'सफाईले घाउ सन्चो भयो तर मानसिक क्षति पूर्ति हुदैन' डेपुटी गभर्नर श्रेष्ठसँगको विशेष अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 19, 2020 | 08:56:15 PM मा प्रकाशित

laxmi  sunrise bank
सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्कोटाले श्रेष्ठमाथि आरोप लागेपछि छानविन गरिएको र रिपोर्ट पनि आएको तर  रिपोर्टमा जे खोजियो त्यो नपाएपछि सफाई दिइएको बताएका छन। 

डेपुटी गभर्नरको हैसियतमा आफ्नो पदीय जिम्मेवारी निभाउँदै आएका शिबराज श्रेष्ठले  आफुलाई लागेको आरोप खण्डन गर्दै अर्थसचिव डा.राजन खनाललाई गत साता मात्रै २२९ पेजको स्पष्टिकरण बुझाएका थिए। उनले आफुमाथि लागेको सबै आरोप झुटो रहेको भन्दै प्रत्येक आरोपको खण्डन गरेका थिए। 

डेपुटी गभर्नरको हैसियतमा काम गरिरहेका श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको आरोप लगाइएको थियो। त्यसपछि सरकारको निर्देशनमा एक महिनाअघि राष्ट्र बैंकले श्रेष्ठमाथि समिति बनाएर छानबिन गर्न लगाएको थियो। समितिले तयार पारेको प्रतिवेदन राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेर अर्थमन्त्रालय हुँदै मन्त्रीपरिषदमा लगिएको थियो। छानबिन समिति गठन भएपछि श्रेष्ठ निलम्बनमा परेका थिए।

करिब अढाई महिना डेपुटी गभर्नरको पदबाट बाहिर रहेका श्रेष्ठले यो सफाईलाई कसरि लिएका छन ? उनको अबको योजना कस्तो हुन्छ र निलम्बनको अढाई महिना कस्तो रहयो भन्ने बिषयमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले कुराकानी गरेका छन, प्रस्तुत छ कुराकानीको सम्पादित अंश:   

सफाई पाउनु भएको छ, कस्तो महसुस गर्नुभएको छ ?
पदीय जिम्मेवारी सहि ढंगले पदीय जिम्मेवारी निभाउंदा जतिसुकै अप्ठ्यारा आएपनि, जतिनै उल्झन गरीएपनि न्याय पाइन्छ भन्ने कुरामा बिश्वास बलियो बनेको छ। आरोप लाग्नु अध्ययन तथा छानबिन हुनु प्रकृयागत कुरा हुन् तर यो प्रकृयाबाट गुज्रेर सफाइ पाउँदा देशमा कानुनी राज्य छ भन्ने कुरामा अझ बिश्वस्त भएको छु। 

सफाई पाउँदा यसले मेरो मात्र होइन सिंगो राष्ट्र बैंक र राष्ट्र बैंकका कर्मचारीको गरिमा बढेको छ। काम गर्ने क्रममा सबै ठाउँमा आफ्ना पराइ सबै   हुन्छन। तर सहि नियत राखेर असल काम गर्दा जति सुकै दुश्मन लागेपनि जित सत्यको नै हुन्छ भन्नेकुराको संदेश समेत यो घटनाले दिएको छ। 

गभर्नरको दौडमा तपाईको सहभागिता रोक यो सबै भयो भनेर प्रतिकृया पनि दिनु भएको छ, के तपाई माथिको आरोप र छानबिन यसकै लागि भएको हो त ? 
भावी गभर्नरको लागि लबिङ चलिरहेका बेला म माथि यस्तो गम्भीर आरोप लगाएर छानबिन हुँदा घटना त्यसकै उपज हो कि भन्ने मेरो आशंका हो। समय र अहिलेको अवस्थालाई हेर्दा पनि मेरो आशंका माथि बल पुगेको छ। तर यहि कारणले नै म माथि आरोप लागाइएको छ भनेर यकिन साथ भन्न सक्ने अवस्था छैन। 

गभर्नरमा तपाईको दाबेदारी रहन्छ कि रहँदैन ?
गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्दा कम्तिमा एक जना डेपुटी गभर्नरको नाम पनि दिनुपर्ने कानुनी प्राबधान छ। सिफारिस हुँदा दुवै डेपुटी गभर्नरको नाम पनि सिफारिस हुन सक्छ। 

व्यक्तिको अनुभव, कार्य क्षमतालाई हेरेर मात्र गभर्नरको लागि सिफारिस हुन्छ। गभर्नर नियुक्ति नितान्त सरकारको कार्यक्षेत्रभित्रको कुरा हो। त्यसैले गभर्नरमा मेरो दाबेदारी रहन्छ रहदैन भन्ने बिषय महत्त्वपूर्ण होइन।     

तपाईलाई कारबाही गर्दा विभागीय प्रमुखदेखि गभर्नर र संचालक समेत तानिने हुँदा शिवराज श्रेष्ठलाई सफाई दीईयो भन्ने चर्चा पनि छ, के भन्नु हुन्छ ?
घटना घटेपछि त्यसको चर्चा आ-आफ्नो तह र सोचअनुसार हुने गर्दछ। त्यसैले घटना एउटा हुन्छ  भने चर्चा अनेकन हुने गर्छ। मेरो हकमा पनि यस्तै यस्तै भएको होला भन्ने मेरो बिश्वास हो। 

यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने आरोप म माथि लगाइएको हो, छानबिन पनि म माथि मात्र भएको हो र सफाई पनि मैले मात्र पाएको हु। त्यसैले मैले सरकारबाट सफाइ पाउँदा सबै तानिने डरले सफाई पायो भन्नु सरासर गलत र मिथ्या हो। 

मेरो कामको प्रकृति नै विभागी प्रमुखदेखि डेपुटी गभर्नर हुँदै गभर्नर र संचालक समिति जोडिने हुन्छ तर यसको अर्थ अहिले आरोप लागेको सबै माथि होइन, मात्र म माथि हो। त्यसैले अरु पनि जोडिने डरले सफाई पायो भन्नु गलत हो।

राष्ट्र बैंकमा उच्च तहमा कुनै एक व्यक्तिले निर्णय गर्ने भन्ने हुदैन। डेपुटी गभर्नरको तहमा सामुहिक निर्णय कानुन सम्बत तरिकाले हुने गर्दछ।  नेपालमा पदीय जिम्मेवारमा गलत गर्नेलाई कारबाही भएका उदाहरण धेरै छन। अब राष्ट्र बैंकमा हुनेबाट गल्ति हुँदा कारबाही नहुने भन्ने हुदैन। तर आरोप लाग्दा सफाई पाउँदा अरु तानिने डरले शिवराज श्रेष्ठले सफाई पायो भन्नु गलत हो। 

सफाई पाइसकेपछि अबको योजना के छन ? 
दिनचर्या पुरानै हुन्छन। तर काम गर्दा पहिले भन्दा अहिले बढी सजग र सचेत हुनु पर्ने आवश्यक ठानेको छु। पदीय जिम्मेवारी पुरा गर्दा पहिले भन्दा बढी व्यवस्थित हुनुपर्ने पाएको छु। 

काम गर्दा शुक्ष्म रुपमा अभिलेख राखेर काम गर्ने र त्यसको अनुगमन गर्ने काम अब थप व्यवस्थित रुपले गर्छु। म डेपुटी गभर्नर हुनु भन्दा पहिलेका घटनाहरु समेत जोडेर ममाथि आरोप लगाइएको छ, त्यसैले पनि काम गर्दा व्यवस्थित भएर नै काम गर्नुपर्छ, पहिले भन्दा अझ बढी ध्यान दिएर गर्नुपर्छ भन्ने सोच बनाएको छु। बाँकी त पुरानै दिन चर्या र कार्यतालिका रहन्छ। 

डेपुटी गभर्नरको हैसियतमा काम गर्दै गर्दा अचानक आरोप लागेर अढाई महिना घरमा बस्दाको भोगाईलाई कसरि सम्झनु हुन्छ ?
यो अढाई महिनाको भोगाई बोलेर बोलिन्न, नत भनेर भनिन्छ। एकै शब्दमा भन्नुपर्दा 'तनावपूर्ण' रहयो यो अढाई महिना। आफु सहि छु, मैले सहि नियतले काम गर्दा पनि म माथि आरोप लागेको छ भनेर आफुलाई मनाउन सकिने रहेछ। तर आरोप लागेपछि आफ्नो परिवार, आफन्त र साथीभाईका प्रश्नको जवाफ दिएर नसकिने रहेछ। 

मेरो पदीय जिम्मेवारी र कामको प्रकृति बुझ्नेलाई त अलिकति भन्दा हुन्थ्यो तर मेरो क्षेत्र भन्दा फरक ठाउँमा रहनुभएका आफन्त, साथीभाई लगायतकालाई म माथि लागेको आरोपबारे बुझाउन गाह्रो भयो। त्यसमा पनि मेरो बिरुद्दमा लागेका केहि मान्छेको कुरा सुनेर मेरो बिरुद्द संचार माध्यममा आएका कुराहरुको जवाफ दिंदा दिंदा म हैरान भए, कहिले काहीं त थांके पनि। 

कानुनी रुपमा मैले सफाई पाएको छु, न्याय पाएको छु र यसमा राज्य र सरकारप्रति आभारी छु। तर मानिसक रुपमा जुन क्षति भयो त्यसको कहिल्यै पूर्ति हुदैन जस्तो लाग्छ।  तर जे जस्तो भएपनि सफाई पाएको छु यसले राहत मिलेको छ र घाउमा केहि मल्हम मिलेको छ। घाउ त सन्चो होला तर त्यसको दाग कस्तो रहला भन्ने कुरा सोच्दा चिन्ता झन बढ्छ। 

अन्त्यमा केहि भन्नु छ ?
पदीय जिम्मेवारी सहि नियतले पुरा गर्दा कहिलेकाहीं अप्ठ्यारा हुन्छन तर परिक्षामा पास हुँदा जस्तो आनन्द मिल्छ त्यस्तै आरोप भन्दा यसबाट पाएको सफाईले केहि राहत मिलेको छ। 

सोमबार (माघ ६ ) देखि पुनर्बहाली गर्दैछु। वित्तीय सुशासन कायम हुने गरि आफ्नो पदीय जिम्मेवारीलाई थप मजबुतका साथ पुरा गर्नेछु।सरकारले लिएको समृद्द नेपाल सुखी नेपाली को नारालाई सहयोग हुने गरि नीति नियम तर्जुमा गरेर गभर्नर र संचालक समितिलाई सहयोग गर्छु। कर्जा नीतिलाई थप मजबुत र व्यवहारिक बनाउनेछु। अन्य नीतिगत बिषयमा समेत सबै सरोकारवालासँग पहिले जस्तै छलफल तथा अन्तरकृया गरेर थप व्यवस्थितरुपले काम गर्नेछु। मलाई कठिन समयमा साथ सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्छु। र अन्त्यमा निष्पक्ष छानबिन गरेर विधिको शासनको प्रत्याभूत गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दछु। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved