'सुनमा लगानी सुरक्षित छ, अरु ठाउँमा मन्दी हुँदा यता वार्षिक ३० प्रतिशत फाइदा हुन्छ' (अन्तर्वार्ता)

सीता बुढाथोकी

सीता बुढाथोकी

Mar 09, 2025 | 05:58:41 AM मा प्रकाशित

पछिल्लो समय सुनको भाउ बढ्दो छ। यस समयमा सुनचाँदीमा लगानी गर्नु उचित छ कि छैन भन्ने विषयलाई थप स्पष्ट पार्न नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिक रत्न शाक्यलाई बिजपाटी स्टुडियोमा निम्त्याएका छौं। प्रस्तुत छ, शाक्यसँग बिजपाटीकर्मी सीता बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंशः

सुनचाँदी व्यवसायको आकार कस्तो छ, यस क्षेत्रमा व्यवसायीहरूको संख्या, रोजगारीको अवस्था र यस क्षेत्रले राजस्वमा पुर्याउँदै आएको योगदान कस्तो छ?

अहिले १ लाख ७० हजारमा आइसकेपछि पहिलाको जस्तो उच्च कारोबार गर्न सकिएको छैन। किनभने सुनको मूल्य बढ्दा पनि नेपालीहरूको पर्चेजिङ क्यापासिटी बढेको छैन। माग कम भए पनि, यो एक वर्षको अवधिमा १ सय अर्बको कारोबार सुनचाँदीको बजारमा भएको तथ्याङ्कले देखाउँछ। १ सय अर्बको कारोबार हुँदा ६ अर्बभन्दा बढिको राजस्व गइरहेको अवस्था छ। व्यवसायको हिसाबले अहिले देशभर २५ हजार व्यवसायीहरू सुनचाँदीको व्यवसायमा लागेका छन्। साथै, २ लाखको हाराहारीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन्। नेपालको अर्थतन्त्रको कुरा गर्दा १ सय अर्बको कारोबार हुँदा त्यसले अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो योगदान पुर्याउँछ। यसले सुनको भविष्यलाई उज्जवल बनाएको छ।

सुनचाँदीको क्षेत्र व्यवसायभन्दा पनि लगानीको ठाउँ बनाउन सकिन्छ?

हाम्रो चलन, धर्म र संस्कृतिले हामीलाई नजानी सुनमा लगानी गर्न प्रेरित गरेको छ। यो सुनको सञ्चिति नजानी घरको समृद्धिमा सहयोग पुर्याइरहेको छ। विदेशमा सुनमा लगानी गर्ने ठोस प्रणाली छ। नेपालमा भने सुनचाँदीमा लगानी गर्ने अवसर सरकारले दिएको छैन। नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको अवधारणा ल्याएको छ, तर त्यसमाथि बजारमा अनुमति दिएको छैन। यदि नेपालमा यसलाई खुला गरिए, तब हामी आफ्नो सम्पतिको केहि अंश लगानीको रूपमा सुनका इपीएफहरूमा लगानी गरेर त्यसको रिटर्न पाउन सक्ने सम्भावना छ।

पछिल्लो समय गहना बनाउँदा जर्ती लिने कि नलिने भन्ने विषयमा ठूलो बहस र आन्दोलन भइरहेको छ। यसमा तपाईंको बुझाइ के हो?

जर्ती र ज्याला लिनेभन्दा पनि, कुनै पनि सामान बनाउँदा पर्ने मेकिङ कस्टलाई कसरी परिभाषित गर्ने भन्ने कुरा हो। आफुले काम गरेको पारिश्रमिक सबैले लिने गरेका छन्। जर्ती र ज्याला नेपालमा मात्र होइन, विदेशमा पनि लिने चलन छ, तर नाम फरक हुन्छ। नेपालमा यसलाई जर्ती र ज्याला भनिन्छ भने विदेशमा मेकिङ कस्ट भनिन्छ। सारा संसारभरि नै गहना बनाउँदा मेकिङ चार्ज लिने चलन छ, त्यो नलिकन गहना बेच्न सकिँदैन। तर, सरकारले यसमा मापदण्ड बनाउन जरुरी छ।

कोटा प्रणाली निकै विवादित देखिएको छ, यसको विकल्प खोज्नु पर्ने बेला आएको हो?

२०६६ सालमा नेपाल राष्ट्र बैंकको ढुकुटीमा परेका गरेको स्थिति निकै गम्भीर थियो। त्यतिबेला ४० अर्ब बराबरको सुन आयात गरिएको थियो र व्यापार घाटा पनि ४२ अर्बको भएको थियो। त्यसको समाधानको रूपमा, सुनमा कटौती गर्दै केहि समयको लागि कोटा प्रणाली लागू गरियो। कोटा प्रणाली १५ वर्षसम्म चलिसकेको छ, र राष्ट्र बैंकसँग पनि १५ महिनासम्म विदेशी मुद्रा सञ्चिति पुग्न सफल भएको छ। कोटा प्रणाली भनेको संकटको बेलामा नेपाल सरकाले गरेको एउटा अवलम्बन मात्र थियो तर, अहिलेको समयमा हेर्दा यो कोटा प्रणालीलाई नै निरन्तरता दिई राख्नुपर्छ भन्ने खालका मनसाय सरकारी निकायहरुको देखिन्छ । यसले नेपालको सुनबजारलाई अत्यन्त विकृतिको रुपमा अगाडि ल्याएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved