'फूटबल खेलेरै जिविकोपार्जन गर्न सम्भव छ, लिगको समय बढाउनुपर्छ', अध्यक्ष शेर्पाको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2022 | 12:23:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी असार ६ गते तय गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन अहिले खेलकूद क्षेत्रमा चर्चाको विषय बनेको छ । अध्यक्ष पदमा अहिलेका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अध्यक्ष कर्मा छिरिङ शेर्पाले आ-आफ्नो प्यानल बनाएर भिड्ने तयारी गरिरहेका छन् ।  

नेपालको खेलकूद क्षेत्रमा लामो इतिहास रहेको फूटबलको विकासका लागि भन्दै दुवै प्यानलले आ-आफ्ना एजेण्डाहरू सार्वजनिक गरेका छन् । २१ पदका लागि कूल ५४ जनाको उम्मेदवारी परेको छ । 

यस विषयमा बिजपाटीले अध्यक्ष पदका प्रत्यासी शेर्पासँग कुराकानी गरेको छ । कुराकानीको क्रममा उनले 'संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सबलीकरण र व्यवसायीकता हाम्रो अभियान' नारासँगै आफ्नो उम्मेदवारी रहेको बताएका छन् । 

बिजपाटीले उनलाई 'तपाईंले गत चार वर्षमा गर्न नसकेको के काम छ, जुन तपाई अहिले जितें भने गर्छु भनिरहनु भएको छ ?' भनेर प्रश्न सोधेको थियो । प्रस्तुत छ, शेर्पासँग गरिएको कुराकानीको सम्पादित अंश : 

एन्फाको अध्यक्षमा उम्मेदवारी दिनुभएको छ, तपाई नै दोहोरिनुपर्ने किन ? 

एन्फामा मेरो उम्मेदवारी भनेको पारदर्शिताका लागि हो, गुड गभर्नेन्सका लागि हो, आर्थिक सबलीकरण गरेर नेपाली फूटबललाई व्यवसायीकतातर्फ उन्मुख गर्नका लागि हो । 

ग्रासरुट फूटबललाई अझै व्यवस्थित गर्ने  र लीगलाई लामो समयसम्म संचालन गर्नुपर्छ । लीगलाई व्यवस्थित नगरेसम्म समग्र फूटबलको विकास गर्न सकिन्न । पूर्वाधारहरू निर्माण गर्न पहल गर्छु । ठूलो ठूलो स्टेडियम होइन, जिल्ला जिल्लामा ट्रेनिङ सेन्टर बनाउने काम गर्नेछु । 

मैले जितें भने सबैभन्दा ठूलो मेगा प्रोजेक्टका रूपमा पोखरामा एउटा एक्सिलेन्स सेन्टर बनाउनेछु । त्यो के हो भने फूटबलका हरेक कुराहरू त्यहाँ सिक्न पाइन्छ । त्यो बहुउद्देशीय ट्रेनिङ सेन्टर हुन्छ । 

तपाईंले गत चार वर्षमा गर्न नसकेको के काम छ, जुन तपाई अहिले जितें भने गर्छु भनिरहनु भएको छ ? 

गत कार्यकालमा १८/१९ महिना त कोभिडले नै सतायो । त्यो समयलाई परिपूर्ति गर्न २० वर्ष लाग्ने भयो । संसारको अर्थतन्त्र नै ध्वस्त भयो । पैसा नभइकन फूटबल चलाउन गाह्रो छ । 

तर पनि कोभिडकालमा एउटा मात्र सक्रिय संस्था एन्फा रहेको थियो । हामीले लाइभ टुर्नामेन्ट गर्यौं । अन्तर्राष्ट्रिय फ्रेन्चाइज गर्यौं । त्यसले गर्दा जीवित संस्थाका रूपमा एन्फा रह्यो । कोभिडकै कालमा विभिन्न अनलाइन कोर्सहरू संचालन गर्यौं । 

नेपालमा पहिलोपटक फिलोसपी बनायौं । कुनै पनि संस्था अघि बढ्न फिलोसपी चाहिन्छ । करिकूलम पनि बनायौं र त्यसलाई पर्ने प्रशिक्षकहरू उत्पादन गरेका छौं । नेपालमा बिग कोचिङ कन्भेन्सन प्राप्त गर्यौं । त्यो भनेको डी, बी र सी लाइसेन्स नेपाल आफैंले इस्यु गर्न सक्ने भएको छ । कुनै पनि प्रशिक्षकलाई लाइसेन्स चाहिन्छ । यो ऐतिहासिक कदम हो । 

हिजो फिफाको कोटा आएपछि मात्र हाम्रो मान्छे जाने प्रचलन थियो, अब हामीले बी देखि डीसम्मको कोर्स यहीं चलाउन सकिन्छ । यससँगै हामीले ४ सय ५० कोचहरू पनि उत्पादन गरिसकेका छौं । 

हामीले उत्पादन गरेका बी लाइसेन्स कोचहरूले यु १९ भन्दा तलका खेलाडीलाई प्रशिक्षण गर्न सक्छ । ए लाइसेन्सले २३ सम्मको गर्न सक्छ । 

तपाईले २०७५ सालको चुनाव जित्दा 'चेन्ज एन्फा' भन्ने नारा ल्याउनुभएको थियो । अहिलेको नारा के हो ?

'संस्थागत विकासका लागि निरन्तर परिवर्तन, आर्थिक सबलीकरण र व्यवसायीकता हाम्रो अभियान' अहिलेको हाम्रो नारा हो । यसमा सबै समेटिएको छ । हिजो हामीले चेन्ज एन्फा भनेर फूटबलको क्षेत्रमा भएको विकृति विसंगती हटाउने काम गर्यौं । 

हिजो आर्थिक नियमावली ल्यायौं । कर्मचारी संचालन नियमावली ल्यायौं । विभिन्न प्रशासनिक संरचनाहरू निर्माण गर्यौं । त्यसलाई संचालन गर्नका लागि स्वायत्त संरचना बनाएका छौं । फूटबल संघको पदाधिकारी भनेको नीति निर्माण गर्ने हो, दिनदिनै आएर काम गर्ने होइन । 

तर विभागलाई बलियो बनाउने, राम्रो मान्छे ल्याउने काम गरेका छौं । हामीले ८ वटा विभाग बनाएका छौं । हिजो कुन कर्मचारी कुन तह भन्ने थिएन, आज हामीले वर्गीकरण गरेका छौं । 

हामीले आर्थिक पारदर्शिताका लागि आर्थिक नियमावली बनायौं । अनि आर्थिक विभाग बन्यो । हिजो लेखा शाखा मात्र थियो । अहिले विभाग बनाएर शाखाहरू बनाएका छौं । 

अहिले आर्थिक विकास अन्तर्गत खरिद शाखा छ । स्टोर शाखा छ, पेमेन्ट गर्दा लेखा शाखाले हेर्छ । हिजो सिंगल इन्ट्री एकाउन्ट सिस्टम थियो, अहिले डबल इन्ट्री सिस्टम छ । खरिद प्रक्रिया सूचनाको आधारमा, टेन्डरका आधारमा, ठूला ठूला खरिदलाई इबिडिङका आधारमा गर्ने गरेका छौं । 

घाइते खेलाडीको उपचार गर्ने पहिलाको एजेण्डा थियो तपाईको । अहिले सबै खेलाडीले उपचार पाए ?

हामीले खेलाडीको उपचारमा क्यासलेस सिस्टम विकास गरेका छौं । खेलाडी घाइते भएपछि अस्पताल गएर उपचार गरेर निस्किदा बिलमा साइन गरेर आउने छ । अस्पतालले इन्स्योरेन्स क्लेम आफैं गर्छ । सबै क्लबहरूले इन्स्योरेन्स गरेको छ । घाइते भएर उपचार गर्न नपाएको भन्ने अहिले कहीं कतै छैन । 

इन्स्योरेन्स नभएका र हामीकहाँ दर्ता नभएका खेलाडीहरूको त हामीले जिम्मा लिने कुरा भएन । फेरि पनि घाइते भएर हामीलाई सूचना आए हामी हेर्छौं । हामीले अहिले प्री-मेडिकल एसिस्मेन्ट शुरू गरेका छौं । हामीले दर्ता गर्नुअघि सम्पूर्ण शारीरिक जाँच गरिन्छ । 

महिला र पुरुष खेलाडीलाई समान सेवा सुविधा नदिइएका कतिपय तथ्यहरू पनि बाहिर आएका छन्, त्यससँगै सबै खेलाडीले पाउने सेवा सुविधा पनि अपर्याप्त रहेको गुनासो छ । के भन्नुहुन्छ ?

हामीले खेलाडीलाई दिइने बोनसमा वृद्धि गरेका छौं र त्यसमा महिला र पुरुष भन्ने छैन । बराबर बोनस दिन्छौं । विदेश जाने खेलाडीलाई प्रतिदिन १४ डलर दिइने गरिएको थियो । अहिले त्यसलाई बढाएर ३५ डलर बनाइएको छ । खाने बस्ने अलग हो । हामीले ट्रेनिङ एलाउन्स पनि दिने गरेका छौं । हिजो थिएन ।

भनेपछि फूटबल खेल्नेहरू खेलबाटै जीविकोपार्जन गर्न सक्ने स्थिति विकास भएको छ भन्ने तपाईंको दाबी हो ? 

धेरै खेलाडीहरू फूटबल खेलेरै बाँच्न सक्ने स्थितिमा छन् । कहीं कतै छुटफुट हुन सक्छ, त्यो पनि समाधान गर्दैछौं । अरू खेलका खेलाडीको तुलनामा फूटबल खेल्नेहरू काठमाडौँ बाहिरै भएपनि जीविकोपार्जन गर्न सक्षम देखिएका छन् । 

त्यसलाई स्थायीत्व दिन लीगलाई अलिकति लामो बनाउने हो । लीगलाई जति लामो बनाउँदै गयो, खेलाडीको तलब पनि बढ्छ । जस्तै ६ महिनासम्म लीग चलाइयो भने १० महिनाको एग्रीमेन्ट हुन्छ । अरू प्री-सिजन टुर्नामेन्टहरू खेल्न पाउँछ । बाह्रै महिना खेल्न पाएपछि जीविकोपार्जन मात्र होइन, खेलाडीले अझ राम्रै लाइफस्टाइल बाँच्न पाउँछ । 

खेलिसकेपछि खेलाडीलाई उपचार र आराम चाहिन्छ । हामी आफैंले रिह्याब सेन्टर बनाएका छौं । खेलाडीको उपचार भन्दा पनि रिह्याबिलिटेसन गर्न समय र पैसा बढी लाग्छ । खेलिसकेपछि स्वास्थ्य रिकभर गर्न धेरै ट्रेनिङ गर्नुपर्छ । 

ग्रासरुट फूटबल भन्नुभयो अघि, त्यो के हो ?

ग्रासरुट फूटबल भनेको समुदाय तहमा फूटबल खेलाउने प्रक्रिया हो । स्थानीय सरकार, जिल्ला र विभागीय संस्था र स्कूलहरूसँग सहकार्य गरेर ६ देखि १२ वर्षका बच्चाहरूलाई हामी प्रत्येक शनिवार ग्रासरुट फेस्टिभल गर्छौं । 

ग्रासरुट कार्यक्रममा एकैपटक ३/४ सय बच्चाहरू टीम बनाएर खेल्न सक्छन् । त्यहाँबाट राम्रो खेल्ने बच्चाहरू हामी छान्छौँ । तिनीहरूलाई स्काउटिङ गर्छौं । हामीले पहिलो २०७५ सालमा ४८ जिल्लामा एकैपटक ग्रास रुट कार्यक्रम संचालन गर्यौं । १७ हजार ५ सय बच्चाहरूले भाग लिए । 

त्यसपछि हामीले अन्डर १३ बच्चाहरूलाई तालिम दिन शुरू गरेका छौं । देशभरिबाट ६ हजार ७ सयले छनोटमा भाग लिए । फूटबलको आधार बलियो बनाउँछ ग्रासरुट कार्यक्रमले । 

तपाईं र पहिला तपाईंसँगै मिलेर काम गरेका अहिलेका अध्यक्षका अर्का प्रत्यासीबीच आरोप प्रत्यारोप चलिरहेको छ । तपाईंलाई पनि विवादमा पार्ने प्रयास भएको देखिन्छ । यसले फूटबललाई माया गर्ने नेपालीहरूबीच निराशा बढेको छ नि ? 

उहाँहरू जसरी चुनाव लड्न खोज्नुभएको छ, तर स्पष्ट एजेण्डा छ जस्तो मलाई लाग्दैन । भ्रष्टाचारका अप्रमाणित कुराहरू गरिरहेका छन् । गाली गरेर, आरोप लगाएर भएपनि चुनाव जितिन्छ कि भन्ने उहाँहरूलाई लागेको होला । उहाँहरूले अख्तियार लगायत मुद्दा हाल्न बाँकी कहीं राख्नुभएन । फिफासमेत जानुभयो, सबै ठाउँमा उहाँहरू पराजित हुनुभएको छ । 

मुद्दामामिलामा हिंड्दा मलाई काम गर्न धेरै अप्ठेरो भयो । पोखराको प्रोजेक्ट पहिल्यै शुरू हुनुपर्ने, मैले क्लीन चीट पाएपछि अहिले शुरू भएको छ । रौतहटको प्रोजेक्टमा अप्ठेरो सिर्जना भयो । 

खेलकूद मन्त्रालय र एन्फाबीचको सम्बन्ध कस्तो रहेको छ ? अहिले भर्खरै बजेट पनि आएको स्थिति छ, तपाईं सन्तुष्ट हुनुहुन्छ कि नाई ? 

अहिलेको बजेटले खेल क्षेत्रको विकास हुन गाह्रो छ । पहिला त पूर्वाधार बन्नुपर्छ । एक वार्ड, एक खेलकूद पूर्वाधार हुनुपर्थ्यो । चाहे भलिबल या टेबुलटेनिस खेल्ने भए पनि वार्डमा एउटा पूर्वाधार चाहिन्छ । तालिम गर्न त्यो पनि पर्याप्त हुन्छ । 

अहिले बच्चाहरूलाई खेल्ने ठाउँ नै छैन । काठमाडौँमा खै खेल्ने ठाउँ ? सबै सोसल मिडियामा व्यस्त भइरहेको अवस्था छ । त्यो समाजका लागि ब्याकफायर हो । बच्चाबच्चीहरूको शारीरिक र मानसिक स्वास्थ्यका लागि पनि खेलकूद पूर्वाधार हुन एकदम आवश्यक छ । 

हामीलाई राज्यले जति मात्रामा ध्यान दिनुपर्थ्यो, त्यति मात्रामा कहिल्यै ध्यान दिएको छैन । खेलकूदमैत्री नीति सरकारले बनाइदिएको छैन । मैले यसबारेमा सरकारलाई पटक-पटक ध्यानाकर्षण गराएको छु । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved