नेपालको अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाख रुपैयाँको लगानी सम्झौतामा हस्ताक्षर गरेको छ ।
एनआईबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृति प्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटलको एकाइ हो ।गत असार ३१ गते भएको उक्त साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिस डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको कम्पनीले बताएको छ ।
एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको छ । ʻडेलिस’ ब्राण्डको ग्रीक दहीले नबिनताको पहिचान दिएको छ भने ʻपञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको छ । यस लगानीले नेपाली बजारमा डेलिस ब्राण्डको स्थानलाई झनै मजबुत बनाउने कम्पनीले बताएको छ ।
एनआईएमबी एस क्यापिटल लिमिटेडका सीईओ शिवान्त बहादुर पाँडेले एनआईबीएल इक्विटी पार्टनर्स डेलीश डेरीसँग साझेदारी गर्न पाउँदा निकै हर्षित भएको बताएका छन् ।
त्यस्तै,डेलिस डेरिजका सह–संस्थापक र सीईओ सन्दीप पौडेलले एनआईबीएल इक्विटी पार्टनरको विशेषज्ञता र पूँजी निष्कासनले उल्लेखनीय भूमिका खेल्ने उल्लेख गर्दै यो साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको कम्पनीलाइ थप बलियो बनाउने बताए ।