'कृषि बोण्डले बैंकको व्यवसाय मात्र होइन, सेयरधनीको प्रतिफल पनि बढाउँछ' अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 20, 2021 | 09:43:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको कृषि विकास बैंकले स्थापनाको दिन स्मरण गर्दै बैंकिङ दिवस मनाउदै छ। नेपाल राष्ट्र बैंकबाट क बर्गको बैंकको रुपमा इजाजतप्राप्त गरि २०६२ सालबाट पूर्ण बैंकिङको रुपमा काम गर्न थालेको करिब १४ बर्ष भएपनि कृषि विकास बैंकको स्थापना भएको भने ५४ बर्ष पुगेको छ। 

कृषि विकास बैंकले  पूर्ण बैंकिङ थालेको १४ बर्षमा आफ्नो पहिचान तथा कारोबार विस्तारमा गरेको सफलता, बिक्रिमा ल्याउन लागेको कृषि बोण्ड र त्यसले बैंकको व्यवसाय, सेयरधनीको प्रतिफल र किसानले पाउने ऋणको ब्याजदर र सुविधा बारे बिजपाटी डटकमले बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायसँग कुराकानी गरेको छ। 

त्यस्तै हालै सम्पन्न बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ एनबिएको साधारणसभाबाट संघको उपाध्यक्ष नियुक्त भएका उपाध्यायसँग समग्र बैंकिङ क्षेत्रमा  अहिलेको अवस्थाबारे पनि बिजपाटीले कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

कृषि विकास बैंकले २४ अर्बको कृषि बोण्ड निष्काशन गर्ने परिकल्पना सहित अहिले पहिलो चरणमा ६ अर्बको बोण्ड जारी गर्दैछ, यसले बैंकको व्यवसाय, सेयरधनीको प्रतिफल, ऋणको ब्याजदर र किसानलाई ऋणमा सहजतामा कस्तो प्रभाव पर्ने देख्नु हुन्छ ?

कृषिलाई व्यवसायीकरण गरेर स्वरोजगार सृजना गर्ने, आयात प्रतिस्थापन गर्ने, ग्रामिण अर्थतन्त्रलाई कृषिको माध्यमबाट बलियो बनाउने र व्यवसायीक रुपमा कृषिलाई अगाडी बढाउने उदेश्यले सरकारले बजेट तथा कार्यक्रम मार्फत सम्बोधन गरेको र मौद्रिक नीति मार्फत कृषि विकास बैंकलाई यसको नेतृत्त्व लिनलाई भनिएको अवस्थामा कृषि विकास बैंकले कृषि बोण्ड जारी गर्न लागेको हो। 

सरकारले कृषि बोण्डको लागि कृषि विकास बैंकलाई रोज्नु भनेको कृषि विकास बैंक माथिको बिश्वास हो। यो भनेको कृषि विकास बैंकले लामो समयदेखि कृषि क्षेत्रमा काम गर्दै आएको र यहाँको प्राविधिक तथा जनशक्तिको क्षमताको पहिचान र ५४ बर्षसम्म आइपुग्दा कृषिलाई जोडेको  र अरुलाई नछोडेको हुनाले बैंक माथिको सम्मान पनि हो। 

अरु यस बैंकको बोण्ड खरिद गर्दा कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको गणना हुने भएकाले अन्य बैंकहरुलाई कृषिमा तोकिएको लगानीको लक्ष्य पुर्याउनलाई सजिलो पनि हुने भयो। कृषि विकास बैंकको लागि लगानीको लागि कृषि बोण्ड एउटा भरपर्दो स्रोत हो। 

कृषि बोण्डले हिजोका दिनमा कृषि विकास बैंकले कृषि क्षेत्रमा गर्दै आएको लगानीको क्षेत्र बिस्तार गर्न, योजनाबद्ध रुपमा काम गर्न, तुलनात्मक रुपमा सस्तो ब्याजदरमा काम गर्न सहज हुने भयो। 

कृषि विकास बैंकले कृषिलाई दिन्छ भनेपछि अनुदानको कार्यक्रम पनि जोडिंदा बैंकप्रति कृषि उद्यमी र किसानहरुको बिश्वास पनि बढ्ने भयो। यससंगसँगै हामीले किसान एप्स र किसान क्रेडिट कार्ड ल्याएका छौं। यसले किसानहरुलाई नगद रहित कारोबार र वित्तीय भुक्तानीमा पहुँच त पुर्याउँछ नै, साथसाथै मौसम, बजार, लगायतका धेरै जानकारी पनि उपलब्ध हुने भएकाले यो बढी उपयोगी हुने देख्छु। ३ लाख हाराहारीमा किसानहरु बैंकका सेयरधनी पनि छन् । बैंकको प्रतिफलबाट बैंकका अन्य सेयरधनी झैँ किसानहरु पनि प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन्। बैंकले बिगत ३-४ बर्ष देखि नै औषत भन्दा माथि कै अंकको प्रतिफल दिंदै आएको छ। गत आर्थिक बर्षको कमाईबाट पनि बैंकले १५ प्रतिशत बोनस दिएको छ। कृषि बोण्ड मार्फत गरिएको लगानीले भोलिका दिनमा सेयरधनीले पाउँदै आएको प्रतिफलमा पनि थप वृद्धि हुने विश्वास लिएका छौं। 

बैंकको संरचना, व्यवसायिक क्षेत्र, शाखा संख्या, पुंजिकोश, निक्षेप तथा कर्जा लगानी, जनशक्तिका हिसाबले बिगत भन्दा झनै मजबुत हुँदै अगाडी बढेको अवस्था छ। यसको विस्तार तथा स्तरोन्नतिमा बोण्डले थप टेवा पुर्याउछ। 

बैंकको प्रतिफलबाट बैंकका अन्य सेयरधनी झैँ किसानहरु पनि प्रत्यक्ष रुपमा लाभान्वित हुन्छन्

यो कार्यक्रमलाई केन्द्रबाट मात्र नभई प्रदेशको कार्यक्रमसँग जोडिएर पनि अगाडी बढाई रहेका छौं। यति मात्र नभई कृषिमा काम गरिरहेका बिभिन्न संघ संस्थाहरुसँग मिलेर देशैभरका किसानसँग पुग्ने प्रयासलाई निरन्तरता दिएका छौं। 


कुन कुन क्षेत्रमा काम गरिरहेका किसानहरुले यो सुविधा पाउँछन ?

कृषिको सबै मुल्य शृंखलामा अर्थात उत्पादन, प्रशोधन, भण्डारण, वितरणदेखि बजारीकरणसम्मका सबै तहमा काम गर्ने किसानहरुमा लगानी गर्छौं। लगानीको लागि सानो ठुलो रकम वा यो त्यो भन्ने हुदैन, मापदण्ड पुगेका सबै योजनाहरुमा लगानी खुला गरेका छौं। 

हाम्रा देशभरका विभिन्न ठाउँमा रहेका तालिम केन्द्रको उपयोग गरेर किसानहरुलाई प्रविधिमैत्री तालिम दिंदै अगाडी बढेका छौं। हामी आफ्नो तालिम केन्द्र मार्फत नभई अन्य सरोकारवालाहरुसँग समेत मिलेर तालिम दिंदै आएका छौं। मुलुकको सबै कृषि क्षेत्रमा कृषि विकास बैंकले मात्र काम गर्ने भनेको होइन, बैंकले एउटा अग्रणी भूमिका मात्र निर्वाह गर्ने हो, सबैले हातेमालो गरेर काम गर्ने हो। 


कृषिमा लगानी आक्रामक हुँदै गर्दा लगानीको जोखिम कत्तिको देख्नु हुन्छ ? 

बोण्ड मार्फत आउने लगानी पनि जनताकै पैसा हो। जनताको पैसा लगानी गर्दा वित्तीय अनुशासनलाई हामीले पालना गर्नुपर्छ। त्यहि भएर कहिलेकाहीं कृषि विकास बैंकले छिटो ऋण दिएन भन्ने आरोप पनि लाग्ने गर्छ। हामीले कृषिको लागि आएका लगानीको मागको अध्ययन तथा विश्लेषण गरेर मात्र ऋण प्रवाह गर्ने हो। कृषिमा भनेर अन्यत्र लगानी जाँदाको जोखिम बैंकले मुल्यांकन गरिरहेकै हुन्छ।  आजको दिनमा वित्तीय अनुसाशनको विकल्प नै छैन। 

सरकारी लगानीको कृषि विकास बैंक, त्यसमाथि सरकारी कार्यक्रम, यसमा राजनीतिक हस्तक्षेप कति भोग्नु हुन्छ ?

कृषि विकास बैंक आफैंमा एउटा कमर्शियल बैंक हो। हामीले व्यवसायिक बैंकिङ गर्दै आएका छौं र व्यवसायिकताको बाटोतर्फ अगाडी बढिसकेको छ। यहाँ पनि जनताको पैसानै लगानी गर्ने हो। जनताको पैसा लगानी गर्ने ठाउँमा बसेको बैंकले जोखिम विश्लेषण गरेर नै लगानी गर्छ। कसैले भनेकै भरमा हचुवाको आधारमा लगानी हुन्छ भन्ने कुराको कल्पना पनि गर्न सकिदैन। जहाँसम्म रह्यो राजनीतिक हस्तक्षेपका कुरा, कृषि विकास बैंकले सबै कुरा उचितढंगले व्यवस्थापन गर्दै अगाडी बढेकाले राजनीतिक हस्तक्षेप भयो, अप्ठ्यारो भयो भन्ने ठाउँ यहाँ छैन। सहज रुपमा पाउनेले पाउँछ भने त्यसलाई हस्तक्षेप भन्न मिल्दैन तर कसैले कुनै कुराको प्रस्ताव गर्छ भने त्यसलाई हस्तक्षेप भन्न मिल्दैन। 

 प्रत्येक त्रैमासमा हाम्रो बेस रेट घट्ने क्रममा रहेको छ , त्यसैले आगामी दिनमा ऋणको ब्याजदर झनै सस्तो हुन्छ भन्नेमा विश्वास लिएको छु। 

कृषि विकास बैंकको लागत र ऋणको ब्याजदर घट्दो क्रममा नै छ, बेसरेट घटाउन र ब्याज थप सस्तो बनाउन बोण्डको भूमिका कस्तो रहन सक्छ ?

व्यक्तिगत ओभरड्राफ्ट बाहेकका ऋणहरुको ब्याजदर एकल अंकमा नै रहेको छ। जति पनि व्यवसायिक ऋण छन्, ति सबैको ब्याजदर अहिले एकल अंकको छ र बजारमैत्री नै छ। 

बजारको औषत ब्याजदर भन्दा हामी धेरै टाढा छैनौ, एक दुई बैंकसँग तुलना गर्दा हाम्रो ब्याजदर बढी देखिएपनि अरु बैंकसँग तुलना गर्दा हाम्रो ऋणको ब्याजदर कम नै छ।  एउटा कालखण्डमा हाम्रो बेसरेट केहि धेरै भएकाले ऋणमा ब्याज दर महँगो देखिन्थ्यो तर आजको दिनमा हामी एकल अंकको बेस रेटमा छौं। यसको अर्थ हामी एकल अंकमा ऋण दिन सक्ने भएका छौं। प्रत्येक त्रैमासमा हाम्रो बेस रेट घट्ने क्रममा रहेको छ , त्यसैले आगामी दिनमा ऋणको ब्याजदर झनै सस्तो हुन्छ भन्नेमा विश्वास लिएको छु। 

कृषिलाई बढावा दिंदै जाँदा अन्य क्षेत्रको लगानीलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

कृषि विकास बैंक भनेको कमर्शियल बैंक हो। लगानीको लागि दुईवटा अलग अलग पाटोहरु, एग्रिकल्चर पाटो र नन एग्रीकल्चर पाटो बनाएर अगाडी बढेका छौं। एउटा पिरामिड बनाएर अगाडी बढ्दा जोखिम पनि उत्तिकै हुन्छ, हामीले दुईवटा पिरामिड बनाएर अगाडी बढ्दा जोखिम कम हुन्छ।   हामीले कृषिको लगानीलाई प्राथमिकता राख्दै गर्दा हामीले जमानतबाट पनि बार्षिक ४६ ४७ अर्बको पोर्टफोलियो छ, यसबाट पनि आम्दानी गरेका छौं। जमानतबाट आम्दानी गर्ने बैंकमा हामी उत्कृष्ट छौं तर हामीले यसको प्रचार गरेका छैनौ।

हाम्रो नारा भनेको कृषिलाई जोड्ने, अरुलाई नछोड्ने भन्ने हो। यहि अनुसार नै अगाडी बढ्छौं। 

५४ बर्षको इतिहास बोकेको बैंक केहि वित्तीय सूचक र व्यवसायिक विस्तारमा अरु सरह नै देखिन्छ, कृषि विकास बैंकले आफुलाई समय सापेक्ष प्रतिस्पर्धी बनाउन नसकेको हो कि नचाहेको हो ?

तथ्यांकले तपाईले भनेको जस्तो देखाउंछ जस्तो लाग्दैन। हाम्रो सम्पति तथा दायित्व, रिजर्भ, हाम्रो पुंजिकोश, हामीले दिने प्रतिफल, व्यवसायिक वृद्धिको तथ्यांक हेर्दा हामी कम्जोर छौं भन्ने देखाउदैन। संचालनमा रहेका २७ मध्ये एक दुई बैंक जस्तो नहोला तर औषतमा हामी राम्रै अवस्थामा छौं।  

हाम्रा वित्तीय सूचक बलिया नभएका भए, प्रविधिमा अगाडी नभएका भए, डिजिटल बैंकिङमा चाहिने र अन्य बैंकले दिंदै आएका सेवा हामीले नदिएका भए बजारमा हाम्रो अलग पहिचान हुने थिएन। २७८ वटा कार्यलयमा अनलाइन बैंकिङ, ८ प्रतिशत २० लाख मुनिका आम जनता छन्, सेयरधनी ३ लाख छन्, यसमा हामी अव्वल छौं। 

कोभिडकै पिरियडमा मोबाइल बैंकिङ मार्फत खर्बको कारोबार भएको छ। २ लाख भन्दा बढी मोबाइल बैंकिङका प्रयोगकर्ता छन्। भिसा कार्ड १ लाख माथि छन्। १६ लाख भन्दा माथि किसानहरुमा लगानी भएको छ।  हुन् सक्छ, अन्य बैंकको झैं देखिनेगरि ठुला ठुला परियोजनामा लगानी नभएका होलान् तर त्यो पनि हामीले सुरुवात गरिसकेका छौं। को पहिलो, को दोस्रो, त्यो दौडमा मात्र थाहा हुने कुरा हो, तर व्यवसायिक विस्तारमा, श्रमशक्तीको कुरामा, संस्थागत विकासको कुरामा, प्रतिफल दिने कुरामा, हामी बजारका बैंक भन्दा अव्वल नै छौं भन्ने मेरो दाबि हो। 

नेपाल राष्ट्र बैंकबाट क बर्गको बैंकको इजाजत लिएर पूर्ण बैंकिङको रुपमा संचालनमा आएको १४ बर्ष भएको छ। यो अवधिमा हामी आफुले राम्रै गरेका छौं भन्ने लाग्छ र बाँकी कुरा तथ्य र सूचक हेरेर बजारले विश्लेषण गर्नुपर्छ। 

कृषि विकास बैंक, बैकको पछाडी विकास जोडिएको छ, अब नाम फेर्ने बेला भएन  ?

विकास भनेको संसार भरिको आवस्यकता हो। यो मात्र नभई कृषि विकास बैंक भनेको आफैंमा एउटा ब्राण्ड हो। जनताले यसलाई चिनिसकेका छन् र यो ब्राण्डले जनताको बिश्वास जितिसकेको छ। हाम्रो सर्भेमा पनि कृषि विकास बैंकबाट विकास शब्द हटाउने वा अन्य नाम राख्ने कुरा उचित हुदैन भन्ने पाएका छौं।

अन्तत कामले सेवाले र कर्मले ब्राण्ड बन्ने हो, अहिलेको नामले काम गर्नलाई, सेवा दिनलाई, र कर्म गर्नलाई कुनै बाधा पुगेको छैन। 

तपाइँ बैंकहरुको अर्थात एनबिएको उपाध्यक्ष पनि हुनुहुन्छ, कोरोनाबाट प्रभावित हरुलाई वा कोरोनाका कारणले दिनुपर्ने सहुलियत छुट जस्ता कुराहरु पुष मसान्तसम्म हुन्छ र त्यसपछि प्रोभिजन गरेर अगाडी बढ्नुपर्छ भन्ने छ, अबको बैंकिङ कुन दिशातर्फ कसरि अगाडी बढ्छ ?

कोभिड १९ ले टाइम फ्रेम पायौं। अहिले कमाउने भन्दा पनि बाँच्ने भन्ने कुरा महत्त्वपूर्ण हो। हिजोको दिनमा राष्ट्र बैंकले प्रोभिजनमा लचकता दिने, सहुलियत कर्जा दिने, जरिवाना नलगाउने, कर्जा पुनर्तालिकीकरण गर्ने, जस्ता कुराहरुबाट आम सर्वसाधारणलाई राहत दिएको थियो तर अब यो च्याप्टर बन्द भएको छ। 

दोस्रो हाफमा आफ्नो वित्तीय विवरण विश्लेषण गरेर, राष्ट्र बैंकको नीतिसँग बेमेल भएका कुराहरु सच्याउने र त्यसमा छलफल गर्ने, एउटा तरिकाबाट बिस्तारै प्रोभिजन गर्दै जानुपर्ने अहिलेको अवस्था हो। अहिलेको परिस्थिति कुनै एउटा पक्षको भन्दा पनि सबैले एक अर्कालाई सघाएर, एक अर्कासँग तालमेल गरेर अगाडी बढ्नुपर्ने बेला हो। बैंकहरुसंग भएको पैसा पनि जनताको पैसा हो। बैंकहरुले जनताकै पैसा लगानी गर्ने हो। समस्यालाई संधै पर सार्ने भन्दा पनि अब समस्यालाई सम्बोधन गर्दै अगाडी बढ्नुपर्छ र यसमा सबै पक्ष मिलेर व्यवसायिक रुपमा अगाडी बढ्नुपर्छ।

अन्त्यमा, बैंक दिवसको अवसरमा बैंकले कुनै प्रोडक्ट्स लन्च गर्दै छ ?

किसान कार्ड लन्च गर्दै छौं। किसानलाई नगद रहित भुक्तानी प्रणालीसँग जोड्ने उदेश्यले कृषि विकास बैंकको बैंक दिवसको अवसरमा संचालनमा ल्याउदैछ।  सुरुवाती अवस्थामा ४०९५० वटा कार्यलय मार्फत किसान कार्ड लन्च गर्दै छौं। त्यस्तै किसानलाई कृषि सम्बन्धी न्युनतम आवश्यक जानकारी दिने उदेश्यले कृषि एप्स पनि संचालनमा ल्याउदैछौं। 

यहि अवसरमा ग्राहक, सेयरधनी, नियमननिकाय, कर्मचारी साथीहरु,  लगायत सबैलाई बैंक दिवसको शुभकामना दिन चाहन्छु।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved