नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सहकारी संस्थाहरुका लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी आयोजना गर्दैछ । बैशाख २५ र २६ गते काठमाडौँको सोल्टी होटलमा आयोजना हुन लागेको गोष्ठीमा लेखा सुपरीवेक्षण समितिको प्रभावकारिता र यो समितिको कर्तव्यबारे बृहत छलफल हुने जनाइएको छ ।
‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति’ भन्ने थिममा आधारित रहेर आयोजना हुने गोष्ठीबाट सुरक्षित साकोस अभियानको निर्माण गर्न लेखा सुपरीवेक्षण समितिहरुको योगदान महत्वपूर्ण हुन्छ भन्ने कुराको जानकारी दिने उदेश्य राखिएको छ । साथै, अहिले सहकारी संस्थाहरुमा समस्या भयावह बनिरहेको छ भन्ने भ्रम पनि फैलदो छ । यस्तो अवस्थामा आयोजना हुन लागेको गोष्ठीबाट सहकारी अभियन्ताहरुले के सिक्न सक्छन् ? गोष्ठीको मुख्य उदेश्य के हो ? विगतको गोष्ठी र यसपालीको गोष्ठीमा के फरक छ लगायतका विषयमा हामीले नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीसँग कुराकानी गरेका छौँ ।
लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी आयोजना हुँदैछ । यस गोष्ठीको उदेश्य के हो ?
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले २०७३ सालमा पहिलो शिखर गोष्ठी गरेको थियो । अहिले बैशाख २५ र २६ गते लेखा सुपरीवेक्षण समितिको दोस्रो शिखर गोष्ठी गर्दैछौँ ।
यसपालीको गोष्ठीको मूलभूत उदेश्य भनेको वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएको केही विषम् र असहज परिस्थितिको समाधान कसरी गर्न सकिन्छ र समाधानमा संस्थाको लेखा सुपरीवेक्षण समितिको भूमीका के रहन्छ भन्ने विषयमा लेखा सुपरीवेक्षण समितिको क्षमता अभिवृद्धि गरेर वर्तमान अवस्थाको निराकरणमा यो समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने हो ।
दोस्रो कुरो, सहकारी संस्थाहरु स्वनियमन र स्वनियन्त्रित संस्थाहरु हुन् । सदस्यद्वारा स्थापना गरिएको, सञ्चालन गरिएको, प्रवद्र्धन गरिएको र सदस्यहरुबाटै नियन्त्रित गरिएको लोकतान्त्रिक संस्थाका रुपमा सहकारीलाई लिने गरिन्छ ।
यसकारण एउटा लोकतान्त्रिक संस्थाभित्र सहकारी सिद्धान्त, मूल्य मान्यता, अन्तराष्ट्रिय अभ्यास र सहकारी ऐन, नियमावली तथा सम्बन्धित संस्थाको विनियमले पनि के कुरा प्रष्ट पारेको छ भने सञ्चालकहरु सदस्यप्रति उत्तरदायी हुनुपर्छ भनेको छ । त्यसकारण साधारणसभामा सदस्यहरुले आफूमा भएको सार्वभौम अधिकार प्रयोग गरेर २ वटा समिति निर्वाचित गर्छन् । एउटा सञ्चालक समिति, जसले संस्थाको कार्य सम्पादन गर्छ र गराउँछ । नीति निर्माण, योजनाको तहमा र संस्थाका व्यवस्थापकले गरेका कार्य सम्पादनमा अनुगमन गर्ने, निगरानी गर्ने काम सञ्चालक समितिको हुन्छ । यो समिति सदस्यबाट निर्वाचित हुन्छ र सदस्यप्रति नै उत्तरदायी हुन्छ ।
लेखा सुपरीवेक्षण समितिलाई चाहिँ संस्थाको आँखा अर्थात् हेर्ने, सिकाउने र नियन्त्रण गर्ने अंगका रुपमा परिभाषित गरिएको छ । तर नेपालका बहुसंख्यक सहकारी संस्थाहरुमा लेखा सुपरीवेक्षण समितिको भूमीका प्रभावकारी हुन सकेको छैन, त्यस्तो समितिहरुले तालिम गोष्ठीका अवसरहरु पाउन सकेका छैनन् भन्ने छ । यसकारण लेखा समितिको भूमीकालाई प्रभावकारी बनाएर बचत तथा ऋण सहकारी संस्थाहरुको आन्तरिक नियन्त्रणलाई थप प्रभावकारी बनाउँदै, सहकारी संस्थाभित्र सुशासन कायम गर्न सघाउने संरचनाको रुपमा विकास गर्ने उदेश्यका साथ गोष्ठी आयोजना हुँदैछ ।
अर्को कुरा,सहकारी संघ संस्थाहरु सञ्चालन गर्ने क्रममा लेखा समितिलाई प्रभावकारी बनाउन, लेखा समितिले काम गर्ने क्षेत्र तथा विधि के हुन् र नियन्त्रण गर्ने, सुझाव दिने विधिहरु के छन् भनेर अन्तराष्ट्रिय रुपमै प्रचलित असल अभ्यासहरुको छलफल गर्ने र तिनलाई आन्तरिकीकरण गर्ने पनि यो गोष्ठीको उदेश्य हो ।
नेपालको नियमनकारी निकायहरु सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विभागबाट विद्यमान कानुनी अवस्थामा सहकारीहरुले पालना गर्नुपर्ने कुराहरु र त्यसमा लेखा सुपरीवेक्षण समितिको काम, कर्तव्य र अधिकार बारे पनि प्रकाश पारेर समग्रमा बचत तथा ऋण सहकारी अभियानमा सुशासन स्थापित गर्न, सदस्यको विश्वासलाई स्थापित गर्न र आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुत बनाउँदै मर्यादित बचत तथा ऋण सहकारी अभियान स्थापित गर्ने नै यो गोष्ठीको मूलभूत उदेश्य हो ।
गोष्ठीबाट सहकारीकर्मी, सहकारी अभियन्ता वा सहकारीको लेखा सुपरीवेक्षण समितिमा बस्नेहरुले के के कुरा सिक्न पाउँछन् ?
यो गोष्ठीको मुख्य उदेश्य भनेकै सहकारी संस्थाको लेखा सुपरीवेक्षण समितिको भूमीका स्थापित गर्नु हो । अथवा, लेखा सुपरीवेक्षण समितिहरुले समय सापेक्ष जुन खालको अवसर पाउनुपर्ने हो, त्यस कुराको ग्यारेन्टी गर्नु हो । सहकारी संस्थाहरु अरुबाट नियन्त्रण हुने नभई सहकारी मूल्य, मान्यता र सिद्धान्तमा रहेर स्वनियन्त्रित हुने र सञ्चालन हुने संस्थाका रुपमा परिकल्पना गरिएको छ । सहकारीको सिद्धान्त नै स्वतन्त्रता र स्वायत्तताको सिद्धान्तमा आधारित रहेको हुन्छ । थ्री एस (सेल्फ हेल्प, सेल्फ रेस्पोन्सब्लिटी र सेल्फ गभर्नेन्स) भनिन्छ । यी ती कुरा सहकारीको दर्शन नै हो ।
यसकारण अहिले सहकारी संस्थाका सञ्चालक समितिले गरेका काम, दिने सेवा, बनाएका नीतिहरु ठिक छन् कि छैनन्, सदस्यलाई फाइदा हुने वा हित गर्ने खालका छन् कि छैनन् भनेर हेर्ने, कमीकमजोरी हुन नदिने र भएका छन् भने औल्याएर तत्काल सच्याउन लगाएर संस्थालाई सही मार्गमा हिडाउने दायित्व लेखा सुपरीवेक्षण समितिको हुन्छ । यसकारण यो गोष्ठीपछि सहकारी अभियानले के पाउँछ, के सिक्छ भन्दा पहिलो कुरो, संस्थाको सुशासन खलबलिन नदिने गरि काम गर्ने भूमीका दिएर लेखा सुपरीवेक्षण समितिलाई क्षमतावान बनाउने । सदस्यहरुले खाई नखाई जम्मा गरेको पैसा संस्थामा सुरक्षित छ, संस्थाले सुरक्षित ठाउँमा लगानी गरेको छ भनेर आन्तरिक लेखा परीक्षण समितिले भन्ने वातावरण सिर्जना गर्न सक्नु हो ।
अर्को कुरा, लेखा समिति भनेको भौचर हेर्ने निकाय हो अथवा वर्षमा एक पटक रिपोर्ट पेश गर्दिए हुन्छ भन्ने मात्रै बुझाई भयो । लेखा सुपरीवेक्षण समिति भौचर हेर्ने समिति मात्रै होइन, यसका मुख्य ४ वटा भूमीका हुन्छन् । पहिलो त आन्तरिक सुपरीवेक्षकको भूमीका हो । सञ्चालक समितिलाई सहयोग गर्ने काम यसको हो ।
दोस्रो, आन्तरिक अडिट गर्ने निकाय । नेपाल सरकारको कोलेनिका, मलेनिका भने जस्तै सहकारी संस्थाको आन्तरिक लेखापरीक्षण गर्ने अंग पनि लेखा सुपरीवेक्षण समिति हो । यसकारण हामीले गोष्ठीमा नेपाल चार्टड एकाउण्टेन एशोसियशनबाटै विज्ञहरुलाई स्रोत व्यक्तिका रुपमा ल्याएर लेखा सुपरीवेक्षण समितिको काम के हो भनेर जानकारी गराउँदैछौँ । पहिलो पटक विश्व ऋण परिषदबाट स्रोत व्यक्ति सहयोगका रुपमा पाएका छौँ । शुल्क तिरेर ल्याउनु परको भए ठूलो खर्च लाग्थ्यो, ऋण परिषदकै सहयोगमा उहाँहरु आउँदै हुनुहुन्छ । एशियाली ऋण महासंघबाट पनि स्रोत व्यक्तिहरु आउँदै हुनुहुन्छ । राष्ट्र बैंकका स्रोत व्यक्तिहरु पनि हुनुहुन्छ । विभिन्न कार्यपत्रहरु प्रस्तुत हुन्छन्, तिनमा कमेन्ट हुन्छन् । त्यसकारण, यो गोष्ठीले लेखा सुपरीवेक्षण समितिले कसरी काम गर्नुपर्छ भन्ने कुराको सुचित गर्छ ।
तेस्रो कुरो, लेखा सुपरीवेक्षण समिति भनेको सहकारी संस्थाको आन्तरिक नियन्त्रक पनि हो । कुनै गाडी राम्रोसँग ब्रेक लाग्दैन भने जतिसुकै राम्रो भए पनि त्यो गाडी दुर्घटना हुने सम्भावना हुन्छ । त्यहीँ भएर वित्तीय कारोबार गर्ने क्षेत्र पनि अत्यन्त संवेदनशील हुन्छ । अहिले बाह्य वातावरणले अलिकति प्रभाव पार्न खोजिरहेको छ । यो अवस्थामा लेखा समितिलाई सक्रिय बनाउन एकदम जरुरी छ । यसकारण संस्थाको आन्तरिक नियन्त्रक भनेकै लेखा सुपरीवेक्षण समिति भएको हुनाले आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त, दुरुस्त र स्वचालित बनाउनका लागि कार्यसम्पादन, रिपोर्टिङका ढाँचाबारे पनि गोष्ठीमा कुरा हुन्छ ।
अर्को कुरा, सञ्चालक समिति र सदस्यलाई मार्गदर्शन गर्ने अंगका रुपमा पनि लेखा सुपरीवेक्षण समिति रहन्छ । यी ४ भूमीका लेखा सुपरीवेक्षण समितिको हुने भएकाले गोष्ठीमा हुने प्रस्तुति, स्रोत सामग्री र गोष्ठीबाट जारी हुने घोषणाले सहकारीको लेखा सुपरीवेक्षण समिति क्षमतावान, क्रियाशील, सुझबुझ भएको र कार्यसम्पादन गर्न सक्ने हुनुपर्छ भन्ने कुरा स्थापित हुने अपेक्षा गरेका छौँ ।
अहिले सहकारी संस्थाहरुमा आन्तरिक सुपरीवेक्षण नहुँदा समस्या आयो भन्ने कुरा उठिरहेको छ । समस्या समाधानका उपायबारे त गोष्ठीमा छलफल हुने नै भइहाल्यो, समस्या आउनै नदिने उपायबारे चाहिँ कत्तिको विमर्श हुन्छ ?
अहिले सहकारी क्षेत्र धराशायी भयो, सबै सहकारी खत्तमै हुन्, सबै सहकारी बद्मास र खराब छन् भन्ने भ्रम फैलाइएको छ । यो यथार्थ होइन । पक्कै पनि केही समस्या छन्, तर जति हल्ला भइरहेको छ, त्यति समस्या छैन ।
सहकारी सिद्धान्त, मूल्य र मान्यतामा नचलेका, पारिवारिक ढङ्गबाट चलेका, वित्तीय स्वार्थबाट प्रेरित भएका, सदस्यको रकम दुरुपयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न नियोजित रुपमा सहकारी क्षेत्रमा प्रवेश गरेका मान्छेहरुबाट बद्माशी हुँदा सिङ्गो सहकारी क्षेत्रमाथि प्रश्न उठेको छ । जसले कमजोरी गरेको छ, त्यसको बारेमा जिम्मेवार सञ्चारमाध्यममा पनि समाचारहरु आएकै छन् । राज्यले पनि अनुसन्धान गरेकै छ र सरकारले समस्याग्रस्त घोषणा गरेर केही सहकारीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा राफसाफका लागि पठाएको पनि छ । केही व्यक्तिहरु जेल पनि गएका छन् ।
यसले गर्दा सबै सहकारी यस्तै हुन् कि भन्ने पर्न गएको छ । सदस्यहरुमा शंका उत्पन्न भयो, डरको वातावरण पनि बन्यो, हामीले पैसा राखेको सहकारी पनि यस्तै हुने हो कि भन्ने चिन्ता पर्न गयो । सदस्यको विश्वास धर्मराएको स्थिति पक्कै पनि हो । किनभने, बचतकर्ताले सहकारीमा रगत पसिना बगाएर कमाएको पैसा मात्रै होइन, आफ्नो विश्वास पनि राखेका हुन्छन् । यसकारण हाम्रो संस्थामा बचतकर्ताले राखेको सम्पूर्ण रकम सुरक्षित छ, संस्था सुशासनमा चलेको छ, संस्थाको कारोबार सुरक्षित छ भनेर भन्ने पहिलो निकाय नै लेखा सुपरीवेक्षण समिति हो । गोष्ठीमार्फत लेखा सुपरीवेक्षण समितिलाई यो कुराको बोध गराउने गरि छलफल र विचार विमर्श हुन्छ ।
साथै, सञ्चालक समितिले आफूले काम गर्दा गलत भएको छ भने भन्दैन । स्थानीय तहले कहिले भन्नु ? सहकारी विभागले कहिले भन्नु ? त्यसैले लेखा समितिलाई आफ्ना सञ्चालक र सदस्यलाई संस्थाको वास्तविक अवस्था भन्न सक्ने बनाउनु पर्नेछ । यसो हुँदा सहकारी क्षेत्रमा गुम्न खोजेको साख र मडारिएको कालो बादललाई पन्छाउन सक्छौँ, त्यसकारण यसका लागि सशक्त लेखा समिति आवश्यक पर्दछ । वस्तुनिष्ठ र समयसापेक्ष ढङ्गले लेखा समितिलाई सक्षम बनाउँदै संस्थामा सुशासन स्थापित गराउन यो गोष्ठी फलदायी हुन्छ भन्ने विश्वास नेफ्स्कूनले लिएको छ ।
२०७३ सालमा पहिलो लेखा सुपरीवेक्षण समितिको गोष्ठी आयोजना भएको थियो । उक्त गोष्ठीबाट सहकारी अभियानले के लाभ पाएको थियो ?
२०७३ सालमा लेखा सुपरीवेक्षण समितिको गोष्ठी आयोजना हुँदा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको लेखा संयोजक म आफैँ थिएँ । हामीले त्यो बेलामा अन्तराष्ट्रिय स्तरबाट स्रोत व्यक्तिहरु पाएका थिएनौँ । त्यसपछि बीचमा एउटा गोष्ठी गर्नुपर्ने थियो, कोरोनाका कारण त्यो सम्भव भएन ।
अहिले हामीले सञ्चालक समितिमा धेरै समीक्षा र छलफल ग¥यौँ । छलफलबाट लेखा सुपरीवेक्षण समितिलाई बलियो बनाउनुपर्छ भन्ने निष्कर्षका आधारमा अहिले दोस्रो गोष्ठी तय भएको हो । तर, अहिले नै किन आयोजना गर्नुप¥यो भनेर आलोचना पनि भएको छ । काठमाडौँमै किन राखेको, पाँचतारे होटलमै किन राखेको भनेर कमेन्टहरु पनि आएका छन् । तर, सञ्चालक समितिले बृहत छलफल गरेर अहिलेको वस्तुनिष्ठ आवश्यकता हो भनेरै तय गरिएको हो । सहकारी क्षेत्रभित्र सुशासनको प्रश्न उठिरहेको छ, सञ्चालक समितिप्रति प्रश्न उठाइएको छ, व्यवस्थापनभित्र प्रश्न उठाइएको अवस्था छ । सहकारी व्यवस्थापन समितिको प्रतिवेदन हेर्ने हो भने र सरकारले विभिन्न समयमा बनाएका अध्ययन समितिको निष्कर्ष हेर्ने हो भने पनि सहकारी संस्थाहरुमा लेखा सुपरीवेक्षण समिति सक्रिय नभएको वा सक्रिय गराउन नसकिएको, भूमीका प्रभावकारी हुन नसकेको वा सञ्चालक समिति र व्यवस्थापकले क्षमता विकासका जति अवसर पाएका छन्, लेखा समितिले त्यति नपाएको कारणले पनि अहिले सहकारी संस्थाहरुमा समस्या देखियो भन्ने पाइन्छ । पहिलो गोष्ठीले केही हदसम्म सिकाई गरेकै हो, तर त्यतिबेलाको सिकाइ प्राप्त गरेकाहरु सबैले संस्थामा निरन्तर भूमीका पाइरहन्छन् भन्ने हुँदैन ।
यसैलाई आधार मानेर हामीले के सोच बनायौँ भने मान्छे बिरामी भयो, पैसा छैन भने पनि सरसापट गरेर भए पनि उपचार गर्नुपर्छ भने जस्तै सहकारी अभियानलाई भ्रमण अवलोकनसहित अन्य आन्तरिक रुपमा हुने खर्च कटौती गरेर भए पनि संस्थाको आँखाको रुपमा रहेको र सञ्चालक समिति र व्यवस्थापकले गरेको कामको समेत सुक्ष्म निगरानी गर्ने र सदस्यमा संस्थाप्रतिको विश्वास जगाउँदै आश्वस्त पार्ने अंगका रुपमा रहेको लेखा सुपरीवेक्षण समितिको क्षमता विकासमा प्रोत्साहन गर्नुपर्छ भन्यौँ । र, गोष्ठीमा सहभागी गराइदिन हामीले अनुरोध गरेका छौँ ।
विगतमा अन्तराष्ट्रिय स्तरबाट स्रोत व्यक्ति नपाउँदा पनि हामीले क्षमता अनुसार गरेका थियौँ । अहिले हामीले अन्तराष्ट्रिय स्तरबाट स्रोत व्यक्तिहरु पनि पाएका छौँ । अन्तराष्ट्रिय स्तरबाट पाएको सहयोगलाई राज्यले, अभियानले कसरी उपयोग गर्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । यी कुराहरुलाई हेरेर विगतको शिखर गोष्ठीबाट भन्दा अधिकतम् लाभ लिन सकिने गरि अहिले नेफ्स्कूनले तयारी गरेको छ ।
गोष्ठीमा सहकारी संस्थाबाट को को सहभागी हुन पाउँछन् ?
हामीले आयोजना गर्दै गरेको गोष्ठी लेखा सुपरीवेक्षण समितिको शिखर गोष्ठी हो । हामीले लेखा सुपरीवेक्षण समितिको संयोजक वा २ जना सदस्यमध्ये जो कोही पनि सहभागी हुन सक्ने व्यवस्था गरेका छौँ । सम्भव हुन्छ र सक्नुहुन्छ भने संयोजक र सदस्य नै आउनु हुन्छ भने पनि स्वागत छ । समितिमा रहने तीनै जना आउँदा त झन राम्रो हुन्थ्यो, सबैले सबै कुरा बुझेर जानु हुन्थ्यो । तर खर्च, संस्थाको अवस्था पनि हेनुपर्यो ।
त्यसकारण लेखा सुपरीवेक्षण समितिका संयोजक वा सदस्यहरुलाई मात्रै प्रतिनिधिका रुपमा आमन्त्रण गरेका छौँ । कुनै कारणले कुनै संस्थाबाट लेखा सुपरीवेक्षण समितिबाट प्रतिनिधित्व हुन नसक्ने अवस्था आएको खण्डमा लेखा समितिलाई आन्तरिक लेखा परीक्षणमा सहयोग गर्ने गरि कोही कर्मचारी नियुक्त गरिएको छ भने त्यस्तो कर्मचारीसम्म चाहिँ सहभागी हुन सक्ने गरेर नेफ्स्कून सञ्चालक समितिले बनाएको उपसमितिले मापदण्ड बनाएको छ । सोही अनुसार पत्राचार भएको छ ।
अर्को कुरा, भौगोलिक प्रतिनिधित्व पनि हेर्नुपर्ने हुन्छ । हामीसँग लगभग आवद्ध ५ हजार सहकारीका सबै लेखा सुपरीवेक्षण समितिबाट प्रतिनिधित्व त हुँदैन । भेगिए हिसाबमा यहाँ गोष्ठीमा आएर सिकेर गएपछि आफ्नो भेगमा भविष्यमा स्रोत व्यक्तिका रुपमा योगदान गर्न सक्ने गरि पनि सिकाउनुपर्ने हुन्छ ।
खासगरि, मैले सुरुमै पनि भनेको छु कि, लेखा सुपरीवेक्षण समितिलाई भौचर हेर्ने अंगका रुपमा मात्रै बुझ्ने होइन कि, यसको भूमीका फराकिलो र गहन छ है भनेर बुझाउन खोजिएको हो । वित्तीय क्षेत्र, अपरेशनल अडिट, कम्प्लायन्स अडिट र सोसल अडिट गरि ४ वटा क्षेत्रहरु चाहिँ लेखा सुपरीवेक्षण समितिले हेर्छ । यसको क्षेत्र र विधिबारे पनि गोष्ठीमा छलफल हुन्छ । वित्तीय क्षेत्र भएको हुनाले बचत, ऋण, सेयर, लगानी, खर्च, आम्दानी, योजना, बजेट हेर्ने हुन्छ । सञ्चालन भन्नाले सञ्चालक र व्यवस्थापनको कुरो आउँछ । बचत तथा ऋण सहकारीका नीतिहरु के बनाइएको छ भन्ने बारेमा पनि छलफल हुन्छ ।
अर्को कानुनी वा सहकारीका मान्यता र सिद्धान्त, ऐन नियम र विनियमको परिपालना व्यवस्थापकले गरेको छ कि छैन भनेर कसरी हेर्ने भन्ने पनि जानकारी दिइन्छ । सदस्यको बचत सुरक्षित गर्ने खालका नीति र औजारहरुको प्रयोग गरिएको छ कि छैन, कतै ‘लुप होल’ पो छन् कि भन्ने बारेमा र सदस्यहरुलाई दिनुपर्ने सेवा ठिक ढङ्गले दिएको छ कि छैन, कर समयमै दाखिला गरेको छ कि छैन, नगद व्यवस्थापन कस्तो भइरहेको छ, नीतिले नै संस्थालाई सुरक्षित गरिएको छ कि छैन भन्ने विषयवस्तुको ज्ञान फराकिलो बनाउने गरि गोष्ठीमा छलफल हुन्छ ।
लेखा सुपरीवेक्षण समितिले संस्थाको वित्तीय विषय मात्रै होइन, समाजमा कत्तिको सामाजिक काम गरेको छ, यदि गरेको छ भने त्यसको प्रभाव कस्तो छ, गरेको छैन भने किन गरेन, सहकारी संस्थामा आवद्ध भएका कारण सदस्यहरुको जीवनस्तरमा कस्तो सकारात्मक परिवर्तन आएको छ भन्ने विषय पनि हेर्नुपर्छ । यी नै विषयहरु समेटिएका कार्यपत्रहरु प्रस्तुत हुन्छन् । यहाँबाट सोही अनुसार अगाडी बढ्न लेखा सुपरीवेक्षण समितिका संयोजक र सदस्यहरुलाई सघाउ पुग्ने आशा गरिएको छ ।
अन्तिममा, के भन्न चाहनु हुन्छ ?
सबै बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु र विशेषगरि लेखा सुपरीवेक्षण समितिमा रहनु भएका साथीहरुलाई म के भन्न चाहन्छु भने यो एउटा महत्वपूर्ण अवसर हो । हामीले सधैँभरी अहिले जसरी विश्व स्तरीय स्रोत व्यक्तिहरु ल्याउन सक्दैनौँ । यसपाली हामीले गोष्ठीको क्वालिटीमा धेरै ध्यान दिएका छौँ । यहाँबाट गोष्ठी सकेर फर्किदा ज्ञानसँगै विभिन्न सन्दर्भ सागम्री र टुल्सहरु पनि लिएर जान सक्नुहुन्छ । यसकारण अन्य खर्च कटौती गरेर भए पनि संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक र सदस्यहरुलाई यो सम्मेलनमा सहभागी गराइदिन पनि म सबै संस्थालाई अनुरोध गर्दछु ।
बचत तथा ऋण सहकारी अभियान भनेको नेपालको जेठो अभियान हो । अन्तराष्ट्रिय रुपमा विधि, प्रविधि र अभ्यासलाई नेपालमा आन्तरिकीकरण गरेर हस्तान्तरण गर्ने निकाय पनि नेफ्स्कून हो । यसकारण नेफ्स्कूनले अहिलेको वर्तमान परिस्थितिमा थप टुल्सहरु, नयाँ नयाँ विधिहरु सहितको कार्यपत्रमार्फत लेखा सुपरीवेक्षण समिति र सहकारी संस्थालाई सुरक्षित बनाउने किसिमले तयारी गरेको हुनाले अत्यन्त सकारात्मक रुपमा लिइदिन पनि म अनुरोध गर्न चाहन्छु ।
साथै, बचत ऋण सहकारी अभियानको सुशासन र आन्तरिक नियन्त्रण प्रणालीलाई स्थापित गरेर संस्थाको स्वायत्ततालाई र स्वतन्त्रतालाई जीवन्त राख्दै सदस्यको पैसा सुरक्षित राख्न सक्ने साकोस अभियान निर्माण गर्ने उदेश्यसहित गेष्ठी आयोजना हुँदैछ ।
खासगरि, यो अभियानमा हामीले सहकारी पत्रकार समाजसहित सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई ‘ब्याक बोन’का रुपमा लिएका छौँ । यसकारण सिङ्गो पत्रकारिता जगतले यसबारे आम सहकारी अभियन्ता र सहकारीकर्मीमा यसबारे सकारात्मक सन्देश पु¥याइदिन अनुरोध गर्न चाहन्छु ।
नेपालको साकोस अभियानमा संलग्न सबै अग्रज अभियन्ताहरुमा पनि यस कार्यक्रमप्रति सकारात्मक धारणा राखेर सहभागीताको लागि अपिल गर्दछु । साथै, गोष्ठी पश्चात आउने निष्कर्षलाई कार्यान्वयन गर्न सहकार्यका साथ अघि बढ्ने छौँ ।
साथै, यो गोष्ठीले नेपालको बचत तथा ऋण सहकारी अभियानलाई अझ दर्बिलो, अनुशासित, मर्यादित र अहिले जुन अविश्वास पैदा भएको छ, यसलाई चिरेर विश्वास पुर्नस्थापनाको बाटोमा अघि बढाउने छ भन्ने नेफ्स्कून परिवारको विश्वास छ । यसकारण सबै सरोकारवालाहरुको सकारात्मक र रचनात्मक सहयोगसहित सक्रिय सहभागीताको अपेक्षा पनि पनि नेफ्स्कून परिवारले गरेको छ ।