'नेपाली उत्पादन बचाउन सीमामा सेना खटाउनु पर्छ', उद्यमी पवन गोल्यानको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 10, 2020 | 04:59:08 PM मा प्रकाशित

sarbottam cement

महामारीको रुप लिएको कोरोना भाइरसले नेपाल लगायतका विश्वका अधिकांश देशहरुमा मानवीय तथा आर्थिक क्षति पुर्याएको छ। नेपालले मानवीय क्षति ब्योहोर्न नपरेपनि विश्वका अन्य देशहरुले झैं आर्थिक क्षति तथा मानवीय त्रासको सामना गरिरहेको छ। 

कोरोनाले विश्वका अन्य देशहरुमा झैं नेपालमा पनि श्रम बजार, निर्माण, उत्पादन, पर्यटक आगमन, आपूर्तिमा प्रत्यक्ष प्रभाव पारेको छ भने अन्य क्षेत्रहरु समेत प्रभावित भएका छन्। यद्दपी कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि सुरु  भएको लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ यो अवस्था कति लम्बिने यो आफैंमा अनिश्चित रहेको छ। 

कोरोनाले नेपालको अर्थतन्त्र निर्भर रहेको बैदेशिक रोजगारी र पर्यटन व्यवसाय पूर्ण रुपमा प्रभावित हुने देखिएको छ।  लकडाउन लगत्तै करिब १० लाख नेपाली कामदार स्वदेश फर्किने अनुमान गरिएको छ भने बिदेशी पर्यटकमा निर्भर पर्यटन व्यवसाय र यससँग जोडिएका चेन व्यवसाय अबको डेढ दुई बर्ष प्रभावित हुने आंकलन गरिएको छ। 

कोरोनाले विदेशमा रहेका कामदार नेपाल फर्किदा एकातर्फ स्वदेशमा बेरोजगार बढ्ने र अर्कोतर्फ जीविकोपार्जनको मूल आधार रेमिट्यान्समा ठुलो धक्का लाग्ने अवस्था सिर्जना हुने देखिन्छ। त्यस्तै आयातमा निर्भर नेपालको अर्थतन्त्रमा पर्यटकबाट प्राप्त हुने बिदेशी मुद्रामा समेत असर पर्ने देखिन्छ। जसले गर्दा नेपालको बिदेशी संचिति कोष पूर्ण रुपमा प्रभावित हुने देखिन्छ। 

अवस्था यहि रहने र नेपालमा बस्तु तथा सेवा उत्पादन नहुने हो भने आज करिब ८ महिना आयात धान्न सक्ने नेपालको क्षमता अबको केहि समयमा नै ह्रास आउने देखिन्छ। त्यसो त कोरोनाले नेपालको अर्थतन्त्रमा करिब ३ खर्बको नोक्सानी पुर्याउने अनुमान गरिएको छ। 

नेपालसंगको सिमित स्रोत साधनको उपयोग गरि विदेशबाट फर्किएका र स्वदेशकै श्रम बजारलाई व्यवस्थित गरेर देशमै उत्पादन बढाउनुपर्ने आजको मूल चुनौती देखिन्छ। रेमिट्यान्स तथा बिदेशी बस्तु तथा सेवामा निर्भर नेपालको अर्थतन्त्र र हाम्रो उपभोगको शैलीलाई  व्यवस्थित गरि कोरोनाले निम्त्याएको आर्थिक तथा सामाजिक संकटको सामना कसरि गर्न सकिन्छ भन्नेबारे बिजपाटी डटकमले नेपालमै सबैभन्दा बढी रोजगारी सृजना गर्ने नेपालको अव्वल उद्यमी तथा व्यवसायी गोल्यान समुहका अध्यक्ष पवन गोल्यानसँग कुराकानी गरेका छौं। 

बिशेष गरि नेपालमै उत्पादन गरि विदेशमा बस्तु निर्यात गर्ने उद्यमीमा अव्वल देखिएको गोल्यान समुहले धागो, पस्मिना, हाइड्रो, बैंक, होटल, कृषि, हाउजिङ, निर्यातजन्य उद्योगमा लगानी गर्दै आएको छ। एनएमबि बैंकका अध्यक्ष समेत रहेका पवन गोल्यान हालै स्थापना भएको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको संगठन बैंक तथा वित्तीय परिसंघका अध्यक्ष पनि हुन्। त्यस्तै उनि धागो उत्पादन संघका अध्यक्ष तथा फेडेरेसन अफ नेपाल एक्स्पोर्टर एसोसिएसनका अध्यक्ष पनि हुन्। 

लकडाउनको समयमा घरघरमा तरकारी तथा फलफुल ढुवानी गर्दै आएको माटो ब्राण्डमा समेत गोल्यान समुहको लगानी रहेको छ भने पछिल्लो समय गोल्यान समुहले कृषि क्षेत्रमा समेत लगानी बढाएको छ। यतिमात्र नभई नेपाल युवा परिषदसँगको सहकार्यमा आफु अध्यक्ष रहेको बैंक एनएमबि बैंक मार्फत एसएमई व्यवसायीहरुलाई सहुलियतमा कर्जा दिने कामलाई गोल्यानले तिब्रता दिएका छन। 

नेपालमै सबैभन्दा बढी रोजगारी सिर्जना गरेको र धेरैलाई रोजगारी दिएको भन्दै  नेपाल सरकारबाट गोल्यान दुई दुई पटक  महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) बाट सम्मानित भएका छन्। 

धेरैलाई रोजगारी उद्यमीको रुपमा नेपाल सरकारबाट गोल्यान दुई दुई पटक  महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) बाट सम्मानित

देशको श्रम बजारको उचित उपयोग गरेर देशमै उत्पादन बढाएर नेपाललाई कृषि लगायतका क्षेत्रमा कसरि आत्मनिर्भर बनाउन सकिन्छ भन्नेबारे गरिएको कुराकानीमा पवन गोल्यानले अब बोलेर नभई वास्तवममै काम गरेर देखाउने बेला भएको बताए। 

कोरोनाको रोगले भन्दा भोकले मानविय क्षति नहोस भन्नेमा केन्द्रित रहेर नेपाल सरकार, सार्वजनिक संस्थान र निजि क्षेत्र अगाडी बढ्नुपर्ने गोल्यानको धारणा रहेको छ। भूकम्पको बेला विश्व समुदायले नेपाललाई सघाएकाले त्यो बेला नेपालको अर्थतन्त्र छिट्टो लयमा आएपनि अहिले विश्वका सबै देश आफैं समस्यामा रहेकाले नेपालले आफ्नो आँशु आफैं पुछ्नु पर्ने गोल्यानको भनाई छ। 

विश्वका सबै देश आफैं समस्यामा रहेकाले नेपालले आफ्नो आँशु आफैं पुछ्नु पर्ने गोल्यानको भनाई

नेपालमा आफुले उत्पादनलाई प्राथमिकता दिएर उद्यम गर्दै आएपनि आजको अवस्थामा नेपालको अर्थतन्त्र उकास्नलाई एउटा मात्र गोल्यान समुह नभई सयौं गोल्यानको खाँचो रहेको उनको भनाई छ। 

कृषि आवश्यकता हो भन्ने सबैको बुझाई रहेपनि अब हामि आधुनिक कृषि र एग्रो प्रोसेसिंङको कृषिमा केन्द्रीत रहनुपर्ने गोल्यानले बताए। त्यस्तै सरकारले दिएको सहुलियत कर्जाको अधिकतम उपयोग गरि एग्रो प्रोसेसिंगमा लाग्नुपर्ने उनको धारणा रहेको छ। साना साना पुँजीबाट नेपालमै धेरै गर्न सकिन्छ। चिज, टोम्याटो सस, भुजिया अरबौंको आयात गरिरहेका छौं। यहि क्षेत्रमा सरकारले दिएको सहुलियतको कर्जा प्रयोग गरेर यी क्षेत्रका व्यवसायमा हात हाल्न सकिने गोल्यानको सुझाब छ। 

कृषितर्फ नै ४-५ लाख मानिसलाई एक बर्षमा नै आबद्ध गर्न सकिने बताउदै गोल्यानले यसका लागि सरकारले बिशेष किसिमबाट नीति ल्याएर सम्बोधन गर्नुपर्ने उनको धारणा छ। 


सरकारले तत्काल तीन वटा कुरा गर्नुपर्ने गोल्यानको सुझाब छ। उनकाअनुसार पहिलो, सरकारले तयारि देखि प्राथमिक बस्तुको आयातमा सरकारले एक्रोस द बोर्डर शुल्क लगाउनुपर्छ। दोस्रो, स्थानीय सरकारले १५-२० वटा उद्योग लगाउने गरि कृषि ग्राम खोल्नुपर्छ र त्यहाँ भएका उद्योगहरुलाई सरकारले थोरै भाडा उठाउदा हुन्छ। तेस्रो कुरा, त्यहाँ भएका उत्पादन बजारसम्म ल्याई पुर्याउन सरकारले बजारको व्यवस्था गर्नुपर्छ। 

आफ्नो गोल्यान समुहको माटो ब्राण्डले गरेको काम झैं सरकारले वा अन्य निकायले काम गर्दा देशका धेरै उत्पादन स्वदेशमै खपत हुने र नेपालको उत्पादनले पनि बजार पाउने गोल्यानको बुझाई रहेको छ। आफुहरुले तरकारी, फलफुल, पिठो लगायतका नेपाली उत्पादन लिएर त्यसलाई ब्रान्डीङ गरेर बिक्रि गरेको सुनाउदै नेपालमा एउटा मात्र गोल्यान समुह नभई सयौं गोल्यान समुहको खाँचो रहेको उनको भनाई छ। 

बिदेशका बस्तु बिक्रि गर्दा नाफा कमाइन्छ भने स्वदेशका उत्पादन बेच्दा पनि नाफा हुन्छ यस्तो अवस्था स्वदेशकै उत्पादन ब्रान्डीङ गरेर बेच्नलाई उनले व्यवसायीहरुलाई प्रोत्साहन गरेका छन्। 

विदेशका तरकारी लगायतका उत्पादन सरकारले रोक्न नसकेपनि नेपाली उपभोक्ताले नै स्वदेशको उत्पादन रोज्ने सोच विकास भयो भने नेपालमै उत्पादन बढ्ने गोल्यानको बुझाई छ। नेपाली श्रमले उत्पादन गरेको बस्तुको बजारका लागि नेपाली उपभोक्ता नै जागरुक हुनुपर्ने उनले सुझाब दिएका छन्। 

बिदेशी बस्तुको तुलनामा नेपालको बस्तु तथा सेवा महँगो भयो भन्ने कुरामा आफु सहमत नरहेको बताउदैं उनले नेपाली उत्पादनलाई बजार नदीएकाले स्वदेशी उत्पादनमा नेपालीको चाँसो नभएको बताए। कृषकले आफ्नो उत्पादनको बजार नपाएकाले उत्पादन तर्फ प्रोत्साहित हुन् नसकेको बताउदै उनले आयातमा भारत, बंगलादेश, जापानले झैं धेरै भन्सार लगाउनुपर्ने गोल्यानको मत रहेको छ। 

नेपाली उत्पादनको सुरक्षाका लागि सिमानाकामा सेना खटाउनु परे पनि सरकारले यस्तो निर्णय लिनुपर्ने गोल्यानले बताए। खुला सिमा भएकाले भारतको बस्तु रोक्न सकिएन भन्नुको कुनै अर्थ नभएको उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved