'महासंघलाई मेरो आवश्यकता छ' अध्यक्षका दाबेदार निकोलश पाण्डेको अन्तर्वार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 03, 2022 | 11:31:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)मा चुनावी गर्मी बढ्न थालेको छ । नेतृत्व र पदाधिकारीका आकांक्षी खुल्न थालेका छन् । फागुन २७ र २८ गते काठमाडौँमा हुने महासंघको २३औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले महासंघभित्र चुनावी माहोल क्रमशः बढ्दै गएको छ ।

हालका अध्यक्ष रवी सिंह पुनः अध्यक्ष बन्ने मुडमा छन् । वरिष्ठ उपाध्यक्ष निकोलश पाण्डे पनि लामो समयदेखि अध्यक्षको तयारीमा क्रियाशील छन् । उनै पाण्डेसँग बिजपाटी डटकमले कुराकानी गरेको छ ।

संक्षिप्त परिचयः

 चितवनमा जन्मिएका निकोलश पाण्डे चितवन र पोखरा ओहोरदोहोर गर्दै हुर्किए।  गण्डकी बोर्डिङ स्कुल पोखरामा विद्यालय तहको शिक्षा पूरा गरे । १०+२ नेपालबाटै व्यवस्थापन शंकायमा उत्तीर्ण गरे ।

स्नात्तकोत्तर र मास्टर्स भने उनले युरोपबाट गरे। डेनमार्कको प्रतिष्ठित ‘ओपन हेगन बिजनेश कलेज’ बाट छात्रवृत्तिमा मास्टर्स गरेका पाण्डे हाल नेपालको ‘क’ वर्गको निर्माण कम्पनी कालिका कन्ट्रक्सनको कार्यकारी निर्देशक छन्।

झण्डै १३ वर्ष अगाडी नेपाल निर्माण व्यवसायी महासंघमा प्रवेश गरेका उनी हाल वरिष्ठ उपाध्यक्ष छन्। केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएर महासंघमा प्रवेश गरेका पाण्डे त्यसपछि पनि सबैभन्दा बढी मत ल्याएरै एसोसियट्स उपाध्यक्ष बनेका हुन्। 

दुई पटकसम्म मन्त्री भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका बिक्रम पाण्डेका छोरा निकोलश पाण्डे रहरले महासंघ प्रवेश गरेका भने होइनन्। तर, नेपालमा निर्माण व्यवसायीलाई हेर्ने नजर उनलाई मन परेन । खराब हुन्छन्, काम बिगार्छन् भन्ने दोषी चश्माले निर्माण व्यवसायीलाई हेर्ने गरिएकोप्रति उनको चित्त दुखाई छ। त्यसपछि उनले ‘मैले जति नै राम्रो काम गरेपनि मैले काम गर्ने क्षेत्रलाई नै दोषी चश्माले हेरिन्छ भने मैले व्यक्तिगत रुपमा राम्रो काम गरेको अर्थ हुँदैन, 'घर मात्रै सफा भएर हुँदैन, टोल छिमेक सबै सफा हुनुपर्छ’ भन्ने सोचेर १३ वर्ष अगाडी महासंघ छिरेका पाण्डे अहिले अध्यक्षको दौडमा छन्।

प्रस्तुत छ, उनै पाण्डेसँग महासंघको महाधिवेशन, अध्यक्षमा उम्मेदवारी, एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर बिजपाटी डटकमका निरोजकुमार थापाले गरेको कुराकानीको सम्पादित अंशः

निर्माण व्यवसायी महासंघको महाधिवेशन नजिकएको छ, चुनावी गर्मी बढिरहेको छ, देशका विभिन्न जिल्लामा पुग्नुभयो । जिल्ला जिल्लाका निर्माण व्यवसायीहरुले कस्तो नेतृत्व चाहेको पाउनु भयो ?

विगत ३ वर्षदेखि म देशका सबैजसो जिल्लाहरुमा पुगेर जिल्लाका साथीहरुसँग सँगै बसेर, सँगै खाएर, सुतेर उहाँहरुका धेरै कुरा बुझ्ने मौका पाए । म खाली महाधिवेशन नजिकएपछि अध्यक्षको पद पाइन्छ कि भनेर जिल्ला जिल्लामा पुगेको होइन । जिल्लामा पुग्दा साथीहरुले चाहिँ अहिले मौलाएको अस्वच्छ प्रतिस्पर्धा चिर्न सक्ने नेतृत्व खोज्नुभएको छ।

अर्कोतर्फ, महासंघ आफैँ ‘डिभाइड’ छ । निर्माण व्यवसायीहरुबीच एकमत छैन, विभाजित हुनुहुन्छ । सँगै, अहिले स्थानीय तह आएपछि त्यहाँबाट इजाजत लिनु भएका साथीहरु महासंघसम्म आईपुग्नु भएकै छैन। जिल्ला संगठनमा सदस्यता नलिएका फर्म/कम्पनीहरु पनि धेरै छन् । उनीहरुलाई संगठित गर्न सक्ने र व्यवस्थित गर्न सक्ने नेतृत्व अहिले चाहिएको छ भन्ने साथीहरुको कुरा छ।

म खाली महाधिवेशन नजिकएपछि अध्यक्षको पद पाइन्छ कि भनेर जिल्ला जिल्लामा पुगेको होइन । जिल्लामा पुग्दा साथीहरुले चाहिँ अहिले मौलाएको अस्वच्छ प्रतिस्पर्धा चिर्न सक्ने नेतृत्व खोज्नुभएको छ

मैले ‘सामूहिक समृद्धि, सामूहिक नेतृत्व,व्यवसायिक एकता’ भन्ने गरेको छु । यो भनेको सबै निर्माण व्यवसायीको क्षमता विकासदेखि आर्थिक समृद्धिसम्मको कुरा हो । जिल्लालाई विशेष ध्यान दिने नेतृत्व आईदिए हुन्थ्यो भन्ने उहाँहरुको चाहना छ । महाधिवेशनको बेलामा मात्रै जिल्लालाई सम्झिने, फोन गर्ने होइन कि जिल्लालाई कहाँ दुखेको छ भनेर निरन्तर सोधखोज गर्दै दुखाईमा मलहम लगाउने र अबको ३ वर्षमा महासंघको उचाई कहाँ पुर्याउने भन्ने भिजनसहितको नेतृत्वमा उहाँहरुको जोड छ ।

निर्माण व्यवसायी महासंघको निर्वाचन चाहिँ राजनीतक दलहरुको प्रतिष्ठाको विषय पनि बन्छ भन्छन्, यसअघि देखियो पनि । अब पनि दलगत प्यानल नै बन्छ कि, व्यवसायीक प्यानल बन्छ ?

बन्नुपर्ने सधैँ व्यवसायीक प्यानल नै हो । यो भन्दा अगाडी केही कारणले दलगत प्यानल बन्यो पनि । तर, त्योभन्दा अगाडी मेरो यो १३ वर्षे महासंघको यात्रामा दलगत प्यालन बनेको पाएको छैन । हो, व्यवसायीक प्यानल नै बन्दा पनि त्यस प्यानलमा रहेका व्यक्तिहरु वा प्यानलबाट अध्यक्षको उम्मेदवार कुनै राजनीतिक दलमा आवद्ध हुन सक्छ।

२ प्यानल, ३ प्यानल बनेपनि त्यो व्यवसायीक प्यानल होस् भन्ने मेरो चाहना छ 

तर, यसपाली म चाहन्छु दलगत प्यानल नबनोस् । व्यवसायीक प्यानल बनोस् । २ प्यानल, ३ प्यानल बनेपनि त्यो व्यवसायीक प्यानल होस् भन्ने मेरो चाहना छ । भिन्न भिन्न एजेण्डा, भिजन भएका साथीहरुको दलगत नभई व्यवसायीक प्यानल नै बनोस् भन्ने इच्छा हो।

नेतृत्वमा ४ जना जतिको चर्चा भएपनि मूलतः वर्तमान अध्यक्ष र तपाईको बढी चर्चा छ, तपाईको दाबेदारी के का लागि ?

मलाई अहिले नै म अध्यक्षको उम्मेदवार हुँ भन्ने रहर त छैन । सहमतिमै होस् भन्ने चाहना छ मेरो । दाबेदारी किन भन्दा मूलतः महासंघभित्र जुन डिभाइडको अवस्था छ, यसलाई एकतामा परिणत गर्ने तीव्र चाहना मसँग छ । हामीबीच एकता नहुँदाको फाइदा अरुले लिईरहेका छन् । जस्तो की, एउटा रोटी छ, त्यसको साइज (आकार) बढाउनभन्दा त्यसैलाई अट्याक गर्ने (चिथोर्ने) प्रवृत्ति राम्रो होइन । रोटीको आकार बढाउनतर्फ लाग्नुपर्छ ।

अर्कोतर्फ सानो र ठूलो भनेर व्यवसायीलाई वर्ग छुट्याइएको छ । कामका आधारमा कसैले ठूलो ठेक्का पार्ला, कसैले सानो पार्ला । तर, सदस्य त महासंघको बराबरी हो नि । ठूला व्यवसायीहरुले हेपेको अनुभूति सानो कारोबार गर्नेहरुलाई भईरहने अवस्था कम्तीमा म अध्यक्ष भएँ भने हुन दिन्न। 

अर्को भनेको, म सामूहिक नेतृत्व र सामूहिक समृद्धि भन्दै आएको छु । यो भनेको के हो भने म जिल्लामुखी भएर काम गर्न चाहन्छु । किनभने ९० प्रतिशतभन्दा बढी निर्माण व्यवसायीहरु जिल्लामा छन् । सानो आकारमा कारोबार गर्नेहरु धेरै हुनुहुन्छ । जबसम्म हामीले उहाँहरुलाई उठाउन सक्दैनौँ, तबसम्म आफू जति नै ठूलो व्यवसायी भएपनि, महासंघको अध्यक्ष नै भएपनि त्यसको अर्थ हुँदैन ।

ठूला व्यवसायीहरुले हेपेको अनुभूति सानो कारोबार गर्नेहरुलाई भईरहने अवस्था कम्तीमा म अध्यक्ष भएँ भने हुन दिन्न

एउटा ५ लाखको काम गर्ने निर्माण व्यवसायीले जानेर नजानेर काम बिगार्यो भने त्यसको छिट्टा म भएको ठाउँमा पनि आईपुग्छ । जबसम्म त्यो तहसम्म ‘क्लिन’ गर्न सकिँदैन, महासंघमा आएको अर्थ म देख्दिनँ । 

सबैभन्दा महत्वपूर्ण कुरा सामूहिक समृद्धि हो । यो भनेको खाली काम मात्रै उपलब्ध गराएर हुँदैन । हामीले प्रविधिको उच्चतम् प्रयोग गर्नुपर्ने छ । प्रविधि भनेको मैले खाली मेशिनको मात्रै कुरा गरेको होइन । आफ्नै कम्पनी चलाउन पनि म्यानेजमेन्टका कुरा हुन्छन् । हामी सबैले राज्यसँगै काम गर्छौँ । काम गर्दा एउटा सम्झौता हुन्छ, जसलाई हामी ठेक्का भन्छौँ । सम्झौता गर्दा हामीले के के गर्ने भनेर हाम्रो कतव्य पनि लेखिएको हुन्छ, राज्यले के के गर्ने भन्ने कुरा पनि लेखिएको हुन्छ । 

तर, कतिपय अवस्थामा हाम्रो निर्माण व्यवसायी साथीहरुले अधिकार थाहा नपाएर धेरै समस्याहरु आईपरेका उदाहरण छन् । यो खालको समस्या आउन नदिन साथीहरुलाई ‘वर्क सप’ गराउन सकिन्छ । यसवर्षबाट सुरु पनि भएको छ ।

म महासंघको तालिम तथा अनुसन्धान समितिको संयोजक पनि हुँ । महासंघमा सबैभन्दा बढी एक्टिभ समिति नै यहीँ हो । इजीपी अकस्मात ल्याईदियो सरकारले, हामीले नै तालिम दिएर अहिले साथीहरु कम्प्युटरबाटै टेण्डर हाल्न सक्नुहुन्छ । सम्झौता व्यवस्थापनको तालिम पनि सुरु गरेका छौँ, ६/७ वटा जिल्लामा सफलतापूर्वक सकेका छौँ । 

म महासंघको तालिम तथा अनुसन्धान समितिको संयोजक पनि हुँ । महासंघमा सबैभन्दा बढी एक्टिभ समिति नै यहीँ हो

यसमा के हुन्छ भने, कतिपय साथीहरुले सम्झौता पढ्नु हुन्न । अनि मन्त्रीलाई भेटेर, अनेक पावर लगाएर म्याद थपका लागि दौडिनुपर्ने हुन्छ । यो भनेको गिजोलिएको छ । सानो घाउलाई सुरुमै मलहम लगायो भने निको हुन्छ, कोट्याईरह्यो भने त्यो क्यान्सर हुन्छ । क्यान्सरलाई निको पार्न त ठूलो रकम र अझ धेरै समय र परिश्रम खर्चिनुपर्ने हुन्छ नि । 

समग्रमा सामूहिक नेतृत्व, सामूहिक समृद्धि, क्षमता विकास, जिल्लामुखी भएर काम गर्नका लागि अध्यक्षमा मेरो दाबेदारी हो।

लामो इतिहास बोकेको महासंघ हाँक्न सक्छु भन्ने आत्मविश्वास त देखिन्छ । कोरोना लगायतका कारण निर्माण व्यवसायको क्षेत्र पनि प्रभावित छ ।सार्वजनिक खरिद ऐनको किचलो कहिल्यै नसकिने भयो । रोकिएको अर्बौ रकमको भूक्तानी कहिले हुने टुंगो छैन । यी यावत विषयहरु डिल गर्न सक्छु भन्ने लाग्छ ?

मेरो सुदृढ पक्ष के पनि हो भने, म बेदाग (कुनै दाग, आरोप नलागेको) छु । महासंघको लामो इतिहासको केही हिस्सामा म पनि जोडिएँ । मैले यसअघिका नेतृत्वहरु पनि देखेँ, उहाँहरुसँग काम पनि गरेँ । उहाँहरु कुशल हुनुहुन्थ्यो ।

तर, म अलिक आधुनिक छु । मेरो काम गर्ने शैली फरक हुन्छ, र हुनु पनि पर्छ । यो खालको अपेक्षा पनि छ । यो भनेको के हो भने, अग्रजहरुले जुन बाटो लिनुभयो म अवश्य पनि त्यो बाटो बिराउन्न । तर, सँगै अर्को पृथक बाटो पनि मैले लिन्छु ।

जस्तो हाम्रोमा के छ भने, नयाँ मन्त्री आएपछि भेट्न जाने, बधाई दिने, आफ्ना माग राख्ने चलन छ । तर नेपालमा के छ भने, चार पाँच वर्षका लागि त मन्त्री कोही हुँदैनन् । ९ महिना, १ वर्षका लागि हुन्छन् । अनि यति भास्ट (गहन) कुरा हामीले १५ मिनेट भेटेर भन्दैमा मन्त्रीले टाउको हल्लाएर गरिदिन्छु भनेको भरमा हुँदैन । मन्त्रीले हुन्छ, गरिदिन्छु भन्नु एउटा कुरा हो, तर हुँदैन । किनभने उहाँहरु कन्भिन्स नै हुनुहुन्न नि । 

मै पनि मन्त्री भएँ भने मैले नजानेको विषयमा कोही आएर यसो गर्नुपर्छ, यसो हुनुपर्यो भन्यो भने मैले नि टाउको हल्लाएर हुन्छ, गरिदिन्छु भन्ने नै हो । तर, मैले त बुझेको हुँदैन । सचिवलाई सोध्ने होला, सह–सचिवलाई सोध्ने होला, सम्बन्धित विज्ञहरुलाई सोध्ने होला । 

म अलिक आधुनिक छु । मेरो काम गर्ने शैली फरक हुन्छ, र हुनु पनि पर्छ । यो खालको अपेक्षा पनि छ । यो भनेको के हो भने, अग्रजहरुले जुन बाटो लिनुभयो म अवश्य पनि त्यो बाटो बिराउन्न । तर, सँगै अर्को पृथक बाटो पनि मैले लिन्छु

तर, सचिव र सह–सचिव पोजेटिभ छैनन् भने हामीले जति नै मन्त्रीलाई भेटे पनि काम हुनेवाला छैन । हाम्रो अपेक्षा के बिग्रिएको छ भने हामी सधैँ पोलिटिकल पावर प्वाइन्ट मात्रै धाउँछौँ । यो नगर्ने भन्ने होइन, यो पनि गर्नुपर्छ । तर, यो ‘टप’ एप्रोच गर्ने ठाउँ हुनुपर्छ ।

हामी के गर्छौ भने सोझै मन्त्री भेट्न जान्छौँ । मन्त्रीले सचिवकोमा लागाईदिन्छन् । त्यसपछि हामी फलोअप गर्न थाल्छौँ । 

मेरो चाहिँ अलिकति फरक धारणा छ । म काम गर्ने मान्छेहरुसँग अपेक्षा राख्छु । सह–सचिव, सचिव काम गर्ने तह हो । उहाँहरुलाई भेटेर कुरा यसो हो, यसो गर्दा राज्यलाई फाइदा हुन्छ, विकास हुन्छ भनेर देश विकासकै कुरा लिएर जाने हो नि हामी पनि । यी कुराहरु हामीले भनिरह्यौ भने माहोल पोजेटिभ बन्दै जान्छ । यसरी काम गर्ने तह नै पोजेटिभ भएपछि निर्णय तहमा पुगेर कुरा राख्दा त्यसपछि उहाँहरुले ‘कन्सल्ट’ गर्दा ठिक हो भन्ने भएपछि काम हुन्छ । 

फेरि हामीले नराम्रो कुरा भन्दैनौँ । देशलाई फाइदा हुने कुरा नै त भन्छौँ । 

महासंघबाट हजारौँ सदस्यहरुको विषय लिएर अरु कोही जाँदा हेर्ने नजर माइनसबाट सुरु हुन्छ, म जाँदा प्लसबाट सुरु हुन्छ

अर्को कुरा के हो भने, म व्यूरोक्रेसीसँग मेरो व्यक्तिगत काम लिएर अहिलेसम्म गएको छैन र म जान्न पनि । त्यसकारण उहाँहरुसँग मप्रति विश्वास छ । यसले गलत कुरा गर्दैन, सत्य बोल्छ भन्ने विश्वास छ । यो विश्वास भएपछि निर्माण व्यवसायीहरुलाई उहाँहरुले जुन नजरले हेर्नुहुन्थ्यो, अनि त्यो चश्मा खोलेर हेर्न थाल्नुहुन्छ । 

त्यसकारण, महासंघबाट हजारौँ सदस्यहरुको विषय लिएर अरु कोही जाँदा हेर्ने नजर माइनसबाट सुरु हुन्छ, म जाँदा प्लसबाट सुरु हुन्छ । 

त्यसैले छरितो, सरल रुपमा कमा गर्न सक्छु जस्तो लाग्छ । 

महासंघको निर्वाचन राजनीतक दलहरुको प्रतिष्ठाको विषय पनि जोडिन्छ भन्ने कुरा त अघिल्लो निर्वाचनले पुष्टि गर्यो । पारिवारिक रुपमा राजनीतिक पृष्ठभूमीको व्यक्ति भएपनि तपाई आफूलाई गैरराजनीतिक व्यक्ति हुँ भन्दै आउनु भएको छ । यदि महासंघको अबको चुनावमा दलगत प्यानल बन्यो भने तपाई स्वतन्त्र उम्मेदवार बन्ने सम्भावना कति छ ?

यहाँसम्म मैले सोचेको छैन । योभन्दा पहिला पनि लोकतान्त्रिक गठबन्धनबाटै आएको हुँ । म फुल टाइम पोलिटिसियन त होइन, तर लोकतान्त्रिक विचारधारा बोक्ने व्यक्ति हुँ । 

एक्लै त चुनाव लड्दिन नै, पक्कै पनि प्यानल नै बन्छ । तर, कहाँ रहेर उभिने भन्ने कुरा चाहिँ समयले बताउँछ । 

ठूला कम्पनीहरुले जसलाई चाहन्छन्, त्यहीँ अध्यक्ष बन्छ पनि भन्ने गरिन्छ । शर्मा एण्ड कम्पनी, लामा कन्ट्रक्सन, रसुवा कन्ट्रक्सन, तपाईकै कालिका कन्ट्रक्सन निर्णायक हुन् भनिन्छ । यसपाली निर्णायक कम्पनीहरुको समर्थन, शुभेच्छा, आशिर्वाद निकोलश पाण्डेलाई छ पनि भन्छन्, यो साँचो हो ?

उहाँहरु ठूलो कम्पनी भन्दा पनि संस्थापक सदस्यहरु हुनुहुन्छ । उहाँहरुले महासंघलाई जन्माउनु भएको हो । त्यसकारण महासंघलाई कसैले बढी माया गर्छ, यसको राम्रो भविष्य चाहन्छ भने तपाईले नाम लिएका कम्पनीहरुले नै चाहन्छ । 

त्यसकारण अरुले पनि उहाँहरुले भनेको कुरा सुन्नुहुन्छ । महासंघकै जन्मदाता भएकाले उहाँहरुको कुरा सुन्नु स्वभाविक हो । उहाँहरुको आशिर्वाद त सधैँ नै रहने भईहाल्यो । आफूले जन्माएको संस्था, संगठनमा आवद्ध सबैप्रति उहाँहरुको आशिर्वाद रहन्छ नै ।

एउटा कुरा चाहिँ के सत्य हो भने, अहिलेकै वर्तमान अध्यक्ष (रवी सिंह) ले अर्को पटकका लागि तिमी नै बस, अहिले मलाई सहयोग गर भन्नु भएको हो । त्यतिबेला मात्रै होइन, आजभन्दा चार पाँच महिना अगाडीसम्म पनि अब निकोलश पाण्डे नै हो भन्नुहुन्थ्यो । जिल्ला जिल्लामै पुगेर भन्नु भएको हो, मलाई मात्रै सुटुक्क भन्नु भएको होइन। 

ठूलो कारोबार, ठूलो व्यवसायीको रुपमा चिनिनुहुन्छ । महासंघमा आएर साना मझौला व्यवसायीका समस्या बुझ्छु र समाधान गर्न सक्छु भन्ने लाग्छ ?

एकदम लाग्छ । मेरो बुबाले सुरु गर्दा पनि सानैबाट सुरु गर्नु भएको हो । बुबाले सुरु गर्दा म पनि सानै थिएँ । मैले कम्पनी ‘ग्रो’ गरेको देखेको छु । 

हामी संख्यात्मक हिसाबमा धेरै देखिएपनि दुःख गरेर काम गर्ने थोरै छौँ । दुःख गरेर काम गर्ने नै ठूलो हुने त हो नि । लट्रि (चिठ्ठ) पर्दा त मान्छे डुब्छ चलाउन जानेन भने । भन्न खोजेको मतलब काम गर्न जान्नेले, इच्छा भएकाले काम गर्छ र उसलाई काम गर्न सक्ने वातावरण बनाउँछौँ । मैदान सफा गर्छौ भनेकै छौँ । 

अन्तिममा महाधिवेशनमा आउने प्रतिनिधिलाई के भन्न चाहनुहुन्छ ?

उहाँहरुलाई स्वागत छ । तपाईहरुले धेरै जनालाई परीक्षण गर्नुभयो । मान्छेहरुले मलाई भन्दा यो युवा छ, यसको समय छ, पछि अध्यक्ष बन्दा पनि हुन्छ भन्छन् । हामी खाली युवाहरुले नेतृत्व लिनुपर्यो भनिरहन्छौँ, नेतृत्व दिने बेलामा चाहिँ युवा छ भनेर रोक्न मिल्दैन, यसपटक मलाई परीक्षण गर्नुहोस् भन्न चाहन्छु ।

महासंघको नेतृत्वमा युवालाई ल्याएर देखाऔँ । नयाँ शैली, नयाँ सोच, नयाँ भिजन, नयाँ एजेण्डालाई स्थापित गराउन सामूहिक प्रयास गरौँ र म निराश हुन दिन्न भन्न चाहन्छु । 

मलाई काम गर्न, काम लिन महासंघ चाहिँदैन । यसबेला म र मेरो शैली र सोचसँग मिल्ने साथीहरुको सामूहिक इफोर्ट महासंघलाई चाहिएको छ । 

अर्को कुरा, मलाई काम गर्न, काम लिन महासंघ चाहिँदैन । यसबेला म र मेरो शैली र सोचसँग मिल्ने साथीहरुको सामूहिक इफोर्ट महासंघलाई चाहिएको छ । 

हाम्रो व्यवसायलाई दोषी चश्मा लगाएर हेरिन्छ, त्यो फेर्न सकुँ भन्ने छ ।

अर्को भनेको, साथीहरुबाट फोन उठ्दैन, ठूलो कारोबार गर्ने व्यवसायी भन्ने गुनासो पनि मप्रति छ । तर यो सत्य होइन । हाम्रो कम्पनी व्यवस्थित रुपमा कर्पोरेट कल्चरमा गईसकेको कम्पनी हो । त्यसकारण म त्यहाँ बिहानदेखि बेलुकासम्म बस्नुपर्छ भन्ने छैन । त्यसैले मैले यो ३ वर्षको अवधिमा पूरै समय महासंघलाई दिएको छु । अब नेतृत्व लिएरै महासंघको छविलाई उच्च बनाउने लक्ष्य छ, सबैबाट सहयोगको अपेक्षा लिएको छु।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved