
नेपालकै पहिलो लघु बीमाको रुपमा संचालनमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण शेयर निष्काशन तथा वितरणको काम सकेको छ। गार्डियन माइक्रो लाइफले निष्काशन गरेको साधारण शेयर (आइपीओ) मा माग भन्दा १३ गुणा बढीको आबेदन परेको छ। यसले गार्डियन माइक्रोप्रति लगानीकर्ताको आकर्षण बढी भएको देखाउंछ।
गार्डियन माइक्रो लाइफमा परेको आइपीओलाई लिएर संस्थाले गरेको विश्लेषण र लगानीकर्तालाई दिन सक्ने प्रतिफलबारे बिजपाटी डटकमका लागि सीता बुढाथोकीले संस्थाका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीसंग कुराकानी गरेकी छन्। प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
प्रश्न १: गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा माग भन्दा धेरै गुणा बढी आवेदन परेको विषयलाई तपाईँले कसरी लिनुभएको छ?
उत्तर: धेरै पछि पहिलो पटक गार्डियन माइक्रो लाइफकै आईपीओ बजारमा आएको हो। हाम्रो कम्पनीले न्यून आय भएका व्यक्तिहरूलाई बीमाको पहुँचमा ल्याउने उद्देश्य राखेको छ। यही कारणले सर्वसाधारणले कम्पनीमा विश्वास गरेर उत्साहजनक रूपमा आवेदन दिएका हुन्।
प्रश्न २: यत्तिका धेरै आवेदन परेका कारण भविष्यमा राम्रो प्रतिफल पाइने विश्वास गरिएको होला। कम्पनीको लाभांश वितरण योजना कस्तो छ?
उत्तर: हामीले आर्थिक वर्ष २०८१/८२ बाट लगानीकर्तालाई लाभांश वितरण गर्ने योजना बनाएका छौँ। हाम्रो प्राथमिकता व्यवसायलाई दिगो बनाउनु हो। हामी व्यापारको बजार विस्तार गर्दैछौँ र विशेषगरी न्यून आय भएका वर्गलाई समेट्ने योजना अघि सारेका छौँ। त्यसैले, लगानीकर्तालाई सकरात्मक प्रतिफल दिन हामी निरन्तर प्रयासरत छौँ।
प्रश्न ३: कम्पनीको हालको व्यावसायिक स्थिति कस्तो छ?
उत्तर: गार्डियनको व्यावसायिक स्थिति अघिल्लो वर्षको तुलनामा धेरै सुधार भएको छ। हामीले बजारमा अति आक्रामक तरिकाले होइन, दिगो र स्थिर व्यवसायिक रणनीति अपनाएर अघि बढिरहेका छौँ। छोटो समयको फाइदा मात्र हेर्ने होइन, हामी लामो समयसम्म दिगो रूपमा व्यवसायिक सफलता हासिल गर्ने लक्ष्य राखेर काम गरिरहेका छौँ।
प्रश्न ४: अहिलेकै पूँजीमा कम्पनी अघि बढ्ने योजना छ कि भविष्यमा पूँजी विस्तार गर्ने सोच पनि राख्नुभएको छ?
उत्तर: हाललाई पूँजी विस्तारको योजना बनाएको छैनौँ। हामीले मात्र योजना बनाएर हुँदैन, बीमा प्राधिकरणको सहमति पनि आवश्यक हुन्छ। तर भविष्यमा आवश्यकता अनुसार पूँजी विस्तार गर्ने सम्भावना भने रहन्छ।
प्रश्न ५: गार्डियन हाल सहरी क्षेत्रमा केन्द्रित देखिन्छ। विकट ठाउँहरूमा जाने योजना के छ?
उत्तर: गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालकै पहिलो डिजिटल माध्यमबाट सेवा प्रदान गर्ने बीमा कम्पनी हो। हाम्रो एपबाट ग्राहकले सजिलै पॉलिसी लिन र हेर्न सक्ने सुविधा दिएका छौँ। नेपालका ठूला इन्स्योरेन्स कम्पनीहरूले पनि यस्तो सुविधा हालसम्म दिएका छैनन्। हामीले एजेन्टहरूलाई तालिम दिएर देशका विकट स्थानहरूमा पुर्याइसकेका छौँ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हाम्रो पहुँच फैलिएको छ।
प्रश्न ६: अन्त्यमा, आम उपभोक्ता र लगानीकर्तालाई के सन्देश दिन चाहनुहुन्छ?
उत्तर: सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ। हामी अहिलेको लगानीकर्तालाई अपेक्षित प्रतिफल दिन सक्षम छौँ र दिने प्रतिबद्धता पनि गरेका छौँ।