
नेपाल इन्फ्रास्ट्रकचर बैंक 'निफ्रा' ले माघ २ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्दै छ। बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्न लागेको हो।
जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।
आईपिओमा छिटोमा माघ ६ गतेसम्म र सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ । आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाली बजारमा आउँन लागेको यो हालसम्म कै ठुलो आईपिओ हो ।
इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ प्लस प्रदान गरेको छ । इक्रा नेपालले १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । कम्पनीको आईपिओले पाएको ग्रेड ४ ले औसत भन्दा कम (Below Average Fundamental) आधारहरु जनाउँदछ । तर बैंकले भने BBB को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई ट्रिपल बिको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले मध्यम जोखिम जनाउछ । इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा AAA सबैभन्दा उत्तम रेटिङ हो भने D सबैभन्दा कमजोर रेटिङ हो । बैंकले पाएको रेटिङ चौथो उत्तम रेटिङ हो । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणिको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ ।
यसै आईपिओको विषयमा केन्द्रित रहेर बिजपाटी डटकमले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
१. नेपालको सेयरबजारको अहिले सम्मकै ठुलो रकम र धेरै कित्ताको आइपीओ बिक्रि गर्दै हुनुहुन्छ, सबै सेयर बिक्रि हुनेमा बिश्वस्त हुनुहुन्छ ?
सुरुसुरुमा यो प्रश्नबारे आफैंसँग उत्तर खोज्थे। अहिले जुन अनुपातमा डिम्याट खाता खुलिरहेका छन् र खोल्ने क्रम पनि बढिरहेको छ, पछिल्लो तथ्यांक हेर्दा पनि झन्डै २५ लाख पुगेका छन् डिम्याट खाता खोल्नेको संख्या। यसमा केहि डुब्लिकेसनलाई घटाउँदा पनि कम्तिमा १२-१५ लाखले आइपीओ भर्ने सक्ने अवस्थामा छन्। यत्तिको डिम्याट खाताबाट आइपीओको लागि आबेदन आउँदा पनि एउटाले ५०-६० कित्ता पाउने अवस्था हुन्छ।
कुल ८ करोड कित्ता मध्ये १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईसकेको छ, सर्वसाधारणले भर्ने भनेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि हो। यसलाई आधार मान्दा पनि आइपीओ बिक्रि हुनेमा कुनै शंका नै छैन।
हाम्रो मूल कुरा भनेको यो आफैंमा पब्लिक कम्पनी हो भने अर्को कुरा भनेको पूर्वाधार वा पुल पनि पब्लिक को हो। पब्लिकको सँस्था, पब्लिकको लागि लगानी हुने भएकाले यो संस्थामा आफ्नो अपनत्व लिनको लागि पनि सर्वसाधारणले आइपीओमा उल्लेख्य आबेदन दिन्छन भन्ने हाम्रो बिश्वास छ।
२. सेयरधनीहरुलाई कहिलेदेखि कति अंकको प्रतिफल दिने प्रक्षेपण गर्नुभएको छ ?
यो बिषयमा हामीले सर्वसाधारणलाई सहजै जानकारी होस् भन्ने उदेश्यले स्पष्ट रुपमा विवरणपत्रमा लेखिसकेका छौं। हामीले यति धेरै दिन्छौं भनेका छैनौ, हाम्रो लगानीको नेचर नै लंगटर्म छ र लंगटर्म कै लागि लगानी गर्न स्थापना भएको बैंक हो।
अहिलेको क्यापिटल मार्केटलाई हेर्दा पनि अहिले आइपीओमा लगानी गर्नेले इन्फ्रा को सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुने बित्तिकै त्यहाँबाट केहि भएपनि नाफा बुक गर्न पाइहाल्छन्। अर्को कुरा, दिर्घकालिन योजनामा लगानी गरेर दिर्घकालमा नै प्रतिफल लिने संस्था भएकाले इन्फ्रा को सेयर होल्ड गर्नेहरुको लागि दिर्घकालमा राम्रै प्रतिफल प्राप्त हुन्छ।
३. सेयरबजारमा सुचिकृत कम्पनीहरु मध्येकै अहिलेसम्मकै ठुलो रकमको आइपीओ जारि हुँदै छ, नेप्सेमा सुचिकृत भएपश्चात यसले सेयरबजारमा कस्तो प्रभाव पार्ने देख्नु हुन्छ ?
यसले सेयरबजारलाई सुदृढ गर्न ठुलो मद्दत गर्ने र पुंजीबजारको दायरालाई थप फराकिलो बनाउने अपेक्षा गरेका छौं।
४. नेपालको विकासको क्षेत्रमा गेम चेन्जर हुने कुनै योजना इन्फ्रासँग छ ?
गेम चेन्जर भनेको रातारात चुट्कीको भरमा यस्तो हुन्छ भन्ने होइन तर निफ्राको भूमिका, निफ्राले लिएको नीति पक्कै पनि नेपालको लागि गेम चेन्जर हुने देख्छु।
जुन संस्था दिर्घकालिन योजनामा लगानी गर्नको लागि दिर्घकालिन सोच बनाएर संचालनमा आएको छ, यसले पक्कै पनि नेपालको विकासको क्षेत्रमा गेम चेन्जरको भूमिका निर्वाह गर्छ।
हामीले लिएका नीति तथा योजनाले विदेशी लगानी नेपाल भित्र्याउन, नेपालका ठुला योजनामा लगानी जुटाउन, पूर्वाधार तथा ठुला परियोजनामा लगानी जुटाउन, स्वदेशको पुंजी व्यवस्थापन गर्न सघाउछ भने यो आफैंमा एउटा गेम चेन्जर नै हुन्छ। हाम्रा कारणले बिदेशी लगानीकर्ता नेपाल आउँछन, नेपालको जीडीपी ग्रोथमा सहयोग पुग्छ, नेपालको रोजगारीमा वृद्धि हुन्छ र विकास तथा पूर्वाधारको काम गर्नलाई लगानीकर्तालाई उत्साह बढ्छ भने यसलाई गेम चेन्जर नै मान्नु पर्छ।
५. संस्थापक सेयरधनीबाट संकलन भएको १२ अर्ब र अब साधारणतर्फबाट संकलन हुने ८ अर्ब पक्कै पनि इन्फ्रा को लागि पर्याप्त नहोला, लगानीका स्रोतहरु कसरी संकलन गर्दै हुनुहुन्छ ?
अहिलेको वर्तमान परिस्थितिले गर्दा हामीले थप स्रोत जुटाउन हतार गरेका छैनौ किनकि भएकै पैसा पूर्ण रुपमा लगानी हुन् सकिरहेको छैन, कतिपय योजना स्वीकृत भईकन पनि पैसा निष्काशन भएको छैन, हामीले अहिलेसम्म ६ वटा हाइड्रो, सिमेन्ट, सोलार र होटलमा करिब १० अर्ब लगानी गरिसकेका छौं र केहि योजना स्वीकृत भईसकेका छन्।
तर लगानीको स्रोत जुटाउने काम नभएको भने होइन। विदेशबाट ५ अर्ब ल्याउन काम अन्तिम तयारीमा पुगिसकेको छ। २० अर्बको बास्केट फण्ड बनाएका छौं। भविष्यमा थप स्रोत चाहिँदा हामीले बोन्ड डिबेन्चर जारी गर्ने योजना पनि तयारी गरिसकेका छौं।
६. लगानीका स्रोत पहिल्याउने तपाइँको महत्त्वपूर्ण काम मध्येको एउटा हो, यहाँहरुको अध्ययनले नेपालमा लगानीका क्षेत्र कुन कुन हुन् ?
अहिलेको लागि पोटेंशियल क्षेत्र भनेको इनर्जी नै हो। १३ देखि १५०० मेगावाट बिजुली उत्पादन भईसकेको छ भने थप १५०० मेगावाट पाइपलाइनमा छ।
बार्षिक २०० अर्बको पेट्रोलियम पदार्थ, ५०-६० अर्बको ग्याँस, लगायतका अति आवश्यक पेट्रोलियम पदार्थ आयात गरिरहेका छौं, हाइड्रो पावर क्षेत्रमा लगानी बढाएर प्रयाप्त बिद्युत उत्पादन भयो र त्यसको प्रयोग गर्ने बानिमा विकास भयो भने पेट्रोलियम पदार्थको लागि जाने पैसा स्वदेशमै रहन्छ।
पूर्वाधारको एउटा इको सिस्टम हुन्छ र त्यसमा योजनाबद्ध रुपमा लगानी बढाउने हो भने नेपालमा बिद्युत, सिमेन्ट, लगायतका क्षेत्र लगानीको लागि पोटेंशियल क्षेत्र हुन्।
यो पनि : 'निफ्रा' को आईपिओ रिभ्यु: विदेशबाट समेत श्रोत संकलन लक्ष्य, यसै वर्ष लाभांश दिने प्रक्षेपण