नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा वितरणको प्रक्रिया पूरा गरेको छ । यस आईपीओमा मागभन्दा १३ गुणा बढी आवेदन परेको छ, जसले लगानीकर्ताको नेपाल माइक्रोप्रति आकर्षण देखाएको छ।
यसै सन्दर्भमा नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ प्रतिक्रिया, कम्पनीको भविष्य तथा लगानीकर्तालाई दिन सक्ने प्रतिफलबारे संस्थाका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमालसँग बिजपाटी डटकमका लागि सीता बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः
आईपीओमा अत्यधिक आवेदन परेको छ, यसलाई कसरी लिनुभएको छ?
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा मागभन्दा १३ गुणा बढी आवेदन परेको छ। यसलाई हामी लगानीकर्ताको माया र विश्वासको रूपमा लिएका छौँ।
भविष्यमा राम्रै प्रतिफल पाइएला भनेर नै होला, यत्तिका बढी आबेदन परेको, लाभांश वितरण योजना के छ ?
हामी हाल सुरुवाती चरणमा छौँ । लगानीकर्तालाई उचित प्रतिफल दिनु हाम्रो प्राथमिकता हो। तर, कम्पनीको दीर्घकालीन सुदृढीकरणका लागि हामीले प्रारम्भिक दुई वर्षमा लाभांश वितरण नगर्ने योजना बनाएका छौँ। त्यसपछि, कम्पनीको आर्थिक अवस्था हेरेर लाभांश प्रदान गरिनेछ।
कम्पनीको हालको व्यवसायिक अवस्था कस्तो छ?
नेपालमा माइक्रो इन्स्योरेन्स व्यवसाय सुरु भएको दुई वर्ष भएको छ। यस अवधिमा चारवटा लाइफ इन्स्योरेन्स र दुईवटा नन–लाइफ इन्स्योरेन्स संचालनमा आएका छन्, जसमा नेपाल माइक्रो इन्स्योरेन्स पनि पर्छ। हाल बजारमा प्रतिस्पर्धा भए पनि भुक्तानी संकलनको हिसाबले हामी अग्रस्थानमा छौँ।
कम्पनीले भविष्यमा पूँजी वृद्धि गर्ने योजना बनाएको छ ?
हाल कम्पनीको पूँजी २२ करोड ५० लाख रहेको छ, जुन हालको बजार परिप्रेक्ष्यमा सीमित देखिन्छ। तर, हामीले बजार विस्तार र आर्थिक वृद्धिको सम्भावना देखेका छौँ। माइक्रो इन्स्योरेन्सको मुख्य आधार बैंक तथा वित्तीय संस्था हुन्, जसमा ग्राहकहरूको चासो बढ्दै गएको छ। साथै, बीमा क्षेत्र सरकारी नियमनमा परेका कारण यस उद्योगमा अवसरहरू बढिरहेका छन्, जसले कम्पनीको पूँजी वृद्धिमा टेवा पु¥याउने विश्वास गरेका छौँ ।
कम्पनीले हाल कस्ता बीमा योजनाहरू सञ्चालन गरिरहेको छ ?
हाल, नेपाल माइक्रो इन्स्योरेन्सले बीमा प्राधिकरणबाट अनुमोदित छ वटा बीमा योजनाहरू सञ्चालन गरिरहेको छ । अझै हामीले सबै पोटफोलियो म्यानेजमेन्ट गरेर लग्यौ भने अझ राम्रो हुन्छ जस्तो मलाई लाग्छ । प्रपर्टी लगाएतका प्रोडक्टमा जाँदा हामीलाई धेरै फाँइदा हुन्छ । यसरीनै ग्राहकलाई मध्य नजर गरेर हामी अगाडि बढ्यौ भने अझ धेरै फाइदा हुन्छ होला ।