महासंघमा युवा नेतृत्वको माग छ, म स्वभाविक रुपमा त्यहाँ फिट छु: अञ्जन श्रेष्ठ (अन्तर्वार्ता)

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 14, 2023 | 06:49:27 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग र वाणिज्यको क्षेत्रमा २० वर्ष क्रियाशिल रहेका अञ्जन श्रेष्ठ पोखराबाट उदाएको लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्षसमेत रहेका श्रेष्ठ बरिष्ठ उपाध्यक्ष हुँदै ३ वर्षपछि अध्यक्षको जिम्मेवारी सम्हाल्ने लक्ष्यका साथ चुनावी अभियानमा होमिएका छन् ।

३० वर्ष लामो औद्योगिक/व्यवसायिक जीवनको उपलब्धीलाई महासङ्घमा लगाएर ‘यूथ लिडरसीप’को उदाहरणीय पात्र बन्ने हुटहुटी पनि रहेको बताउने श्रेष्ठसँग बिजपाटी डटकमले महासङ्घको आसन्न निर्वाचन र उनको उम्मेदवारी, महासङ्घलाई साना मझौला व्यवसायीको प्रतिनिधित्व गर्न नसकेको भन्दै लाग्ने गरेको आरोप र महासङ्घको आगामी कार्यभारमा केन्द्रित रहेर गरेको कुराकानीका सम्पादित अंश:

एफएनसीसीआइमा तपाइँको उम्मेदवारी किन र के–का लागि ?

सर्वप्रथम त अहिलेको परिस्थिति बुझ्नुपर्छ भन्ने लाग्छ । अहिलेको परिस्थितिले परिवर्तन माग गरेको छ । देशका सबै क्षेत्रतिर हेर्ने हो भने युवा नेतृत्वको माग बढ्दो छ । युवा नेतृत्व, नयाँ सोच, नयाँ उर्जा र जाँगर मागेको परिस्थिति छ । महासङ्घका वस्तुगत र जिल्ला नगर सङ्घहरुमा पनि हेर्ने हो भने पछिल्लो समय युवा पुस्ताले नेतृत्व गर्न थालेका छन्, यो सकारात्मक कुरा हो । यसले के देखाउँछ भने, युवा नेतृत्व स्थापित गराउन परिवर्तनकारी युवाहरु एकजुट हुँदैछन् भन्ने देखाउँछ । यस्तो परिस्थिति निर्माण हुँदै गएको अवस्थामा म कहाँ फिट हुने भन्ने कुरा आउँदा स्वभाविक रुपमा मैले आफूलाई अहिले बरिष्ठ उपाध्यक्ष हुँदै ३ वर्षपछि महासङ्घको अध्यक्षका रुपमा उभ्याउन खोजेँ ।

उद्योग वाणिज्य महासङ्घमा मेरो २० वर्ष लामो संलग्नता छ । ६ वर्ष समितिको सदस्य भएँ, २ पटक राजस्व समितिको सह–सभापति भएँ । रोजगारदता परिषदमा ९ वर्ष काम गरेँ । वाणिज्य समितिको सदस्य र उद्योग समितिको सभापति पनि भएर काम गरेको छु । यसको अर्थ उद्योग वाणिज्य महासङ्घभित्र उद्योग वाणिज्य क्षेत्रका सबै विधामा, सबै ठाउँमा कुनै न कुनै रुपमा योगदान गरेको छु । काम गरेको छु भन्ने दावी मात्रै होइन, रिजल्ट निकाल्ने प्रयत्न गरेको छु, अनुभव बटुलेको छु । सबै विधामा काम गर्ने अवसर पाएको हुनाले कहाँ के हुन्छ, के गर्नुपर्छ भन्ने सबै विषयमा म जानकार नै छु ।

यी सबै विषयलाई समेटेर स्पष्ट योजनासहित २० वर्ष लामो चेम्बर मुभमेन्टको अनुभव, उर्जा र आत्मविश्वाससहित उद्यमी/व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाएर मैले बरिष्ठ उपाध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेको छु । 

चेम्बर अभियानमा तपाइँको औद्योगिक र व्यवसायिक अनुभवको प्रयोग कसरी गर्नुहुन्छ ?

मेरो व्यवसायिक यात्रा ३० वर्षभन्दा लामो छ । कलेज पढ्दा २०४५ सालदेखि नै मैले मेरा अभिभावकलाई सघाउन सुरु गरेको हुँ । २०३० सालमा हाम्रो उद्यम ३ सयबाट सुरु भएको हो । अत्यन्त सानो आकारबाट उद्यम सुरु गर्दा अभिभावकले भोगेका पीडा र चुनौतीबारे म राम्रोसँग जानकार छु । नेपालमा उद्यम व्यवसाय गर्न कहाँ–कहाँ कठिनाई छन् भन्नेबारे म जान्दछु । यस्तो कठिनाई हुनुहुँदैन भन्ने मान्यता पनि राख्छु । उद्यमशिलता घरमै सिकेको हुँ । बुबाको औला समाएर सिकेको हुँ । नेवार परिवार भएको हुनाले सामान्य व्यापारमा त थियौँ नै, तर उद्योग नै भने चाहीँ हजुरबुबा बितेपछि मेरा बुबाहरुलाई हुर्काउन बढाउन बज्यैले सेलरोटी पकाएर बेच्नुहुन्थ्यो, पुष्टकारी बनाएर बेच्नुहुन्थ्यो । त्यो तहबाट आएका हौँ । यो तहबाट सुरु भएर हामीले आज कन्फेन्सनरी उद्योगलाई ४९ वर्षको इतिहास बोकेको बनायौँ ।

यसपछि नयाँ क्षेत्रमा डाइभर्सिटी गर्नुपर्छ भनेर डेरीमा संलग्न भयौँ । डेरी उद्योग भनेको चाहिँ गाउँ–गाउँमा नगद प्रवाह गर्ने सशक्त माध्यम रहेछ भन्ने म ठान्दछु । यो मैले र हामीले अनुभूत गरेको कुरा हो ।

शहरी अर्थतन्त्रबाट ग्रामिण अर्थतन्त्रमा नगद प्रवाह गर्ने यो जत्तिको सशक्त माध्यम अरु हुँदैनन् भन्ने अनुभूत भएको छ । कसरी भन्दा, यसले हरेक दिन गाउँ गाउँमा नगद प्रवाह हुन्छ । तरकारी खेती गर्यो भने सिजनमा हुन्छ, एकपटक बाली लगायो भने त्यसले गाउँमा पैसा भित्र्याउन ३ महिना लाग्छ । तर, दूध वर्षभरी हरेक दिन उत्पादन हुन सक्छ/हुन्छ । यसले हरेक दिन गाउँमा पैसा भित्र्याउँछ । हामीले यहीँ भएर आज देशकै ठूलो दूग्ध प्रशोधन उद्योगका रुपमा ‘सुजन डेरी’लाई स्थापित गर्न सफल भयौँ ।

उद्योगलाई डाइभर्सिटी गर्ने क्रममा प्याकेजिङ उद्योग हामीसँग छ, स्टिल उद्योगमा छौँ, ट्रेडिङ बिजनेशमा पनि आयौँ, हुण्डाई गाडी बिक्री गर्न ट्रेडिङमा अटोमोबाइल्स व्यवसायमा छौँ । प्यासेञ्जर भेहिकलमा लिडमा छौँ । खाद्यान्न उद्योगको तयारीमा छौँ । अहिले १० वटा जति उद्योग रनिङ छन् । समग्रमा उत्पादनदेखि ट्रेडिङसम्मका यी औद्योगिक र व्यवसायिक जीवनका ३० वर्षे अनुभवहरुलाई मैले महासङ्घमा लगाउन खोजेको हुँ ।

तपाईको टिमका सारथी चाहिँ को–को हुनुहुन्छ ?

हाम्रो टिम क्लियर छ । जिल्ला/नगर उपाध्यक्षमा अरुणराज सुमार्गी (मकवानपूर जिल्ला उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्ष, हाल महासङ्घको कृषि उद्यम केन्द्रको सभापति), वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ हुनुहुन्छ ।

उहाँहरु सबैजना काविल हुनुहुन्छ । अरुणराज सुमार्गीको जिल्ला/नगरमा आफ्नै विशेषता र योगदान छ । मनिषलाल प्रधान भनेको महासङ्घलाई यो स्थानमा ल्याउन नेतृत्वमै रहेर योगदान गर्नुभएका महेशलाल प्रधानका छोरा हुनुहुन्छ ।  ज्योत्सना श्रेष्ठ सफल महिला उद्यमी र महासङ्घमा पर्यटन समिति हाँकिसक्नु भएको व्यक्ति हुनुहुन्छ । पदाधिकारीमा महिला उम्मेदवार उभ्याएका छौँ, यो भनेको समावेशिताको ठूलो उदाहरण हो । सबै क्षेत्रलाई समेटेर समावेशी टिम बनाएका छौँ । सदस्यहरु टुङ्गो लाग्न बाँकी छ, केही दिनमै औपचारिक घोषणा गर्छौँ । 

महासङ्घलाई साना/मझौला व्यवसायीको समस्या सुन्दैन भन्ने आरोप लाग्छ, यो आरोप चिर्न सक्नुहुन्छ ?

साना व्यवसायीहरुको आवाज सुन्दैन महाङ्ंघले भन्ने आवाज उठेको चाहीँ छ । तर, व्यवसायी भनेको सबै व्यवसायी नै हो, साना र ठूला भनेर भन्नु हुँदैन भन्ने मान्यता म राख्दछु । काम गर्दै जाँदा कसैको व्यवसायको भोलुम ठूलो भयो होला, कसैको सानै रह्यो होला । त्यसैले कारोबारको भोलुमलाई हेरेर साना व्यवसायी र ठूला व्यवसायी भनिनु नै गलत हो । अर्को कुरा, साना मझौला व्यवसायीले बिक्री गरिदिएन भने ठूलाले कहाँ लगेर बेच्ने ? धानेको त साना मझौला भनिने व्यवसायीहरुले नै हो । साना डुब्यो भने ठूलो त उसै डुब्छ नि ।

अर्को कुरा, महासङ्घले साना भनिएका सानो आकारमा कारोबार गर्नेहरुको संरक्षण गरेको छ । विभेद गर्यो, आवाज सुनेन भन्ने आरोप यदाकदा लागे पनि समग्रमा काम गरेको चाहीँ छ । जस्तो, कोरोनाका बेलामा साना/मझौला व्यवसायीलाई रि–फाइनान्सिङ सुविधा देउ भनेर महासङ्घले नै भनेको हो, त्यही अनुसार मौद्रिक नीतिमार्फत रि–फाइनान्सिङ सुविधा दिइयो पनि । अहिले राष्ट्र बैंकले २ करोडसम्मको ऋणलाई ६ महिनासम्मको टाइम दिएको छ, ठूलो ऋण भएकालाई १ महिना दियो । अझ महासङ्घले त साना/मझौला व्यवसायीलाई एक वर्ष देउ भनेको थियो । उत्पादनमा लागेका साना ऋणीहरुलाई ट्रेडिङमा जानेभन्दा सस्तोमा कर्जा दिनुपर्छ भनेर महासङ्घले भनेको हो । साना मझौला व्यवसायीलाई प्राथमिकतामा राखेर नीति बन्नुपर्छ, कर्जा प्रवाह हुनुपर्छ भनेर हामीले देशभरीको अध्ययन नै गरेर प्रतिवेदन बनाएर सरकारलाई बुझाएका छौँ । अस्ति भर्खरै पनि महासङ्घले साना, मझौला व्यवसाय प्रवद्र्धनका लागि सम्मेलन नै गरेको छ ।

सर्बसम्मत बरिष्ठ उपाध्यक्ष बन्ने प्रयास कत्तिको गर्नुभएको छ ?

सबै दाबेदारहरु सर्बसम्मतका लागि तयार हुँदा सर्बसम्मत हुने हो । सबैले सबैलाई स्वीकार गर्ने वातावरण बन्नुपर्छ । यसका लागि प्रयासहरु पनि भइरहेकै छन् ।  सर्बसम्मत भन्ने वित्तिक्कै व्यक्ति र पात्रमा जानु भएन, एजेण्डामा बहस छलफल हुनुपर्यो । म भए ठिक, उ भए बेठिक भन्ने भयो भने सर्बसम्मत हुँदैन । किन, कसका लागि, एजेण्डा के भनेर सबै उम्मेदवारहरुले उत्तर दिन सकेपछि मात्रै सर्बसम्मतको कुरा आउँछ । 

महासङ्घमा पूर्व अध्यक्षहरु हाबी हुन्छन् भन्ने गरिन्छ, तपाइलाई चाहीँ पूर्व–अध्यक्षहरुको आशिर्वाद छ कि छैन ?

मलाई सबै पूर्व अध्यक्षहरुको आशिर्वाद छ । महासङ्घ हाँकिसकेका पूर्व अध्यक्षहरुको आशिर्वाद लिने नै हो । हिजो एक कालखण्डमा उहाँहरुले महासङ्घको नेतृत्व गर्नुभयो, अहिले पनि सक्रिय व्यवसायिक जीवनमा हुनुहुन्छ । उहाँहरुसँग भोट पनि मलाई आउँछ ।

राजनीतिक हस्तक्षेप र प्रभाव पर्छ कि पर्दैन ?

उद्योग वाणिज्य महासङ्घको विधानले पदाधिकारी हुन कुनै राजनीतिक दलको सदस्य हुनु–हुँदैन भन्छ । विधानमा बकाइदा उल्लेख भएको विषय हुनाले राजनीतिक प्रभाव र हस्तक्षेप हुन्छ भन्ने लाग्दैन । राजनीतिक पार्टीको सदस्य आएर महासङ्घमा चुनाव लड्ने होइन । र, महासङ्घको पदाधिकारीमा बहाल रहुञ्जेल कुनै पनि पार्टीको सदस्यता लिन पनि पाइँदैन । यसकारण यो गौण कुरा हो । 

अहिले अर्थतन्त्र सङ्कुचनमा छ भनेर तपाई आफैँले पनि भन्दै आउनु भएको छ, महासङ्घको बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो भने अर्थतन्त्र सुधारका लागि आफूले गर्ने कामको सूची बनाउनु भएको छ कि छैन ?

मुख्य कुरो, सरकारका जिम्मेवार व्यक्ति र मन्त्रीहरुले नै अर्थतन्त्रमा समस्या छ भनिरहनु भएको छ । उहाँहरुले स्वीकार गरिसक्नु भएको छ र स्वीकार नगर्दा पनि तथ्यहरुले नै अर्थतन्त्र सङ्कुचनमा रहेको देखाउँछ ।

जस्तो, राजस्व डेढ खर्बले घटेको छ । चालु खर्च धान्न मुस्किल भएर पौष महिनामै आन्तरिक ऋण उठाउनुपर्ने बाध्यता भयो । विकास निर्माणमा लगानी घटेको छ, बजेट कटौती गर्नु परेको छ, रोजगारी कटौती गर्नु परेको छ, बजारमा माग नै छैन, सरकारको ऋणको ग्राफ बढिरहेको छ ।

उद्योग व्यवसायको क्षेत्र कठिन अवस्थामा छ भन्नुका पछाडिका पुष्ट्याईंका आधारहरु पनि यी नै हुन् ।  अब यी समस्या समाधानका लागि हामीले के गर्नुपर्छ भन्दा रि–फर्मको माग हामी उठाउँछौँ । २०४८ सालमा भएको ‘रिफर्म’ त्यसपछि भएन । त्यतिबेला त बजेट पनि अर्बमा त आउँथ्यो ।

त्यसैले हामीले बजारमा तरलताको व्यवस्थापन गर्दै माग बढाउने नीतिका लागि लविङ गर्नुपर्नेछ । यसपालीको मौद्रिक नीतिले बजारमा माग नै घटाउने नीति लियो, तर अर्थतन्त्र बिग्रन लाग्यो भने तरलता व्यवस्थापन गरेर माग बढाउनतिर लाग्नुपर्छ भन्ने विश्वव्यापी मान्यता छ । यसकारण हामीले बजारमा माग सिर्जना हुने पोलीसीहरु आउनुपर्छ भन्नेमा लभिङ गर्छौ । रि–फाइनान्सिङ, रि–स्टकचरिङका मुद्दाहरु पनि हाम्रा प्राथमिकतामा छन् ।

अहिलेको समस्यालाई राज्यले सही रुपमा बुझेको छैन । हामी सही रुपमा बुझाउँछौँ, ब्याजदर एक अङ्कमा झार्न पहल गर्छौँ, बजार चलायमान बनाउँन पहल गर्छौँ र नीतिगत सुधारमार्फत अर्थतन्त्र लयमा ल्याउँछौँ । यो स्प्रिटका साथ काम गर्न तयार छौँ । महासङ्घले आउँदा दिनमा गर्नुपर्ने कामहरु पनि यि नै हुन् । सँगै, विधानतः कार्यकारी पद अध्यक्ष नै हो । अध्यक्ष र सदस्यहरुबीच निरन्तर सम्बाद र समस्या समाधानमा केन्द्रित रहन बरिष्ठ उपाध्यक्षका हैसियतले म पुलको काम गर्छु । सँगै, बरिष्ठ उपाध्यक्ष भनेको अप–कमिङ प्रेसिडेन्ट पनि हुने भएकाले म त्यसको पनि तयारी गर्छु ।

अन्तिममा, महासङ्घ जस्तै उद्योगी व्यवसायीका ३ वटा ठूला सङ्गठन छन् । यी ३ वटै सङ्गठनहरु चाहिने हो की होइन ? यी ३ बीच मर्ज गराउने वा अरु कुनै विकल्पमा कत्तिको छलफल हुन्छ ?

सङ्घ सङ्गठन भनेको आवश्यकताले आउँछन् । समय कालखण्डमा आवश्यकता ठानियो आए, अब फेरि कुनै समय कालमा मर्ज गर्नुपर्छ भन्ने महसुस भयो भने भोलिका दिनमा मर्ज पनि होलान् । तर, नेपाल उद्योग वाणिज्य महासङ्घ छाता सङ्गठन हो । यसको देशैभरी सञ्जाल छ । नगरपालिकासम्म पुगिसकेका छौँ । सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको संस्था हो । हाम्रो गरिमा, महिमा, सशक्तता र अभ्यासहरु अरु भन्दा फरक छ । अन्तर्राष्ट्रिय इन्स्टिच्युसनले रिकक्नाइज गर्ने सङ्गठन पनि महासङ्घ नै हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved