नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कृषि विकास बैंकलाई कृषि ऋणपत्र निष्काशन गर्नलाई निर्देशन दिएको छ। मौद्रिक नीति मार्फत गरिएको उक्त व्यवस्थाले बाणिज्य बैंकहरुमा कृषि क्षेत्रको नेतृत्त्व कृषि विकास बैंकलाई दिईएको छ ।
चालू आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुलाई कुल कर्जा लगानीको १५ प्रतिशत कृषि क्षेत्रमा गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघिको व्यवस्थामा कृषि क्षेत्रमा १० प्रतिशत भए हुने व्यवस्था थियो। त्यसमा पनि बिगतमा कृषि क्षेत्रका लागि स्वीकृत कर्जालाई गणना गर्न पाइन्थ्यो भने अब कृषि क्षेत्रमा प्रवाह भईसकेको कर्जालाई मात्र गणना गर्न पाइने व्यवस्था गरिएको छ।
आजको दिनमा बाणिज्य बैंकहरुको कुल लगानीको औशतमा ६ प्रतिशत मात्रै कृषि क्षेत्रमा कर्जा प्रवाह भएको देखिन्छ। बैंकहरुले प्रवाह गरेको नभई स्वीकृत कर्जालाई हिसाब गर्दा औषतमा ६ प्रतिशत देखिएको हो। यस आर्थिक बर्ष जारी भएको मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार बैंकहरुले अब स्वीकृत नभई प्रवाह गरेको ऋणलाई मात्र गणना गर्न पाउने व्यवस्थाले कृषि क्षेत्रमा तोकिएको ११ प्रतिशत कर्जा पुर्याउन बैंकहरुलाई त्यति सहज देखिंदैन।
मौद्रिक नीतिको व्यवस्थाअनुसार कृषि लगानीको स्रोत पुर्याउन कृषि विकास बैंकले कृषि ऋणपत्र निष्काशनको तयारी थालेको छ। तर कृषि विकास बैंकले कति आकारको, कति रकमको, कति ब्याजदर र कति समयका लागि कस्तो ऋणपत्र जारी गर्छ भन्ने आमचाँसोको बिषय बनेको छ। प्रस्तावित फण्ड २४ अर्ब बराबरको हुने नेपाल राष्ट्र बैंकका अहिलेका गभर्नर महाप्रसाद अधिकारिले एक टेलिभिजन कार्यक्रममा बताएका छन्।
कृषि बन्डको बिषयमा बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्ययसँग कुराकानी गरेका छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
कृषि बन्ड जारी गर्ने जिम्मेवारी पाउनुभएको छ, बैंकको वर्तमान पूर्वाधारले साथ दिन्छ ?
कृषि विकास बैंक पहिलेपनि अन्य क्षेत्र भन्दा कृषि क्षेत्रमा नै केन्द्रित भएर लगानी गरिरहेको बैंक हो। अहिले पनि हाम्रो कुल लगानीको करिब ३५ प्रतिशत भन्दा बढी कृषि क्षेत्रमा नै कर्जा प्रवाह भएको देखिन्छ।
बैंकको शाखा संजाल र नेटवर्क, तालिम केन्द्र, जनशक्ति एवं बिगतको अनुभवले पनि कृषि क्षेत्रमा वित्तीय सहजिकरणका लागि कृषि विकास बैंक सक्षम छ भन्ने देखाउँछ।नेपालको दुरदराज तथा ग्रामिण भेगसम्म पुगेर कृषिमा कर्जा प्रवाह गर्ने काममा कृषि विकास बैंक पहिलेदेखि नै अव्वल छ।
नेपालको दुरदराज तथा ग्रामिण भेगसम्म पुगेर कृषिमा कर्जा प्रवाह गर्ने काममा कृषि विकास बैंक पहिलेदेखि नै अव्वल छ
नाम मात्र कृषि विकास बैंक होइन, यहाँ काम गर्ने कर्मचारी मध्ये करिब २५ प्रतिशत कर्मचारी कृषिमा स्नातक गरेका हुनुहुन्छ। यसले कृषि क्षेत्रमा वित्तीय सहजीकरण गर्ने जिम्मेवारी पुरा गर्न कृषि विकास बैंक सक्षम छ भन्ने देखाउँछ।
अहिलेसम्म बजारबाट उठाएको पैसा कृषि लगायतका क्षेत्रमा लगानी हुन्थ्यो भने बन्डले स्रोतको व्यवस्थापन पनि हुने र कृषिमा दिर्घकालिन कर्जा प्रवाह गर्न पनि सहज हुने देखिन्छ।
बन्डबाट प्राप्त हुने पैसा कृषि क्षेत्रमा मात्र लगानी हुन्छ कि अन्य क्षेत्रमा पनि हुन्छ ?
बन्डबाट प्राप्त हुने पैसा कृषि क्षेत्रमा मात्र लगानी हुन्छ। मापदण्ड पुरा गरेका कृषि मुल्य शृंखलामा अटाउने सबैलाई यो बन्डबाट प्राप्त हुने पैसा सम्पूर्ण वर्गमा लगानी हुन्छ। उत्पादन गर्ने उद्यमीदेखि उक्त उत्पादन भण्डारण गर्ने तथा ग्राहकको हातसम्म पुर्याउन भूमिका निर्वाह गर्नलाई कृषि मुल्य शृंखलामा अटाउने सबै क्षेत्रमा कर्जा प्रवाह हुन्छ।
बिउविजनदेखि बजारसम्मको श्रंखलामा रहने कृषक, आपूर्तिकर्ता, निर्यातकर्ता, भण्डारण गर्ने, उद्यम चलाउने लगायतका सबै क्षेत्रमा कृषि बन्डको पैसा लगानी गरि उद्यमी र व्यवसायीलाई आवश्यक सहयोग पुर्याउन यसको प्रमुख उदेश्य पनि हो।
बिउविजनदेखि बजारसम्मको श्रंखलामा रहने कृषक, आपूर्तिकर्ता, निर्यातकर्ता, भण्डारण गर्ने, उद्यम चलाउने लगायतका सबै क्षेत्रमा कृषि बन्डको पैसा लगानी गरि उद्यमी र व्यवसायीलाई आवश्यक सहयोग पुर्याउन यसको प्रमुख उदेश्य पनि हो
कर्जा मात्र दिन्छ कि कर्जा लिएर कृषिसँग सम्बन्धित व्यवसाय गर्न चाहनेलाई सिपमुलक तालिम वा अरु केहि व्यवस्था गर्छ ?
कृषि विकास बैंकमा कृषि क्षेत्रसँग सम्बन्धित बिषयमा जानकार भएका कर्मचारीहरु हुने भएकाले यस क्षेत्रबारे अध्ययन, अनुसन्धान तथा सुझाब दिन हामीले पनि सक्छौं तर बुझ्नुपर्ने कुरा भनेको कृषि विकास बैंक उद्यमी तथा व्यवसायी तथा सबै क्षेत्रका व्यवसायीका लागि वित्तीय मध्यस्तकर्ता हो।
तर कृषकलाई मात्र कर्जा दिने नभई मुल्य श्रंखलामामा अटाउने र मापदण्ड पुरा गर्ने सबै उद्यमी व्यवसायीलाई कर्जा लगानी गर्नेमा कुनै दुई मत छैन। उत्पादन गर्ने, भण्डारण गर्ने, वितरण गर्ने, ढुवानी गर्ने, खुद्रा तथा होलसेल बिक्रेता लगायतका चेनमा सहभागी सबैलाई यस अन्तर्गत हामीले लगानी गर्दछौं।
मलखाद बनाउनेलाई वित्तीय सहजीकरण गर्छ तर मलनै ल्याइदिने काम गर्दैन
संरचना निर्माण गर्ने काम कृषि विकास बैंकले गर्दैन। मलखाद बनाउनेलाई वित्तीय सहजीकरण गर्छ तर मलनै ल्याइदिने काम गर्दैन। तर यति भन्दै गर्दा कृषक वा कृषि क्षेत्रको सम्बन्धित क्षेत्रमा काम गर्नेलाई कृषि विकास बैंकले सिप तथा तालिम भने प्रदान गर्छ। कृषि विकास बैंकले आफ्नै तालिम केन्द्र मार्फत लक्षित बर्गलाई ज्ञान सिप र क्षमता अभिबृद्धिको कार्य गर्छ।
प्रस्तावित कृषि बन्डको आकार कस्तो बनाउने योजनामा हुनुहुन्छ ?
कृषि विकास बैंकले कृषि बन्ड जारी गर्न पाउने भनेपछि हामीले छलफल थालिसकेका छौं। फण्डको आकार कत्रो बनाउने भन्नेबारे बाणिज्य बैंकहरुलाई अवधारणा पेश गरिसकेका छौं। स्वीकृत नभई अहिले नै यति रकमको ल्याउँछौ भनेर सार्वजनिक गर्न कठिनाई छ।
अन्य बाणिज्य बैंक र कृषि विकास बैंकलाई समान रुपमा कसरि फाइदा हुन्छ भन्नेबारे निर्णय लिन समिति नै गठन भएको छ। बिभिन्न विकल्पबारे छलफल पनि भएको छ।
बन्डको उचित सदुपयोग हुनेगरि कसरि काम गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ। देशमा रोजगारी बढाउने, स्वदेशी उत्पादन बढाउने, आयात प्रतिष्थापन गर्ने, कृषिमा आवश्यक लगानीको ग्यापलाई कम गर्नेगरि योजनाहरु बनिरहेका छन्।
बन्डमा क-कसले लगानी गर्न पाउँछन् ?
अहिलेलाई हामि सहित २७ बाणिज्य बैंकहरुले मात्र बन्डमा लगानी गर्न पाउँछन्। यो सफल भएपछि कृषि बन्ड विकास बैंक लगायतका अन्य वित्तीय सँस्थाहरुका लागि बन्डमा लगानी गर्ने यस्तो अवसर खुला गर्दै जानेछौं।
प्रस्तावित कृषि बन्ड बिक्रियोग्य हुन्छ ?
यो बन्ड दोस्रो बजार मार्फत बिक्रि हुन्छ। त्यो बेला दोस्रो बजार मार्फत बिक्रि गर्नेले बेच्न र खरिद गर्न चाहनेले किन्न सक्दछ। यसबाट कृषि क्षेत्रमा लगानी गर्नुपर्ने सिमा पुरा नगरेकाले पनि बन्ड किनेर आफ्नो न्युनतम लगानीको सिमा पुरा गर्न सक्छन।
कृषि बन्डको मूल उदेश्य ?
कृषि क्षेत्रमा गरिने लगानी आफैंमा दिर्घकालिन लगानी हो। दिर्घकालिन लगानीका लागि स्रोत पनि दिर्घकालिन नै हुनुपर्छ। बन्ड मार्फत दिर्घकालिन लगानी जुट्ने भएकाले अहिलेको जस्तो ब्याजदरमा खेल्ने ठाउँ रहनेछैन भने ग्राहक वा ऋणीले पनि सस्तो ब्याजदरमा ऋण पाउनेछन। बन्डका कारण कृषि क्षेत्रका व्यवसाय गर्न चाहनेलाई सिंगल डिजिटमै सहजै कर्जा पाउँछन।
बन्डका कारण कृषि क्षेत्रका व्यवसाय गर्न चाहनेलाई सिंगल डिजिटमै सहजै कर्जा पाउँछन
कृषि बन्डमा किसान कार्डको भूमिका के रहन्छ ?
अनुदानसँग जोडिएका काम, कसले कति पैसा पायो भन्नेबारे थाहा हुनलाई पनि किसान क्रेडिट कार्डको प्रयोग हुनेछ। अर्को, साना मसिना कामका लागि बैंकनै जानु नपरोस र किसानहरुलाई डिजिटल सेवामा आबद्ध गरि सहज र सरल कारोबार गर्नका लागि भनेर यो सेवा ल्याइएको हो।
जसरी दैनिक जीवनमा पैसाको खाँचो हुँदा क्रेडिट कार्डको प्रयोग हुन्छ, त्यसैगरि किसानले आफ्नो क्रेडिट कार्ड प्रयोग गर्न पाउनेछन। किसानले आफुले पाएको ऋण वा अनुदानको रकमलाई आधार मानेर क्रेडिट कार्डको लिमिट तय हुन्छ। तत्कालको गर्जो टार्नलाई किसानलाई सहज होस् भन्ने उदेश्यले यो सुविधा ल्याइएको हो। यो एप्समा आधारित कार्ड हुनेछ।