नबिल इन्भेष्टमेण्ट बैंकिंग र भोटेकोशी हेली रिसोर्ट तथा स्पा लिमिटेड बीच संस्थागत परामर्श सेवा अन्तर्गत विभिन्न सम्झौता भएको छ ।
सम्झौता पत्रमा कम्पनीका अध्यक्ष चिन बहादुर रानाभाट र नबिल ईन्भेष्टमेण्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले भोटेकोशी हेली रिसोर्टलाई सर्वसाधारणमा सार्वजनिक निष्कासनका लागि आवश्यक पूर्वतयारीमा सहयोग गर्ने उल्लेख छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट प्राथकि शेयर (आईपीओ) निष्कासनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख छ ।
व्यवसायिक रणनीति विस्तार, भविष्यको योजना, प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि, व्यवसायको सुक्ष्म अध्ययन र व्यवसायलाई आवश्यक पूँजीको उपलब्धता जस्ता समन्वयकारी/सहयोगी भुमिका निर्वाह गरी कम्पनीलाई ४ स्टारसम्मको आतिथ्यता सत्कार गर्न सक्ने बनाउन कम्पनीको क्षमता अभिबृद्धिमा सहयोगीको भूमिका खेल्ने सम्झौतामा उल्लेख छ ।
कोदारी राजमार्ग अन्तर्गत चीनको सीमाना तातोपानी जाने बाटोको भोटेकोशी नदी छेउमा रहेको उक्त भोटेकोशी हेली रिसोर्ट पारिवारिक बिदा मनाउन, गोष्ठी, सेमिनारहरु गर्न, विवाह र अन्य विशेष कार्यक्रमहरु गर्न उपयुक्त स्थान रहेको कम्पनीले बताएको छ ।
उच्च स्तरिय आतिथ्य सत्कार गर्ने यस रिसोर्टले निकट भविष्यमा नै क्यासिनोलगायतका विभिन्न मनोरञ्जनात्मक सेवा सुबिधाहरु थप्दै आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य रहेको बताएको छ ।
सुन्दर प्राकृतिक वातावरण रहेको यस क्षेत्रमा जान काठमाडौंबाट २० मिनेटको हेलिकप्टर उडान वा तीन घण्टाको सडक सवारीबाट पुग्न सकिन्छ भने चीनको खासास्थित मितेरी पुलबाट करिब ४५ मिनेटको सडक सवारीबाट पुग्न सकिन्छ ।