'सरकारले निजि अस्पताल नै मर्ने गरी निर्देशन दियो' स्टारका अध्यक्ष महर्जनको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 22, 2020 | 02:56:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोभिड बिरामीका लागि २० प्रतिशत बेड छुट्याउनुलाई साउन ३० गते दिएको निर्देशनले निजि अस्पताल संचालकमा असन्तुष्टि बढेको छ। विश्वब्यापी रुपमा महामारीको रुप लिएको कोरोनासँग जुध्न आफूसंग भएका स्रोत साधन प्रयोग गर्न दिने प्रतिबद्धता जनाएपनि आफुहरुलाई बेवास्ता गरिएको भन्दै निजि अस्पतालका संचालकहरुमा असन्तुष्टि बढेको छ। 

स्वास्थ्यमन्त्रालयका स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्रा.डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङमा २० प्रतिशत बेड नछुट्याउनेलाई कारबाही गर्छु भन्ने अभिव्यक्ति दिएपछि निजि अस्पताल र चिकित्सकहरु झनै रुष्ट बनेका छन्। 

कोभिड र नन कोभिड बिरामीलाई एकै अस्पतालमा एकै छानो मुनी राख्दा संक्रमण फैलिन सक्ने भन्दै चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले समेत एक बिज्ञप्ती जारि गरेर सरकारलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ। 

यति मात्र नभई चिकित्सक र निजि अस्पतालका संचालकहरुको भदौ ५ गते बसेको संयुक्त बैठकले सरकारले अपमानजनक व्यवहार गरेको निष्कर्ष निकालेको छ। दम्भ छाडेर सम्मानजनक वार्ता बोलाउन सरकारलाई जानकारी गराउने उक्त बैठकले निर्णय समेत गरेको छ। 

कोरोनाले निम्याएको स्वास्थ्य संकटमा फ्रन्ट लाइनका 'आर्मी' मानिएका चिकित्सक तथा निजि अस्पताललाई बिश्वासमा लिएर अगाडी बढ्नुपर्नेमा सरकार पेलेर नै अगाडी बढ्ने रणनीतिमा देखिन्छ। 

नन कोभिड बिरामीलाई बचाउन कोरोना संक्रमितलाई नलिंदा सरकारले छडी देखाउने, संचार माध्यमले निजि अस्पतालले अटेरी गर्यो भन्ने र सर्वसाधारणमा निजि अस्पतालप्रति नकारात्मक धारणा बढ्ने अवस्था देखिएकाले यो निर्णय सच्याउनु पर्ने चिकित्सक र अस्पताल संचालकको साझा माग छ। 

निजि अस्पतालले सरकारको निर्णयलाई खुलेर बिरोध गर्न पनि नसक्ने, कोभिड बिरामीलाई पनि नलिने अवस्थाले स्वास्थ्य क्षेत्रमा अन्यौलको माहोल सृजना भएको छ। अवस्था यस्तै रहे निजि अस्पताल खालि रहने तर कोभिड र नन कोभिड बिरामी दुवैले उपचार नपाउने अवस्था आउँन सक्ने चिन्ता बढेको छ। 

सरकारको निर्देशनले सृजना भएको अवस्था र कोरोनाको कहरमा निजि क्षेत्रले निभाएका भूमिका तथा अहिलेको अवस्थामा स्वास्थ्यसँग जोडिएका सरोकारकारवालाहरुले गर्नुपर्ने कामबारे बिजपाटी डटकमले स्टार अस्पतालका अध्यक्ष किशोर महर्जनसँग कुराकानी गरेको छ प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

२० प्रतिशत बेड छुट्याउन दिएको निर्देशन पालना गर्न निजि अस्पताललाई अप्ठ्यारो किन ?

अहिलेको महामारीमा कोरोना संक्रमितलाई उपचारमा सहज होस् भन्ने उदेश्यले दिइएको उक्त निर्देशन स्वाभाविक थियो तर यसमा अलि बेशी होमवर्क आवश्यक थियो। 

आजको दिनमा ९५ प्रतिशत निजि अस्पताल भाडाको भवनमा छन्। जहाँ लिफ्टको व्यवस्था पनि छैन र जम्मा ३६ इन्चको भर्याङ छ र स्टेचर तलमाथि  लैजान पनि गाह्रो छ भने ३- ४ फुट कोरिडर भएको अस्पताल छन्। यस्तो अस्पतालमा २० प्रतिशत बेड कोरोना संक्रमितलाई छुट्याउनलाई निर्देशन दिनु भनेको अर्को ८० प्रतिशत बेड खालि राख भन्नु हो। ८० प्रतिशत बेड खालि राख्दा ओपिटी, रेडियोलोजी, प्याथोलोजी लगायतका अरु सेवा बन्द हुन्छन। 

अस्पतालकै लागि भनेर बनाइएको भवनमा स्टार अस्पताल छ र यहाँका पूर्वाधार पनि अस्पतालमा हुनुपर्ने जस्तै छन्। ३ मिटरको कोरीडोर, हरेक तला छुट्याईएको, ८५ हजार स्क्वायर फिटमा फैलिएको स्टार अस्पताललाई त कोरोना संक्रमितलाई २० प्रतिशत बेड छुट्याउन गाह्रो छ। यहाँ पनि केहि वार्ड मिक्स छन्। कुन क्षेत्रलाई २० प्रतिशत छुट्याउने भन्ने चुनौती छ।  

स्टार अस्पताललाई त कोरोना संक्रमितलाई २० प्रतिशत बेड छुट्याउन गाह्रो छ

यद्दपी हामीले अचानक आउँन सक्ने अवस्थालाई मध्यनजर गरेर ५ वटा आइसोलेसन वार्ड भनेर छुट्याएका थियौं। पहिले कोरोना संक्रमण परिक्षण गर्ने अस्पतालमा हामि नभएकाले पाटन अस्पतालमा रिफर गर्नेगरि बेड छुट्याएका थियौं। तर अहिले आएर २० प्रतिशत राख्नलाई निर्देशन भएकाले हामीले कोरोना संक्रमित लिन बाध्य छौं। 

आइसोलेसन वार्डमा आईसियुको व्यवस्था छ। नर्मल आइसोलेसन र पोजेटिभ देखिएको केशमा अलग अलग आइसीयु छ। जेनेरल वार्ड र क्याबिनलाई संक्रमितका लागि छुट्याएका छौं। 

संयोग नै भन्नुपर्छ, स्टार हस्पिटलमा भर्याङ, लिफ्ट, र्याम र प्रवेशद्वार पनि अलग्गै बनाएकाले यो कोभिड १९ का बिरामीलाई उपचारको लागि छुट्याउन सहज भएको छ। कसैलाई क्याबिन वा आइसीयुको आवश्यकता भयो भने हामीले अलग व्यवस्था गर्दैछौं। 

२० प्रतिशत बेड छुट्याउन हामि तयार हुँदै छौं तर धेरै जसो अस्पताल स्टार अस्पतालको जस्तो पूर्वाधार नभएकाले एकै ठाउँमा कोभिड र नन कोभिड राखेर उपचार गर्न सक्ने अवस्था छैन। २० प्रतिशत बेड कोरोना संक्रमितलाई छुट्याउदा अन्य बिरामी अस्पताल आउन सक्ने अवस्था छैन। यस्तो कोभिड बाहेकका बिरामी कहाँ जाने भन्ने महत्त्वपूर्ण प्रश्नको उत्तर सरकारले खोज्नुपर्छ।  

२० प्रतिशत बेड कोरोना संक्रमितलाई छुट्याउदा अन्य बिरामी अस्पताल आउन सक्ने अवस्था छैन। यस्तो कोभिड बाहेकका बिरामी कहाँ जाने भन्ने महत्त्वपूर्ण प्रश्नको उत्तर सरकारले खोज्नुपर्छ

सरकारलाई उक्त निर्देशनमा केहि संसोधन गरेर केहि व्यवहारिक भएर निर्णय लिनलाई अस्पतालहरुको छाता संगठन अफिनले सुझाव पनि दिएको छ। अहिलेकै अवस्थामा दिर्घकालिन रोग भएका लगायतका बिरामीका बारेमा पनि सरकारले सोच्नुपर्छ। 

अहिलेको अवस्थामा स्टार हस्पिटल लगायतका निजि अस्पताल कसरी अगाडी बढ्न चाहन्छन ?

सरकारलाई संघाउँन तयार छौं भनेर नै निजि अस्पतालको छाता संगठनले हामीसँग भएको स्रोत साधन प्रयोग गर्न दिन्छौं भनेर स्वास्थ्य मन्त्रालयलाई प्रतिबद्धता जनाईसकेका छ। 

कोरोनाको कहरमा मात्र होइन हरेक अप्ठ्यारोमा हामि जहिलेपनि सरकारको साथमा छौं तर सरकारले दिएको निर्देशन केहि व्यवहारिक नदेखिएकाले हामीले अहिलेको अवस्थामा कसरी संगै काम गर्न सकिन्छ भनेर सुझाव दिएका छौं। 

जो कोभिड अस्पताल भएर काम गर्न चाहन्छन उनीहरुलाई कोभिड बिरामी मात्र हेर्न पाउने र जो कोभिड अस्पताल बन्न चाहदैनन् उनीहरुलाई नन कोभिड नै भएर यथास्थितिमा चल्न पाउने व्यवस्था सरकारले गर्नुपर्छ। 

स्टार अस्पताल कोभिड बिरामीलाई मात्र उपचार दिन पनि  तयार छ। स्टार हस्पिटल सय बेडको राम्रो पूर्वाधार भएको अस्पताल हो। अन्य साथिहरु (अस्पताल) पनि कोभिड बिरामीलाई मात्र लिन तयार छन्। त्यसैले सरकारले अस्पतालमा २० प्रतिशत बेड छुट्याउनु भन्दा शतप्रतिशत छुट्याउन निर्देशन दिएर त्यहि अनुसार व्यवहार गर्नुपर्छ। 

सरकारले अस्पतालमा २० प्रतिशत बेड छुट्याउनु भन्दा शतप्रतिशत छुट्याउन निर्देशन दिएर त्यहि अनुसार व्यवहार गर्नुपर्छ

कुल निजि अस्पताल मध्ये १० प्रतिशत कोभिड र बाँकीलाई नन कोभिडको लागि छुट्याउदा व्यवहारिक हुन्छ ?

अहिले जानुपर्ने नै यहि मोडालिटीमा हो। किस्ट हस्पिटल मात्रै ५०० बेडको छ। १०० बेडको अस्पतालले २०-२० प्रतिशत छुट्यायो भने ५०० बेड पुर्याउन २५ वटा अस्पतालले छुट्याउनुपर्छ। तर यहाँ एकै अस्पतालले ५०० बेड को अस्पताल कोभिड बिरामीलाई दिन्छु भन्दा अरु २४ वटा अस्पतालले नन कोभिडको उपचार गर्न पाउँथे। 

१०० बेड भएको सर्वाङ्ग अस्पतालले पनि कोभिड बिरामीको लागि मात्र उपचार दिन्छु भनेको छ। त्यस्तै ३०० बेड भएको जनमैत्री अस्पतालले पनि कोभिड बिरामी मात्र लिन्छु भनेको छ।  यसलाई सरकारले ब्यवहारिक भएर सोच्ने हो भने केहि अस्पताललाई कोभिड बिरामीलाई मात्र हेर्न पाउने भन्दियो भने र त्यहि अनुसार व्यवहार गर्दियो भने नन कोभिड बिरामीले पनि उपचार पाउँथे र अस्पतालले पनि काम पाउँथे।  तर अहिलेको २० प्रतिशतको निर्देशनले शतप्रतिशतलाई प्रभाव पर्ने हुँदा यो बिषयमा सरकारले ब्यवहारिक भएर सोच्नुपर्छ। 

आजको दिनमा निजि अस्पतालले भोगेका कठिनाई कस्ता छन् ?

कोरोनाको सामान्य लक्षण हुँदासम्म आइसोलेसनमा बस्ने र इम्युनिटी पावर बढाउने खानेकुरा खाने नै हो। कोरोना लक्षण दोस्रो चरणमा प्रवेश गर्यो भने एन्टीब्याटिक खाने र आइसोलेसनमा बस्ने नै हो। तर दिर्घकालिन रोगि अर्थात पहिले नै कुनै रोग भएको डाइबेटिज, ब्लड प्रेसर हाई भएका, कुनै क्यान्सर भएकालाई दोस्रो चरणको कोरोनाको लक्षण देखियो भने उनीहरुको स्वाश प्रश्वासमा प्रभाव पर्छ। यस्ता बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ।

तर दुखको कुरा नेपालमा भेन्टिलेटर प्रयाप्त छैनन्। देशका सबै अस्पतालहरुमा उपलब्ध  भेन्टिलेटर  जोड्ने हो भने पनि बढीमा १२०० होलान तर केहि समयअगाडी ९५० भएको तथ्यांक थियो। अक्टुबर महिनासम्म कोरोना संक्रमित कम्तिमा दुई गुणाले बढ्ने अध्ययनले देखाएको छ। 

१ लाख संक्रमितमा ५ प्रतिशत बिरामी मात्रै क्रिटिकल अवस्थामा पुग्यो भने हामीसँग उपलब्ध भेन्टिलेटर ले भ्याउदैन। अब सरकारले अवस्था यस्तो आयो भने के गर्ने भनेर अहिले नै वर्कआउटमा लाग्नु पर्छ। अस्पतालमा भएका सबै भेन्टिलेटर शतप्रतिशत संचालनमा छैनन्। सरकारका ठुला अस्पतालमा समेत काम गरिरहेका भेन्टिलेटरको संख्या ६ वटा हाराहारीमा छन्। 

१ लाख संक्रमितमा ५ प्रतिशत बिरामी मात्रै क्रिटिकल अवस्थामा पुग्यो भने हामीसँग उपलब्ध भेन्टिलेटर ले भ्याउदैन

अर्को सरकारले अहिले कति शुल्क लिने भन्नेबारे एउटा सिलिङ तोकिदिएको छ। यो आफैंमा बैज्ञानिक होइन भन्ने हाम्रो अनुभवले देखाएको छ। उपचारमा भेग टाइपले शुल्क निर्धारण गरिदिएको छ। सामान्य चेकजांचलाई २००, लक्षणको सम्भावना भएकालाई ३५००, सामान्य लक्षण भएको संक्रमितलाई ७००० र लक्षण नै देखिएका बिरामीलाई १५००० भनेर तोकिदिएको छ। 

घरमै भएको कोरोना बिरामीलाई परिक्षण गर्न जानुपर्यो भने परिक्षण गर्न जाने डाक्टरलाई ४००० को पिपीई, नर्सलिई पीपीई, जान आउने खर्च, डाक्टर शुल्क लगायत जोड्दा पनि सामान्य लक्षण भएको संक्रमितलाई ७००० मा परिक्षण गर्न सकिदैन। त्यसमा पनि लक्षण देखिएको संक्रमितको उपचारमा डाक्टर, नर्सलाई पीपीई, उनीहरुको शुल्क, भेन्टिलेटर सबैको खर्च जोड्दा १५००० मा कसरी भ्याउँछ भन्नेबारे सरकारले बुझेन। सरकारले सिलिङ नै राख्नु हुन्थेन।  

फ्रन्टलाइनमा काम गर्दै गरेका स्वास्थ्यकर्मीलाई हजार्ड अलाउन्स दिने, अतिरिक्त समयको भुक्तानी गर्ने भन्ने निर्णय गरेको छ। कतिपय सरकारी अस्पतालका कर्मचारिले पनि हजार्ड अलाउन्स नपाएको अवस्था छ। सरकारले बनाएको मापदण्डअनुसार आजका दिनपनि सरकारी अस्पतालले मात्र हजार्ड अलाउन्स दिन सक्छन। 

कोभिडका कारण निजि अस्पतालको आम्दानी ५० प्रतिशत भन्दा धेरैले घटेको छ। यो अवस्थामा कर्मचारीलाई बिदामा पठाउन पाइदैन। जहाँ तलब खुवाउन नै गाह्रो छ, त्यो ठाउँमा ह्जार्ड अलाउन्समेन्ट र अतिरिक्त भुक्तानी गर्न पर्दा दबाब बढेको छ। यसमा पनि २० प्रतिशत बेड छुट्याउनुपर्दा निजि अस्पताल बन्द नै गर्नुपर्ने अवस्थामा पुग्दै छन्। बिरामीलाई के कस्तो सुविधा कति शुल्कमा दिने भन्ने निर्देशन स्पष्ट रुपमा आउनुपर्ने हो अहिलेसम्म त्यो पनि भएको छैन। 

कोभिडका कारण निजि अस्पतालको आम्दानी ५० प्रतिशत भन्दा धेरैले घटेको छ

बैंकको सावाँ ब्याज पछि तिरौंला, यहाँ तलब नै खुवाउन गाह्रो भएको बेला कोभिडलाई २० प्रतिशत बेड छुट्याउ, शुल्क यति लिउ, यो गर त्यो नगर भनेर निर्देशन मात्र दिँदा अस्पतालनै बन्द हुने अवस्था छ। 


विकल्प के हुन सक्छ ?

विदेशमा जस्तै नेपालमा पनि सरकारले कोभिड बिरामीको उपचारमा सहुलियत दिनुपर्यो, अस्पताललाई कुनै कोषबाट रकम छुट्याएर यतिमा उपचार गर भन्न पर्यो। अस्पताल नै मर्ने गरि काम गर भनेर निर्देशन दिएर भएन नि। 

बिरामीको खर्चको केहि प्रतिशत सरकारले व्यहोर्ने नीति हुनुपर्यो वा अस्पतालको खर्चमा साझेदारी लिंदिनु पर्यो तर निजि अस्पतालले सबै खर्च आफैं गर्नुपर्यो भने अस्पताल बचाउन पनि गाह्रो हुने दिन आउँछ।  

निजि अस्पताललाई भेन्टिलेटर ल्याउनलाई सुविधा दिनुपर्छ। २० प्रतिशत बेड छुट्याउन निर्देशन दिन सक्छ भने प्याकेज दिएर भेन्टिलेटर ल्याउनेलाई छुट पनि दिनुपर्छ। 

२० प्रतिशत बेड छुट्याउन निर्देशन दिन सक्छ भने प्याकेज दिएर भेन्टिलेटर ल्याउनेलाई छुट पनि दिनुपर्छ

सरकारले कोभिड संक्रमितको चरण अनुसार अस्पतालले लिन पाउने शुल्क तोकिदिएको छ, जुन अत्यन्त अबैज्ञानिक देखिएको छ। सरकारले निजि अस्पतालले लिन पाउने शुल्कको सिलिङ हटाईदिनुपर्छ। बिरामीलाई के कस्तो सुविधा कति शुल्कमा दिने भन्ने निर्देशन स्पष्ट रुपमा आउनुपर्ने हो अहिलेसम्म त्यो पनि भएको छैन। 

अहिलेको परिस्तिथिमा स्टार हस्पिटलले बिरामीलाई कसरी सेवा दिंदै आएको छ ?

सरकारले कोभिड बिरामीलाई उपचारको लागि विकल्प दिएको छ। आफ्नै घरमा सेल्फ आइसोलेसनमा बस्न पाउने, होटलमा बस्न चाहनेले होटलमा बस्न पाउने लगायतका विकल्प दिएको छ। 

यहि विकल्पलाई सम्बोधन हुनेगरि नै स्टार हस्पिटलले  एक महिनादेखि नै स्टार हाउस्पिटल सेवा संचालनमा ल्याएको छ। घरमै बस्न चाहनेलाई हामीले एक महिनादेखि नै बिभिन्न प्याकेज बनाएर सेवा दिइरहेका छौं। संक्रमित बस्ने घरको निरीक्षण गर्छौं र त्यही अनुसार सेवाको प्याकेज सुझाव गर्छौं। यसमा १४ दिनका लागि १२ हजार र ३०,००० जाने दुईवटा प्याकेज छ। 

स्टार हस्पिटलले एक महिनादेखि नै स्टार हाउस्पिटल सेवा संचालनमा ल्याएको छ

जसले आफुले पीपीई सेट, ज्वरो नाप्ने थर्मगन वा थर्म मिटर आफैं उपलब्ध गराउँछ भने उसलाई १२ हजारको प्याकेजमा सेवा दिन्छौं। यसमा टेलिफोन मार्फत दिनको दुइ पटक मनिटरिङ गर्छौं र औषधिको जरुरत भयो भने घरमै औषधि पुर्याईदिन्छौं र डाइटेसियन मार्फत डाइट योजना पनि उपलब्ध गराउछौं । र अधिकांश कोरोना संक्रमित डिप्रेशनमा जाने सम्भावना भएकाले उनीहरुलाई एक कोर्ष मनोविज्ञान सम्बन्धित सेवा पनि दिन्छौं। 

३० हजारको प्रिमियम प्याकेजमा १२ हजारको प्याकेज सहित मेडिकल किट पनि दिन्छौं। यसमा डिजिटल थर्ममिटर, डिजिटल अक्सिमिटर, डिजिटल बिपी मिटर, स्यानीटाइजर, ग्लोब्स, मास्क लगायतका सामान दिन्छौं। यसका साथै बिरामीको घरमै गएर १४ दिनपछि स्वाब पनि लिन्छौं र त्यसको परिक्षणमा नेगेटिभ नआउँदा सम्म सेवा दिन्छौं। र नतिजा नेगेटिभ आएपछि उसको घरमा गएर उसले प्रयोग गरेका सबै कुरा डिसइन्फेकट हुने गरि व्यवस्था गर्छौं। 

अफोर्ड गर्न सक्नेहरुलाई पनि स्टारले बिशेष प्याकेजमा सेवा दिएको छ। जोसँग पैसा छ तर घरमा बस्न सहज मान्दैन भने यस्ता संक्रमितलाई बस्नको लागि सोल्टी होटलले बस्ने व्यवस्था मिलाएको छ। सोल्टी होटलमा बस्ने ति संक्रमितको उपचारको लागि पनि हामीले सेवा दिइरहेका छौं। 

हामी अहिले मध्यमबर्गका आम्दानी भएका परिवारका लागि पनि मध्यम तहको होटल खोजिरहेका छौं। जहाँ मध्यम आम्दानी भएकाहरुले पनि यो सेवा लिन सकुन। 

त्यस्तै हामीले कोरोना परिक्षण गर्नका लागि पिसीआर परिक्षणको पनि सेवा दिंदै आएका छौं। हामीले धेरै लामो संघर्ष पश्चात पिसीआर मेसिन जडान गर्ने अनुमति पाएका हौँ। बैशाखदेखि नै सरकारसँग सहकार्य गरेर पिसीआर परिक्षण गर्ने भनेर लाग्यौं तर त्यो इच्छा पुरा भनेर तर ढिलै भएपनि हामीले निजि क्षेत्रमा सबै भन्दा पहिले अनुमति पायौं र डेढ महिनादेखि पिसीआर परिक्षण गर्दै आएका छौं। 

उत्कृष्ट प्रविधि र अनुभवी कर्मचारीबाट नै हामीले पिसिआर परिक्षण गर्दै आएका छौं र सम्भवत केन्द्रिय ल्याब भन्दा पनि उत्कृष्ट छ स्टार हस्पिटलले संचालन गरिरहेको ल्याब। 

हामीले बिभिन्न बैंक वित्तीय संस्था, गैर सरकारी संस्था, डिप्लोम्याट, हवाई उड्डयन, लगायतका संघ संस्थाहरुलाई पिसीआर परिक्षणको सुविधा दिंदै आएका छौं। हामीले अहिलेसम्म डेढमहिनाभित्र ८००० प्लसको परिक्षण गरिसकेका छौं। प्रति परिक्षण ५५०० लिंएका छौं। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved