'अरु डुब्दा बैंक पनि डुब्नुपर्छ भन्ने सोच हुनु हुँदैन' बैंकर्स संघका अध्यक्षसँगको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 10:44:31 AM मा प्रकाशित

laxmi  sunrise bank

संचालनमा रहेका सबै कमर्शियल बैंकहरुले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। तीन कमर्शियल बैंक बाहेक सबै बैंकहरुको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको छ। अघिल्लो आर्थिक बर्ष ३ अर्ब खुद मुनाफा गर्ने बैंकले गत बर्ष झन्डै ६ अर्ब खुद मुनाफा आर्जन गरेका छन् भने अन्य बैंकहरुको पनि अवस्था करिब करिब उस्तै उस्तै छ। 

कोभिड १९ पश्चात तन्ग्रिदै गरेको अर्थतन्त्रमा धेरै क्षेत्रहरु अझैं पनि पूर्ण रुपमा संचालनमा आइसकेका छैनन् भने संचालनमा रहेका उद्योग व्यवसायहरुमा पनि हिजोको बाछिटा बाँकी नै छन्। बैंकहरुबाटै कर्जा लिएर संचालनमा रहेका उद्योग व्यवसायहरु अप्ठ्यारो अवस्थामा हुँदा पनि बैंकहरु अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष (केहि अपवाद बाहेक) झन् राम्रो अवस्थामा देखिएका छन्।

यसले पनि बैंकहरु मात्रै नाफामा जान सम्भव कसरी भन्ने प्रश्न गर्नेहरुको संख्या बढेको छ। त्यसो त उद्योगी व्यवसायीहरुका छाता संगठनका प्रतिनिधिहरुले बैंकहरुको ब्याज महँगो भएकाले अब व्यवसाय गर्न नसकिने कुरा सार्वजनिक फोरममै बताउदै आएका छन्। 

 गत आर्थिक बर्षको पहिलो ६ महिनामा बैंकहरु कर्जा लगानीमा आक्रामक देखिए भने पछिल्लो ६ महिना प्रवाह भएको कर्जा र अन्य कुराहरुको व्यवस्थापनमा नै ब्यस्त रहे। नेपाल राष्ट्र बैंकले पनि बैंकहरु आक्रामक भए भन्ने निष्कर्ष निकालेर यो बर्ष १३ प्रतिशतको वृद्धिमा सिमित हुनुपर्ने संकेत सहित मौद्रिक कसिलो मौद्रिक नीति ल्याएको छ। अब यस्तो अवस्थामा पछिल्लो ६ महिनादेखिको लगानीयोग्य रकमको अभावले यो बर्ष पनि निरन्तरता पाउने हो कि भन्ने चिन्ता देखिएको छ। 

मौद्रिक नीति मात्र नभई राष्ट्र बैंकले त्यसको कार्यन्वयनका लागि सर्कुलर पनि जारी गरिसकेको अवस्था हो। अधिकांश बैंक वित्तीय संस्थाहरुले मौद्रिक नीतिको व्यवस्थालाई नै आधार मानेर यो आर्थिक बर्षको लागि योजना बनाइसकेको अवस्था हो। यो बर्ष बैंकहरु कसरी अगाडी बढ्छन्, लगानीयोग्य रकम कसरि जुटाउछन् भन्ने आम सर्वसाधारणको चाँसो छ।  यिनै बिषयहरु समावेश गरेर बिजपाटी डटकमले कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीइओ अनिल उपाध्यायसँग कुराकानी गरेको छ। प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:


अर्थतन्त्र अप्ठ्यारोमा हुँदा पनि बैंकहरु नाफामै रहन सम्भव कसरी ?

रोग लाग्ने बित्तिकै सबै बिरामी हुनुपर्छ भन्ने पनि होइन। नत दुर्घटना हुने बित्तिकै सबै घाइते हुन्छन भन्ने छ।  बैंकहरु कसरि संचालन गर्ने भन्ने कुरा नेपाल राष्ट्र बैंकले प्रष्ट रुपमा गाइडलाइन बनाइदिएको छ। बैंकहरु त्यसलाई नै पालना गरेर चलेका छन्।  अन्य क्षेत्रको तुलनामा बैकहरु 'गुड गभर्नेस' मा रहेर संचालनमा छन्।  कति ब्याज लिने, कत्रो साइजको वृद्धि लिने जस्ता कुराहरु पहिल्यैदेखि निर्धारण छन्।  

अघिल्लो बर्ष हामीसंग लगानीयोग्य रकम प्रशस्त थियो र बैंकहरुले थोरै मार्जिनमा पनि काम गरिरहेका थिए। तरलतामा दबाब हुँदै जाँदा लगानीयोग्य रकममा दबाब पर्दै गयो र पछिल्लो समय थोरै ब्याज महँगो भएको छ। यसले गर्दा बैंकहरु परिस्तिथि हेरेर र राष्ट्र बैंकको निर्देशन भित्र रहेर काम गरिरहेका हुनाले पनि बैंकहरु सहि ट्रयाक मा रहेका हुन्। 

तर अरु सबै क्षेत्र घाटामा छन्, अप्ठ्यारोमा छन् त्यहि भएर बैंकहरु पनि घाटामा जानु पर्छ भन्ने सोच राख्नु हुदैन। सबै डुबेपछि बैंक पनि डुब्नुपर्छ भन्ने अवधारणाबाट ग्रसित हुनुहुदैन। बैंकिंङ क्षेत्र अप्ठ्यारोमा पर्यो भने समग्र अर्थतन्त्र अप्ठ्यारोमा हुन्छ भन्ने बिर्सिनु हुदैन। बैंकहरुले आफ्नो संचालन खर्च, फिल्ड मुभमेन्ट, कर्जा प्रवाहको वृद्धि, कर्जा व्यवस्थापन जस्ता कुराहरु समयमै मिलाउन सकेकाले अरु क्षेत्र अप्ठ्यारोमा हुँदा पनि यो क्षेत्र केहि नाफा र सन्तुलित अवस्थामा देखिएको हो। 

ब्याजमा भद्रसहमति र राष्ट्र बैंकको संरक्षण पनि बैंकहरु नाफामा जानुको कारण हो ?

बैंकहरुले प्रत्येक महिना ब्याज बढाएको भए त्यसले बैंकको लागत बढाउथ्यो।  यसले समग्ररुपमा ब्याज बढेर बजारमा लागत बढ्थ्यो। यो कुरा त अर्थतन्त्रका लागि राम्रो होइन नि। एकातर्फ  बैंकहरुको लागत बढ्दा त्यसले बेस रेट पनि बढ्छ। बेस रेटमा केहि प्रतिशत प्रिमियम जोडेर ब्याज निर्धारण गर्ने हो।  अब लागत नै बढाउने हो भने त सबै कर्जाको ब्याज बढ्ने हुँदा भद्रसहमति को विकल्प नभएको हो। अर्कोतर्फ, ब्याज बढाउदा पनि बैंकहरुमा पैसा आउने अवस्था नभएपछि कहिलेसम्म ब्याज बढाएर जाने र बढिरहेको लागत ब्योहोरने भन्ने कुरा पनि हो। यसले गर्दा पनि बैंकहरुबीच ब्याजमा एउटा समझदारी बनेको हो।  

तर हामीले बैंकको पुंजीको भार जति छ त्यसअनुसार प्रतिफल दिन सकेका छैनौ भन्ने कुरा हामीले बुझाउन सकेनौं। आजका दिनपनि बैंकहरुले दिने प्रतिफल र बैंकहरुको रिटर्न अन्य क्षेत्रको तुलनामा कम नै छ। हाम्रो लगानी र त्यसको प्रतिफलको अन्तर हामीले बुझाउन सकेनौं।  

भद्र सहमति तोडेर बजारलाई नै ब्याज निर्धारण गर्न दिनलाई बैंकहरु तयार नभएको किन ?

हामीले छिमेकी मुलुक र आफ्नो अवस्था पनि हेर्नुपर्छ। अहिले व्यक्तिगत निक्षेपमा ११ प्रतिशत र रेमिट्यान्समा १२ प्रतिशत र संस्थागतमा व्यक्तिगत मुद्दतिमा भन्दा २ प्रतिशत कम आफैंमा नराम्रो होइन। 

पैसाको स्रोत बढेको भए पैसा तान्नलाई पनि ब्याज बढाउँने कुरा हुन्थ्यो तर पैसा नबढ्ने, ब्याज बढ्ने हुँदा त बैंकहरुको लागत मात्र बढ्ने अवस्था आयो। निक्षेपको वृद्धि होला भन्ने थियो तर असारको तुलनामा झन्डै एक सय अर्बले बैंकहरुमा निक्षेप घटिसकेको छ।  यदि पैसा आउँछ भने हामि पनि बजारमा जान तयार छौं। 

भद्र सहमति कायम रहन्छ ?

दुईचोटी ब्याज बढाउँदा हामीले आलोचना भोगेकै हो। ब्याज बढाउँदा लागत बढ्ने भयो, व्यवसाय गर्न गाह्रो भयो , महंगी बढ्ने भयो भनेर हाम्रो आलोचना भएकै हो। दुई दुई पटक ब्याज बढाउँदा पनि प्रणालीमा पैसा नआएपछि ब्याज नबढाउँने सहमति भएको हो र यो समय परिस्तिथिअनुसार यसको निरन्तरता हुने नहुने निर्णय हुन्छ। 

सरकारले बिक्रि गरेको ट्रेजरी बिलमा महँगो ब्याज कबोलेर ब्याज बढाउँन तर्फ लागे बैंकहरु भन्ने आरोप छ, बैंकहरु नाफामुखी मात्र किन ?

यो अन्तराष्ट्रिय अभ्यास हो। हामीसंग भएको पैसा हामीले बिभिन्न ठाउँमा, बिभिन्न उपकरणमा लगानी गर्छौं। अहिले ट्रेजरी बिलमा कबोल गरेको ब्याज पनि सिस्टममा रहेर नै गरिएको कुरा हो। यसलाई अन्यथा लिनु पर्दैन। तर यो दिर्घकालिन भने होइन। 

मौद्रिक नीतिमा लघुवित्तलाई जाने कर्जामा आधार दरमा दुई प्रतिशत मात्र ब्याज लिन पाउने व्यवस्थाले लघुवित्तमा कर्जा कम जाने र स्रोतको अभाव हुने चिन्ता देखिएको छ, के स्रोतको अभाव होला त ?

हामीलाई तोकिएको र निर्देशित व्यवस्थाभित्र रहेर नै लगानी लगायतका कुराहरु निर्णय लिनुपर्ने हुन्छ।  बैंकहरुलाई पनि यो सीमाभित्र रहेर काम गर्नु भनेर दीइएको निर्देशन हो, तर यसको अर्थ त्यो भन्दा बढी कर्जा नदेउ भनेको होइन। बैंकहरुले ५ प्रतिशत कर्जा दिंदा लघुवित्तलाई स्रोतको अभाव हुन्छ भन्ने होइन। 

अन्तमा, सबै बैंकहरुको नाफा बढ्दा कृषि विकास बैंकको नाफा घट्यो किन ?

नाफा घटेको छ तर कुन कारणले घट्यो भन्ने महत्त्वपूर्ण कुरा हो। अन्य क्षेत्रमा गरेको लगानीमा असर परेर नाफा घटेको होइन। ट्रेडिङ क्षेत्र अर्थात सेयर बजारमा गरेको लगानीमा असर पर्दा नाफामा असर देखिएको हो। सेयर बजारनै घटिरहेको अवस्था छ, यसले गर्दा हाम्रो ब्यालेन्स सिटमा २०-२२ करोडको असर देखिएको हो।

तर हाम्रो अरु कारोबार, कर्जा गुणस्तर, एनपीए लेभल, ब्याज आम्दानि, संचालन खर्च घटाउने जस्ता कुराहरुमा कृषि विकास बैंकले राम्रो गरेको छ।  तर अरु क्षेत्रमा राम्रो हुँदा हुँदैपनि सेयर बजार घटिरहेकाले असर देखिएको हो।  हामीले अवस्था जे छ त्यहि देखाएर अगाडी बढ्दा ब्यालेन्स सिट केहि करोडले कम देखिएको हो। भोलि सेयर बजार थोरै बढ्ने बित्तिकै राम्रो देखिन्छ। यद्दपि हाम्रो वितरणयोग्य मुनाफा राम्रो रहेकाले निराश हुनुपर्ने अवस्था छैन।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved