
रिलायन्स स्पिनिङ्गले सर्वसाधारणलाई निष्काशन गर्न लागेको साधारण शेयर (आइपीओ) लाई लिएर अर्थसमितिले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको थाहा हुन आएको छ। पत्रमा अदालतले दिएको आदेशअनुसार रिलायन्स स्पिनिङ्गको आइपीओमा काम कारबाही अघि बढाउँनलाई अर्थसमितिले धितोपत्र बोर्डलाई निर्देशन दिएको स्रोतले बताएको छ।
स्रोत भन्छ, " अदालतको आदेशअनुसार रिलायन्स स्पिनिङ्गको आइपीओबारे निर्णय लिनु भन्ने कुरा पत्रमा छ।"
यता धितोपत्र बोर्ड स्रोतले पनि आज कार्यालय समयपछि मात्रै अर्थसमितिको पत्र प्राप्त भएको पुष्टि गरेको छ।
अदालतले गरेको निर्णयमा रिलायन्स स्पिनिङ्गबारे आफ्नो तजबिज प्रयोग गरेर निर्णय लिनलाई धितोपत्र बोर्डलाई भनिएको थियो भने रिलायन्सबारे गरेको उजुरीकर्ताको दाबी खारेज गरिएको थियो।
रिलायन्स स्पिनिङ्ग मिल्स बुक विल्डिङ विधिमार्फत प्रतिकित्ता ८२०.८० रुपैयाँमा प्राथमिक शेयर निष्कासनको तयारीमा रहेको छ। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोडको १०.१४ प्रतिशतले हुन आउने १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ विधिमार्फत बिक्री गर्न लागेको छ। १९ लाख २६ हजार ६०० कित्ता शेयर मध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता यसअघि नै संस्थागत लगानीकर्ताको लागि बिक्री भइसकेको छ। बाँकी ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ।
सर्वसाधारणको लागि छुट्याईएको मध्ये १० प्रतिशतले हुन आउने १ लाख १५ हजार ५९६ कित्ता शेयर विदेशमा रहेका नेपाली श्रमिकको लागि छुट्याइएको छ भने बाँकी १० लाख ४० हजार ३६४ कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ।