'साना तथा मझौला व्यवसायको प्रवर्दनका लागि काम गरिरहेका छौँ, कारबाहीबाट बच्न होइन' (अन्तर्वार्ता)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 21, 2021 | 08:33:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारको प्राथमिकतामा परेको क्षेत्र हो साना तथा मझौला र लघुवित्त व्यवसाय। यस क्षेत्रको प्रवर्दन तथा संरक्षण गर्नका लागि अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंकले विभिन्न नीति नियमहरु ल्याएका छन्। 

त्यसो त पछिल्लो समय सरकारको प्राथमिकतामा परेका एसएमई अर्थात साना तथा मझौला व्यवसायमा बैंक वित्तीय सँस्थाहरुले लगानी नगरेका होइनन् तर पर्याप्त र हुनुपर्ने मात्रामा नभएपछि राष्ट्र बैंकले नीतिगत व्यवस्था नै गरेर यस क्षेत्रमा लगानी गर्नुपर्ने प्रतिशत नै तोकेको छ। 

राष्ट्र बैंकले नीतिगत व्यवस्था नै गरेर कुल कर्जा लगानीको झन्डै ४५ प्रतिशत लगानी निर्देशित लगानीको व्यवस्था गरेको छ। जसमा एक करोड मुनिका साना तथा मझौला व्यवसायमा कुल कर्जा लगानीको १५ प्रतिशत लगानी हुनुपर्ने छ भने लघुवित्तको क्षेत्रमा ५ प्रतिशत लगानी अनिवार्य गरिएको छ। त्यस्तै कृषिमा १५ प्रतिशत र हाइड्रोमा १० प्रतिशत कर्जा लगानीको व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्नुपूर्व नै नबिल बैंकले साना तथा मझौला व्यवसायलाई प्राथमिकतामा राखेर कर्जा लगानी तथा त्यस क्षेत्रमा तालिम तथा अन्य बिभिन्न कार्यक्रम गर्दै आएको छ। एसएमई क्षेत्रलाई वित्तीय पहुँच पुर्याउन प्राथमिकताका साथ काम गरेकै कारण नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित समेत भएको छ। 

सरकारले यस क्षेत्रलाई प्राथमिकता राखेपछि र बैंक वित्तीय सँस्थाले पनि यस क्षेत्रमा कर्जा प्रवाहको मात्रा बढाईरहँदा यो क्षेत्रमा परेको प्रभाव, बैंकहरुले गर्दै गरेका योगदान र नबिल बैंकले गरिरहेका कामहरुबारे बिजपाटी डटकमले नबिल बैंकका एसएमई एण्ड एमएफ हेड निरज बस्नेतसँग कुराकानी गरेको छ, प्रस्तुत छ कुराकानीको सम्पादित अंश:


नेपाल सरकार, राष्ट्र बैंक र सम्पूर्ण राज्य नै अहिले साना तथा मझौला व्यवसायी र लघु व्यवसायलाई प्राथमिकता दिनुपर्छ भनेर लागिपरेका छन्, यसमा बैकहरुको भूमिका कस्तो पाउनु भएको छ ? 

देशको आर्थिक उन्नतिको लागि अहिलेको आवश्यकता भनेको साना तथा मझौला व्यवसायीहरुको प्रवर्दन नै हो। यहि सोचका साथ समग्र बैंकिंङ क्षेत्रले यस क्षेत्रमा काम गर्दै आएका छन्। त्यसमा पनि नियामकीय निर्देशनका कारण यस क्षेत्रले अझैं प्राथमिकता पाएको छ। 

नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्नु अगाडी नै नबिल बैंकले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ। हामीले कर्जा मात्रै दिएका छैनौँ, उनीहरुलाई आवश्यकताअनुसारको बिभिन्न तालिम कार्यक्रमहरु पनि संचालन गरिरहेका छौँ। जसले गर्दा यस क्षेत्र अर्थात साना मझौला लगानीका व्यवसायहरु पनि उत्साहित भएका छन्।  

रिटेल बैंकिङ जस्तो सहज नहोला तर पनि जिम्मेवारी निभाउदै गर्दाको व्यवसायमा प्रतिफल पनि होला, त्यहि पनि यो क्षेत्रमा बैंकहरुले चाँसो दिन किन कन्जुस्याई गरेका होलान् ?

बैंकहरुले चाँसो नै नदिएका होइनन। अर्कोतर्फ नेपालमा बैंकिंङ सुरु हुन थालेको पनि धेरै भएको छैन। नेपालको बैंकिंङ आफैं पनि बल्ल बामे सदै छ। सुरुमा व्यवसायिक हिसाबले जुन क्षेत्रमा नाफा मुलक व्यवसाय छ त्यहि क्षेत्र बैंकको प्राथमिकतामा पर्ने गर्दथ्यो। जसै नेपालमा बैंकहरुको आकार बढ्दै गएको छ, त्यसैगरि बैंकहरु पनि निश्चित क्षेत्र बनाएर कर्जा लगानी गरिरहेका छन्। त्यसैको एउटा उदाहरण हो नेपालका बैंकहरु पछिल्लो समय साना मझौला व्यवसायमा कर्जा विस्तार तथा तालिम दिने कार्य गरिरहेका छन्। 

अधिकांश बैंकहरुले राष्ट्र बैंकको निर्देशन पालना गरेर नियामकीय कारवाहीबाट बच्नका लागि मात्रै काम गरेको पाइएको छ, यसमा नबिल बैकले जिम्मेवारी सहितको व्यवसाय कसरी गरिरहेको छ ? 

राष्ट्र बैंकले अहिले निर्देशन मात्रै दिएको छ र यो निर्देशनको अर्थ साना तथा मझौला व्यवसाय अहिलेका प्राथमिकता हुन् भन्ने संदेश दिएको छ। कम्तिमा १५ प्रतिशत कर्जा यस क्षेत्रमा जाँदा यो क्षेत्र झनै राम्रो हुन्छ भन्ने संदेश दिएको हो। र यो क्षेत्रलाई प्रवर्दन गर्नका लागि यो निर्देशन आएको हो भन्ने लाग्छ। 

एक करोड मुनिका कृषि, हस्तकला लगायतका क्षेत्रका कर्जामा आधारदरमा २ प्रतिशत भन्दा बढी ब्याज जोड्न पाइदैन भन्ने व्यवस्था छ, यो व्यवस्था पनि यो क्षेत्रमा कर्जाको प्रवर्दनको लागि हो।    

राष्ट्र बैंकको निर्देशनबाट बच्नका लागि भन्ने भन्दा पनि राष्ट्र बैंकले निर्देशन दिनु अगाडी नै नबिल बैंक यो क्षेत्रमा काम गरिरहेको छ। कारबाहीबाट बच्नका लागि भन्दा पनि नबिल बैकले यस क्षेत्रलाई प्राथमिकतामा राखरे काम गरिरहेको छ।

नबिलले आज भन्दा दुई बर्ष अगाडीदेखि युके एडको सक्षम टु एक्सेससँग मिलेर साना तथा मझौला व्यवसायको लागि कर्जा लगानी गरिरहेको छ। नबिलले अहिलेपनि कुनै पनि बैंकले सुरु गरि नसकेको 'दिगो बैंकिंङ' सुरु गरिसकेको छ र छुट्टै बिभाग खडा गरेर काम गरिरहेको छ। नेपाल राष्ट्र बैंकको कुनै निर्देशन बिना नै नबिल बैंकले बैंकले पनि जिम्मेवारी पुरा गर्नुपर्छ भनेर यो कामको थालनी गरेको हो। 

नबिलले देशका बिभिन्न स्थानीय तहसँग मिलेर साना तथा मझौला व्यवसायीको लागि काम गरिरहेको छ। संस्थागत सामाजिक उत्तरदायित्व भन्दा माथि उठेर हरेक क्षेत्रमा नेतृत्त्वदायी भूमिका निभाउनुपर्छ भनेर नबिलले झन्डै २ हजार भन्दा बढीलाई पुनर्कर्जा दिएको छ जबकी नबिलले १३५० जना हाराहारीलाई मात्र गरेको भए हुन्थ्यो। 

नबिलले साना तथा मझौला व्यवसायीहरुको लागि धेरै राम्रो गरेकाले नै होला, नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित भएको छ। नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि यो अवार्डबाट सम्मानित भएको हो।

कोभिड १९ अन्य क्षेत्रको तुलनामा  साना तथा मझौला व्यवसायी र लघु बित्त क्षेत्र बढी प्रभावित भए, यो बीचको अप्ठ्यारो अवस्थामा आफ्ना साना तथा मझौला व्यवसायी र लघु व्यवसायी ग्राहकहरुलाई नबिल बैंकले कसरी साथ दियो ?

कोभिड १९ को महामारीमा सबै प्रभावित हुँदा नबिल अछुत थिएन तर अनि आफ्ना ग्राहकलाई परेको अप्ठ्यारोलाई केहि न्यूनीकरण गर्नका लागि नबिल बैंकले एक महिनाको ब्याजअनुदान दिए, केहि ग्राहकलाई कर्जाको अवधि लम्ब्याएर जस्ता कुराहरुबाट आफ्ना ग्राहकलाई सुविधा दिएको थियो।  कोभिड १९ प्रभावित हाम्रा ग्राहकलाई हैसियतले भ्याएसम्म छुट दिएका छौँ ।  

अन्तिममा, साना तथा मझौला व्यवसायी र लघू व्यवसायी भन्ने बित्तिकै स्वदेश अर्थात नेपालमै केहि न केहि उत्पादनमा लागेका भन्ने बुझिन्छ, त्यसमाथि पनि हस्तकला भन्ने बित्तिकै नेपालकै संस्कार र संस्कृति झल्कने व्यवसायसँग जोडिएको हुन्छ, तर नेपालको उत्पादनको प्रयोग र उपभोगबारे हामि नेपालीको ब्योहार र सोच कस्तो पाउनु हुन्छ र यसमा तपाइँको आफ्नो व्यक्तिगत बिचार के छ ? प्रवर्दन कसरी गर्न सकिन्छ ?

साना तथा मझौलाई व्यवसायी र लघू व्यवसायसँग मिलेर हामीले लामोसमय देखि काम गरिरहेका छौँ र यसले हामीलाई राम्रो अवसर पनि सृजना गरेको छ। यो क्षेत्रको बारेमा जानकारी लिने र दिने अवसर पनि सृजना गरेको छ। अरु देशमा आफ्नो स्थानीय ब्रान्ड र बस्तुहरुको प्रचार तथा प्रवर्दन गर्नलाई त्यहाँका स्थानिय नागरिकहरुको ठुलो भूमिका रहेको पाइएको छ। 

हामीले पनि आफ्नो देशको बस्तु तथा उत्पादनको उपभोग र प्रयोगका लागि आफुलाई जोड दिनुपर्दछ, अनि मात्र यहाँका स्थानीय उत्पादनले बजार पाउँछ र यहाँका स्थानीय व्यवसायीलाई प्रोत्साहन मिल्छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved