छ र लगानीकर्ताहरुले यस्ता सुबिधाहरु प्रयोग गरी भरपुर फाइदा उठाउन सक्दछन् । साथै  खुलामुखी योजनामा पाईने यस्ता सुबिधाहरु हाल नेपाली पुँजी बजारमा रहेका अन्य धितोपत्र वा सामुहिक लगानी कोष योजनाहरुमा गरिने लगानीबाट पाईराखिएको छैन्। खुलामुखी योजनामा लगानिकर्ताहरुले ब्यवस्थित लगानी योजनाको पनि सुबिधा पाउने गर्दछन। 

के हो त ब्यवस्थित लगानी योजना ? 

पूर्व निर्धारित लगानी योग्य रकमलाई नियमित समय अन्तरालमा गरिने लगानीको एक ब्यवस्थित बिधिलाई ब्यवस्थित लगानी योजना भनिन्छ । सामान्य भाषामा भन्नु पर्दा खुलामुखी योजनाका इकाईहरु खरिद गर्न बिक्रीकर्ताको आवश्यकता नपर्ने हुँदा लगानीकर्ताले एउटा निश्चित समय अन्तरालमा निश्चित रकम यस योजना मार्फत लगानी गर्न सक्दछन् । 

यो सुबिधाको प्रमुख उदेश्य भनेको लगानीकर्तालाई नियमित बचत गर्नका लागी अभिप्रेरित गर्नु नै हो । साथै सानो रकमबाट पनि सुरु गर्न मिल्ने भएकाले भविष्यमा ठुलो बचतको रुपमा उपभोग गर्न सकिन्छ। यस योजनामा सहभागि हुन वा यस योजनाबाट बाहिरिन कुनै पनि शुल्क नलाग्ने हुँदा लगानिकर्तालाई अतिरिक्त लागत भार पर्दैन। साथै, नियमित रुपमा विभिन्न मुल्यमा निरन्तर इकाईहरुको खरिद गरिने हुनाले औसत लगानी मुल्य समयायोेजन भई लगानीको लागत मुल्य नै कम भई उच्च प्रतिफलको सम्भावना बढेर जान्छ।

व्यबस्थित लगानी फिर्ता योजना कति सहज छ ?  

खुलामुखी योजनामा लगानिकर्ताहरुले गरेका लगानीलाई एक व्यबस्थित ढंगले आफ्नो लगानी रकमलाई नियमित समय अन्तरालमा फिर्ता लिएर जान सक्ने सुबिधा समेत रहेको हुन्छ । सरल भाषामा भन्नु पर्दा यस योजना अन्तर्गत लगानीकर्ताहरुले आफुले लगानी गरेको एक मुष्ठ रकमलाई आफ्नो आवश्यत्ता अनुसार पूर्व निर्धारित समय अन्तरालमा नियमित रुपमा फिर्ता लिएर जान सक्ने सुबिधा हो । 

उदाहरणका लागी कुनै एक लगानीकर्ताले खुलामुखी योजनामा जम्मा एक लाख लगानी गरेकोमा उसले नियमित मासिक १० हजार फिर्ता लिएर जाने सहमती गरेको छ भने उसले आफ्नो लगानी रकम एक लाख मध्ये हरेक महिना १० हजार फिर्ता लिएर जान सक्ने सुबिधा प्राप्त गर्दछ । यो किसिमको सुबिधाको प्रमुख उदेश्य भनेको लगानीकर्ताहरुको नियमित रुपमा आउने कुनै बित्तिय आवश्यत्तालाई व्यबस्थित ढंगले व्यबस्थापन गर्नु नै हो । यसर्थ, यस्तो सुबिधा मार्फत लगानीकर्ताहरुले भविष्यमा आई पर्न सक्ने बित्तिय आवश्यत्ता सहजै पुरा गर्न सक्दछन् ।

वार्षिक प्रतिफल पुनः लगानीको सुबिधा हुन्छ ?

खुलामुखी योजनाले इकाईधनीहरुलाई योजनाले आर्जन गरेको मुनाफाको आधारमा बार्षिक रुपमा मुनाफा बितरण गर्न सक्ने सम्भावना रहेको हुन्छ यसरी मुनाफा बितरण गर्दा इकाईधनीहरुको सहमतीको आधारमा इकाईधनीले पाउने मुनाफा रकम बराबर सोही योजनाको अरु थप इकाई प्रधान गर्न सक्ने सुबिधा प्रदान गर्दछ ।

अवकाश योजनाको रुपमा खुलामुखी योजनालाई उपयोग गर्ने सुविधा हुन्छ ?

जब हामी अवकाश पछीको योजनाको कुरा गर्छौं तब बजारमा हाल उपलब्ध कर्मचारी संचय कोष, नगरिक लगानी कोष, बिमा योजनाहरु, मद्धति खाता संचालन आदी जस्ता माध्यमहरुको बारेमा मात्र सोच्छौं तर अब खुलामुखी सामुहिक लगानी योजना कुनै निश्चित समयावधिका लागी मात्र संचालन हुने नभई निरन्तर चलिरहने भएकाले पनि अवकाश पछीको बित्तिय योजनाको एउटा गतिलो माध्यमको रुपमा यस्ता योजनालाई उपयोग गर्न सकिन्छ । आफुले आर्जन गरेको पारिश्रमिक रकम मध्ये केही रकम भविश्यका लागी नियमित रुपमा यस्ता लगानी कोष योजनाहरुमा लगानी गर्न सकिन्छ र निश्चित समयावधि वा आफुलाई चाहिएको बेला निकालेर उपभोग गर्न सकिन्छ । साथै यस्ता योजनाहरुबाट रकम निकाल्न अरु अवकाश योजनाको जस्तो झंझटिलो प्रकृया हुँदैन् ।

खुलामुखी सामुहिक लगानी योजनाको के– कस्ता अवसर र चुनौतीहरु रहेका छन् ?

बजारमा रहेका जुन सुकै लगानी क्षेत्रहरुमा अवसरका साथै जोखिम र चुनौती सँगै रहेका हुन्छन् । यसै बिच नेपालको लागी नौलो योजनाको रुपमा आएको खुलामुखी सामुहिक लगानी योजनाको पनि आफ्नै किसिमका अवसर र चुनौतीहरु रहेका छन् । 

यस्ता योजना संचालन गर्दा विभिन्न किसीमका बाहिरी तथा भित्री चुनौतिहरुको सामना गर्नु पर्ने हुन्छ । यस्ता चुनौतिहरु मध्ये तरलता ब्यवस्थापन र शेयर बजारमा देखिने उतार चढाव नै प्रमुख चुनौतिको रुपमा रहेको हुन्छ । इकाईहरुको बिक्रि चाप बढेमा योजनाले नै खरिद गर्नु पर्ने हुँदा तरलताको अवस्थालाई मध्ये नजर गर्दै योजना संचालन गर्नु पर्ने हुन्छ। यसका साथ साथै धितोपत्र संग सम्बन्धित ऐनहरु र नेपालमा बिद्यमान अन्य प्रचलित कानुनहरु जस्तै, आय कर ऐन, बैँक तथा वित्तिय संस्था ऐन, बिमा ऐन आदि, मा देखिने अस्पष्टता र त्यस्ता ऐनका प्रावधानहरुमा अन्र्तराष्ट्रिय रुपमा प्रचलित व्यबस्थाहरु पूर्ण रुपमा आत्मसाथ नगरिएको अर्को चुनौतिको रुपमा रहेको छ । यस्ता योजना संचालन गर्दा देखिने जस्तै, स्टक एक्स्चेन्जको सिस्टममा खराबीको कारणले समयमै डाटा तथा विवरणहरु प्राप्त नहुनु, अन्य सम्बन्धित निकायहरुबाट प्राप्त सेवाहरुमा (जस्तै सिडिएस एण्ड क्लियरिङ्ग सेवा, शेयर राफसाफ प्रकृया, ब्रोकर सेवा, बैँक वित्तिय सेवाहरु) तदारुकता नहुनु जस्ता अन्य चुनौतिहरु पनि रहेका छन् । जसले गर्दा योजना संचालनमा प्रत्येक्ष वा अप्रत्येक्ष प्रभाव परिराखेको हुन्छ ।

माथि उल्लेखित चुनौतिहरुको बाबजुद यस्ता योजनाहरुबाट आम लगानीकर्ता र नेपाली धितोपत्र बजारले बिभिन्न किसिमका अबसरहरु पनि प्राप्त गरिरखेका हुन्छन् । नेपालको सामूहिक लगानी कोष र समग्र पुंजी बजारको बित्तिय साक्षरता बढाउन अहम भूमिका खेल्दै सामुहिक लगानी कोष व्यबसायमा कोसेढुङ्गा साबित हुन सक्छ । यस्ता योजनाहरुले धितोपत्र बोर्डले जारी गरेको धितोपत्रसँग सम्बन्धित निति नियमावलीको अधिनमा रही सुचिकृत भएका वा नभएका अन्य पूर्वाधार लगायतको क्षेत्रहरुमा समेत लगानी गरी देश बिकासमा योगदान पुर्याउन सक्छन् । यसको साथै आम नेपाली लगानीकर्ताहरुले सरल र सहज ढंङ्गले देशब्यपी रुपमा यस्ता योजनामा प्रत्येक्ष वा अप्रत्येक्ष सहभागी भई नियमित रुपमा अनुशासित लगानी गरी अबकाश योजना वा अन्य बित्तिय योजनाको रुपमा आफ्नो बचतलाई लगानीमा परीणत गर्न सक्छन् र सो लगानीबाट समुचित प्रतिफल प्राप्त गर्न सक्छन् । यस्ता योजनाको निश्चित आकार र समय नहुने हुँदा सानो वा ठुलो आम्दानीको स्रोत भएका र अल्पकालिन वा दिर्घकालीन लगानीको सोच भएका जो सुकै लगानिकर्ताहरुले पनि यस्ता योजनामा प्रत्येक्ष सहभागी हुन सक्छन् ।  

अन्त्यमा, खुलामुखी योजनाको नेपाली पुँजी बजारमा प्रबेश सँगै आम लगानिकर्ताहरुलाई एक किसिमको नयाँ लगानीको उपकरण प्राप्त भएको अनुभुती भएको छ जसले गर्दा त्यस्ता लगानीकर्ताहरु जो दोस्रो बजारको पहुँचदेखि टाढा र आवश्यक ज्ञानको कमीले गर्दा पुँजी बजारमा प्रत्यक्ष संलग्न हुनबाट बँन्चित भैरहेका छन् त्यस्ता लगानीकर्ताहरुको लागी खुलामुखी योजना मार्फत पुँजी बजारमा संलग्न हुने राम्रो अबसर प्राप्त भएको छ। 

यस्ता योजनाहरुले लगानिकर्ताहरुको हित संरक्षण तथा जोखिम न्युनिकरण गर्दै समुचित प्रतिफल दिन सक्ने एउटा राम्रो बित्तिय औजार हुन सक्छ भन्ने कुरालाई अन्य देशहरुको सामुहिक लगानी कोषको बिकास र यसलाई गरिने प्रबर्धन साथै लगानिकर्ताहरुको यसप्रतिको आकर्षणले समेत पुष्टी गरिसकेको अवस्थामा नेपालमा पनि भर्खरै अनुमति पाएको यस्तो योजना निकट भविश्यमा अरु आउने क्रममा रहेका छन् र विभिन्न सुबिधाका साथ आउनु पर्छ भन्ने कुरा म दुई मत नहोला । यस्ता अन्य योजनाहरु बजारमा ल्याउने र आम लगानिकर्ताहरुलाई जागृत गर्दै नेपालको पुँजी बजारमा प्रबेश गराउने कुरामा नियमन निकाय नेपाल धितोपत्र बोर्डको भूमिका प्रमुख रहेको हुन्छ । 

लगानीकर्ताहरुको कर योग्य आयबाट यस्तो योजनामा गरिएको लगानी रकमलाई तोकिएको सिमासम्म घटाउन पाउने व्यबस्था अन्तराष्ट्रिय रुपमा प्रचलनमा रहेको पाइन्छ र यस्तो व्यबस्था आगामी आर्थिक बर्षको बजेटमा समावेश गरिएमा सरकारी स्तरमा भर्खरै आएको निति तथा कार्यक्रममा सामुहिक लगानी कोषलाई दिईने भनिएको असल रुपमा प्राप्त हुने थियो । र यस्तो व्यबस्थाले चाँडै शुरुवात हुन लागिएको खुलामुखि सामुहिक लगानी कोषको योजना संस्थात रुपमा विकास र विस्तार हुन ठुलो टेवा पुग्ने थियो । साथै, बजारमा आउने यस्ता किसिमका योजनाहरुले नेपालको पुँजी बजारको समग्र बिकासका लागी महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरालाई नकार्न सकिदैन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved