
विसं २०२६ साल जेठ १ गते स्थापना भएको बीमा प्राधिकरण (तत्कालिन बीमा समिति)को आज ५६ औँ वार्षिकोत्सव हो । वार्षिकोत्सवको अवसारमा बिजपाटि डटकमले प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग बीमा क्षेत्रको अवस्था, भावि कार्यदिशा, बीमाको पहुँच बृद्धि, नियामकको भुमिकालगायतका विषयमा कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
नेपालमा बीमा क्षेत्रको वर्तमान अवस्थाबारे बताइदिनुस न ।
मुलुकको समग्र आर्थिक शिथिलताले बीमा क्षेत्रलाई पनि प्रभाव गरेको छ । पछिल्लो समय बीमा क्षेत्रको व्यापार गत वर्षको जसरि बृद्धि हुन सकेको छैन । तर, अन्य क्षेत्रको तुलनामा भने बीमा क्षेत्रको अवस्था अहिले पनि राम्रै छ ।
कम्पनीहरुको मुनाफा, व्यपारलाई आधार मान्ने हो भने अन्य क्षेत्रको तुलनामा अहिले पनि बीमा क्षेत्रको अवस्था धेरै राम्रो छ ।
नेपालमा बीमा क्षेत्रको दायरा चाहिं कति पुगेको छ ?
बीमा क्षेत्रको दायरा खासमा शतप्रतिशत पुर्याउनु पर्ने विषय हो । नेपाल जस्तो जोखिमपूर्ण देशमा बीमा अनिवार्य विषय हो । अहिले ४४ प्रतिशतको हाराहारीमा जीवन बीमाको दायर पुगेको छ ।
अब छिटै नै यो दायरालाई बढाएर ५० प्रतिशत पुर्याउने हाम्रो लक्ष्य छ । त्यो लक्ष्यमा पुर्याउन हामीले विभिन्न कार्यक्रमहरु तालिका बनाएर काम गरिरहेका छौं ।
अध्यक्षमा नियुक्त भएर आएपछि बीमा क्षेत्रको दायरा बढाउन के- के काम गर्नुभयो ?
धेरै कामहरु भइसकेको छ । मैले मात्र होइन, हाम्रो टिमले, बीमा कम्पनीले, बीमा अभिकर्ताले, बीमासँग सम्बन्धित सरोकारवालाहरुले आ आफ्नो ठाउँबाट बीमाको दायर बृद्धिका लागि काम गरिरहेका छन् ।
खासगरी दुई प्रकारको रणनीति बनाएर अगाडि बढ्नु पर्छ भन्ने मलाई लग्यो । पहिलो चाहिं सर्वसाधारण जनतालाई बीमाको बारेमा सचेतना जागृत गराउनु पर्छ भनेर हामी लागेका छौँ । यसका लागि स्थानिय तहमा नै गएर बीमाको बारेमा सचेतना जागृत गराइरहेका छौं । बीमा सचेतना कार्यक्रम अहिले पनि स्थानिय तहमा जारी नै छ ।
अध्यक्षभएदेखि मेरो कार्यकालसम्म ३००भन्दा बढी स्थानिय तहमा पुगेर बीमा सचेतना दिने सोच रहेको छ । आगामी आर्थिक वर्षमा पनि हामीले यस विषयलाई निरन्तरता दिन्छौं ।
हुन त स्थानिय तह भनेको अविभावक पनि हो । पैसा भएकालाई बीमा गराउन अभिप्रेरित गर्ने र नहुनेलाई पनि बीमा गर्न प्रोत्साहन गर्ने काम स्थानिय तहले गर्नुपर्दछ । बीमाको बारेमा सबै तहको सरकारलाई सचेतना गराउने पनि हाम्रो लक्ष्य छ ।
त्यसरी सचेतना जगाएपछि बीमा कम्पनीहरुलाई त्यसै अनुसार परिचालन गर्नुपर्दछ । आवश्यकता अनुसारको पोलिसि बनाउने, बीमा प्राधिकरण छ भनेर जनतालाई ढुक्क हुनेगरी कम्पनीलाई जवाफदेहि बनाएका छौँ । कम्पनीबाट प्रचारप्रसार गराउने, दाबी भुक्तानी छिटो छरितो तरिकाले गराउने कुराहरु अघि बढाएका छौं।
जानेर होस या नजानेर होस, नेपालमा दुई प्रकारले बीमा गर्ने गरिन्छ । मानिसलाई फोर्सफुल्ली तरिका र कन्भिन्स गरेर बीमा गराउने गरिन्छ । दुवै प्रकारले बीमा गर्दा सरकारका विभिन्न तहको पनि आ आफनै भुमिका हुने गर्दछ । त्यस भुमिकालाई कसरी उजागर गर्ने भन्ने पाटोमा, उहाँहरुलाई कसरी सपोर्ट गर्ने भन्ने पाटोमा पनि हाम्रो कार्यक्रमहरु केन्द्रित छन् ।
हामीले बीमाको बारेमा अझ सहजीकरण होस भनेर प्रदेश स्तरमा पनि कार्यालय स्थापना गरेका छौं । हामीले प्रदेश कार्यालयलाई बीमाको लक्ष्य नै दिएका छौं । ती कार्यालयले पनि वर्षमा २५/३० वटा कार्यक्रमहरु गर्दछन् । बीमा बारे मिडियासँग पनि अन्तरक्रिया भइरहन्छ । मिडियाबाट हामीले प्रचारप्रसार गरिरहेका हुन्छौं।
बीमाको बारेमा स्कुलमा नै गएर अन्तक्रिया चलाइरहेका हुन्छौं । हुम्ला, डोल्पालगायतका विकट क्षेत्रमा पनि बीमकका कार्यालयहरु स्थापना भइसकेका छन् ।
व्यक्तिसम्म बीमाको पहुँच पुगीसकेको अवस्था छ ।बीमा गराउनका लागि उत्प्रेरणा जगाउने काम बाँकी छ । सक्षम व्यक्तिले आफैं बीमा गर्ने र नसक्नेले सरकारबाट बीमा गराउने वातावरण बनाउनु पर्छ ।
नेपालमा बीमा क्षेत्र बारे गुनासो पनि समय- समयमा सुन्ने गरिन्छ । बेथितिहरु चाहिं के- के छन् ?
हुन त बेथिति सबै क्षेत्रमा हुन्छ । बीमा क्षेत्रमा अन्य क्षेत्रको तुलनामा कम बेथिति छ । वर्षमा लाखौँ पोलिसि जारी हुन्छन । तर, २।३ सय वटा उजुरी पर्छ । यो प्रतिशतका हिसावले अत्यन्त कम हो । यसको अर्थ अन्य क्षेत्रको तुलनामा बेथिति कम नै छ ।
बीमा ऐनले बीमामा ठगी गर्ने, जालसाजी गर्ने जोसुकैलाई पनि कानूनको दायरामा ल्याएर सजायको व्यवस्था गरेको छ । त्यसैले आगामी दिनमा यस क्षेत्रमा हुने ठगी घटदै जान्छ भन्ने विश्वास छ ।
ऐनले नै बीमा सूचना केन्द्र स्थापना गर भनेको छ । बीमा सूचना केन्द्र स्थापना भएपछि सम्पूर्ण बीमा सम्बन्धी सबै सूचना सहज रुपमा उपलब्ध हुन्छ । त्यसको स्थापना भएपछि बदमासी गर्न, जालसाजी गर्ने, ठगी गर्नेलाई सजाय गर्न अझ सहज हुन्छ ।
यदाकदा बीमा प्राधिकरण नियामक जस्तो भएन भन्ने पनि सुनिन्छ । यसबारे विस्तृतमा बताइदिनुस न ।
वास्तवमा भन्ने हो भने बीमा प्राधिकरणको आफ्नै भुमिका छ । प्राधिकरण नियामक त हो तर नियामक भनेको दण्ड सजाय मात्र गर्ने निकाय होइन । बीमाको बजारलाई विकसित र व्यवस्थित गर्ने मूख्य काम प्राधिकरणको हो । त्यसपछि निरीक्षण गर्ने, अनुगमन गर्ने काम पनि प्राधिकरणको हो । र त्यस क्रममा बीमा बजारलाई बीगार्ने काम भएको छ भने अनि मात्र नियमाकीय कारबाही गर्ने हो ।
त्यसैले नियामक भनेको कारबाही गर्ने निकाय हो भन्ने नै गलत बुझाई छ ।
हामीले बीमाको विकासमा कति काम गर्यौं अनुगमन कति गर्यौं, कति प्रतिशत शुसासन कायम गर्यौं भन्ने कुरा नियमनको पाटो हो । ती कुरामा पनि हामीले उल्लेख्य रुपमा काम गरेका छौं ।
अहिले सार्वजनिक बीमा कम्पनीको त्रैमासिक वित्तीय विवरणले पनि अब कम्पनीहरु सुशासनको बाटोमा अगाडि बढेका छन् भन्ने देखाएको छ । यो राम्रो प्रयास र अभ्यास पनि हो ।
आजको दिनमा हामीले रिक्स बेस क्यापिटल राख्ने कुरा गरेका छौं । रिक्स बेस क्यापिटल राख्न प्रयास पनि भइरहेको छ । रिक्स बेस सुपरभिजनका कुरा पनि भइरहेको छ ।
र अर्को कुरा हामीले अनसाईड र अफसाईड निरीक्षण गरिरहेका हुन्छौं । डेटा विश्लेषण गरिरहेका हुन्छौं। रिपोर्टहरुलाई अध्ययन गरेर स्पष्टीकरण माग्ने, सचेत गराउने लगायतका काम गरिरहेका हुन्छौं । त्यसकारणले अहिलेसम्म हामीले नियामकको कर्तव्य गरिरहेका छौँ । नियामकीय भुमिकामा हामी शसक्त नै छौँ ।
जो अध्यक्ष आउँछ उसले बीमा कम्पनीको लाइसेन्स नै बाँड्छ पनि भन्ने चर्चा पनि छ । यसबारे तपाईको धारणा के छ ?
जुन विषयको जो विज्ञ हो, त्यसले त्यस विषयको निर्णय गर्ने हो । लघु बीमा किन ल्याउनु पर्योभन्दा लघु बीमा सरकारको कार्यक्रम हो । गरिबसम्म बीमा पुर्याउन, दुरदराजमा बीमा पुर्याउन लघु बीमा कम्पनीको आवश्यकता परेको हो ।
ठूला कम्पनीहरुलाई १० प्रतिशत लघु बीमा गर्नुपर्ने व्यवस्था भएपनि उनीहरु ठूला ठूला बीमामा मात्र केन्द्रित भए । लघु बीमा जम्मा एक प्रतिशतको हाराहारीमा मात्र भयो । त्यो एक प्रतिशत बीमा गरेर कहिलेसम्म गाउँगाउँसम्म र गरिबसम्म बीमाको पहुँच पुर्याउने ? त्यसकारण पनि लघु बीमकको परिकल्पना गरिएको हो ।
दुर दराजमा बस्ने, सिमान्तकृत, गरिव, ग्रामीण बस्तिमा बीमालाई पुर्याउन भनेर लघु बीमा कम्पनीहरुको स्थापना भएको हो ।
लघु बीमकको पनि आफ्नै उद्धेष्य छ । त्यसलाई हामीले आफ्नै म्यान्डेट दिएर पठाएका छौँ । उनीहरुले गर्ने कामको सिलिङ नै तोकिएको छ । यति भन्दा धेरै बीमा नै गर्न पाउँदैनौँ भनेपछि त ऊ त गाउँमै जानु पर्यो नि ।
हामीले लघु बीमकको पर्फमेन्स हेर्न नै बाँकी छ । हामीले ४।५ वर्ष लघु बीमकको पर्फमेन्स हेर्नु पर्ने हुन्छ । गाउँमा गएर कतिको बीमा गर्छन् भनेर हेर्न नै बाँकी छ ।
उनीहरुले कतिसम्म गर्न सके, के गर्न सकेनन्, किन सकेनन् भनेर हेर्न बाँकी छ । उनीहरुले पर्फमेन्स नै गर्न सकेनन् भने भोलिका दिनमा लघु बीमा पनि मर्जर हुन सक्छन् ।
बीमा कम्पनीको मर्जरको बारेमा बताइदिनुस न ।
मर्जर पहिला पनि स्वइच्छाले भएको हो । यो करकापले हुने पनि होइन । अहिले पनि कोहि मर्ज हुन्छौँ भनेर आउँछन् भने हामी स्वागत नै गर्छौं।
अधिकांश कम्पनीले चुक्तापूँजी भने पुर्याइसकेका छन् । केहि कम्पनीहरुको काजगमा पूँजी पुगेको छ । त्यहाँ हामीले भन्दा पनि अन्य निकायले निर्णय गर्दिनुपर्ने भएकाले केहिको रोकिएको छ ।
कतिपय कम्पनीहरु हकप्रद शेयर निष्कासन गर्ने प्रक्रियामा छन् भने केहिले अनुमति पाइसकेका छन् ।
हाम्रो नियन्त्रण भन्दा बाहिरको विषयमा हामीले यसै हुन्छ भन्न पनि सक्दैनौं । त्यसकारण,मलाई लाग्छ असार मसान्तभित्र सबै कम्पनीको पूँजी पुगिसक्नेछ ।