नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)मा चुनावी गर्मी ह्वात्तै बढेको छ । अध्यक्षसहित पदाधिकारीका आकांक्षीहरु खुल्न थालेका छन् । फागुन २७ र २८ गते काठमाडौँमा हुने महासंघको २३औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएकाले महासंघभित्र चुनावी माहोल तात्तिएको हो।
हालका अध्यक्ष रवी सिंह पुनः अध्यक्ष बन्ने गरि तयारी थालिरहेका छन् । वर्तमान अध्यक्ष सिंह सुरुमा भने दोहोर्याउने पक्षमा थिएनन् । तर, आफ्नो ३ वर्षे कार्यकालमा साना तथा मझौला व्यवसायीका विषयमा डटेर लाग्ने अर्को व्यक्ति उनले नदेखेको दाबी गरेका छन् ।
‘म पुनः अध्यक्ष हुन्छु भन्ने पक्षमा थिइँन, तर कसैलाई कमिटमेन्ट गरेको पनि थिइँन’ सिंह भन्छन्, ‘यो ३ वर्षको अवधिमा नेतृत्व हस्तान्तरणको आधार तयार भएको महशुस मलाई भएको छैन । त्यसैले म आफैँ दोहोरिन चाहेको हुँ ।’
उनै रवी सिंहसँग बिजपाटीले कुराकानी गरेको छ ।
संक्षिप्त परिचयः
२०१८ साल जेठ ३० गते काठमाडौँमै जन्मिएका रवी सिंह यतैको माहोलमा हुर्किए, बढे र पढे । हिमाली विद्या मन्दिर र पद्मोदय स्कुलबाट विद्यालय तहको अध्ययन सकेका उनले त्रिचन्द्र कलेज, रत्नराज्य लक्ष्मी (आरआर) कलेज र त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षाको अध्ययन पूरा गरे ।
उनको परिवार व्यवसायिक पृष्ठभूमीको परिवार हो । कार्पेट, गार्मेन्ट जस्ता सिजनल उद्योग व्यवसाय गरेका उनको लगानी अहिले ग्याबिन उद्योग र ‘झण्डु वाम आयुर्वेद’ नामक औषधि उद्योगमा पनि रहेको छ ।
२०३६ सालमा एसएलसी उत्तीर्ण गरेका सिंह २०४७ सालबाट निर्माण व्यवसायको क्षेत्रमा प्रवेश गरेका हुन् । सर्लाहीमा रहेका माइलो र काइलो मामाका छोराहरुसँग मिलेर ‘बागमती सिँचाई योजना’ बनाउने ठेक्का पाएका थिए । त्यसैमा मिलेर उनले २०४७ सालमा काम गरे ।
यद्यपी, औपचारिक रुपमा भने उनी २०४९/५० बाट ‘फुल टाइमर’ निर्माण व्यवसायी बने । हाल उनी महादेव खिम्ती निर्माण सेवाका मालिक (प्रवन्ध निर्देशक) छन् । महादेव खिम्ती निर्माण सेवाको सहायक ठेक्काको काम गर्दागर्दै उनले यही कम्पनी लिएका हुन् ।
२२ वर्ष अगाडी नेपाल निर्माण व्यवसायी महासंघमा कार्यसमिति सदस्यका रुपमा प्रवेश गरेका सिंह कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै हाल अध्यक्ष छन् । उनी पुनः अध्यक्षको दौडमा छन् ।
प्रस्तुत छ, उनै सिंहसँग महासंघको महाधिवेशन, अध्यक्षमा दोहोरिन खोज्नुको कारण लगायतका विषयमा केन्द्रित रहेर बिजपाटी डटकमका निरोजकुमार थापाले गरेको कुराकानीको सम्पादित अंशः
महासंघको महाधिवेशन संघारमै आईपुगेको छ, तपाई वर्तमान अध्यक्ष पनि हुनुहुन्छ । पुनः अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ, तपाईको उम्मेदवारी किन ?
मैले अहिले अध्यक्ष भएर काम गर्दैगर्दा जे जे काम गर्नुपर्ने थियो, ती काम सम्पन्न हुन सकेनन् । धेरै राम्रा काम सुरु भएका छन् । सुरु भएका कामहरुलाई सम्पन्न गर्नुपर्ने दायित्व छ ।
सार्वजनिक खरिद ऐनलाई सदनसम्म पुर्याउन सफल भयौँ । सार्वजनिक खरिद ऐनलाई व्यवसायी मैत्री बनाउने अभियानमा लागेको छु, तर पनि अन्तिम टुंगोमा पुर्याउन सकिएको छैन ।
कोरोनाको समयमा पनि निकै मेहनत गरेर सार्वजनिक खरिद नियमावलीलाई मन्त्रिपरिषदसम्म पुर्याउन सफल भएका छौँ । यी कुराहरुलाई लिपिवद्ध गरेर ऐन कानुनमा ल्याउनका लागि म भन्दा पछि आउने नेतृत्वले सफलतापूर्वक काम गर्न सक्ने विश्वास मलाई नलागेका कारण मैले दोहोर्याउन आवश्यक भएर पुनः अध्यक्ष बन्नुपर्छ भनेर उभिएको हुँ ।
मैले पहिला त भनेकै थिएँ, एकपटक अध्यक्ष भएपछि दोहोर्याउन ठिक हुँदैन भनेर । तर बाध्यतावश, यो कार्यकालमा मैले व्यवसायीको हितका लागि गरेको जुन अथक प्रयास छ, त्यो परिश्रमलाई संस्थागत गर्नको लागि मैले पुनः अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।
विशेष गरेर, निर्माण उद्योगमा जुन खालको असमान परिस्थिती छ, कामको वितरणको असमान परिस्थिती, काममा विकृति, कार्टेलिङको अवस्था जुन छ, यसविरुद्द अभियान चलाएर आम जनता र सरकारसम्म पुर्याउन म सफल भएको छु ।
म भन्दा पछि आउने नेतृत्वले सफलतापूर्वक काम गर्न सक्ने विश्वास मलाई नलागेका कारण मैले दोहोर्याउन आवश्यक भएर पुनः अध्यक्ष बन्नुपर्छ भनेर उभिएको हुँ
अहिलेको सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनले निर्माण उद्योगले फड्को मार्नेछ र देश विकासमा सहयोगी भूमीका हुनेछ । अहिले हामीले भनेको ५ वटा कामले कामको असमान वितरण प्रणालीको अन्त्य गर्नेछ । सयौँ काम ओगट्ने, ५०औँ अर्बको काम एउटा निर्माण व्यवसायीले लिने र हजारौँ निर्माण व्यवसायीहरु बेरोजगार बस्नुपर्ने र हजारौँ निर्माण व्यवसायीले अत्याधिक घटेर काम लिनुपर्ने जुन स्थिती छ, यो ११औँ संशोधनले यसलाई सम्बोधन गरेको छ । ११औँ संशोधनमा भएका राम्रा कुराहरुलाई ऐन कानुनमा लिपिवद्ध गराएर निर्माण उद्योगमा भएका विकृतिहरुलाई सधैँको लागि अन्त्य गर्ने, कामको वितरणको असमान प्रणालीको अन्त्य गर्ने र अहिले निर्माण उद्योगमा भईरहेको जुन कार्टेलिङ छ, त्यो कार्टेलिङलाई अन्त्य गर्ने अभियानमा म छु ।
मिलिमतोमा काम लिने मान्छे चाहिँ अत्याधिक सफल हुने, मुलुकमा ६/८ वटा कम्पनीले मुलुकभरको काम लिएर अरुलाई ज्वाइन्ट भेन्चरको नाममा, सब कन्ट्रयाक्टरको नाममा, पेटी कन्ट्रयाक्टको नाममा १५/२० प्रतिशत लाभ लिएर काम दिने परिपाटी छ, यसको अन्त्य हुने मैले देखेको छु ।
सँगै, ११औँ संशोधनले भनेको ५ वटा मात्रै काम लिन पाउने जुन व्यवस्था छ, यसले निर्माण उद्योगमा देखिएको दास प्रथाको पनि अन्त्य हुनेछ ।
यी काम चाहिँ तपाईको अहिलेको कार्यकालमा भएका सफलता हुन् र अब यीनलाई संस्थागत गर्न फेरि अध्यक्षमा उम्मेदवारी तपाईको भनेर बुझ्दा हुन्छ ?
सफलता नै त होइन, तर सफलताको आवाज हो, सफलताको प्रस्थान बिन्दु हो । मन्त्रिपरिषदले स्वीकार गरिसकेको छ, अर्थमन्त्रीले श्रम सहकारीको विषय पनि ल्याउनु भएको छ । अब प्रमाणिकरण हुन बाँकी छ ।
सर्टिफिकेट ८० प्रतिशत चाहिने व्यवस्थालाई ६० प्रतिशतमा झारिएको छ । २ वटा भए ४० प्रतिशत हुने व्यवस्था छ । म्याद थपको कुरा पनि सम्बोधन गरेको छ ।
अहिलेको सरकारले गरेको नियमावलीको संशोधन पूर्वाधारमैत्री छ ।
मेरो उम्मेदवारी यस्तै सुधारका कामको लागि हो । ठूलादेखि साना व्यवसायीसम्मलाई कामको समान अवसर प्रदान हुने वातावरण बनाउनकै लागि मेरो उम्मेदवारी हो ।
यसअघिको महाधिवेशनमा दलगत प्यानल बनेको थियो, तपाई त्यहीँबाट जितेर पनि आउनुभयो । यसपटक पनि यहीँ दलगत प्यानल बन्ने प्रक्रियाले निरन्तरता पाउँछ कि, व्यवसायिक प्यानल बन्नुपर्छ ?
म महासंघको अहिले नेतृत्वमा छु । म सदस्यदेखि विभिन्न पदमा रहँदै अध्यक्ष भएको हुँ । म महासंघमा बसेर राजनीति गर्दिनँ । म पेशामा पनि सक्रिय छु । पेशामा सक्रिय भएका कारण मैले यसको ‘ग्राउण्ड रियालिटी’ बुझेको छु ।
महासंघमा पनि उत्तिकै सक्रिय भएको हुनाले महासंघको भूमीका के हुनुपर्छ भन्ने पनि बुझेको छु । मैले लोभ नगर्दा, मैले केही त्याग गर्दा समग्र मुलुकको हित हुन्छ, निर्माण व्यवसायको क्षेत्रको हित हुन्छ र जनताले सुख पाउँछन् भने किन नगर्ने भनेर केही ठूला व्यवसायीको असहमति हुँदाहुँदै पनि उनीहरुको कोपभाजनको शिकार हुँदा हुँदै पनि मैले ऐन कानुन पूर्वाधारमैत्री ल्याउन पहल र परिश्रम गरेको छु । यसमा मलाई पदाधिकारी साथीहरुले सहयोग पनि गर्नु भएको छ ।
मैले दुःखका साथ भन्नुपर्छ, केही पदाधिकारीहरुलाई आफ्नो फर्मको, आफ्नो कम्पनीको हितमा लाग्नुपर्ने बाध्यता पनि हुन्छ, त्यसैले पनि मैले आकांक्षी अरु उम्मेदवारलाई महासंघको अध्यक्ष पद हस्तान्तरण गर्दा निर्माण उद्योग सुरक्षित हुन्छ, ऐन कानुन सुरक्षित हुन्छन् भन्ने नलागेकै कारण फेरि पनि भन्छु, मैले दोहोर्याउन आवश्यक ठानेको छु ।
म पार्टीगत रुपमा नेपाली काँग्रेससँग नजिक छु, म काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुँ । तर, मेरो प्रयास के रहन्छ भने, महासंघभित्र सबैलाई अटाउनुपर्छ र सबैले स्पेस पाउनुपर्छ । यहाँ काम गर्न योग्य व्यक्तिहरु छानिनुपर्छ ।
व्यवसायिक प्यानलको कुरा गर्दा, महासंघ यस्तो ठाउँ हो, यहाँ हरेक विचार बोक्नेले स्थान पाउनुपर्छ । म पार्टीगत रुपमा नेपाली काँग्रेससँग नजिक छु, म काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुँ । तर, मेरो प्रयास के रहन्छ भने, महासंघभित्र सबैलाई अटाउनुपर्छ र सबैले स्पेस पाउनुपर्छ । यहाँ काम गर्न योग्य व्यक्तिहरु छानिनुपर्छ ।
मैले आफू अध्यक्षको उम्मेदवार बन्दैगर्दा महासंघलाई आवश्यक पर्ने व्यक्तिहरु नै आफ्नो समूहमा राख्छु । मेरो टिममा पर्ने साथीहरु कुन पार्टीमा आस्था राख्नुहुन्छ, कुन विचारको हुनुहुन्छ भन्ने कुरा मलाई मतलबको विषय बन्दैन, हाम्रा मान्छे भन्दा पनि महासंघलाई आवश्यक पर्ने राम्रा साथीहरुकै प्यानल बन्छ र बन्नुपर्छ ।
महासंघको निर्वाचन राजनीतिक दलको प्रतिष्ठाको विषय बन्न थालेको छ । तपाईले नै स्वीकार गरिसक्नु भयो की, म काँग्रेसको सक्रिय कार्यकर्ता हुँ भनेर । यस्तो अवस्थामा महासंघलाई राजनीतिक हस्तक्षेपभन्दा बाहिर कसरी राख्नुहुन्छ ?
मैले अब परीक्षा दिईराख्नुपर्दैन । महासंघमा २०५६ सालमा प्रवेश गरेदेखि अहिलेसम्म यो २२ वर्षको अवधिमा मैले महासंघभित्र पार्टीगत राजनीति गरिँन । म अध्यक्षमा निर्वाचित हुने समयमा विविध कारणले दलगत प्यानल बन्न गएको हो ।
अहिले पनि सबै साथीहरुका अगाडी मेरो भूमीका छर्लङ्ग छ । महासंघको नेतृत्वमा रहँदा मैले राजनीतिक रंग ल्याएर कसैलाई विभेद गरेँ कि, सबैलाई समेटेर हाम्रो उदेश्य पूर्तिमा लागे भन्ने कुरा तपाईहरुले म स्वयंसँग भन्दा अरु पदाधिकारी, सदस्यहरु, साधारण सदस्यहरु, जिल्लाका साथीहरुलाई सोध्दा राम्रो हुन्छ ।
महासंघको अध्यक्षको गतिविधि महासंघलाई राजनीतिकरण गर्ने रह्यो की, व्यवसायिक शुद्धिकरण गर्नेतिर रह्यो भन्ने मूल्यांकन सबै साथीहरुले गर्नु भएकै छ ।
राजनीति गर्ने थिएँ भने म त उहाँहरुसँग सहकार्य गरेर साना व्यवसायीको हित छोडेर एउटा निर्माण कम्पनीले ५ मात्रै होइन, सय, दुई सय काम होल्ड गर्न पाउनुपर्छ भनेर लाग्थेँ होला नि त
राजनीति गर्थेँ भनेँ त, जसको कोपभाजन हुनु परेको छ, उहाँहरु मेरै पार्टीका शीर्ष व्यक्तिहरु पनि हुनुहुन्छ, अर्को पार्टीका शीषस्थ व्यक्तिहरु पनि हुनुहुन्छ । राजनीति गर्ने थिएँ भने म त उहाँहरुसँग सहकार्य गरेर साना व्यवसायीको हित छोडेर एउटा निर्माण कम्पनीले ५ मात्रै होइन, सय, दुई सय काम होल्ड गर्न पाउनुपर्छ भनेर लाग्थेँ होला नि त ।
समग्रमा साना निर्माण व्यवसायीहरुले भोगिरहेको चुनौतीलाई सफलतापूर्वक अवतरण गरेर, अत्यन्त घटीमा गएर काम लिनुपर्ने बाध्यता हटाउन लागेको हुँ नि । हिजो झण्डै दुई तिहाईको नेकपाको सरकार हुँदा पनि सहकार्य गरेर व्यवसायीका तर्फबाट कुरा राख्न कमी गरिँन । म काँग्रेसमा आस्था राख्छु, त्यसकारण कम्युनिष्टसँग कुरा गर्नुहुँदैन भन्ने मानसिकता कहिल्यै राखिँन र राख्दिँन पनि ।
गत महाधिवेशनमा एक पटक अध्यक्ष बन्छु, दोहोर्याउन उचित हुँदैन भन्नुभएको थियो । फेरि अध्यक्षमा उम्मेदवार बन्दा नैतिक रुपमा असजिलो हुँदैन र ?
मैले एकपटक मात्रै नेतृत्व लिँदा ठिक हुन्छ, दोहोर्याउन उचित हुँदेन भनेको हो । तर, म एक पटक मात्रै अध्यक्ष बन्छु भनेको थिइँन । अर्को कुरा, म पछि यो व्यक्ति है भनेर मैले कसैलाई ‘कमिटमेन्ट’ गरेको पनि थिइँन ।
तर, कतिपय कार्यक्रममा भने मैले महासंघको नेतृत्व परिवर्तनका लागि नीति परिवर्तन गरेर नेतृत्व हस्तान्तरणको आधार तयार गर्नुपर्छ भनेकै हो । मैले नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेको सत्य हो, तर कसैलाई कमिट गरेको होइन । जुन खालका नीति परिवर्तन गर्ने उदेश्य लिएर अध्यक्ष भएको हुँ, त्यो पूरा भएपछि अरु साथीलाई मौका दिनुपर्छ भनेको हुँ, कमिट गरेको होइन ।
नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने साथीहरु पनि हुनुहुन्छ । यस्तो अवस्थामा महाधिवेशनमा आउने प्रतिनिधिहरुले मलाई नै दोहोर्याउँछन् भन्ने आत्मविश्वास चाहिँ कति छ ?
समग्रमा मुलुक भरीका साथीहरुले मेरो गतिविधि नियालेर बस्नु भएको छ । मैले विगतमा के गरेँ, अध्यक्ष भएपछि मेरो भूमीका कस्तो रह्यो, मेरो नेतृत्वले कुन कुन कामहरु गर्यो, यी सबैको मूल्यांकन उहाँहरुले गर्नु भएको छ । र, त्यो मूल्यांकनको आधारमा मैले लिएको निर्माण उद्योगको विकास, निर्माण व्यवसायको क्षेत्रको विकासमा मलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।
साथीहरुले नै अनुरोध गरेर, तपाईले दोहोर्याउन आवश्यक छ, दोहोर्याउनु पर्छ भनेपछि नै मैले अध्यक्षमा उम्मेदवार बन्ने निर्णय गरेको हुँ । त्यसकारण म सत् प्रतिशत विश्वस्त छु ।
ठूला कम्पनीहरुको महासंघमा हस्तक्षेप हुन्छ भन्छन् । उनीहरु नै निर्णायक हुन्छन् पनि भन्ने गरिन्छ, यो कति हदसम्म साँचो हो ?
ती कम्पनीको नाम लिए पनि नलिए पनि स्पष्टै छ । वर्षौदेखि सबैलाई थाहा भएकै नामहरु हुन् ।
मेरो कार्यकालमा एउटा कम्पनीले ५ वटा भन्दा बढी काम एकैपटक लिन नपाउने व्यवस्था भएकोमा उहाँहरु सन्तुष्ट हुनुहुन्न । उहाँहरु त निर्माण उद्योगमा लागेका दशौँ हजार व्यवसायीहरुलाई रैती बनाउन चाहनुहुन्छ । उहाँहरु के चाहनुहुन्छ भने, सबै आएर आफ्नो ढोका चाहारोस्, आफ्नो फर्ममा अरुले काम गर्दियोस्, त्यसवापत लाभ लिन पाईयोस् ।
उहाँहरुको कोशिस नै के हुन्छ भने, आफ्नो कम्पनी भन्दा बाहेक अर्को कम्पनी छनोट हुने देखियो भने ब्यापक प्रतिस्पर्धा गराईदिने र माथि उठ्नै नदिने, सिमित व्यवसायीलाई मात्रै हुने गरेर ठेक्का निकाल्न सेटिङ गर्ने उहाँहरुको परिपाटी छ ।
मुलुकमा ७/८ वटा कम्पनीको नाम मैले लिए पनि नलिए पनि यसबाट सबैजना परिचित नै हुनुहुन्छ । यसमा महासंघकै केही पदाधिकारी साथी पनि हुनुहुन्छ । सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनमा उहाँहरुको पनि सहमतिमै पठाईएको माग हो ।
सुदुरपश्चिममा गएर केही ठूला निर्माण व्यवसायीहरुले ५ वटा मात्रै काम लिन पाउने व्यवस्था हुँदैन भनेर अभिव्यक्ति नै दिए
तर, सहमतिमै पठाएपनि आफ्नो अनुकुलका विषय पारित गराउने र एउटा निर्माण कम्पनीले ५ वटासम्म मात्रै काम लिन पाउने व्यवस्था खारेज गर्ने, ८० प्रतिशतको सर्टिफिकेटको व्यवस्थालाई ६० प्रतिशतमा झारेकोमा ८० नै कायम गराउने भनेर उहाँहरुको व्यापक दौडधूप छ । यो कुरा नांगिसकेको छ ।
सुदुरपश्चिममा गएर केही ठूला निर्माण व्यवसायीहरुले ५ वटा मात्रै काम लिन पाउने व्यवस्था हुँदैन भनेर अभिव्यक्ति नै दिए । किन भन्दा, उहाँहरुलाई २५, ३०, ४० वटा काम लिएर बेच्नु छ । ५ वटा आफूलाई काम गर्न त भयो, बेच्न भएन । यो कुरा सबैले बुझिसक्नुभयो ।
मैले नामै नलिएपनि को को यस्तो हर्कतमा लाग्नु भएको छ भन्ने कुरा सबै साथीहरुले प्रष्टैसँग थाहा पाईरहनु भएको छ ।
सर्वसम्मत हुने सम्भावना कति छ ?
सर्वसम्मत हुने सम्भावना नै त छैन भन्न सकिँदैन । तर, मैले मेरो अहिलेको कार्यकालमा जुनजुन कुराहरु साना मझौला व्यवसायीको हितका लागि ल्याउन निकै परिश्रम गरेँ, ती कामहरु, नियमहरु, कानुनहरु संस्थागत गर्ने विषयमा एकमत हुनुपर्यो नि । होल्ड भएको रकम रिलिजको कुरा जस्ता निर्माण व्यवसायीका समस्या समाधानमा केन्द्रित हुने फिगर अर्को नदेखिएरै म दोहोरिन आवश्यक परिरहेको छ ।
अरु आकांक्षी साथीहरु मलाई दोहोरिन नदिने पक्षमा हुनुहुन्छ भन्ने सुन्छु । यस्तो अवस्थामा त सर्वसम्मत हुने सम्भावना कसरी रहन्छ र ?
अरु आकांक्षी साथीहरु मलाई दोहोरिन नदिने पक्षमा हुनुहुन्छ भन्ने सुन्छु । यस्तो अवस्थामा त सर्वसम्मत हुने सम्भावना कसरी रहन्छ र ?
राजनीतिक नेतृत्वले पनि म पछिका आकांक्षीहरुमा विश्वास गरेको छैन । प्रधानमन्त्रीले पनि बुझ्नु भएको छ, प्रतिपक्षी दलको नेताले पनि बुझ्नु भएको छ । उहाँहरुले अहिले त क्लोज्ली (नजिक रहेर) महासंघको गतिविधि नियालीरहनु भएको छ ।
महाधिवेशनमा आउने प्रतिनिधिहरुलाई के भन्न चाहनुहुन्छ ?
कुल प्रतिनिधिको ९० प्रतिशत प्रतिनिधिहरु जिल्लाबाट आउँदै हुनुहुन्छ । म प्रतिनिधि साथीहरुलाई सतर्क र सजग रहन अनुरोध गर्दछु । अहिले तपाईहरुले गर्ने निर्णय तपाईहरुको भविष्यसँग गाँसिएको हुन्छ । हामी कठिन मोडमा छौँ ।
मैले गरेका विगतका कामहरुको मूल्यांकन गर्दै आगामी दिनमा अझ बढी रचनात्मक काम गर्न हौसलासहित मलाई तपाईहरुले नेतृत्व प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु
सार्वजनिक खरिद ऐन संशोधन भएर व्यवसायमैत्री बनेर आएपछि सदाको लागि हाम्रा धेरै समस्याहरुको निराकरण हुन्छ । ५ कामको हाम्रो जुन प्रस्ताव छ, यसलाई नियमावलीमा पारित गर्ने, ऐनमा पनि लिपिवद्ध गर्नुपर्नेछ । यसका लागि मेरो उम्मेदवारी आवश्यक छ भनेर साथीहरुले नै भनेको हुनाले मैले पुनः अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।
मैले गरेका विगतका कामहरुको मूल्यांकन गर्दै आगामी दिनमा अझ बढी रचनात्मक काम गर्न हौसलासहित मलाई तपाईहरुले नेतृत्व प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।